बढ्दो बुढ्यौलीमा जीवनको खुसी के हुन सक्ला ? स्नेहको आलिंगनले बुढ्यौलीको संक्रमणलाई रोक्छ कि रोक्दैन होला । त्यो आलिंगनले परिवारको भन्दा कसिलो अरु हुन सक्ला र ? अनि के त्यो कसिलो आलिंगन हरेक ज्येष्ठ नागरिकले आफ्नो परिवारबाट पाइरहेका छन् त ? बुढ्यौली जीवनको एकल पीडामा परिवारको अन्य सदस्यबाट कस्तो अपेक्षा हुन्छ । अनि के हरेक जेष्ठजनले अपेक्षा अनुसारको उपचार पाउन सकेका छन् त ? यो एउटा सवाल ।
सत्यको जित कहाँसम्म, सत्य र इमान्दारिताले एउटा परिवार सहज ढंगले चल्न सक्छ । अहिलेको समय, आधुनिक समाजको भड्किलो परम्परा, पारिवारिक अपेक्षा जस्ता प्रहारले सत्य र इमान्दार एउटा व्यक्ति, एउटा परिवार र एउटा समाजलाई कहिलेसम्म त्यसैगरी इमान्दार भएर टिक्न देला । के समयको गतिसँग एउटा इमानमा डाँठ पलाउँदैन होला । र, यो अर्को सवाल ।
समग्रमा त्याग र समर्पणले मानिसलाई महापुरुष त बनाउला, तर त्यसले प्रेम, इमान, इज्जत, प्रतिष्ठा, सामाजिक सद्भाव जस्ता कुरामा कति धेरै कुण्ठा उत्पन्न हुन्छ त्यो स्वयं भोग्नेले मात्र बुझ्न र महसुस गर्न सक्छ ।
पछिल्ला दुई नेपाली फिल्म ‘महापुरुष’ र ‘के घर के डेरा’को सन्देश हो यो । जहाँ इमान छ, स्नेह छ, समर्पण छ अरुको लागि । स्वयं आफ्नो लागि भने कुण्ठा मात्र ।
बालकृष्ण (हरिवंश आचार्य)ले आफ्नो सन्तानको स्नेहमा कमी नहोस् भनेर धेरै समय सुगासँग पीडा पोखेर दैनिकी गुजारेका हैनन् र ? ‘महापुरुष’को कथा यसैको सेरोफेरोमा घुमेको छ । अभिभावकको त्याग र स्नेहले मात्रै त छोराछोरीको आक्रामक इच्छालाई रोक्न सक्दैन रहेछ । बालकृष्णको जेठा छोराको अलग्गै बसाइ र कान्छा छोराको अस्ट्रेलिया मोहको माने त्यही होइन ?
श्रीमतीको मृत्युपछि छोराहरुको स्नेहको त्यान्द्रो समाएर एक्लो जीवन बाँचिरहेका बालकृष्णले नाटकको एउटा महिला पात्रसँगको निकटतामा प्रेमको आभाससँगै एक्लोपनलाई भुल्ने अवसरमा रमाइरहँदा छोराहरुको घृणाले स्नेहको त्यान्द्रोलाई कसरी छिया छिया पारिदिएको छ ‘महापुरुष’मा ।
‘महापुरुष’ एउटा ज्येष्ठ नागरिकको पीडामा बुनिएको कथामा अघि बढेको फिल्म मात्र हो । यथार्थमा भने यो एउटा फिल्मको कथा मात्र होइन । हाम्रो समाजमा ज्येष्ठ उमेरका एकल पुरुषले दैनिक भोगिरहेको सत्य परिवेशको तथ्यपरक चित्रण पनि हो । नेपाली समाजमा यस्ता धेरै महापुरुष छन् जसले परम्परागत सांस्कृतिक मान्यता र अपार स्नेहकै कारण ज्येष्ठ उमेरमा एक्लो जीवनको पीडा परिवारको खुसीसँग साटिरहेका छन् । अनि छोराछोरी भने एक्लो अभिभावकलाई अझ एक्लो बनाएर सामाजिक प्रतिष्ठाको अहंकारमा हिमाली उचाइ हेर्दै रमाइरहेका छन् ।
कस्ता पटमूर्ख छोराछोरी, कुनै दिन आफ्नो अभिमानी रकेट यात्राको गन्तव्य पनि उही एकल कुण्ठाको महासागरमा चोप्लिने हो भन्ने हेक्कै नराख्ने ।
धन्न ‘महापुरुष’मा कान्छा छोराले आफ्नो एक्लो पिताको स्नेह र एक्लोपनमा रुमल्लिंदै कुण्ठाग्रस्त बन्दै गएको आभासलाई प्रेमको डोरीमा उनिदिने साहस गरेका छन् । सम्पत्तिको लोभ, सामाजिक प्रतिष्ठाको भय, ज्येष्ठजनको अपहेलना जस्ता कुकृत्यमा रमाइरहेका ‘छोरा’हरुले ‘महापुरुष’को कान्छो छोराको सामाजिक विद्रोह र पिताप्रतिको स्नेहलाई आत्मसात गर्दै आफ्नो एकल पितालाई प्रेमको गन्तव्यमा डोर्याएर एउटा सुखद् पारिवारिक बन्धनमा रमाउने अवसर दिलाउनुपर्छ ।
‘छोरीहरु हुर्के बढे घर-घर गए
छोराहरु सातैभाइ मुगलानिया भए’
जीवन शर्माको यही गीतको हालतमा कुनै पनि ज्येष्ठ अभिभावकले आफ्नो स्वतन्त्रतालाई सुगाको पिंजडामा कैद गर्ने अवस्था आउनु हुन्न । सामाजिक अभिमानमा बाबुछोराको सँगै विवाह गर्नुपर्ने अवस्थालाई कुल्चिने क्रूरता कसैले पनि देखाउनु हुँदैन ।
‘महापुरुष’मा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनयमा विगतकै उत्कृष्टताको निरन्तरता पाइन्छ । प्रदीप भट्टराईको निर्देशनमा गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री, अञ्जना बराइली लगायतको अभिनय कथावस्तुसँग सामीप्य राख्ने स्तरको छ ।
‘महापुरुष’मा सामाजिक प्रतिष्ठासँग प्रेमको बलि चढ्न खोजेको अवस्था चित्रण भइरहँदा ‘के घर के डेरा’मा त्यही सामाजिक प्रतिष्ठाकै कारण आफ्नो सामान्य पेसामा रमाइरहेको परिवारले झण्डै-झण्डै कानुनी अपराधको फेरो समाउनु परेको तथ्यलाई देखाइएको छ ।
सजन राई (दयाहाङ राई)को सानो सवारीले एउटा परिवारलाई सुखसँगै अगाडि बढाइरहेको थियो । सवारीको चार पैया जस्तै श्रीमती र छोरीको स्नेहमा सुखद् परिकल्पना गर्दै आफ्ना सबै आकांक्षालाई सवारीको स्टेरिङमा घुमाउँदै रमाएका सजनलाई काठमाडौंको कोलाहलमा डेराको पिरलोले थोरै पीडा दिएको थियो ।
बाबुको सुखसयलमा आफूलाई निरीह ठान्ने सजनकी श्रीमती (सुरक्षा पन्त) र छोरीको डेराबाट घरमा सर्ने आकांक्षाले सजललाई अपराधको बाटोमा उधिन्न कसरी प्रेरित गर्यो ‘के घर के डेरा’ले राम्रैसँग देखाउन खोजेको छ । सजनकी श्रीमतीले कसरी बुझ्नु मालपोतमा सेवाग्राहीलाई रनभुलमा पार्दै जग्गा दलालीको बलमा बाबुको सुखद् अभिमान टिकेको छ भन्ने ।
आाखिर गन्तव्य त इमानले नै भेट्टाउने रहेछ नि यात्रा जतिसुकै जटिल र भयावह भए पनि । सजनले घरको आकांक्षामा पकडेको मार्गले झण्डै अपराधको पोखरीमा झण्डै चोपलेको थियो ।
‘के घर के डेरा’को कथावस्तु सामान्य छ । तर यो कथाभित्र सुखद् भविष्यको खोजीमा राजधानी भित्रिएका कैयौं परिवारले भोगेको एउटा जटिल पीडालाई उतारेको छ । राजधानी काठमाडौंमा अवसर पनि छ । अवसरसँगै डेराको पिरलो, रोजगारीको रन्को, इमानको खडेरी पनि उत्तिकै देखिन्छ । टिक्नलाई इमान बेच्ने कि इमानलाई टिकाइरहने भन्ने भयंकर अन्तरद्वन्द्वभित्र सजनले भेट्टाएको सरल सुलहले के घर के डेरालाई सन्देशको दर्पण बनाएको पाइन्छ ।
‘के घर के डेरा’मा दीपेन्द्र के खनालको निर्देशनमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झाको अभिनयले समकालीन समयमा सुरक्षित ढंगले टिकिरहन टेवा पुगेको छ ।
हालै प्रदर्शनमा आएका यी दुई फिल्मको कथावस्तु सामाजिक यथार्थको धोतक बनेको छ । त्यसैले यो फिल्मको समीक्षा होइन । सामाजिक तथ्यपरक कथावस्तुको सार विश्लेषण मात्र हो । दुई फिल्मका कथावस्तुले समाजको जुन तहको यथार्थ प्रस्तुत गरेको छ, त्यो सामाजिक यथार्थमा निरीह बनेको इमान, प्रेम र आकांक्षा तथा क्रूर बनेको खोक्रो आदर्शबीचको द्वन्द्वको अपि्रय चित्रण हो ।
यसको छायालाई कुनै परिवारले आफ्नो पारिवारिक यात्रामा हुबहु उतार्ने प्रयत्न गरे भने त्यो परिवार द्वन्द्व र पीडाबाट अगाडि बढ्छ । गन्तव्यमा विनाशको सुरुङमा पुगेर जाकिन्छ । यसको छायालाई पन्छाउन आधुनिक परिवेशसहितको उज्यालो गोरेटोमा अगाडि बढ्ने आँट गर्ने परिवारको गन्तव्य भने सुखद् भविष्यको उच्चतम चुचुरा हुनेछ ।
अब हामी नै रोजौं, विनाशको सुरुङमा जाकिने परम्परागत सामाजिक अभिमान कि सुखद् भविष्यको उच्चतम चुचुराको आधुनिक परिवेश सहितको सामाजिक परिकल्पना । हाम्रो रोजाइले ‘महापुरुष’ र ‘के घर के डेरा’को सफलतालाई समेत संकेत गर्नेछ ।
from समाचार – Online Khabar https://ift.tt/p2finTh
0 Comments
if you have any doubts, please let us know.