चुनावको खेल धेरै खतरनाक : महासचिव भुसाल

४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावको खेल धेरै खतरनाक हुने भन्दै त्यसलाई बुझ्न जरुरी रहेको बताएका छन् । निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले मत बदर भए निर्वाचन हार्ने खतरा हुने बताए ।

स्थानीय निर्वाचनमा धेरै ठाउँमा मत बदर भएका कारणले आफूहरुले चुनाव हारेको बताउँदै उनले भने, ‘फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौं । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी छ ।’

उनले आफूहरुले गठबन्धन बनाएर संविधानको रक्षा गरेको जिकीरसमेत गरे । अन्यथा नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति आउने उनको भनाइ छ ।

नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउँदै उनले भने  ‘नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली)ले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधि सभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौं । हामीले असफल पनि पारेका थियौं । यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ । हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका थिएनौँ भने लोकतन्त्र समाप्त हुने थियो । ’



from समाचार – Online Khabar https://ift.tt/WV4TNBh

Post a Comment

0 Comments