नेपाल टी-२० लिगमा काठमाडौंको चौथो जित, विराटनगरको प्लेअफ पुग्ने सम्भावना न्यून

१९ पुस, काठमाडौं । विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ ।

खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो ।

विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक कुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले अन्तिम ओभरमा लगातार २ विकेट लिनुका साथै सूर्य तामाङलाई रन आउट गराए ।

काठमाडौंका अनिल खरेल र सुनम गौतमले समान २-२ विकेट लिए । वसिर अहमद र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रनको योगदान गरे ।

विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए ।

जितपछि काठमाडौंको ७ खेलबाट ८ अंक छ र उ तेस्रो स्थानमा छ । पराजित विराटनगर भने ७ खेलबाट ४ अंकमात्र बटुलेर तालिकाको पाँचौ स्थानमा छ ।



from समाचार – Online Khabar https://ift.tt/uktdGmV

Post a Comment

0 Comments