हर्कको शैलीमा हेभीवेटसँग भिडिरहेका कान्छा पार्टी अध्यक्ष

३० कात्तिक, काठमाडौं । केही साथीभाइलाई लिएर काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामबाबु गौतम निरन्तर मतदाता भेटघाटमा छन् । कोणसभा, चोकसभा र मतदाताको घरदैलोमा व्यस्त गौतमले गत साता एमसीसीको प्रति जलाएर मत मागे ।

भिडको प्रतिक्रिया, वास्ता-बेवास्तालाई पन्छाएर आफ्नो एजेन्डा र उम्मेदवारीको औचित्य पुष्टि गर्न मेहनत गरिरहेका छन् । ‘जनताले एमसीसी पारित गर्न जिताएका थिएनन्, हामीले मतदातालाई एमसीसी जलाएर असल जनप्रतिनिधि चुने मात्र मतदाता र देशको हितअनुकूल काम हुन्छ भनेर सन्देश दिएका हौं,’ गौतमले भने ।

३३ वर्षीय गौतम आफूलाई देशकै कम उमेरको पार्टी अध्यक्ष हुँ भनेर दाबी गर्छन् । उमेर सानै भए पनि उनको राजनीतिक अनुभव भने लामो छ । २०६२/६३ को आन्दोलनमा काठमाडौंमा सक्रिय सहभागी भएका गौतम प्रहरी दमनमा परी घाइते भए ।

२०६२ सालमा पशुपति क्याम्पसको स्ववियु सदस्य जितेका उनी २०६५ मा स्ववियु सचिवमा निर्वाचित भए । पछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुगे । जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेको बेला उनले पार्टी परित्याग गर्दै पुनर्जागरण पार्टी नेपाल दर्ता गराए । उनी सोही पार्टीको अध्यक्षका रुपमा काठमाडौं-४ बाट उम्मेदवार पनि बनेका छन् ।

यही बीचमा उनी केही समय सञ्चारकर्ममा पनि क्रियाशील रहे । काठमाडौंलाई कर्मथलो बनाउँदै आएका उनी काठमाडौं-४ कै स्थायी बासिन्दा हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गौतम हाल इतिहास विषयका पिएचडी स्कलर पनि हुन् ।

मतदाताले साहस नगरी देश नबलिने उनको बुझाई छ । घोषणापत्र सार्वजनिक गर्ने उनको तरिका पनि अनौठो छ । उनले कात्तिक १९ गते पार्टीको भाकलपत्र सार्वजनिक गरे । घोषणापत्रलाई भाकल पत्रको नाम दिएको पुनर्जागरण पार्टीले ‘दक्ष नागरिक, समृद्ध नेपाल’ लाई मूल नारा बनाएको छ ।

युवाले राजनीतिमा सशक्त हस्तक्षेप गर्नुपर्ने धारणा राख्ने गौतमले चुनावी घोषणापत्रमा अनौठा योजना अगाडि सारेको छ । जेल भत्काएर श्रम शिविर बनाउने, स्वास्थ्य क्षेत्रमा भएको माफियाकरणको अन्त्य गर्ने, जल, वायु, तेज, आकाश र माटोको संरक्षण गर्ने मुद्दा पनि उक्त पार्टीको घोषणपत्रमा आटाएको छ ।

काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराई पनि उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष प्रधान चौधरीले कांग्रेसका थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

‘पुराना दल र नेतालाई मत दिँदादिँदा वाक्कदिक्क भएका मतदाताले विकल्पको रुपमा मलाई रोज्छन्,’ गौतम भन्छन्, ‘मतदाता भेटघाटको क्रममा पाएको प्रतिक्रियाले उत्साहित छ, यसपाली चुनावमा केही नयाँ हुँदैछ ।’



from समाचार – Online Khabar https://ift.tt/ubXaFe8

Post a Comment

0 Comments