सिमसार : जीवनको आधार

प्राकृतिक वा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रुपले पानीले ढाकेको, पानी बग्ने वा झरनाका रुपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको भूभागलाई सिमसारको रुपमा परिभाषित गरिएको छ । रामसार महासन्धिले खोला वा समुद्रको किनारामा रहेको भूभाग तथा ६ मिटर भन्दा कम गहिराइ भएको सफा वा नुनिलो पानीको क्षेत्रलाई समेत सिमसार भनेको छ ।

यसरी सामान्य अर्थमा पानीका स्रोतहरुबाट सधैंभरी संतृप्त वा धापिलो रहने भूभाग नै वास्तवमा सिमसार हो । यो वास्तवमा त्यस्तो ओसिलो भूमि हो जहाँ पानी सुक्दैन र जमिन लुक्दैन अनि पानी र जमिन सँगै हुन्छ ।

नेपालमा परम्परागत रुपमा खेतीपाती र बसोबासको अनुकूलताको हिसाबले जग्गा जमिनलाई अब्बल, दोयम, सिम र चाहार गरी चार समूहमा वर्गीकरण गरिएकोमा सिम जमिनलाई तेस्रो स्थानमा राखिए पनि जैविक विविधताको दृष्टिले सिम अर्थात सिमसार सर्वश्रेष्ठ मानिन्छ । किनकी पृथ्वीमा पाइने जीव तथा वनस्पतीमध्ये ४० प्रतिशत सिमसार क्षेत्रमै बस्दछन् वा प्रजनन गर्दछन् ।

विश्वभर रहेका सिमसार क्षेत्रहरुको संरक्षण र दिगो व्यवस्थापन गर्ने उद्देश्यले विश्वको सबैभन्दा ठूलो ताल क्यास्पियन सागरको किनारामा पर्ने इरानको रामसार शहरमा सन् १९७१ फेब्रुअरी २ मा भएको सिमसार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ‘रामसार कन्भेन्सन’ पछि विश्व समुदाय सिमसारको महत्वबोध र यसको संरक्षणमा एकाकार भएको हो । सन् १९७५ मा यो महासन्धि लागू भएकोमा सन् १९९७ देखि हरेक वर्ष फेब्रुअरी २ मा अन्तर्राष्ट्रिय सिमसार दिवस मनाइन्छ । उक्त दिवसलाई संयुक्त राष्ट्रसंघले सन् २०२१ मा मात्रै संयुक्त राष्ट्रसंघको आधिकारिक दिवसको मान्यता दिएको हो । यो वर्ष ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि सिमसार दिवस मनाइँदैछ । दिगो विकास लक्ष्य २०३० को प्राप्तिका लागि अब केवल ७ वर्ष मात्र बाँकी रहेको र संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मलाई पर्यावरणीय पुनर्स्थापना दशकको रुपमा मनाइरहेको सन्दर्भमा सिमसार दिवसको यो नारा सान्दर्भिक देखिन्छ ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न जैविक प्रजाति र पारिस्थितिक प्रणालीलाई आश्रय प्रदान गर्ने सिमसारहरुलाई रामसार सुचीमा सुचीकृत गर्ने काम गर्दछ । जस अनुसार अहिलेसम्म रामसार महासन्धिका पक्ष राष्ट्रको संख्या १७२ पुगिसकेको छ भने विश्वका २ हजार ४७१ वटा क्षेत्रहरु (२५ करोड ६१ लाख हेक्टर) रामसार सूचीमा सूचीकृत भैसकेका छन् । राष्ट्रसंघीय वातावरणीय कार्यक्रममा अनुसार विश्वको करीब ६ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । जसमध्ये २ प्रतिशत ताल, ३० प्रतिशत दलदल, २६ प्रतिशत धाप, २० प्रतिशत धापिलो जंगल, तथा १५ प्रतिशत नदी प्रभावित बगर क्षेत्र रहेको छ ।

नेपालले सन् १९७१ मै रामसार महासन्धिमा हस्ताक्षर गरेकोमा सन् १९८७ डिसेम्बर १७ मा पहिलोपटक नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष रामसार सूचीमा सूचीकृत गरी सन् १९८८ देखि विधिवत रुपमा उक्त महासन्धिको पक्षराष्ट्र बनेको हो । हालसम्म नेपालका विभिन्न १० वटा सिमसार क्षेत्रहरु गरी करीब ६० हजार ५ सय हेक्टर क्षेत्रफल रामसार सूचीमा सूचिकृत भैसकेका छन् । जसमा कैलालीको घोडाघोडी ताल, चितवनको बिसहजारी ताल, कपिलवस्तुको जगदिशपुर ताल, इलामको माइपोखरी, सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने गोक्यो क्षेत्र ताल, फोक्सुन्डो ताल, गोसाइकुण्ड, रारा ताल तथा पोखराका फेवा, बेगानास, रुपा, मैदी, दिपाङ, खास्टे, कमल, न्यूरिनी र गुँदे गरी विभिन्न ९ वटा ताल समेत रामसार सूचीमा सूचीकृत भैसकेका छन् ।

नेपालमा करीब ७ लाख ५० हजार हेक्टर अर्थात् कूल भूभागको क्षेत्रफलको ५ प्रतिशत भन्दा धेरै भू–भाग सिमसार क्षेत्रले ओगटेको र विश्वमा पाइने ४२ खालका सिमसारका प्रकारमध्ये नेपालमा नदी, ताल, पोखरी, धाप र जलाशय गरी ६ प्रकारका सिमसार क्षेत्र रहेका छन् । तथ्यांक अनुसार नेपालमा रहेका सिमसार क्षेत्रमध्ये नदी तथा खोलानालाले ४८.२ प्रतिशत, धान खेतले ४८.६ प्रतिशत, धापले १.५ प्रतिशत, पानीका पोखरी, कुवा तथा कुण्डहरुले ०.९ प्रतिशत, मानव निर्मित तथा प्राकृतिक तालहरुले ०.६ प्रतिशत तथा विद्युत जलासयहरुले ०.२ प्रतिशत हिस्सा ओगटेका छन् ।

विश्वमा सन्तुलित वातावरण र जैविक विविधताको सुरक्षाका लागि सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन अपरिहार्य बनेको छ । वास्तवमा सिमसार क्षेत्रहरु दिगो विकास र वातावरणीय सन्तुलनका आधार हुन् ।

सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । पृथ्वीको सर्वाधिक उत्पादनशील पर्यावरणको रुपमा रहेका सिमसार क्षेत्रमा असंख्य प्रजातिका जीव तथा वनस्पतीहरुको जीवन निर्भर रहेको हुन्छ । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिले पनि अति मूल्यवान प्राकृतिक प्रणाली मानिन्छ । सिमसार क्षेत्रहरु विभिन्न संकटापन्न र लोपोन्मुख जीव तथा वनस्पतिका मुख्य आश्रयस्थलको रुपमा रहेका हुन्छन् । सिमसार क्षेत्रले पानीका स्रोतको संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम राख्ने, सिंचाइ, मत्स्यपालन, पर्या–पर्यटन, कृषि उत्पादकत्व अभिवृद्धि तथा जैविक विविधताको दिगो व्यवस्थापनमा अहम् योगदान गरेको हुन्छ । साथै सिमसारले जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचको रुपमा पनि कार्य गर्दछ ।

विश्वमा सन्तुलित वातावरण र जैविक विविधताको सुरक्षाका लागि सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन अपरिहार्य बनेको छ । वास्तवमा सिमसार क्षेत्रहरु दिगो विकास र वातावरणीय सन्तुलनका आधार हुन् । पर्यावरणीय सन्तुलन, पारिस्थितिक प्रणालीको सञ्चालन, जलवायुको सन्तुलन, पानी शुद्धीकरणका साथै प्राकृतिक विपद नियन्त्रणमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । सिमसार क्षेत्र बाढी तथा खडेरीजस्ता प्राकृतिक विपदमा ढालको रुपमा रहेको हुन्छ । उच्च कार्बन भण्डारण क्षमताका कारण सिमसार क्षेत्रले जलवायु परिवर्तन न्यूनीकरणमा पनि ठूलो भूमिका खेलेको हुन्छ भने निश्चित तहसम्मका प्रदूषकहरुको प्राकृतिक शुद्धीकरण गरी वातावरणीय स्वच्छतामा पनि योगदान गर्दछ ।

सिमसार क्षेत्र विभिन्न जीवजन्तु र वनस्पतिको बासस्थानको रुपमा मात्र हैन विभिन्न आदिवासी जनजातिहरुको जीवन निर्वाहको स्रोत रहेको छ । नेपालका विभिन्न आदिवासी जनजातिहरु सिमसारमै निर्भर रहेका छन् । एक अध्ययन अनुसार नेपालका विभिन्न २० आदिवासी समुदाय जिविकोपार्जनका लागि सिमसारमै आश्रित छन् जुन कूल जनसंख्याको ११ प्रतिशत हुन आउँछ । जसमा सुनाहा, मल्लाह, माझी, बोटे, जलारी, मुसहर लगायतका आदिवासी पर्दछन् । सिमसार क्षेत्र केही जातजातीको सांस्कृतिक र धार्मिक पहिचानसँग पनि जोडिएको छ ।

पानीको मूल फुटेको क्षेत्रमा दिसापिसाब गर्नु हुँदैन भन्ने हाम्रो संस्कार रहँदै आएको छ । किराँतहरुले सिमसारलाई देवताकै रुपमा पूजा गर्ने गर्छन् । मानव जीवनका महत्वपूर्ण सामाजिक कार्य तथा धार्मिक कार्यका साथै हिन्दू धर्मका विभिन्न पर्वहरुमा जलाशय तथा सिम क्षेत्रहरु अनिवार्य तथा पवित्र मानिनुका साथै धर्म र आस्थाका केन्द्र पनि मानिन्छन् । एक अध्ययन अनुसार नेपालमा करीब १७२ प्रजातिका माछा, विश्वबाटै लोप हुन थालेका र संकटाभिमूख गरी करीब १९० प्रजातिका चरा, विभिन्न सरिसृप, करीब २५ प्रजातिका वनस्पति सिमसारमै निर्भर छन् ।

कुलचन्द्र अर्याल

नेपालको सिमसार नीतिले सिमसारजन्य स्रोतहरुको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गरी त्यस्ता स्रोतमा आश्रित समुदायको समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखेको भएपनि त्यसलाई व्यवहारमा उतार्न सकिएको अवस्था छैन । नेपालमा यसअघि गरिएको एक हवाई अध्ययनले ५ हजार ३५८ तालहरु रहेको देखाए पनि हालसम्म ३ हजार मिटर भन्दा तल केबल ४८५ तालहरु मात्र अभिलेखीकरण भएका छन् । तर ती तालहरुमध्ये पनि अधिकांशको भौतिक तथा जैविक गुणस्तरको अवस्था कमजोर रहेको अध्ययनले देखाएको छ । कतिपय स्थानीय सरकारहरुको पहलमा ताल तथा पोखरी जस्ता सिमसार क्षेत्रहरुको संरक्षणका लागि समितिहरु गठन भई स्थानीय स्तरका पोखरी तथा तालहरुको संरक्षण तथा पुनर्स्थापनाको कार्य गर्ने गरेका समाचारहरु पढ्न पाइन्छ । कतिपय प्रदेशहरुले ताल तलैयाहरुको संरक्षणका लागि कानून नै तर्जुमा गरिसकेको अवस्था रहे पनि अधिकांश प्रदेश तथा स्थानीय तहमा ताल तलैया तथा सिमसार क्षेत्रको संरक्षणको विषयमा प्राथमिकतामा पर्न सकेको छैन ।

नेपालले रामसार महासन्धिको पक्षराष्ट्रका रुपमा सिमसार संरक्षणमा विभिन्न नीतिगत, कानूनी तथा संस्थागत प्रयास गर्दै आएको छ । जैविक विविधता महासन्धि १९९२, मरुभूमिकरण रोक्ने सम्बन्धी महासन्धि १९९२ मा पक्षराष्ट्र बनेको नेपालले वातावरण संरक्षणका सबैजसो अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरुमा हस्ताक्षर रहेको छ ।

राष्ट्रिय रुपमा जलचर संरक्षण ऐन २०१७ लाई नै यस क्षेत्रको नेपालको पहिलो कानुन मान्न सकिन्छ । पहिलोपटक २०५९ मा सिमसार नीति लागू भएकोमा हाल सिमसार नीति २०६९ कार्यान्वयनमा छ । त्यस्तै राष्ट्रिय ताल विकास तथा संरक्षण समिति गठन हुनुका साथै सिमसार नीतिले सिमसार संरक्षणको लागि राष्ट्रिय सिमसार समितिको व्यवस्था गरेको छ ।

नेपालमा रामसार क्षेत्रमा परेका सिमसार क्षेत्रहरुको व्यवस्थापनको मुख्य जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको रहेको छ । त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भू तथा जलाधार संरक्षण ऐन २०३९, जलस्रोत ऐन २०४९, वन ऐन २०७६, वातावरण संरक्षण ऐन २०७६ लगायतलाई पनि सिमसार संरक्षणको क्षेत्रका कानूनी प्रबन्धको रुपमा लिन सकिन्छ ।

नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र गरी देशकोे कूल क्षेत्रफलको २३.३९ प्रतिशत (३४,४१९.७५ वर्ग कि.मी.) संरक्षित क्षेत्र रहेको छ । नेपालमा रहेका १ सय १८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये यी संरक्षित क्षेत्रहरुमा ८० किसिमका प्रणाली पर्ने हुनाले यी क्षेत्रहरु सिमसार अर्थात् पानीका स्रोत र त्यसमा आश्रित जैविक विविधताको संरक्षणका लागि निकै महत्वपूर्ण छन् ।

तर सिमसार क्षेत्रको अत्यधिक दोहन, प्रदूषण, मिचाहा प्रजातिका वनस्पतीहरुको विस्तार तथा अव्यवस्थित बसोबास तथा मानवीय क्रियाकलापले गर्दा सिमसार क्षेत्रहरुको पर्यावरणीय हैसियतमा ह्रास आएको मात्र नभई अस्तित्व नै संकटमा पर्ने खतरा पैदा भएको छ । नेपालमा चुरे क्षेत्रको भयानक विनाशले त्यहाँका सिमक्षेत्रहरु दिनानुदिन संकटमा धकेलिँदैछन् र नेपालको तराई क्षेत्र नै मरुभूमिकरणको चपेटामा छ ।

रामसार महासन्धि सचिवालयको एक तथ्यांक अनुसार मानवीय क्रियाकलापका कारण सन् १९०० यता विश्वका सिमसार मध्ये करीब ६४ प्रतिशत सिमसार विनास भैसकेका छन् । सिमसार नासिने दर वनविनास भन्दा तीनगुणा धेरै छ । विश्वको जनसंख्या वृद्धि तथा असन्तुलित बसाइँसराइँसँगै निम्तिएको वनविनास, पानीको अत्यधिक दोहन, सहरीकरण, घरपालुवा जनावरको अत्यधिक चरीचरन, बढ्दो वनअतिक्रमण, सडक लगायतका भौतिक पूर्वाधारको निर्माणमा अत्यधिक वनफँडानी तथा भू–कटान, जलप्रदूषण, भूक्षय, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपहरु सिमसारको संरक्षणमा मुख्य चुनौती बनेका छन् ।

प्राकृतिक स्रोतको क्षयीकरण, बदलिँदो आधुनिक कृषि पद्धति र किटनाशक औषधिहरुको अधिक प्रयोग, सहरीकरण तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणले पनि सिमसार क्षेत्रहरुमा संकट थपिरहेका छन् । जलवायु परिवर्तनसँगै विश्वको तापमानमा भएको वृद्धिले पानीका स्रोतहरु सुक्ने र जमिनको मरुभूमीकरण हुने प्रक्रिया तीव्र बनेको छ । कृषि भूमिमा प्रयोग गरिने रासायनिक मल र विषादीहरु बगेर सिमसारको जलस्रोतमा मिसिने अनि प्लास्टिक, ढलजन्य फोहोर र सिसा लगायतका नगल्ने फोहोर पदार्थ समेत मिसिँदा सिमसार क्षेत्र प्रदूषित बनेर नासिइरहेका छन् ।

सिमसार क्षेत्र पर्यावरणको फोक्सो तथा मिर्गौला दुवै हो भने सम्पूर्ण जीवहरुको अस्तित्वको आधार हो । सिमसारको सुरक्षाले पिउने पानीका साथै, भूमिगत जलस्रोतको संरक्षण हुनुका साथै, जलचर जीव तथा पंक्षीहरुको बासस्थानको पनि संरक्षण हुने गर्छ । सिमसार क्षेत्र पानीको मुख्य स्रोत हो, त्यसैले सिमसारको नास हुनु भनेको पानीको स्रोत नासिनु हो जसको प्रत्यक्ष र परोक्ष असर सम्पूर्ण चराचर जगतमा पर्ने हुन्छ ।

आनुवांशिक स्रोत र जैविक विविधताको संरक्षण, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि सिमसारको महत्वपूर्ण भूमिका हुन्छ भने सिमसारले बाढी र भूक्षयको पनि रोकथाम गरेको हुन्छ । त्यसैले पर्यावरणीय, सामाजिक तथा आर्थिक महत्वका सिमसार क्षेत्रहरुको पहिचान, संरक्षण, पुनर्स्थापना तथा व्यवस्थापन अपरिहार्य छ । सिमसार क्षेत्रको तीव्र क्षयीकरण तथा विनास रोक्न र निकै संवेदनशील सिमसार पर्यावरणको संरक्षण/पुनर्स्थापनाका लागि विश्वव्यापी चेतना तथा पहलको अपरिहार्यता टड्कारो बनिसकेको छ ।

नेपालको हकमा भन्नुपर्दा सबैभन्दा पहिले देशका सबै सिमसार क्षेत्रको विस्तृत सर्भेक्षण तथा पहिचान गर्नुका साथै त्यहाँको जैविक विविधताको समेतको विस्तृत अध्ययन र एकीकृत लगत तयार गर्नु आवश्यक छ । विकास र वातावरणलाई सँगसँगै अगाडि बढाउनका लागि दिगो तथा पर्यावरणमैत्री विकासलाई अवलम्बन गरी विकास निर्माणका कार्यहरुले सिमसार क्षेत्रमा पर्नसक्ने असरलाई कम गर्न वातावरणमैत्री प्रविधि तथा प्रभावकारी उपायहरु अवलम्बन गर्नुपर्दछ ।

सिमसारजन्य स्रोतमा आश्रित समुदायको परम्परागत ज्ञान तथा सीपको दिगो उपयोग गर्ने तथा लाभको समन्यायिक बाँडफाँटको व्यवस्थाका साथै सिमसार संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायको सहभागितामा वृद्धि गरी सिमसार स्रोतमा आधारित उद्यम तथा व्यवसाय मार्फत् समुदायको जिविकोपार्जनमा सुधार गर्ने उपायको अबलम्बन गर्नु पर्दछ । सिमसार क्षेत्रमा फोहोर फ्याँक्ने, प्रदूषण फैलाउने, भूमिगत जलस्रोतको अत्यधिक दोहन गर्ने जस्ता कार्यमा नियन्त्रण गर्नुका साथै मानवीय तथा पशुजन्य चापलाई पनि न्यूनीकरण गरी सिमसारको महत्वका बारेमा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ ।

(पर्यावरण विज्ञानमा स्नातकोत्तर अर्याल निजामती सेवामा कार्यरत छन् ।)



from समाचार – Online Khabar https://ift.tt/30UTvmH

Post a Comment

0 Comments