महापुरुष : बुढो मान्छेको एकालाप र ढोंगमा बाँच्नेहरु 

सबै ठीकठाक चल्दै थियो ।

ब्रम्हा मुहूर्त अर्थात सुनौलो आभा पोतेर उदाउने विहानी अघिको क्षण झै सबै ‘शुभ’ हुने संकेत थियो । जेठो छोरो विदुर आफ्नो पेशा–व्यवसाय उकास्ने तरखरमा थिए । कान्छो छोरो विज्ञान स्वप्न लोकमा सयर गर्न विवाहको तारतम्या मिलाउँदै थिए । अनि पिता बालकृष्ण ?

शाखा–सन्ततिको खुसीमा आफ्ना सारा दुःखहरु विसाएर मन बहलाउँदै थिए ।

पौराणिक शास्त्रहरुले तोकिदिएको ‘सर्वोच्व सुख’ यथास्थितीमा प्राप्त थियो । तर अनायस यस्तो तुफानी चक्र आइदियो कि, सबै उथलपुथल भइदियो । बुवा, छोरा, कुटुम्ब, समाज अनौठो गोलचक्करमा फसे । अनि कसोकसो ‘आदर्श परिवार’ भताभुंग हुन लागे ।

आखिर कसले के बिराए ?

पितालाई भगवान ठान्ने छोरो विदुरले ? पिताका आज्ञाकारी छोरो विज्ञानले ? वा जीवनको उत्तरार्द्धमा सप्तरंगी उमंग खोजिरहेका पिताले ?

कथासार

यस गञ्जागोललाई चिर्न मूलकथामा प्रवेश गर्नुपर्ने हुन्छ । अतः कथाको प्रवेशद्वार हो, ‘आदर्श नगर’ । यो मझौला कोलोनीमा बसोबास गर्नेहरुको खास इमान–इज्जत छ । किनकी आदर्श नगरका बासिन्दाले केही त्यस्ता सर्त पालना गर्नुपर्ने हुन्छ, जसले कसैको नैतिकतामा कुनै खोट नलगाइदियोस् ।

यस्तै मान–मर्यादाको जलपले लपेटिएका पात्र हुन्, बालकृष्ण । श्रीमति बितेको बर्षौ भइसक्दा पनि उनले आफ्नो इमान बचाइराखे । टुहुरो छोराहरुलाई आमाको नियास्रो हुन नदिई हुर्काए, बढाए, पढाए । आफ्नो खुट्टामा उभिने भएपछि जेठो छोरो अलग्गै घरजाम गरेर बस्न थाले । आफ्नो पखेटा पलाएपछि कान्छो छोरो अष्ट्रेलियाको ‘डिपेन्डेट भिषा’ च्यापेर घर छाड्ने तयारीमा लागे ।

बुढ्यौलीले गाँज्दै गएको बालकृष्णलाई रातहरु चिसा लाग्छन् र दिनहरु एक्लो । त्यसैले उनले उड्ने पंक्षी सुँगालाई पिंजडामा कैद गरेका छन्, कमसे कम पट्यारलाग्दो पलहरुमा बोल्ने एउटा साथी त चाहियो ।

बालकृष्ण पिता मात्र होइनन्, माता, भान्से, सुसारे, चौकिदार, कारिन्दा सबै हुन् । यसरी बहुआयमिक कर्ममा बाँचिरहेका पितालाई छोराहरु अत्यान्तै श्रद्धा गर्छन् । कतिसम्म भने, जेठो छोरोले पितामा समर्पित पुस्तक नै तयार गर्दैछन्–‘मेरा पिता ।’

अब्रोड स्टडीका लागि छोरीलाई नक्कली बिहे गराइदिएर डिपेन्डेट भिषामा अष्ट्रेलिया पठाउन लागिपरेका एक व्यक्ति बालकृष्णलाई सक्कली सम्धी बनाउन आतुर छन् । किनभने यस्तो इमानी र सुभानी ससुराले छोरा बुहारीलाई मनग्ये खुसी दिन सक्छन् ।

तर आफ्नो दुःख लुकाएर सन्तानका खुसी खोज्ने यी पिताको मन कति कठ्याग्रिएको छ ? कसैलाई सेकताप गर्ने फुर्सद छैन ।

आफैभित्र रित्तिदै र आफैसँग बिरक्तिदै गएका उनीसँग पनि जीवनका आशा र उल्लास बाँकी होलान् । कक्रिदै गएको हात–गोडामा तातो रगतको अंश होलान् । निचोरिएको मनमा वैंशालु रंगका अवशेष होलान् ।

त्यसैले त संयोगले भेटिएकी एक अधवैंशे महिलासँग उनी सम्बन्धको न्यानोपन खोज्न थाल्छन् । हो यहि बिन्दुमा पुगेपछि यस्तो हुन्छ, मानौं उल्लासको आकासमा अपशकुनको आँधी मडारदिैछ ।

किन यस्तो भयो ?

बाउको बिहे

छोरोको शुभ विवाह हुनै लाग्दा ‘बाउको बिहे’ देख्नुपर्ने संभावित भयले यहाँ सबैको रक्तचाप बढाइदिएको छ । यस्तो बिरुप दृश्य कसरी हेर्ने ? इमानको चस्मा पहिरिएका छोराहरु झस्किएका छन् ।

‘तेरो बाबुको बिहे देखाइदिन्छु’, ‘बाबुको बिहे देख्लास्’ जस्ता प्रतिशोधपूर्ण गालीको मनोसामाजिक असरले मान्छे ग्रस्त छन् । त्यसैले छोराहरु आफ्ना पूजनिय पितालाई नैतिकताको खोपीमा संरक्षित गर्न चाहन्छन् । उनीहरु ठान्छन्, पिता फगत पिता हुन् ।

नाता–सम्बन्धको यो तानाबानाले मान्छेलाई यसरी बाँधिदिएको छ कि, कतिपय भावना, चाहाना, आकंक्षालाई बन्धक बनाउनु परेको छ । यस्तो एकलासे जीवनबाट मान्छे दुःखी त जरुर छन्, काँतर पनि । मान–प्रतिष्ठाको खोल ओडेर बसेको मान्छे बिद्रोह गरेर आफ्नो प्राकृतिक स्वभाव प्रकट गर्न समर्थ छैनन् । उनीहरुलाई डर छ, इमानको । उनीहरुलाई डर छ, सन्तानको । उनीहरुलाई डर छ, समाजको ।

डरै डरभित्र गुम्सिएर मान्छे हाँसीखुसी बाँचे जस्तो स्वाङ पार्छ । चलचित्रले मान्छेको यही द्वैध र विरोधाभासपूर्ण अनुहारलाई उतार्ने यत्न गर्छ ।

चुपचाप विद्रोह

८७ बर्षिय हलिउड अभिनेत्री तथा लेखिका जुडी डेन्च एक अन्र्तवार्तामा भन्छिन्, ‘रोमान्स र अन्तरंग पल जिन्दगीको एक महत्वपूर्ण आवश्यक्ता हो । यसको चाहना कहिल्यै पनि कम हुँदैन ।’

एक अध्ययन अनुसार यस किसिमका अन्तरंग पलले शरीरमा अक्सिटोसिन र एनडोफिर्न जस्ता हर्मोनको वृद्धि हुन्छ । अक्सिटोसिनले तनाव कम गर्छ । एन्डोफिर्नलाई प्राकृतिक पेनकिलर मानिन्छ, जसले प्रौडावस्थासँग जोडिएका कतिपय समस्याहरु हटाउँछ ।

शरीर विज्ञान र हर्मोनहरुको यो खेललाई बलजफ्ती अस्विकृत गर्दै आदर्शको खोक्रो भक्तीभजन गाएर हामी आफ्ना प्रौड आमाबुवालाई पिंजडामा कैद गरिरहेका छौं । चलचित्रले हाकाहाकी यसै भन्छ ।

जीवनको स्वच्छन्द स्वभावलाई निमोठेर असंख्यौं आमाबुवा चिसो रातहरु गुजार्दैछन् । उदासी र एक्लोपनले सताएर कलिला नातानाती वा पशुपंक्षीसँग आफुलाई भुलाउँदैछन् । जीवनसाथी गुमाएपछिको त्यो पट्यारलाग्दो जिन्दगीलाई स्लिपिङ ट्याबलेट अनि उच्च रक्तचाप र मधुमेहको चक्कीले भरथेग गर्दैछन् ।

के उनीहरुले जीवन यसरी नै रित्याउनुपर्ने हो ?

चलचित्रले यहाँ आत्मसर्मण एवं लाचारीको भाषा बोलेर आँशुको मोलतोल गर्दैन । बरु, लड्दै–जुध्दै कथित आदर्शको पर्खाल भत्काउन भन्छ र शाश्वत जीवनको व्याकरण बदल्न भन्छ ।

समाजको आँखामा आफुलाई ‘नैतिकवान’ देखाउन जसरी आदर्शको ढोंग ओड्छ, त्यसले मान्छेलाई आफ्नै ‘मालिक’ बन्नबाट  निषेध गरिरहेको सत्य यहाँँ उद्घाटित भएको हुन्छ । ‘महापुरुष’ले मानविय प्रवृत्ति र चरित्रको यो तहसम्म पुगेर विद्रोहको पार्श्वध्वनी गुञ्जाइदिन्छ ।

चलचित्र हेरिरहँदा धेरैको मन भकानिन्छ, एक्लै पिंढीमा टोलाइरहेका वा कुनै ओसिलो कोठामा बसिरहेका आफ्ना एक्ला बुवा÷आमाको यादले ।

एकल पिता (माता)को यो कथा जति मर्मस्पर्शी छ उत्तिकै संवेदनशिल पनि । निर्देशक प्रदीप भट्टराईले मिजासिलो अनि रसिक शैलीमा एउटा जटिल मुद्दालाई दृश्यभाषामा रुपान्तरण गरेका छन् । यसलाई थप बलियो बनाउन प्रकाश, ध्वनी र विम्बको प्रयोग गर्ने जमार्को गरेका छन् ।

कथाको अन्तर्य र अन्तर्द्वन्द्व

आवरणमा जे देखिन्छ त्यो भन्दा फरक धरातलमा यसको कथा निर्माण भएको छ ।

झट्ट हेर्दा यो कमेडी चलचित्र जस्तो लाग्छ, तर यहाँ हाँसोठट्टा भन्दा पनि मान्छेको जिजीविषा र भावनात्मक द्वन्द्व चर्को छ ।

झट्ट हेर्दा लाग्छ, यहाँ पिता र पुत्रवीच कलह छ । तपाईं कुन कित्तामा उभिएर हेर्नुहुन्छ, त्यसैले सही र गलत  निर्धारण गर्छ । निर्देशक प्रदीप भट्टराईले कसैलाई नायक र कसैलाई खलनायक घोषित गरेका छैनन् । सबै पात्र आफ्नो ठाउँमा ठीकठाक लाग्छन् । यद्यपि मान्छेको आत्मकेन्द्रित प्रवृत्ति र मान–मर्यादाको भोकले यहाँ भयानक द्वन्द्व पैदा गरेको छ ।

‘दुनियाले के भन्ला’ भन्ने मनोसामाजिक भयले मान्छेलाई यस्तो कठपुतली बनाइदिएको छ, उनीहरु आफुलाई हेरेर होइन हरुलाई हेरेर कुनैपनि कुराको निर्णय लिन्छन् । यसले अन्ततः मान्छेको प्राकृतिक एवं जैविक आवश्यक्ताहरुलाई थुनछेक गर्छ ।

प्रदीप भट्टराईले हास्यको आवरणमा समाजको यति गहकिलो मुद्दालाई सरसपूर्ण ढंगले छेडिदिएका छन्, जसले धेरैको हृदयमा कम्पन ल्याइदिन्छ ।

प्रस्तुतीकरण

कहिले हँसाउँदै, कहिले बिस्मत बनाउँदै, कहिले दुःखी तुल्याउँदै चलचित्रले दर्शकसँग भावनात्मक अन्र्तक्रिया गरिरहन्छ ।

यो वर्तमान युग र समाजको साक्षत कथा हो । अतः चलचित्रले हरेक दर्शकलाई उनीहरुकै कथा भनिरहेको जस्तो लाग्छ । संवादहरु रसिला र चोटिला छन् । अभिनय समग्रमा कृतिम छैनन् । निर्देशकले कथा भन्नका लागि जति धेरै तानाबाना बुनेका छन्, त्यस अनुरुप दृश्यांश खिप्ने र त्यसलाई कालत्मक फ्रेममा पोत्ने काममा जाँगर चलाएका छैनन् । ध्वनी, प्रकास संयोजनमा खास नविनता छैन । कथालाई यति धेरै तन्काएर भन्दा पनि खँदिलो बनाएर यसको स्वाद दोब्बर बनाउन सकिने ठाउँ छन् ।

चलचित्र : महापुरुष

जनरा : कमेडी, फेमेली ड्रामा

निर्देशक : प्रदीप भट्टराई

कलाकार : हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, सिरु विष्ट, रविन्द्रसिंह बानिया, अरुण क्षेत्री, अन्जना बराइली आदि ।

छायांकन : दीपक बज्राचार्य

सम्पादन  : मित्र गुरुङ

अवधि : २ घण्टा ३१ मिनेट



from समाचार – Online Khabar https://ift.tt/0BHdjXn

Post a Comment

0 Comments