हेर्नैपर्ने सन् २०२२ का चार भाषाका चार फिल्म

सन् २०२० को सुरुवातदेखि सुरु भएको कोरोना महामारीका कारण सिनेमाघरहरु सबैभन्दा बढी प्रभावित भए । झण्डै दुई वर्षपछि मात्रै हलहरु पुरानै लयमा फर्किन थाले ।

ठूला ‘इन्भेन्टफुल फिल्म’ को वर्चस्व रह्यो हलिउड, बलिउड र नेपालमा पनि । कलात्मक लो बजेटका सिनेमाले शो निकै कम प्राप्त गरे । यसका दुई कारण होलान्, (एक त दर्शकको घरमै कन्टेन्ट हेर्ने बानी बढेको, अर्को हलवालालाई पनि ठूला मूलधारका सिनेमा चलाएर दुई वर्ष नोक्सानमा गएको रकम रिकभर गर्नुपर्ने बाध्यता । तर यसो हुँदैमा संसारभर प्रयोगात्मक, कलात्मक र व्यक्तिगत सिनेमा भने बन्न छोडेका छैनन् ।

केहीले थोरै समयको लागि भए पनि सिनेमाघर प्राप्त गरे । केहीले अनलाइन तथा ओटीटी रिलिजबाट मात्रै चित्त बुझाउनुप¥यो । सन् २०२२ मा यी चार भाषाका चार फिल्म यादगार रहे ।

१. छेलो शो (गुजराती)

यस वर्ष भारतीय फिल्म फेडरेसनको निर्णयले सिनेपे्रमीहरुमा विवाद उत्पन्न भयो । एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘आरआरआर’ले पश्चिममा निकै राम्रो छाप छाडिरहेको अवस्थामा, ओस्कार अवार्डको छनोटका लागि फेडरेसनले गुजरातको लो बजेटको फिल्म ‘छेलो शो’ (लास्ट फिल्म शो)लाई पठाउन पुग्यो । यसले गर्दा भारतीय सिनेमाले ओस्कार अवार्डमा पुग्ने सुनौलो अवसर गुमाउन सक्ने धेरैको टिप्पणी थियो ।

यो कति सत्य हुनेछ, त्यो त केही महिनामा थाहा भइहाल्नेछ । फिल्म यो लेख लेखिरहँदा ओस्कारको सर्टलिस्टमा पुग्न सफल भइसकेको छ । पहिलोपटक पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ पनि सर्टलिस्टेड भएको छ । तर छेलो शोको सम्भावना कम छ भन्न कदापि मिल्दैन, किनकि फिल्म साँच्चै विशेष र मनछुने छ ।

एक गरिब परिवारको बालकले सिनेमाको माध्यमलाई कसरी आत्मसात गर्छ । आफ्नो साथीहरुसँग कसरी सिनेमाको जादूलाई पुनः निर्माण गर्न खोज्छ । यही वर्ष आएको स्तिभन स्पिलवर्गको ‘द फेबलसमन्’ पनि फिल्मकलाप्रति बाल्यकालको प्रेरणाको नै बारेमा हो । तर यो फिल्म अझ व्यक्तिगत र आत्मपरक लाग्छ । यस फिल्मले निर्देशक पान नालिनको यो कला र यसको संघर्षपूर्ण प्रक्रियाप्रतिको मायालाई अनुभूति गराउँछ । अफसोच फिल्मका एक प्रमुख बाल कलाकार राहुल कोलीको फिल्म प्रदर्शन हुने केही दिनअघि मात्र क्यान्सरले निधन भयो । ऐकेडेमीको अन्तिम मनोनयनमा नपरे पनि उनले अभिनय गरेको फिल्मवर्षकै उत्कृष्टमध्ये एक हो ।

२. डिसिजन टु लिभ (कोरियन)

पार्क चान वक एक मास्टर फिल्ममेकरको सूचीमा गनिन्छन् । उनका पछिल्ला फिल्महरु ओल्ड बोइ (२००३) र द हेन्डमेडन (२०१६) निकै उत्कृष्ट मानिन्छन् ।

उनका फिल्मका विशेषता भनेको नै दर्शकलाई अन्त्यसम्म कुर्सीमा बाँधिरहनु हो । यही सालको ‘डिसिजन टु लिभ’ अर्को उदाहरण हो । पार्कका पुराना फिल्म जति ‘डिटेक्टिभ जाङ’को रुपमा जो हिमालमा एक मृत पुरुष फेला परेपछि अनुसन्धानको प्रक्रियामा सोही मानिसको श्रीमतीसँग संगत गर्दै जाँदा प्रेममा पर्न पुग्छ ।

लिड पिएर चाइनिज अभिनेत्री ताँग वे र कोरियन अभिनेता हाई इल पार्कको अभिनय फिल्ममा सशक्त छ । सम्पादन, छायांकनले फिल्मलाई बलियो बनाउँछ । प्रोडक्सन डिजाइन, रंगको संयोजनका कारण हामी त्यो स्पेस र सेटिङलाई महसुस गर्न पुग्छौं । मज्जाको सेन्सरी प्रभाव पार्छन् यी टेक्निकल छनोटले । यस वर्षको कान्स फिल्म फेस्टिभलमा बेस्ट डाइरेक्टरको अवार्ड जित्न सफल पार्कको फिल्म साउथ कोरियाको प्यारासिट (२०१९) पछिको अर्को बलियो फिल्म हो ।

३. ह्यापिनिङ (फ्रेन्च)

अड्री दिवानको फिल्म ह्यापिनिङले हामीलाई सन् १९६३ को फ्रान्समा पु¥याउँछ, जहाँ एक किशोरी एनी साहित्यको अब्बल विद्यार्थी गर्भवती हुन पुग्छिन्, जसका कारण उनको व्यक्तिगत र सामाजिक जीवन दुवैमा असर पुग्छ । यो एक यस्तो समय हुन्छ, जहाँ गर्मपतनले जेल सजाय निम्त्याउँथ्यो ।

एनी दोधारमा हुन्छिन् र आफैंभित्र कुरा राख्छिन् । भेनिस फिल्म फेस्टिभलको प्रमुख अवार्ड गोल्डेन लाइन जित्न सफल फिल्म २००० को एनी आरनक्सको सोही नामको उपन्यासबाट एडप्ट गरिएको हो । एनामारिया एनीको भूमिकामा जीवन्त लाग्छिन् । उनको अवस्था देखेर प्रणालीप्रति आक्रोश जाग्छ । फिल्मको छायांकन शैलीले हामीलाई सधैं एनीको नजिक बाँधिरहन्छ । पाश्र्व ध्वनि निम्न रहँदा हामी एनीलाई आफ्नै शैलीमा बुझ्ने मौका पाउँछौ ।

एक नारी निर्देशकको भिजनको कारण होला, फिल्मका हरेक नारी पात्रमा ऐजेन्सीको खोज झल्किन्छ । १०० मिनेटमा ह्यापिनिङ ६ दशकअघिको कथा सुनाए पनि शीर्षकसरह यो अझै संसारभरका नारीले भोगिरहेको व्यथा हो भनेर बुझाउन सफल हुन्छ र नारीमा सामाजिक अवस्थाले ल्याउने आत्मनिर्भताको विकासको बारेमा पनि बुझाउँछ ।

४. होली स्पाइडर (इरानी)

अन्त्यमा हामी पुग्छौं इरानमा । जहाँका घटनाक्रमले सन् २०२२ मा संसारको ध्यान केन्द्रित गरेको थियो । २२ वर्षकी युवा महिलाको हेडस्कार्फ नलगाउँदा जेलमा हुँदाहुँदै हत्या भएपछि विशेषगरी इरानका युवा महिलामा आक्रोश देखियो । संयोगवश यही वर्ष प्रदर्शनमा आएको फिल्म होली स्पाइडरले पनि सोही मुद्दालाई बोकेको छ । एक सिरियल किलर साइड हनाइ जसले २००० देखि २००१ सम्म हिजाबको नाममा १६ महिला यौनकर्मीको ज्यान लिएको थियो ।

अलि अब्बासीको फिल्मले यही सत्य घटना र पात्रको कथा भन्छ, फिल्ममा एक काल्पनिक नारी पत्रकार छिन् जसको लेन्सबाट कथा भनिन्छ, जुन यात्रालाई निभाउँदा जाहरा इभ्रहिमीले कान्समा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् । इरानको सिने संस्थाले भने यस निर्णयलाई धार्मिक दृष्टिकोणले अपमानजनक र राजनीतिक चालको रुपमा खण्डन गरेको थियो, केही नेताहरुले फिल्ममा सम्बधित व्यक्तिलाई सजाय दिने पनि भनें । जाहरा इभ्राहिमीले अवार्ड जितेपछि २०० भन्दा बढी धम्की प्राप्त गरेको बताएकी थिइन् ।  सिनेमाले आफनो सत्य बोल्न खोजेको देखिन्छ । अन्तिम दृश्य फिल्मको निकै त्रास निम्त्याउने खालको छ । जसले निर्देशकको विषयप्रतिको संवेदनशीलता र भावी परिणामको डर देखाउँछ ।

फिल्मले हत्यारालाई नेगेटिभ नजरले मात्रै पनि दर्शाउँदैन । उसको पारिवारिक सम्बन्धको नजिक पनि बारम्बार पु¥याउँछ, जसले गर्दा हत्याका घटना देखेर झन् ग्लानि गराउँछ । समाजले उसलाई दिएको प्रतिष्ठा देखेर झन् डर बढ्छ । फिल्म हेरेपछि यसले दर्शाएको सामाजिक भूगोल बिर्सन कदापि सजिलो हुँदैन । ‘होली स्पाइडर’लाई उत्कृष्टकै कोटिमा राख्न त नसकिएला, तर गत वर्षको यो महत्वपूर्ण फिल्म हो ।



from समाचार – Online Khabar https://ift.tt/AxMFszG

Post a Comment

0 Comments