पहिरोले लमही–घोराही विद्युत प्रसारण लाइनको टावर ढल्यो

२२ असोज, काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमहीन गरपालिका–६, बेल्दमारस्थित १८ नम्बर टावर ढालेको हो ।

प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ ।

त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । वैकल्पिक व्यवस्था गर्दा पनि ती उद्योगहरुलाई बिजुली दिन अपुग भएको छ ।

प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपतकालीन पुनर्स्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्ति दिने छ । ईआरएस टावर जडानका लागि सर्वेक्षण गरी टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने प्राधिकरणले जनाएको छ । ईआरएस टावर जडान भएपछि उद्योगहरुले पनि बिजुली पाउने छन् ।

लमही-घोराही सडकखण्डमा रुखसहित झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध छ । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/EhODzp1

Post a Comment

0 Comments