काठमाडौं । चोक-गल्लीमा हिंडिरहेकी एउटी अपरिचित युवती देख्नासाथ पुरुषहरु जिब्रो पड्काउँछन् । युवतीको हिंडाइ, लुगाफाटो वा जीउडालमाथि ठट्टा गर्छन् । सार्वजनिक यातायातमा उभिएकी एक छात्रामाथि आसपासका पुरुषहरु घुरेर हेर्छन् । नजानिंदो पाराले छुन खोज्छन्, चलाउन खोज्छन् ।
गाडी वा कसैलाई पर्खेर बाटो छेउमा उभिरहेकी किशोरी देखेर पुरुष बटुवाहरु मुखामुख गर्दै हिंड्छन् । किशोरीमाथि अनेक धारणा बनाउन थाल्छन् ।
उस्तै छैन स्थिति केटा र केटीका लागि । जहाँ एउटा केटा खुलेआम यात्रा गर्न सक्छन् त्यहीं केटीले निकै कष्टसाथ आफूलाई जोगाएर हिंड्नुपर्ने हुन्छ । चाहे चोकको भीडमा होस् वा रेस्टुरेन्टमा, चाहे सार्वजनिक यातायातमा होस् वा सडकमा, केटा जसरी उनीहरु निर्धक्क हिंड्नै सक्दैनन् । आखिर उनीहरुले के-कस्ता अप्ठ्यारा झेल्नुपर्छ ? कस्ता व्यक्तिबाट सतर्क हुनुपर्छ ? कुन-कुन ठाउँहरुमा जोगिनुपर्ने हुन्छ ?
आशिका अर्याल, शर्मिला दाहाल, काजल बस्नेत र झरना खनालले आफ्ना भोगाइ अनि बुझाइ सुनाएका छन् । किशोरवयका उनीहरुको साझा निचोड के छ भने केटीहरुले जहाँ पनि असुरक्षा र असहज महसुस गरिरहेका हुन्छन् । उनीहरु निर्धक्क र निस्फिक्री छैनन् । भाषा र भाषण फेरिए पनि परिस्थिति र मनस्थिति उस्तै छ, समानताको कुरामा ।
कुरा सुनौं आशिका अर्यालको । ‘स्कुल वा कलेज आउजाउ गर्न सार्वजनिक गाडी चढ्नैपर्छ । तर त्यहाँ हामीलाई केटाहरुबाट जोगिन गाह्रो छ । कोही छुन खोज्छन्, कोही अनावश्यक बोल्न खोज्छन्, कोही धकेल्न खोज्छन्,’ उनी थप्छिन्, ‘अन्जानमा त्यस्तो हुनु ठूलो कुरा भएन । तर नियतवश नै त्यस्तो गर्नेहरु बढी हुन्छन् ।’
जब आफूलाई असहज हुन्छ, त्यसको प्रतिपाद गर्न पनि कठिन नै छ । आशिका अर्याल भन्छिन्, ‘हामीलाई थाहा हुन्छ, उनीहरुले नियतवश गरेका हुन् वा होइनन् भन्ने । यदि नियतवश गरेका छन् र हामीले त्यसविरुद्ध केही भन्यौं भने आसपासका मान्छेहरुले हाम्रो साथ दिंदैनन् । बरु उनीहरुले अन्जानमै त्यस्तो गरेको हो भनिदिन्छन् ।’
आशिकाकै कुरामा शर्मिला दाहाल थप्छिन्, ‘हाम्रो आवाज त्यही दबाइन्छ । हामी नै पछाडि हट्नुपर्ने हुन्छ ।’
सार्वजनिक गाडी सधैंजसो भीडभाड हुन्छ । यस्तो स्थितिमा जब पछाडि बसेका पुरुष यात्रु गाडीबाट ओर्लनका लागि अगाडि सर्दै आउँछन्, उनीहरुको हात युवतीहरुको शरीरमा सल्बलाउन थाल्छ । ‘हामीलाई पछाडि जान भन्दै उनीहरुले हातले हाम्रो कम्मर र शरीरको अरु अंगमा हात लगाउँछन्,’ झरना खनाल भन्छिन्, ‘उनीहरु त्यसरी अगाडि सर्दा हाम्रो शरीरमा छोइन सक्छ तर हात नै लगाउनु त भएन नि ।’
उनीसँग यस्ता थुप्रै तीता अनुभव छन् । उनी आफ्नो भोगाइ सुनाउँछिन्, ‘मेरो दिदी र म घर फर्किने बेला रात परिसकेको थियो । गाडीको अन्तिम दुई सिट खाली थियो । म एकातिर बसें, दिदी माझमा बसेकी थिइन् । त्यसअघि दुई जना केटा बसेका थिए । उनीहरु अगाडितिर फर्किएर बस्नुपर्नेमा हामीतर्फ पछाडि फर्केर बसे । उसले सुरुमा यताउता हेरेजस्तो गरेर मेरो दिदीलाई ‘कम्प्लिमेन्ट’ दियो । तपाईं त फलानो हिरोइन जस्तै हुनुहुँदो रहेछ । उसले त्यतिसम्म भन्नु त ठीकै हो । त्यसपछि उसले फेरि ‘हजुर कता झर्ने नि’ भन्दै सोधीखोजी गर्न थाल्यो । दिदीले कुनै चासो दिइन । तैपनि उसले चाहिं म क्यानडाको लागि अप्लाई गर्दैछु भन्दै आफ्नो कुरा सुनाउन थाल्यो । उसले दिदीलाई प्रभावित गराउन खोजेको कि के गरेको ?’
त्यतिमा मात्र ऊ रोकिएन । ‘हामी जहाँ झर्ने हो, ऊ पनि त्यही ओर्लिन तयार भयो र हामीले गाडी भाडा दिइरहँदा पर्खेर बस्यो,’ झरना भन्छिन्, ‘उसको नियत नै अर्कै क्या ।’
सार्वजनिक यातायातमा युवतीहरुलाई छुने, चलाउने, गिज्याउने मात्र नभई अनावश्यक सोधीखोजी गरेर पनि सताउने गरेको उनीहरुको अनुभव छ । त्यसमा पनि आफ्ना उमेरभन्दा वयस्क एवं ‘अंकलहरु’ यस्तो प्रवृत्तिका उनीहरुले पाएका छन् । काजल सुनाउँछिन्, ‘यस्तो व्यवहार चाहिं हाम्रै उमेरका ठिटाहरुले भन्दा पनि ३० देखि ५० वर्ष उमेरका अंकलहरुले गर्छन् । किशोर वा अलि कम उमेरकाहरु लजालु हुन्छन्, बोलिहाल्ने गर्दैनन् ।’
त्यस्ता व्यक्तिहरुले आफूहरुलाई अनेक प्रश्न गर्ने, आफूप्रति चासो राख्ने गरेको काजल बताउँछिन् । उनको कुरामा शर्मिला सहमत जनाउँछिन् । शर्मिला भन्छिन्, ‘अलि कम उमेरका केटाहरु आफ्नै धुनमा हुन्छन् । तर हाम्रो बुवाहरुको उमेरका मान्छेहरुले चाहिं नराम्रो व्यवहार गरिरहेका हुन्छन् ।’
त्यस्ता व्यक्तिहरुले सार्वजनिक यातायातमा पनि व्यक्तिगत प्रश्नहरु गर्ने, आफ्नो व्यक्तिगत कुरा सुनाउने गरेको उनीहरु बताउँछन् । झरना भन्छिन्, ‘म चढेको गाडीमा त्यस्तै अंकलले मेरै उमेरका एक जना साथीलाई अनावश्यक प्रश्न सोधिरहेका थिए । कलेज गइरहेकी ती किशोरीको नाम, घर, थर, बुवा के गर्छन्, आमा के गर्छन् भन्दै सोधिखोजी गरे ।’ यस्तो अवस्थामा नबोली बस्नु भएन । बोलेर आफ्ना व्यक्तिगत कुराहरु भन्न पनि सहज हुँदैन । तर ‘अंकलहरुले प्रश्न सोधेर हैरान बनाउने’ झरना बताउँछिन् ।
‘त्यो अंकलसँग उनी बोल्न खोजिरहेकी थिइनन् । न उनले अंकलसँग प्रतिप्रश्न नै गर्यो । यस्तो स्थितिमा त उनी मसँग बोल्न खोजेका छैनन् भनेर अंकलले थाहा पाउनुपर्ने नि,’ झरना भन्छिन्, ‘एकोहोरो व्यक्तिगत कुरा सोधेको सोधेकै गर्छन् ।’
गाडीमा चढ्दा उनीहरुले सकेसम्म झ्यालतर्फको सिट रोज्ने गर्छन् । ‘झ्यालतर्फ बस्दा अलि सुरक्षित भएको जस्तो लाग्छ,’ झरना भन्छिन्, ‘अर्कोतर्फ बस्यो भने केटाहरुले आफ्नो गोप्य अंगले हाम्रो शरीरमा छुन थाल्छन् ।’
झरना त्यसबेला उनी भक्तपुरको दुवाकोटमा बस्थिन् । दुवाकोटबाट पढ्नका लागि कमलविनायक पुग्नुपर्ने । उनी गाडीमा भित्तातर्फ बसेकी थिइन् । एउटा केटा उनलाई हातले छेकेर उभिए । ‘ऊ आफ्नो हातमा सुतेको बहाना गरेर मलाई छुन थाल्यो,’ झरना भन्छिन्, ‘त्यसबेला मलाई एकदमै असहज भएको थियो ।’
किशोरवयमा खासगरी स्कुल-कलेज पढ्दै गर्दा सार्वजनिक यातायातमा हिंड्नुपर्ने बाध्यता नै छ । आफूसँग सवारीसाधन नहुन सक्छ र ट्याक्सीमा चढ्ने स्थिति पनि हुँदैन । तर सार्वजनिक यातायातमा यात्रा गर्नुपर्दा अनेक झमेला आइलाग्छ । कसैले अनावश्यक सोधीखोजी गर्छन्, कसैले गिज्याउँछन्, कसैले छुने चलाउने गर्छन्, कसैले आफ्नो गोप्य अंगले छुने चेष्टा गर्छन् । उनीहरु खुलेर यसको विरोध गर्न पनि सक्दैनन् । जब विरोध गर्छन्, उनीहरुलाई साथ दिने भन्दा पनि उल्टै ‘किन हल्ला गरेको’ भन्दै गाली गर्नेहरु बढी हुन्छन् ।
‘गाडीका चालक-सहचालकले समेत हाम्रो पक्ष लिनुको साटो दुव्र्यवहार गर्न खोज्छन्,’ आशिका भन्छिन्, ‘भाँडा दिंदा हातै समाउने गर्छन् । त्यति मात्र होइन । मानौं मैले कोटेश्वरबाट बानेश्वर आउँदा भाडा २० रुपैयाँ दिनुपर्ने हुन्छ । मसँग ५० रुपैयाँको नोट मात्र छ र त्यो दिएँ भने उनीहरुले सरासर बाँकी पैसा फिर्ता गर्दैनन् । बरु अनावश्यक प्रश्नहरु गरिरहन्छन् ।’
सार्वजनिक गाडीमा मात्र होइन, सडकमा, चोकमा, गल्लीमा जताततै यस्तो व्यवहार हुने उनीहरुको अनुभव छ । शर्मिला आफ्नो भोगाइ यसरी सुनाउँछिन्, ‘म त्यसबेला १० कक्षामा पढ्थें । बिहानै स्कुल जाँदै गर्दा बाटोमा चिनेकै अंकलले आफ्नो बाइक रोक्नुभयो । म सरासर आफ्नो बाटो गइरहेको थिएँ । त्यो अंकलले चाहिं म पुर्याउँछु बाइकमा बस भन्दै कर गर्न थाले । म जान्न भन्दा पनि उसले जोड गरिह्यो । अनि मैले पुलिस बोलाउँछु भनेपछि मात्र त्यो अंकल गयो । त्यस दिन म विद्यालयमा पनि राम्ररी पढाइमा ध्यान दिन सकिन । सुन्दा त यो सामान्य लाग्छ तर हामीलाई यस्तो कुराले निकै डिस्टर्ब गर्छ ।’
सार्वजनिक गाडी र स्थानमा मात्र होइन, घरमा पनि उनीहरुले असुरक्षित र असहज महसुस गरिरहेका हुन्छन् । ‘छतमा गएर लुगा सुकाइरहेको बेला कसैले हेरिरहेको छ कि, फोटो खिचिरहेको छ कि भनेर एक किसिमको डर हुने गर्छ,’ आशिका भन्छिन् ।
त्यसैगरी घरबाट बाहिर निस्केर हिंड्दा चिनेजानेकै मान्छेहरुले चियोचर्चा गरिरहेका हुन्छन् । कस्तो लुगा लगायो, कहाँ गयो, कसरी हिंड्यो भनेर हेर्ने गरेको आशिका बताउँछिन् । जतिसुकै समानताको कुरा गरेपनि केटीहरुले भोग्नुपर्ने यस्तो असहज स्थिति ज्यूँका त्यूँ रहेको उनीहरुको अनुभव छ । उनीहरु भन्छन्, ‘यो केटा, यो केटी भनेर अलग ढंगले नसोचौं । सबैलाई एउटै रुपमा हेरौं । अनि त्यही अनुरुप व्यवहार गरौं ।’
from समाचार – Online Khabar https://ift.tt/lfSIPGK
0 Comments
if you have any doubts, please let us know.