२५ कात्तिक, भरतपुर (चितवन) । बिहानको पौने ८ बजेको छ । भरतपुर–४, लंकुमा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो किरिङरिङ आवाज गुञ्जिरहेको छ । तर आसपास कुनै मन्दिर वा धार्मिक सभा चलेका छैनन् ।
महिलाहरु स्वतस्फूर्त भेला भएर घन्टी बजाइरहेका छन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा हो । उनको पार्टीको चुनाव चिह्न घण्टी भएकाले समर्थनमा यो आवाज घन्किएको हो ।
‘पहिल्यैदेखि कांग्रेसमा भोट हालेको हो, तर केही काम गरेनन्’, सभाको पछिल्तिर उभिएकी ४१ वर्षकी निर्माया चापागाईंले सुनाइन्, ‘यसपालि रवि बाबुलाई जिताउन घरबाट घन्टी लिएर आएको छु ।’ उनले टोलका सबै महिलाहरुले सल्लाह गरेरै सभामा जम्मा भएको बताइन् ।
‘विदेशमा छोराछोरीले दुःख पाउँदा जनताले पैसा उठाएर झिकाउनुपर्छ, सरकार केही गर्दैन । रवि बाबुले धेरै गर्नुभएको छ’, चापागाईंले लामिछानेलाई समर्थन गर्नुको कारण खुलाउँदै भनिन्, ‘त्यसैले घन्टी बजाएको हुँ, यो पनि विग्रियो भने पछि हेर्छौं ।’
लामिछानेले ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत विदेशमा दुःख पाएका नागरिकका गुनासो सुनेर सम्बोधन गर्ने प्रयास गरेका थिए । उनले नागरिकलाई पिरपर्का परेका विषयमा तत्काल सरोकारवालासँग सम्पर्क गरेर समाधान खोज्ने प्रयासलाई कार्यक्रमको शैली बनाएका थिए ।
‘हिजो उहाँले कार्यक्रममा के–के गर्नु भएको छ सोच्नुस्, अनि आफैं विचार गर्नुस्’, भरतपुर–१, नारायणघाटका झलक थापाले लामिछानेको पक्षमा माहोल देखिनुको कारण खुलाए, ‘आउने दिनमा पनि गर्नुहुन्छ जस्तो लाग्छ ।’ त्यही सोचेर आफूले चलाउने अटोको सिटमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्टिकर टाँसेका छन् ।
‘चितवनमा करिब आठ हजार अटो चालक छन् । अधिकांशले घण्टीलाई नै भोट हाल्ने हो’, उनले सुनाए, ‘हामी जस्ता युवाको अटो चलाएर हिँड्नुपर्ने अवस्था यिनै नेताहरुको कारणले हो ।’
ती रवि, यी रवि
रवि तिनै सञ्चारकर्मी हुन्, जो बेथिति र विसंगतिविरुद्ध टेलिभिजन कार्यक्रममा खरो उत्रन्थे । आक्रामक बनेर प्रस्तुत हुने उनको शैलीको एउटा वर्गले आलोचना गरेपनि जनतामाझ लोकप्रिय बन्यो ।
उनले यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई ‘स्टिङ अपरेशन’ भन्दै बनाएको कार्यक्रममै पीडितको खुट्टा ढोग्न लगाए । प्रहरीले गर्नुपर्ने काम आफैं गरेको आरोप लाग्यो ।
सुन तस्करी प्रकरण चलेका बेला त उनले राष्ट्रिय टेलिभिजनबाटै ‘टुँडिखेलमा राखेर घुमाएर एक–एक किक हान्न मन छ । नाकको डाँडी भाँचिने गरी’ भनिदिए । उनको यो शैलीलाई सधैं प्रश्न गरिरहनेको समूह पनि ठूलै छ ।
लामिछानेले चाहिँ आफू पत्रकार नभएको जिकिर गर्दै ‘कार्यक्रम प्रस्तोता’ मात्र भएकाले आफ्नो शैली भिन्न हुनु स्वाभाविक रहेको बताइरहे । तर यसपालि भरतपुरमा भेटिएका रवि चाहिँ सञ्चारकर्ममा रहँदाभन्दा विल्कुल भिन्न देखिए ।
उनले कसैलाई गाली गरेनन् । प्रतिष्पर्धीलाई पनि ‘सम्मान गर्ने’ बताए । अझ सभामै अरु राजनीतिक दलले गरेका ‘ऐतिहासिक योगदानलाई अवमूल्यन नगर्ने’ पनि सुनाए ।
‘म ती पार्टीको योगदानको अवमूल्यन गर्ने साहस राख्दिनँ, जसले यत्रो ठूलो परिवर्तनमा योगदान दियो’, उनले चुनावीसभामा मतदातालाई प्रश्न गरे, ‘तर, देशलाई योगदान दिन आफ्नो दलले बाटो विरायो भने सही बाटोमा ल्याउने काम पनि आम कार्यकर्ता र सदस्य साथीहरुकै होइन र ?’
लामिछानेले बालेन शाहको पनि उदाहरण दिँदै उनलाई भोट दिने मानिसहरु सबै दलका भएको स्मरण गराए । ‘किन बालेनलाई सबैले भोट हाले ? उनीहरुले देशलाई माया गर्छन् र आफ्नै दलको बेथितिविरुद्ध पनि बोल्न तयार हुन्छन्’, रविले तर्क गरे ।
रविले बोल्दै जाँदा विभिन्न पार्टीमा आस्था राखे पनि सभामा पनि सहभागी समर्थकहरुले घण्टी बजाएर समर्थन जनाए । उनको पक्षमा हुटिङ गरे । लामिछानेले पनि थपे, ‘तपाईंहरु गोलीसँग नडराएको मान्छेहरु हो, परिवर्तनका लागि योगदान दिएका व्यक्तिहरुलाई पार्टीको कारबाहीको डर हुँदैन ।’
रविको फेरिएको शैली चुनावी रणनीति पनि होला । तर, विगतमा खरो उत्रिने उनको आजभोलिका भाषण सुन्दा जोकोहीलाई रविको बदलिएको अनुहार स्पष्ट देखिन्छ ।
रवि स्वयं पनि भन्छन्, ‘म खरो र दह्रो बोल्न नसक्ने मान्छे होइन । तर, अहिले त्यो गल्ली छाडेर मूल बाटोमा आएको छु ।’
रविको सभामा पार्टीका सक्रिय कार्यकर्ता
घाँटीमा घन्टीको माला लगाएर कार्यकर्ताबीचबाट लामिछाने बोलिरहँदा स्थानीय ८४ वर्षीया पवित्रा सापकोटा दुई हात जोड्दै बसेकी थिइन् । ‘यसपालि घरको सबैले रविलाई नै दिने हो भोट, अरु कति देखियो, विचार गरियो’, उनी बोलिन्, ‘चेलिबेटीलाई बेच्न लाग्दा उहाँले फर्काउनु भो । उहाँलाई नदिर कसलाई दिनु ?’
तारानाथ सापकोटा (८६) पनि ‘अरु पार्टी केही गरेनन्’ भन्दै सभामा पुगेका थिए । ‘पहिले सूर्यमा पनि हालियो, रुखमा पनि हालियो’, उनले सुनाए, ‘यसपालि घन्टीमा हाल्ने हो ।’
रविको भेलालाई नजिकैबाट नियालिरहेको अवस्थामा भेटिए माओवादी केन्द्रको निर्वाचन प्रचारप्रसार समितिका तीन सदस्य पनि । तीमध्येकी एक महिलाले काठमाडौं महानगरमा बालेन्द्र शाहको जितका कारण रविको माहोल फेरिएको विश्लेषण सुनाइन् ।
‘म माओवादीको सक्रिय कार्यकर्ता हुँ, गठबन्धनलाई भोट जान्छ’, उनले भनिन्, ‘तर, एकचोटी रवि आए पनि हुन्थ्यो भन्ने चाहिँ छ ।’ यद्यपि, रविले जित्दैमा चितवनवासीका समस्या समाधान नहुने आफूलाई थाहा भएको उनी बताउँछिन् ।
‘पार्टीहरुले जे गरे पनि हुन्छ भन्ने सोचे । संकेत पनि दिनुपर्ने बेला चाहिँ आएको हो’, अर्का माओवादी कार्यकर्ताले नाम उल्लेख नगरिदिन भन्दै भने ।
रविको चुनावी टोली जगन्नाथ चोक पुग्दा ६५ वर्षका पूर्णचन्द्र सोडारी घन्टी बजाउँदै हिँडिरहेका थिए । उनी नेपाली कांग्रेसको स्वास्थ्यसम्बन्धी भातृ संगठनमा सदस्य पनि छन् । उनले लामो समयदेखि कांग्रेसलाई नै मत दिइरहेका छन् ।
‘तर, यसपालि परिवर्तनका लागि नयाँ पुस्तालाई भोट दिने हो, भोट परिवर्तन भएन भने राजनीति परिवर्तन हुँदैन’, सोडारीले अनलाइनखबरसँग भने, ‘मैले अहिले पनि पार्टी छाडेको होइन, परिवर्तन मात्र खोजेको हो ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएर पनि आमचुनावबारे मिति राम्रोसँग भन्न नसकेको पनि स्मरण गरे । ‘चुनाव मिति पनि झुक्किने नेताहरु भएपछि कसरी चल्छ’, उनले भने, ‘अब हरेक क्षेत्रमा युवा आउनुपर्छ ।’
तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर
from समाचार – Online Khabar https://ift.tt/5gMy4Pl
0 Comments
if you have any doubts, please let us know.