कांग्रेसमा म्याराथन बैठक, समानुपातिकको सूची सच्याउन सकस

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन ।

शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस नेताहरु आज पनि छलफलमै छन् । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि देउवा पक्ष अप्ठ्यारोमा परेको छ । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

त्यसैले कोइराला पक्षले सूची सच्याउन दबाव दिंदै आएको छ । आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/ptTeDXz

Post a Comment

0 Comments