पर्शुरामका सहयोगीद्वारा २ जनालाई बन्धक बनाएर कुटपिट

५ कात्तिक, विराटनगर । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतका सहायोगीलाई बन्धक बनाएर दुई जनालाई कुटपिट गरेको आरोप लागेको छ ।

शुक्रबार बस्नेतका सहयोगी किरण लामाले आफ्नै घरमा विराटनगर- ८ मधुमाराका ३३ वर्षीय नवल यादव र विराटनगर- ११ का २४ वषर्ीय अभिषेक साहलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लागेको हो ।

लेनदेनको विषयमा लामाले शुक्रबार दिउँसो दुई जनालाई आफ्नै घरमा बोलाएका थिए । घरमा बोलाएर उनले निर्घात कुटपिट गरेर करिब ५ घण्टा बन्धक बनाएको नवलले बताए ।

लामाले आफ्नै घरमा बन्धक बनाएका दुई जनालाई शुक्रबार बेलुका करिब ५ बजे प्रहरीले उद्दार गरेको थियो । पीडित नवल यादवका अनुसार शुक्रबार दिउँसो लामाले घरमा बोलाएर कुटपिट गरी कोठामा थुनेका थिए । ‘लेनदेनको विषयमा घरमा बोलाएर थुनेर कुटपिट गरे’, उनले भने, ‘प्रहरीलाई खबर गरेपछि उद्धार भयो ।’ कुटिएका यादव र साह औषधि व्यावसायी हुन् ।

बन्धक बनाएका लामाले पैसा ल्याउन घरमा फोन गर्न भन्दै मोबाइल दिएपछि बन्धक बनाइएका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।

बन्धक बनाएर कुटपिटमा परेका पीडितले प्रहरीमा लामाविरुद्ध किटानी जाहेरी दिएका छन् । तर प्रहरीले दर्ता गरेको छैन । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

लेनदेन विवादमा लामाले कुटपिट गरेपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लामालाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । ‘बन्धक बनाएर कुटपिट गरेको जानकारी आएको छ,’ उनले भने,’ तत्काल लामालाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’

नवलका अनुसार केही महिनाअघि लामासँग लिएको पाँच लाख रुपैयाँको १३ लाख रुपैयाँ बुझाई सकेका छन् । अझै रकम मागेर कुटपिट गरेको उनले बताए । ‘पाँच लाख ऋणको १३ लाख बुझाई सक्यौं,’ उनले भने, ‘अझै पैसा चाहियो भन्दै हामीलाई घरमै बोलाएर कोठामा थुनेर कुटे ।’

लामा नेकपा एमाले निकट युवा संघको महानगर कमिटी अध्यक्ष हुन् । उनी पर्शुराम बस्नेका सहयोगी पनि हुन् । प्रहरीले लामाको खोजी भइरहेको बताएको छ ।

लामाले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको पीडितले बताए । लामाले यसअघि प्रहृलाद गुरागाई र जगदिश साहलाई विराटनगर महेन्द्र चोकमा रहेको आफ्नै होटलमा राखेर निर्घात कुटपिट गरेको थिए ।

गुरागाई र जगदिशलाई कुटपिट गर्ने कारण पनि लेनदेन नै थियो ।



from समाचार – Online Khabar https://ift.tt/Za3IdBi

Post a Comment

0 Comments