प्रचण्डलाई कुर्दाकुर्दै बालकोट जान छुटेका माधव नेपाल

१२ पुस, काठमाडौं । ‘हामी यहाँ छौं’ भन्दै माइतीघरको सडकमा पलेंटी कसेर बसे । प्रतिनिधिसभा पुनर्स्थापनाको खुसी एक अर्कालाई लड्डु खुवाएर साटे । सत्ता गठबन्धनका बैठकहरुमा पनि एकलाई पर्दा अर्कोले बल दिए । तत्कालीन नेकपामा केपी शर्मा ओलीविरुद्ध एकठाउँमा उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दोस्तीका दृश्य पछिल्लो दुई वर्षमा धेरै देखियो ।

जब १० पुसको बिहानसम्म पनि दुई नेता एकठाउँमा थिए । तर सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रचण्ड प्रधानमन्त्री बन्दा नेपाल किनारामै छुटेका छन् ।

सोमबार अपरान्ह शीतलनिवासमा भएको प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर पनि नेता नेपालले प्रचण्डलाई भेटेनन् ।

लामो समयदेखि सहकार्यमा रहेका दुई नेता कसरी छुटे त ? एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार पार्टी पदाधिकारीको बैठकमा ब्रिफिङ गरेका छन् ।

नेता नेपालका अनुसार चुनावबाट रवि लामिछानेको उदयसँगै प्रचण्डलाई प्रधानमन्त्री बन्न नेपालले नै प्रस्ताव गरेका थिए । रविले नयाँ र क्रान्तिकारी कुरा गरेर चुनाव जितेको र जनताको एउटा पक्षले ठूलो आशा पनि गरेको भन्दै उनले भने, ‘भोलि जनताको असन्तुष्टि कतिखेर सडकमा पोखिन सक्छ । शेरबहादुर देउवाबाट हुनसक्दैन भनेर मैले नै तपाईं अघि बढ्नुपर्छ भनेको हुँ ।’

तर माओवादी अध्यक्ष प्रचण्डले देउवासँग एक्लै संवाद गरे, प्रधानमन्त्री आफू बन्ने सहमति गरे । जब शेरबहादुरले बोली फेर्न लागे, प्रचण्डले नेपालसँग सहयोग मागे ।

आफूले देउवासँग कुरा गर्दा ‘प्रचण्डजी भएपनि ठीकै छ’ भन्ने जवाफ पाएको अध्यक्ष नेपाल सुनाउँछन् । यसबीचमा प्रतिनिधिसभाको यो ५ वर्षको कार्यकालमा प्रधानमन्त्रीमा २/२/१ वर्षको आलोपालो, राष्ट्रपति एकीकृत समाजवादीलाई दिने/नदिने कुरा चलिरह्यो । अन्तिम घडीमा जब देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिए, परिस्थित फेरियो ।

‘प्रचण्डजी अत्यन्तै विक्षिप्त हुनुभयो र भन्नुभयो अब यो गठबन्धन चल्नेवाला छैन । कांग्रेसको दादागिरी सहेर बसिंदैन’, नेपालले पदाधिकारीहरुसँग भने, ‘मैले पनि कांग्रेसको दादागिरी सहिंदैन भनेर भनिसकेको थिएँ ।’

अध्यक्ष नेपालका अनुसार १० पुसमा बालुवाटारमा भएको छलफलमा पनि सहमति नभएपछि त्यहीं प्रचण्ड र उनीबीच कसरी अगाडि जाने भनेर सल्लाह भएको थियो । प्रचण्डले दुवै मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने र नयाँ ढंगले अघि बढ्ने प्रस्ताव राखे । उनले सहजै सहमति जनाए । ‘मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेकै हो’ नेता नेपाल भन्छन् ।

बालुवाटारबाट उनी आलोकनगरस्थित पार्टी कार्यालय आए, नेताहरुलाई छलफलका लागि बोलाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरे ।

‘यादवजीले म आउँछु भन्नुभयो । राजेन्द्रजीको फोन उठेन, रवि लामिछानेले म बालकोट लाग्दैछु, आउँछु कमरेड भन्नुभयो’, अध्यक्ष नेपालले पार्टी नेताहरुलाई सुनाए, ‘बालकोटले तानिहालेछ भन्ने लाग्यो । मैले ठीकै छ बस्नुस् भनें।’

माधव नेपाल प्रचण्डले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर प्रचण्डको बोलावट आएन । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो ।

‘ठ्याक्क चार बजे फोन आउँछ शेरबहादुरजीको । ‘माधवजी, प्रचण्डजीलाई तपाईंले तुरुन्त भनेर प्रधानमन्त्रीमा पहिलो पालो प्रचण्डजीलाई भनिदिनुपर्‍यो’ नेता नेपालले जवाफ फर्काए, ‘समय बितिसकेपछि हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिंड्ने बेलामा तपाईंले भनेर हुन्छ ?’

ओलीलाई भेट्न जान कुर्दाकुर्दै छुटेका अध्यक्ष नेपाल आफूलाई थाहै नदिई प्रधानमन्त्री भएकोमा प्रचण्डसँग दुःखी छन् । यद्यपि नेताहरुले उनलाई फकाउन थालिसकेका छन् । मंगलबार पूर्वमन्त्री वामदेव गौतमले पनि अध्यक्ष नेपाललाई भेटेर प्रचण्ड सरकारमा जान सल्लाह दिएका छन् । त्यो भेटमा सहभागी एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे भन्छन्, ‘हामी भोलि २ बजे बैठक बस्दैछौं । यसबारे पनि निर्णय होला ।’



from समाचार – Online Khabar https://ift.tt/Ck6s5yE

Post a Comment

0 Comments