देशैभर चुनावी माहोल छ । यो माहोल बीच नेताहरू झन्-झन् सिद्धान्तहीन हुँदै गएका छन् । सबै नेताको एकसूत्रीय एजेण्डा छ – जसरी भए पनि चुनाव जित्ने । यो एजेण्डाका लागि जो, जो-सुकैसँग मिल्न तयार छ । अब कोही कसैको दुश्मन रहेन । कोही कसैको मित्र पनि रहेन । सबै आ-आफ्ना सिद्धान्तबाट च्यूत भएका छन् ।
सिद्धान्त केही होइन, क्षणिक फाइदाका लागि जे गरे पनि हुन्छ । यस्तो अनौठो भाष्य स्थापित हुँदै गएको छ । यही मान्यताका आधारमा गठबन्धन बनेका छन् । तीन दशक पुराना पात्र यस्तै गठबन्धनको सहारामा पुनः सत्तासीन हुन बल गरिरहेका छन् ।
यस्तो खालको राजनीतिले मुलुकलाई कता लैजाला ? किन सबै दलका नेता सिद्धान्तहीन हुँदै गएका होलान् ? किन नेपाली राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्व स्थापित हुन नसकेको होला ? यस्तो प्रश्नमा विद्वानहरू चिन्ता त गर्दछन्, तर चिन्तन भने कमै गर्दछन् ।
धेरैजसो मानिस, राजनीतिमा सिद्धान्तहीनलाई गलत मान्दछन् । उनीहरू भन्छन्, नेता गलत हुन्, यिनीहरू सच्चिनुपर्दछ, सिद्धान्तनिष्ठ हुनुपर्दछ ।
यद्यपि यहाँ एउटा अनौठो तथ्यबारे चर्चा गर्न खोजिंदैछ । आजको राजनीतिमा सिद्धान्तहीन एक स्वाभाविक परिघटना हो । यस्तो परिघटनालाई स्वाभाविक मान्नुपर्दछ । नेताहरूमा देखा परेको विचलनलाई पनि स्वाभाविक नै मान्नुपर्दछ ।
यति भनिसक्दा पाठकहरूमा किन ? कसरी ? जस्ता जिज्ञासा पैदा भएको हुनुपर्दछ । आउनुहोस् यसै विषयमा संक्षिप्त चर्चा गरौं ।
सिद्धान्त/असिद्धान्त
पुरानो विज्ञान (शास्त्रीय विज्ञान) भन्थ्यो- हाम्रा इन्द्रीयले देखेको संसार वास्तविक र शाश्वत छ । यो संसार सुनिश्चित नियमद्वारा संचालित छ । हामीले बौद्धिक प्रयत्नबाट संसार संचालनको त्यो सुनिश्चित नियम जान्न सक्दछौं । त्यही नियम नै सिद्धान्त हो । यस्ता सिद्धान्तले प्रकृति र जीवनबारे वास्तविक तथ्य उजागर गर्दछन् ।
नयाँ विज्ञान (आधुनिक विज्ञान) यसो भन्दैन । नयाँ विज्ञान यसको ठिक विपरीत कुरा गर्दछ । नयाँ विज्ञान भन्छ- अस्तित्व यति विराट छ, त्यसको छेउमा हाम्रो बुद्धि, शब्द र भाषा रौं बराबर पनि छैन । अस्तित्वको सम्पूर्ण नियम हाम्रो शब्द, भाषा र बौद्धिक क्षमताबाट अभिव्यक्त हुन नै सक्दैन । अस्तित्वको शाश्वत नियम अनिर्वचनीय छ । हाम्रा सिद्धान्तहरू अस्तित्वका सम्बन्धमा ‘नगन्य सत्य’ मात्र हुन् । सम्पूर्ण सत्य होइनन् ।
आधुनिक विज्ञानले सिद्धान्तको परिभाषालाई यसरी बदलिदिएको छ । आजको अर्थमा सिद्धान्त त्यो हो, जसले प्रकृति वा जीवनको आन्तरिक स्वभावको नगन्य अंशलाई शब्द र भाषामा अभिव्यक्त गर्दछ । आधुनिक विज्ञान यो पनि भन्छ – अस्तित्वका तीन आयाम छन् – स्थूल, सूक्ष्म र शून्य । सिद्धान्त पनि यिनै तीन आयामसँग सम्बन्धित हुन्छन् ।
स्मरणीय तथ्य यो हो कि, अस्तित्वको शून्य आयाम मात्र अनिर्वचनीय हुने हो । नत्र, सिद्धान्तहरू जुन तहका लागि बनेका हुन् सोही तहमा पूरापूर सान्दर्भिक हुन्छन् । यदि स्थूल तहको सिद्धान्त हो भने त्यसले स्थूल तहमा ठीक ढंगले काम गर्दछ । सूक्ष्म तहको सिद्धान्त हो भने सूक्ष्म तहमा उस्तै काम गर्दछ ।
यसपालिका चुनावी गठबन्धनहरूले आफैं प्रमाणित गरिदिए कि यहाँ सबै दलको चारित्रिक विशेषता एउटै हो । जसरी भए पनि चुनाव जित्ने, यसका लागि जोसँग पनि मिल्ने भन्ने जुन सोच हाम्रा नेताहरूमा विकसित भयो, यसले नै देखाइदियो कि हाम्रा दल र नेताहरूमा चारित्रिक भिन्नता छैन
यद्यपि, सूक्ष्म सिद्धान्त हाम्रो तर्क र बुद्धिको समझमा आउन मुश्किल हुन सक्छ । सूक्ष्म सिद्धान्त हाम्रो बुद्धिसम्मत ज्ञानको ठिक विपरीत जस्तो देखिन सक्छ । तैपनि तिनीहरू यथार्थ र सही नै हुन्छन् । त्यस्ता सिद्धान्तलाई बुझ्न व्यक्तिले आफ्नै मिहिनेत बढाउनु बाहेक अरू उपाय हुँदैन । सूक्ष्म सिद्धान्त बुझ्न, व्यक्तिले बुद्धि होइन, बोध बढाउन जरूरी हुन्छ ।
सिद्धान्त भन्ने बित्तिकै त्यो व्यवहारसँग जोडिन्छ । व्यवहारमा लागू नहुने वा लागू गर्न कठिन हुने धारणा सिद्धान्त नै होइन, असिद्धान्त हो । यथार्थ नियम (सिद्धान्त) र व्यवहारमा कुनै भेद नै हुँदैन । नियम (सिद्धान्त) स्वयं नै प्रकृति वा जीवन हो । यसलाई लागू गर्ने भन्ने प्रश्नै उठ्दैन । स्वतः व्यवहारमा लागू हुन्छ ।
यदि कुनै सिद्धान्त व्यवहारमा लागू भएन भने यो बुझ्नु पर्यो कि त्यसले प्रकृति र जीवनको यथार्थ नियम पक्रिएको छैन । त्यो सिद्धान्त होइन, असिद्धान्त हो ।
उदाहरणमा हेरौं, पृथ्वीको सतहभन्दा माथि रहेका जुनसुकै वस्तु गुरुत्वाकर्षण बलका कारण पृथ्वीतर्फ तानिन्छन् । पानीलाई १०० डिग्रीमा तताउँदा बाफ बन्दछ । पानीलाई शून्य डिग्रीसम्म चिसो बनाउँदा बरफ बन्छ । यी प्रकृतिका स्थूल सिद्धान्त हुन् । प्रकृतिको स्थूल तहमा यी सिद्धान्त र व्यवहारबीच कुनै भेद हुँदैन । त्यसकारण यी सिद्धान्त हुन् ।
सामाजिक सिद्धान्तहरूमा पनि यो गुण देखिनुपर्दछ । सामाजिक सिद्धान्त भनिएका नियम र व्यवहारबीच विरोधाभास देखिनुहुँदैन । यदि यसो भयो भने मात्र ती नियम सिद्धान्त हुन् । नत्र ती असिद्धान्त हुन् ।
विरोधाभास
हाम्रो बीचमा सयौं वर्षदेखि प्रचलित राजनीतिक विचारधारा साँच्चै सिद्धान्त हुन् त ? विचार गरौं । एकथरी शास्त्रीय चिन्तक भन्दछन्- समाजको गति गणितीय हुन्छ । समाज आदिम युग, अर्ध-सभ्य युग, हुँदै सभ्य युगसम्म आएको हो । मानिस सभ्य हुँदै गएपछि उदारवादी समाज बनाउँछ । त्यस्तो समाजमा व्यक्तिगत तथा व्यावसायिक स्वतन्त्रता हुन्छ । त्यही स्वतन्त्रताले मानिसको सर्वाङ्गीण उन्नति र प्रगतिको आधार पैदा गर्दछ ।
अर्कोथरी शास्त्रीय चिन्तक भन्दछन् – समाज आदिम युग, दास युग, सामन्ती युग, पूँजीवादी युग, समाजवादी युग हुँदै साम्यवादी युगमा पुग्छ । निजी धनका कारण समाजमा गरिबी र असमानता पैदा भएको हो । गरिब र धनीबीच खाडल बढ्दै गएपछि गरिबहरू एकजुट हुन्छन् र वर्ग मास्ने क्रान्ति गर्दछन् ।
वर्ग मासेपछि सबै मानिसको भौतिक आवश्यकता पूरा हुन्छ । तब मानव जातिले ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसार’मा फड्को हान्दछन् । यही वर्गीय समानतासहितको स्वतन्त्रताले मानिसको सर्वाङ्गीण उन्नति र प्रगतिको आधार पैदा गर्दछ ।
हामीले सिद्धान्तका नाममा आजसम्म सुन्दै आएका कुरा यस्तै हुन् । केही चिन्तकले माथिकै भाष्यमा थोरैतिनो काँटछाँट गरेर नयाँ सिद्धान्त बनाउने प्रयास नगरेका होइनन् । तर आजसम्म प्रचलित यस्ता कुनै पनि सिद्धान्तको सफल कार्यान्वयन हुन सकेन । अर्थात्, सिद्धान्त र व्यवहारबीच कुनै तालमेल बनेको देखिएन ।
समाज आजसम्म गणितीय चालमा चलेको छैन । इतिहास रेलको डिब्बा जस्तो सर्लक्क ३ युग वा ६ युगमा विकास भएको छैन । जुन दिन मानव जाति पैदा भयो, त्यसयता मानिसले प्रगति गरेको भनेको जम्माजम्मी प्रविधिमा हो । मानवीय प्रवृत्ति त इतिहासदेखि आजसम्म एउटै छ, बदलिएको छैन ।
मानिस क्रमशः सभ्य हुँदै गएको कुरा यथार्थ होइन । बरु जति मात्रामा प्रविधि विकास हुँदैछ, त्यति नै मात्रामा मानिस असभ्य र स्वार्थी पनि हुँदै गएको छ । मानिसले जति ‘सुख’ बढाइरहेको छ, त्यति नै मात्रामा ‘दुःख’ पनि बढाइरहेको छ । जति ‘विकास’ गरिरहेको छ, त्यति नै मात्रामा ‘विनाश’ पनि गरिरहेको छ । जति ‘शान्ति’ को कुरा गरिरहेछ, त्यति नै ‘हिंस्रक’ पनि भइरहेको छ ।
अर्कोतिर, मानिसले वर्ग मास्ने कोसिस त गर्यो, तर सकेन । धनमा आधारित वर्ग मासे पनि पदमा आधारित वर्ग पैदा भयो । पदमा आधारित वर्ग समाजले खतरनाक निरंकुशता र विभेदको अभ्यास गर्यो । ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसार’ मा फड्को हानेको देखिएन ।
सारमा यहाँ उदारवादी वा समाजवादी वा साम्यवादी वा कल्याणवादी वा राष्ट्रवादी, कुनै सिद्धान्त सफल कार्यान्वयन भएको देखिएन । समाजको चरित्र र हाम्रा नेताको हविगत हेर्दा, भोलिका दिनमा पनि यो कार्यान्वयन हुँदैन भन्ने स्पष्ट छ ।
यी तथ्यले बताउँछन्, आजसम्म सिद्धान्तका नाममा हामीले सुन्दै आएका धारणा व्यवहारद्वारा सिद्ध छैनन् । त्यसकारण यिनीहरू असिद्धान्त हुन् ।
नेताको दोष
जुन कुरा व्यवहारमा लागू हुन सक्दैन, त्यही असिद्धान्त हो । जब व्यवहारमा लागू हुनै नसक्ने कुरा जबरजस्ती लागू गर्ने प्रयत्न गरिन्छ, तब त्यसले दुईखाले परिणाम दिन्छ । पहिलो, उद्देश्यबाटै पलायन हुनुपर्ने हुन्छ । दोस्रो, बोली र व्यवहारको टुंगो नभएको अस्थिर, ढोंगी र पाखण्डी पात्र बन्नुपर्ने हुन्छ ।
यतिबेलाका हाम्रा दल र नेताहरूको हविगत ठिक यस्तै छ । एकथरी राजनीतिबाट पलायन हुन बाध्य भए । अर्कोथरी कुनै अडान र टुंगो नभएका ढोंगी र पाखण्डी पात्रमा रूपान्तरण भएका छन् ।
नेताले सिद्धान्त र असिद्धान्त चिन्न सकेनन् । असिद्धान्तलाई नै सिद्धान्त भन्दै हिंडिरहे । तब उनीहरूको बोली र व्यवहारको तालमेल मिलेन । बोली एकथोक व्यवहार अर्कोथोक भयो । यही परिघटनालाई हामीले सिद्धान्तहीनता भन्यौं ।
सिद्धान्तका नाममा असिद्धान्त बोकेर हिंड्दा नै यो सबै भएको हो । हाम्रा नेता शास्त्रीय चेतनाको भ्रमजालमा कैद हुनु नै यसो हुनुको मूल कारक हो । यो भ्रमजालबाट मुक्त नभएसम्म राजनीतिमा सिद्धान्तहीनता एक स्वाभाविक परिघटना बनिरहन्छ ।
सिद्धान्तको नमूना
समाज भन्ने कुनै अलग्गै तत्व हँुदैन । समाज भन्नु नै व्यक्तिहरूका सम्बन्धको जोड हो । सामाजिक सिद्धान्त ठिक हुनका लागि एउटै शर्त हुन्छ- व्यक्तिका वास्तविक स्वभावको पहिचान । यदि व्यक्तिलाई ठिक ढंगले चिनिएको छ भने समाजको स्वभाव पनि चिनिन्छ । तब समाजको स्वभावका सम्बन्धमा गरिएको प्रक्षेपण पनि ठिक हुन्छ । सामाजिक सिद्धान्त पनि वास्तविक सिद्धान्त बन्न सक्छन् ।
तर यदि व्यक्तिलाई ठिक ढंगले चिनिएको छैन भने समाजलाई पनि चिन्न सकिन्न । तब सामाजिक स्वभावका सम्बन्धमा गरिएको प्रक्षेपण पनि गलत हुन्छ । ठिक यही अवस्थामा सामाजिक सिद्धान्त, असिद्धान्त बन्दछन् ।
व्यक्तिलाई चिन्ने सवालमा शास्त्रीय चिन्तकले केही गल्ती गरेका छन् । यिनै गल्तीका कारण शास्त्रीय युगका सारा सिद्धान्त असिद्धान्त बन्न पुगे ।
पहिलो गल्ती : शास्त्रीय चिन्तकले व्यक्तिलाई प्रामाणिक स्वभाव भएको प्राणी माने । शास्त्रीय मनोविज्ञानको ‘प्रतिबिम्बन सिद्धान्त’ लाई पक्रिएर यिनीहरूले मानिसको चेतनाको पनि गणितीय परिभाषा गरे । सामाजिक चेतनालाई नै सबथोक माने । आत्मिक गुणधर्मलाई बेवास्ता गरे ।
दोस्रो गल्ती : मानव जातिको अन्तिम खोज भनेकै भौतिक सुखको खोज हो भने । भौतिक सुख प्राप्तिलाई राजनीतिको लक्ष्य बनाए । यही आधारमा राजनीतिक विचारधारा निर्माण गरे । माथिका दुवै निष्कर्ष व्यक्ति -मानिस) को स्वभावको विपरीत थिए ।
आधुनिक मनोविज्ञान भन्छ- सामाजिक चेतनाका हिसाबले मानिस सबै समान छन्, तर गुणवत्ताका हिसाबले भिन्न पनि छन् । यो संसारमा मानिस मात्र यस्तो प्राणी हो जसको कुनै प्रामाणिक स्वभाव छैन । पशु प्रामाणिक छ । पशुमा विचलन पनि छैन, रूपान्तरणको संभावना पनि छैन । तर मानिस तरल छ । उभित्र अस्थिरता र रूपान्तरणीय स्वभाव छ ।
ऋषिहरूले पनि हजारौं वर्ष पहिलेदेखि यही कुरा भन्दै आएका हुन् । मानिस एक अर्थमा ‘पशु’ नै हो । तर ऊभित्र ‘पशुपतिनाथ’ -बुद्धत्व) सम्मको यात्रा गर्न सक्ने क्षमता छ । कसले चेतनाको विकासलाई कहाँसम्म विस्तार गर्छ ? यो व्यक्ति-विशेषको लगाव र गुणवत्तामा भर पर्दछ ।
यद्यपि बुद्धत्वको क्षमता विशिष्ट हो, आम होइन । आम मानिस त ‘पशु’ र ‘पशुपतिनाथ’ प्रवृत्तिको बीचमा दायाँ-बायाँ गरिरहन्छन् । यसकारण, बुद्धत्वको स्वभाव सामाजिक सिद्धान्त निर्माणको आधार बन्न सक्दैन । मानिसको ‘आम स्वभाव’ नै सामाजिक सिद्धान्त निर्माणको आधार बन्दछ, बन्नुपर्दछ ।
आधुनिक मनोविज्ञानको दोस्रो स्वीकारोक्ति, भौतिक सुख वैयक्तिक र राजनीतिक आन्दोलनको साधन बन्नुपर्दछ, लक्ष्य बन्नुहुँदैन भन्ने हो । मानिस अन्ततः आनन्द वा खुसीका लागि सक्रिय रहन्छ । उसका सारा प्रयत्न भौतिक सुखका लागि होइन, आत्मिक खुसीका लागि केन्दि्रत हुन्छन् ।
भौतिक सुख मनुष्य जीवनका लागि जरूरी छ, तर यसले आनन्द वा खुसीको ग्यारेन्टी गर्दैन । केवल सहयोगी भूमिका मात्र खेल्दछ । गुणधर्म अनुसारको कर्मले मात्र व्यक्तिलाई खुसीसम्म पुर्याउँछ । यसकारण भौतिक सुख प्राप्ति राजनीतिक वा वैयक्तिक जीवनको लक्ष्य बन्नुहुँदैन । निजत्वको प्रस्फुटन वा आत्मिक खुसीको सिर्जना चाहिं लक्ष्य बन्नुपर्दछ ।
विज्ञानका यी तथ्यलाई राजनीतिक विचारधारामा आत्मसात् गर्ने बित्तिकै केही फरक निष्कर्षतर्फ पुगिन्छ । जसले वैकल्पिक वा वास्तविक सिद्धान्त स्थापित गर्दछ ।
जस्तो कि, सामाजिक चेतनाका हिसाबले सबै मानिस उस्तै स्वभावका छन् । उस्तै भन्नुको अर्थ सबै मानिस काम, क्रोध, लोभ, मोह र अहंकारद्वारा निर्देशित हुन्छन् । उत्पत्तिदेखि आजसम्म मानिसको यो गुणधर्ममा परिवर्तन आएको छैन । यही गुणले मानिसलाई तरल प्राणी बनाएको हो । मानव जाति रहेसम्म यो आम मानवीय स्वभाव कायम रहन्छ । हाम्रो राजनीतिले यो मानवीय स्वभाव (कमजोरी/सबलता) को व्यवस्थापनतर्फ केन्द्रित हुनुपर्दछ । यो एउटा सिद्धान्त भयो ।
दोस्रो, जब व्यक्ति-विशेषको प्रामाणिक स्वभाव छैन, तब मानवीय समूह (दल)को पनि प्रामाणिक स्वभाव हुँदैन । सबै दल उस्तै हुन् । जे नामधारी भए पनि सबै दल काम, क्रोध, लोभ, मोह, अहंकारसहितका मानिसको जमात हो । दल हतियार जस्तै हो । जस्तोसुकै दलले समाजलाई प्रगति वा अधोगति, दुवै दिशामा लैजान सक्छ । यस कारण कुनै पनि दल साधन हुन्, साध्य होइनन् । दल पिच्छेका विधान जरूरी छैन । सबै दललाई एउटै विधानद्वारा बाँध्नुपर्दछ । यो अर्को सिद्धान्त भयो ।
तेस्रो, जब व्यक्तिको स्वभाव रूपान्तरणीय, तरल र अगणितीय छ, समाजको स्वभाव पनि त्यस्तै छ । समाजको एकलरेखीय इतिहास पनि थिएन, सुनिश्चित भविष्य पनि हुँदैन । यो बहुआयामिक र बहुसंभावनाको यात्रामा हुन्छ । मानवीय प्रयासले सामाजिक गतिलाई ‘डिस्टर्ब’सम्म गर्न सक्छ, ‘निर्देशित’ गर्न सक्दैन । मानिसले सामाजिक भविष्यको प्रक्षेपण पनि गर्न सक्दैन । जसले यस्तो प्रक्षेपण गरेको छ त्यो केवल बुद्धि-विलास हो । हाम्रा राजनीतिक सिद्धान्तहरू समाजलाई ‘निर्देशित’ गर्ने होइन, परिवर्तनको ‘सहजीकरण’ गर्नेतर्फ केन्दि्रत हुनुपर्दछ । यो अर्को सिद्धान्त भयो ।
चौथो, अधिकांश मानिस, ‘जति धेरै भौतिक सुख, त्यति धेरै खुसी’ भन्ने भ्रममा बाँचेका हुन्छन् । यही कारण व्यक्तिदेखि राज्यसम्ममा अति महत्वाकांक्षा प्रकट भइरहेका छन् । यही कारण विश्वमा वर्गीय खाडलदेखि युद्धवादी र अतिवादी प्रवृत्ति विकसित भएको हो । साधन तत्वलाई साध्य मान्नु नै मानवीय दुःख हो । साधनलाई साधनमै सीमित गर्ने र लक्ष्यलाई नै लक्ष्य मान्ने सोच र कर्मले मात्र व्यक्ति र राज्य दुवैलाई वास्तविक लक्ष्य (खुसी) सम्म पुर्याउँछ । यो तथ्य हाम्रा राजनीतिक विचारमा अभिव्यक्त हुनुपर्दछ । यो अर्को सिद्धान्त भयो ।
पाँचौं, जब मानिस गुणवत्ताका हिसाबले भिन्न छ, तब मानव जाति रहेसम्म सामाजिक विविधता र सहकार्य, दुवै रहिरहन्छ । द्वैत बनावट नै समाज हो । मानिसको प्रयत्नले समाजको यो द्वैततालाई सन्तुलित वा असन्तुलित दुवै बनाउन सक्छ । आजसम्म मानिस सामाजिक असन्तुलनमा खुसी खोजिरहेछ । यथार्थमा समाजको ‘गतिशील सन्तुलन’ बाट मात्र मानवीय खुसी मिल्न सक्छ । राजनीतिको दिशा सामाजिक सन्तुलन र सहकार्यतर्फ केन्दि्रत हुनुपर्दछ । तब मात्र राजनीतिले मानवीय खुसी सिर्जना गर्न सक्छ । यो अर्को सिद्धान्त भयो ।
व्यावहारिक यथार्थ
माथि सिद्धान्त/असिद्धान्तका जटिल कुरा गरियो । यस्ता कुरा सबैका लागि स्वीकार्य नहुन सक्छ । कारण, मानिसहरूमा अझै पनि असिद्धान्तलाई सिद्धान्त मान्ने भ्रम छ । तर विज्ञानका कुरा कसैले अस्वीकार गर्छ भने त्यो उसैको दोष हो, विज्ञानको होइन ।
यसपालिका चुनावी गठबन्धनहरूले आफैं प्रमाणित गरिदिए कि यहाँ सबै दलको चारित्रिक विशेषता एउटै हो । जसरी भए पनि चुनाव जित्ने, यसका लागि जोसँग पनि मिल्ने भन्ने जुन सोच हाम्रा नेताहरूमा विकसित भयो, यसले नै देखाइदियो कि हाम्रा दल र नेताहरूमा चारित्रिक भिन्नता छैन ।
सबै दलको गुणवत्ता एउटै हो । यहाँ कोही लोकतन्त्रवादी वा समाजवादी छैन । कोही साम्यवादी वा पहिचानवादी छैन । लोकतन्त्र वा समाजवाद, केवल भन्ने कुरा मात्र हो । यो असिद्धान्त हो, कहिल्यै सार्थक कार्यान्वयन हुँदैन । लोकतन्त्र र समाजवादका कुरा गर्नेहरू सबै ढोंगी र आडम्बरी हुन् । सबै शक्तिको लालसाले ग्रस्त छन् । सबै काम, क्रोध, लोभ, मोह र अहंकारले ग्रस्त छन् ।
सिद्धान्तका लागि यो तथ्य नै काफी छ । सिद्धान्त खोज्न अन्त कतै जानु पर्दैन । व्यवहारसिद्ध यो तितो सत्य नै सिद्धान्त हो । यो तथ्य विपरीतका आडम्बरी र फोस्रा भाष्य असिद्धान्त हुन् । तितो सत्य भन्दा पर अनेक ‘वाद’ को दावी गर्नु असिद्धान्त हो ।
यसरी व्यवहारसिद्ध यथार्थलाई मात्र सिद्धान्त मान्ने मूल्य-मान्यतामा सहमत हुने हो भने त्यसले समस्या समाधानको फरक मार्ग प्रशस्त गर्दछ । नेताको बोली र व्यवहारबीच तालमेल नहुने समस्या पनि स्वतः अन्त्य हुन्छ । तर हाम्रा दल र नेता असिद्धान्तलाई सिद्धान्त मानेर हिंडिरहेका छन् । यही कारण यिनीहरू सिद्धान्तहीन देखिन थालेका छन् । समस्या समाधान गर्न पनि असफल हुँदै गएका छन् ।
जबसम्म असिद्धान्तको आडम्बर त्यागिंदैन, तबसम्म सिद्धान्तहीन रोगको उपचार हुन सक्दैन । आजका सामाजिक समस्याको समाधान र नयाँ नेतृत्वको विकास पनि हुँदैन । राजनीतिमा सफाइ चाहने आजका नवयुवाहरूले यो तथ्यतर्फ ध्यान दिनु जरूरी छ ।
from समाचार – Online Khabar https://ift.tt/m0qKuek
0 Comments
if you have any doubts, please let us know.