२६ कात्तिक, काठमाडौं । गत साउनको दोस्रो हप्ता ललितपुर (सुनाकोठी) का रामजी श्रेष्ठलाई डेंगु संक्रमण पुष्टि भयो । पेशाले स्वास्थ्यकर्मी नै भएकाले उनी चिकित्सकको सल्लाहमा घरै बसे । केही समयपछि काममा फर्किए । तर, यसपछि पनि उनले कमजोर र थकित भएको महसुस गरिराखे ।
फलोअपका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताल आइपुगेका श्रेष्ठको अनुभव सुनेर सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन पनि छक्क परे । पुन भन्छन्, ‘चक्कर लाग्ने, टाउको भारी हुने, निऽा नलाग्ने र मुटुको धड्कनमा गडबडदेखि कपाल झर्नेसम्मको स्वास्थ्य समस्या थियो उनमा ।’
पछिल्लो समय डेंगु संक्रमण हुनेको संख्यामा क्रमशः कमी हुँदै गइरहेको देखिए पनि संक्रमित भइसकेका कतिपयमा भने लामो समयपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिरहेको डा.पुन बताउँछन् । डा. पुनका अनुसार यस्ता व्यक्तिहरूले कम्तीमा दुई वा बढी लक्षणहरू अनुभव गरिरहेका छन् ।
‘शरीर तातिएको महसुस हुने (तर, ज्वरो नदेखिने), शरीर फतक्कै गल्ने, अत्यधिक कमजोरी महसुस हुने, कपाल झर्ने, सुतिराख्न मन लाग्ने जस्ता गुनासो उनीहरूले गरेका छन्’ डा. पुनले अनलाइनखबरसँग भने, ‘केही व्यक्ति मुटुको चालमा गडबडदेखि आत्महत्याको सोच पनि आएको बताउँछन् ।’
डेंगु संक्रमणमुक्त भएको तीन महिना बितिसक्दा पनि स्वास्थ्यकर्मी श्रेष्ठमा कडा थकान, कमजोरी, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता समस्या देखिइरहेको छ । ‘डेंगु पछि कार्यक्षमतामा नै ह्रास आएको छ । म त अब केही गर्न सक्दिनँ होला’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पहिला जस्तो लगातार बोल्न पनि सक्दिनँ । अहिले गाडी चलाउनका लागि पनि ड्राइभर राखेको छु ।’
डेंगु संक्रमितहरू शारीरिक मात्रै नभएर मानसिक र मनोवैज्ञानिक समस्या लिएर पनि आइरहेको डा. पुन बताउँछन् ।
संक्रमणमुक्त भएको तीन महिनापछि पनि चक्रपथ बस्ने २६ वषर्ीय प्रेम चन्द डेंगु सिर्जित दिक्दारीबाट मुक्त हुनसकेका छैनन् । ‘भोक भए पनि खाना रुच्दैन । तौल घट्दै गएको छ । तर, सुतिरहन मात्रै मन लाग्छ’, उनले स्वास्थ्य समस्या सुनाए । चन्दको अनुभवमा कोरोना भन्दा डेंगुले बढी सतायो उनलाई ।
‘मलाई दुई पटक कोरोना भएको थियो । तर, यत्ति धेरै गलाएको थिएन’ उनी भन्छन्, ‘डेंगुपछि मानसिक सँगै शारीरिक समस्यासँग लडिरहेको छु ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार असोज तेस्रो हप्तादेखि पोष्ट डेंगुका बिरामीको संख्या बढ्दो क्रममा छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा.निरज बम पनि डेंगु संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएका केही व्यक्तिमा पोष्ट डेंगुको समस्या देखिरहेको बताउँछन् ।
‘पोष्ट डेंगुका व्यक्ति पहिला कडा शारीरिक पीडाबाट गुज्रेका थिए । तर, अहिले उनीहरूलाई भर्ना नै गरेर भने राख्नुपरेको छैन । काउन्सिलिङसँगै लक्षण अनुसारको औषधि दिएर पठाउने गरिएको छ’, डा.बमले भने ।
गोठाटार बस्ने राजकुमार घिमिरेले संक्रमणमुक्त भइसक्दा पनि आफूले सामान राखेको ठाउँ समेत पटक-पटक भुल्ने गरेको अनुभव गरेका छन् ।
‘डेंगु संक्रमण अगाडि भुल्ने कुनै अनुभव गरेको थिइनँ । तर, अहिले थोरै शारीरिक काम गर्दा पनि छिटो स्याँ-स्याँ हुने, अत्यधिक थकित महसुस हुने, एकाग्रता नहुने जस्ता समस्या छन्’ उनी भन्छन्, ‘त्यति मात्रै नभएर अहिले नाक सुक्खा हुने, थुक नआउने जस्ता समस्या पनि देखिन थालेका छन् ।’
डेंगु ज्वरोको समयमा मांसपेशी, जोर्नी दुखाइ केही दिनसम्म रहने भएकाले निको भएका बिरामीहरूलाई तुरुन्तै नियमित गतिविधि गर्न गाह्रो हुने डा.बमको भनाइ छ ।
‘डेंगु संक्रमितमा बढी कमजोरी भएकाले भोक पनि कम हुन्छ । कम भोकले थप पोषणको कमी र केही तौल घटाउँछ’ डा. बमले भने, ‘तिनीहरूमध्ये केहीलाई निको भएपछि शरीरमा दागहरू देखा पर्छन् । कम प्लेटलेट्सले तनाव र चिन्ता थप्छ । कसै-कसैको कपाल धेरै नै र्झने समस्या देखिएको छ ।’
डेंगुको रिपोर्ट नेगेटिभ आएपछि पनि त्यसले निम्त्याएका अन्य स्वास्थ्य समस्या लिएर चिकित्सक कहाँ आउने बिरामीको संख्या उल्लेख्य छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख प्रा.डा.युवराज शर्मा पनि डेंगु संक्रमण मुक्त भए पनि ४-५ हप्तासम्म पनि धेरै कमजोरी र खानामा रुचि नभएको जस्ता समस्या लिएर ओपीडीमा बिरामीहरू आइरहेको बताउँछन् ।
‘ज्वरो रोकिएको हुन्छ, खाना रुचि नभएको, चक्कर लागेको जस्ता समस्या लिएर आइरहेका छन्’ डा. शर्मा भन्छन्, ‘त्यस्ता व्यक्तिको कलेजो सुन्निएको हुन्छ । जसका कारण खानामा रुचि हुँदैन ।’
‘कुनै पनि भाइरसको संक्रमण भएपछि शरीरमा कमजोरीपन हप्तौंसम्म रहन्छ । जुन, डेंगुमा पनि व्यापक रूपमा देखिएको छ । यस्ता बिरामीमा डिप्रेसन, एन्जाइटीका लक्षण बढेको पाइन्छ’, डा. शर्माले थपे ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहाल विभिन्न अस्पताल तथा प्रतिष्ठानबाट डेंगु संक्रमणपश्चात्को समस्याको बारेमा विवरण प्राप्त भइरहेको बताउँछन् ।
‘डेंगु संक्रमणपछिका समस्यालाई लिएर विभिन्न अस्पताल तथा प्रतिष्ठानका विज्ञहरूसँग छलफल गरेका थियौं । तर, ठूलो संख्यामा नदेखिएकाले त्यसलाई ‘फोकस गर्नु नपर्ने’ निष्कर्ष आएपछि थप काम गरिएको छैन’, दाहालले भने ।
‘एक महिनापछि केस अझै बढ्छन्’
उपचारमा संलग्न चिकित्सकहरू डेंगु संक्रमणमुक्त भएपछि पनि समस्या कायम नै रहेकाले त्यसलाई ‘पोष्ट डेंगु’ भन्न रुचाउँछन् । तर, चिकित्सा क्षेत्रमा पोष्ट डेंगुको आधिकारिक परिभाषा त बनिसकेको छैन ।
डेंगु संक्रमण भएको कति हप्ता वा महिनापछिको अवस्थामा पनि स्वास्थ्यमा समस्या देखिरहे ‘पोष्ट डेंगु’ को अवस्था जनाउने भन्नेमा वैज्ञानिक धारणा पाइएको छैन । डेंगु कडा भएका बिरामीले अहिले पोष्ट डेंगुसँग जुधिरहनु परेको डा.पुन बताउँछन् । सन् २०२२ को डेंगु महामारीले हालसम्मकै सबैभन्दा धेरैलाई संक्रमित बनाएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यस वर्ष मात्रै ५१ हजारभन्दा बढी संक्रमित र ५७ जनाले ज्यान गुमाएका छन् । यो त, सरकारी तथ्यांकमा मात्रै हो । उपचारमा संलग्न चिकित्सकका अनुसार लाखौं-लाख मानिस यो वर्ष डेंगुबाट संक्रमित भएका छन् ।
डा.पुनको अनुभवमा पनि यो वर्ष अधिकांश संक्रमितले अत्यन्त शारीरिक पीडा भएको गुनासो गरेका थिए । ‘डेंगु भाइरसका गम्भीर लक्षण भएका अधिकांश बिरामीमा रक्तस्राव भएको थियो । कडा संक्रमितमा पोष्ट डेंगु हुने सम्भावना भएकाले भर्खरै निको भएका सयौं बिरामीहरू आगामी दिन वा महिनामा पोष्ट डेंगुको समस्या लिएर आउन सक्ने भएकोले यो संख्या बढ्ने देखिन्छ’, डा. पुन भन्छन् ।
पोष्ट डेंगुको समस्या सम्भवतः नेपालको लागि नौलो अनुभव भएकोले बाहिर आइनसकेको डा.बमको भनाइ छ । ‘केही व्यक्ति मात्रै फलोअपमा आउनुभएको छ । धेरै जनालाई पोष्ट डेंगु लक्षणको बारेमा थाहै छैन । यस सम्बन्धी पर्याप्त अनुसन्धान नभएकोले यही कारणले पोष्ट डेंगु लक्षण देखियो भन्न सकिने आधार छैन’, डा. बमले थपे ।
श्रीलंकामा गरिएको एक अनुसन्धानले डेंगु संक्रमितमध्ये एक तिहाइमा दुई महिनापछि पनि पोष्ट डेंगुको समस्या देखिएको र ब्राजिलमा गरिएको अनुसन्धानले डेंगु संक्रमितमध्ये झन्डै पचास प्रतिशतमा ६ महिनासम्म पनि पोष्ट डेंगुको समस्या पाइएको डा.पुनले बताए ।
‘अधिकांश अनुसन्धानहरूले महिला संक्रमितहरूमा पोष्ट डेंगु लक्षण बढी भएको पाइएको छ । जसको यकिन कारण भने थाहा छैन’, डा. पुन भन्छन् ।
‘अहिलेसम्म, यसको व्यवस्थापन र व्याख्या गर्ने पर्याप्त प्रकाशित अध्ययन छैनन् । पोष्ट डेंगु कति लामो समयसम्म रहन्छ थाहा छैन । यद्यपि, लक्षणको आधारमा उपचार भइरहेको छ’, डा.बम थप्छन् ।
from समाचार – Online Khabar https://ift.tt/MsRB5XP
0 Comments
if you have any doubts, please let us know.