भरतपुर अस्पतालको लागि एमआरआई मेसिन किन्न टेन्डर

२१ पुस, चितवन । केन्द्रीय अस्पतालमा रहेको भरतपुर अस्पतालका लागि एमआरआई मेसिन खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेण्डर आह्वान गरेको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एमआरआई मेसिन खरिदका लागि मन्त्रालयले ४५ दिनको समय राखेर पुस १९ गते ग्लोवल टेण्डर आह्वान गरेको जानकारी दिए ।

केन्द्रीय अस्पताल भने पनि एमआरआई मेसिन नहुँदा बिरामीहरू निजी मेडिकल कलेज तथा विभिन्न निजी स्वास्य संस्थामा एमआरआई गर्न जान बाध्य भएका थिए ।

मेसिन खरिदका लागि फेब्रुअरी महिनाको १६ तारिखसम्मको समय दिइएको छ । मेसिनको मूल्य ३० करोड बराबर राखिएको छ । १५ करोडभन्दा माथिको उपकरण खरीदको टेण्डर मन्त्रालयबाट हुने व्यवस्था छ ।

अर्थ मन्त्रालयमा नै फाइल अड्किएर बसेको झण्डैं १ वर्षपछि यही पुस महिनामा अर्थले स्वीकृत दिए पछि मन्त्रालय आफैंले टेन्डर गरेको हो ।

पाँच वर्षको वारेन्टी रहने, वर्षमा ३ पटक नियमित मर्मत गर्ने तथा १० वर्षसम्म सेवा र मेसिनका पाटपुर्जा उपलब्ध गराउनुपर्ने, मेसिन सन् २०१५ भन्दायताको मितिमा उत्पादन भएको हुनुपर्नेलगायतका सर्त बोलपत्रमा उल्लेख छ ।

एमआरआई मेसिन आएपछि त्यसलाई अहिले बनेर सकिएको ‘सी’ ब्लकमा राख्ने योजना अस्पतालको छ ।

दैनिक औसत १५ जना एमआरआई गर्नुपर्ने बिरामीहरूलाई अस्पतालमा यो सेवा नहुँदा अन्यत्र रिफर भएर जाने गरेका थिए ।

अस्पतालका मेसु डा.कृष्णप्रसाद पौडेलले एमआरआई मेसिन आएपछि बिरामीले सेवा पाउने र अन्यत्र महंगो शुल्क तिर्न बाध्य हुनुनपर्ने बताए ।

एमआरआई विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले मेसिन खरिदका लागि आफूहरूले निरन्तर ताकेता गरेको डा. पौडेलले बताए ।

अस्पतालमा यसअघि विजय सुवेदी अध्यक्ष रहेको बेलाा अस्पतालमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरिएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/dCO7UQS

Post a Comment

0 Comments