पहिले जागिर अनि दशैं…

काठमाडौं । दिउँसोको टन्टलापुर घामले तालु तातेको छ । घाममा तीन घण्टा बढी उभिंदा तिर्खा लागेको छ । खट्टा थाकेका छन् । घामका कारण आँखा निदाउन थालेका छन् ।

कहिले पालो आउला र कोठा फर्किन पाइएला भन्ने भएको छ, अछाम रामारोशन गाउँपालिकाका २० वर्षीय धनसिंह साउदलाई । म्यादी प्रहरीमा जागिर खानका लागि भन्दै उनी काटेश्वरको जडिबुटीबाट बिहान १० बजे ललितपुरको लगनखेल पुगेका थिए ।

उनका साथीसंगी दशैं तिहारका लागि भन्दै घर गइसके । तर उनलाई दशैंमा घर जानुभन्दा डेढ महिने जागि खाएर आफ्नो खर्च निकालौं भन्ने ध्याउन्न छ । गाउँमा बुढा आमाबा छन्, उनीहरुको भार कम गरौं भन्ने उनलाई लाग्छ । त्यसैले त उनी दशैंमा घर नगई म्यादी प्रहरीका लागि भन्दै राजधानी काठमाडौंमै बसेका छन् ।

‘म्यादी प्रहरीमा काम गर्न पाइए केही महिना काठमाडौंको खर्च चल्छ भनेर आएको हुँ,’ साउद भन्छन्, ‘पहिले जागिर अनि दशैं तिहार ।’

उनलाई पनि साथीभाइसँग गाउँ गएर दशैंमा रमाउने मन त कहाँ थिएन र ? घरमा बुढा आमाबाका चाउरिएका अनुहारको खुसी हेर्नु थियो । दशैंको टीका जमरासँगै आर्शिवाद लिनु थियो । तर सबैको जिन्दगी भनेजसरी मनमौजी कहाँ चल्छ र ? यस्तै मनमौजी छैन  साउद जिन्दगी पनि ।

अभाव व्यहोरेका छन् उनले । काम नगरी खान मुस्किल पर्छ । आफूले काम नगरे बुढा आमाबाले गाउँमा झन् दुःख पाउँछन् भन्ने उनले बुझेका छन् । ‘म्यादी प्रहरी मेरो रहरसँगै बाध्यता हो । रहर भनौं घर जान मन थियो नभनौं भने सीमित समयका लागि भए पनि यो जागिर अवसर हो,’ उनी भन्छन् ।

अछामबाट प्लस टु पास गरेर पढाइसँगै कामको अवसर खोज्न काठमाडौं छिरेका हुन् साउद । काठमाडौंमा टिक्नका लागि उनी सानोतिनो काम गरिरहेका छन् । उनी काम गर्ने ठाउँमा दशैं बिदा भइसकेको छ । उनले विदाको समय पनि सदुपयोग गरौं भन्ने सोचेर म्यादी प्रहरीमा दरखास्त दिएका हुन् ।

दिउँसोको तातो घामबाट बच्न कसैले छाता ओढेका छन् त कोही छहारीमा । छाता र छहारी नपाएकाले म्यादी प्रहरीको प्रवेशपत्र टाउकोमा राखेर घाम छेकिरहेका छन् । म्यादीका लागि भन्दै सर्वसाधारण बढी भएपछि भर्नाका लागि प्रहरीले तीन चार ठाउँमा लाइन लगाएर छनोट गरिरहेको छ ।

‘घर आउन जान मात्रै १०-१२ हजार त भाडा मात्रै लाग्छ । काम गरेर थोरै भए पनि कमाइ हुन्छ । कमाइ भएपछि बरु घर पछि जान्छु,’ उनी गुनासो गर्छन् । साथीभाइ गाउँ पुगिसके । काठमाडौंका सडक रित्तिन थालिसके । दशैंमा घर जान नपाएकोमा उनलाई केही नरमाइलो भने लागेको छ । तर उनले यो साल यस्तै भयो अर्को वर्ष जानुपर्छ भनेर आफ्नो मन सम्हालेका छन् ।

दिउँसोको तातो घामबाट बच्न कसैले छाता ओढेका छन् त कोही छहारीमा । छाता र छहारी नपाएकाले म्यादी प्रहरीको प्रवेशपत्र टाउकोमा राखेर घाम छेकिरहेका छन् ।

म्यादीका लागि भन्दै सर्वसाधारण बढी भएपछि भर्नाका लागि प्रहरीले तीन चार ठाउँमा लाइन लगाएर छनोट गरिरहेको छ । पालो कुरेर बसेकाहरु आफ्नो पालोमा प्रवेशपत्र छनोटमा खटिएका प्रहरीको हातमा दिएर उनीहरुले सोधेका प्रश्नको उत्तर दिइरहेका छन् । प्रहरीले कसैकसैलाई त्यहीं फिल्डमै सेटअप गराइरहेको पनि छ ।

लाइनमा पुरुषसँगै म्यादीमा जागिरका लागि पालो कुरिरहेका महिला पनि छन् । त्यसै जागिर पाउन पर्खिरहेको लाइनमै छिन् रामेछापकी ४२ वर्षीया कल्पना भुजेल ।

घामबाट बच्न टाउकोमा दोपट्टा राखेकी छन् भने हातमा प्रवेशपत्र र नागरिकता छ । उनी पालो कुरिरहेकी छन् । उनलाई हतार छ । घरमा १५ वर्षको छोरा छ । ऊ कतै घुम्न निस्किन्छ कि भन्ने पिर छ । काठमाडौंको गौरीघाटमा कोठा भाडामा लिएर बस्छिन् भुजेल । उनी म्यादी प्रहरीमा जागिरका लागि भन्दै गौरीघाटबाट जावलाखेल पुगेकी हुन् ।

श्रीमान् गाउँमा खेतीकिसानीका साथै ज्याला-मजदुरी गर्छन् । भुजेल छोराको पढाइका लागि सहर पसेकी हुन् । ‘काठमाडौंमा काम नगरी कसरी खानु कसरी छोरालाई पढाउनु । काम नगरी खान पुग्दैन । बाध्यता र मजबुरीले म्यादीमा जागिर पाइन्छ कि भनेर आएकी हुँ,’ उनी सुनाउँछिन् ।

काम गरे एक दुई महिना सुख पाइएला भन्ने आशले आफू म्यादी प्रहरीमा भर्ना हुन आएको भुजेल बताउँछिन् । ‘पैसा भए मीठोमसिनो जहिले खाए पनि हुन्छ । घर व्यवहार चलाउनकै लागि जागिर खोज्नु परिरहेको छ,’ उनी भन्छिन्, ‘पहिले जागिर पाइयोस् अनि दशैं तिहार एकैसाथ मनाउँला ।’

आँखामा पावरवाल चश्मा, मुखमा मास्क र टाउकोमा ढाका टोपी  । शुक्रबार दिउँसो जावलाखेलस्थित मैदानमा पुग्दा ललितपुर महालक्ष्मी नगरपालिकाका रामबहादुर तामाङ म्यादी प्रहरी छनोट गर्न खटिएका प्रहरी अधिकारीलाई ‘सल्युट’ ठोकिरहेका थिए ।

जिन्दगीका ५५ वसन्त पार गरिसकेका उनमा देशको सेवा गर्ने जोश जाँगर भने लाइनबद्ध युवा जत्तिकै छ । ‘मलाई शरीरले साथ दिएसम्म देशको सेवा गर्न मन छ । यही हुटहुटीले म्यादी प्रहरीमा भर्ना हुन आएको हुँ,’ तामाङ भन्छन् ।

२०७० सालमा नेपाली सेनाबाट सेवा निवृत्त भइसकेका हुन् तामाङ । तर उनको देशलाई सेवा गर्ने जाँगर भने उस्तै छ । म्यादी प्रहरीमा भर्ना हुन आएको उनको पहिलोपटक भने होइन । उनले यसअघिको चुनावमा पनि म्यादी प्रहरीमा काम गरिसकेका छन् ।

‘अवस्था र परिस्थिति सबैभन्दा ठूलो हो । म्यादी प्रहरी यो रहर र बाध्यता दुवै हुन सक्छ । बेरोजगार युवाहरु रोजगारीका खातिर विदेश भाँसिएका छन् । काम गर्न खोज्ने युवाहरुका लागि यो अवसर हुन सक्छ । दशैं तिहार त सधैं आउने चाड हो,’ अर्को वर्ष मनाए पनि हुन्छ,’ तामाङ भन्छन् । म्यादी प्रहरीमा काम गर्दा सेवाका साथै थोरै आम्दानी हुने हुँदा आफू आएको उनी बताउँछन् ।

रामेछापकी सूचना घिसिङ पनि म्यादी प्रहरीका लागि अन्तर्वार्ता दिन लाइनमा बसेकी थिइन् । छोरीले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएको कुरा गाउँमा आमाबालाई थाहा छैन । म्यादी प्रहरी भएपछि मात्रै आमाबालाई भन्छु भनेर अहिलेसम्म नभनेकी हुन् ।

‘मैले म्यादी प्रहरीका लागि आवेदन दिएको कुरा आमाबालाई थाहा छैन । छनोट भएपछि सरप्राइज दिन्छु भनेर नभनेकी हुँ,’ उनी भन्छिन्, ‘म्यादीमा छनोट भए पैसाका साथै भविष्यमा केही फाइदा पुग्छ कि भनेर आएकी हुँ ।’

प्लस टु सकेर बसेकी हुन् सूचना । उनलाई नेपाली सेनामा काम गर्ने रहर छ । एक पटक उनी भर्नाका लागि गएकी पनि थिइन् । तर उमेर नपुगेकाले उनले घर फर्किनु परेको थियो ।

शुक्रबार अन्तर्वार्ता दिएकी उनले शनिबारसम्म दशैं तिहार मनाउन घर जाने सुनाइन् । अन्तर्वार्ताका लागि बिहान १० बजे जावलाखेल पुगेकी घिसिङ अढाइ बज्दासम्म लाइनमा पालो कुरिरहेकी थिइन् । म्यादी प्रहरी उनका लागि जागिरका साथै नयाँ कुरा जान्ने बुझ्ने मौका समेत हो । जसलाई उनी पूरा गर्न चाहन्छिन् । यद्यपि म्यादी प्रहरीमा छनोट हुने नहुने उनको हातको कुरा भने होइन ।

ललितपुरको बागमती गाउँपालिका-१० का ५१ वर्षीय आइमान घिसिङ तामाङ पनि म्यादी प्रहरीको अन्तर्वार्ता दिन लाइनमा बसेका छन् । सुरुमा उनले म्यादीका लागि कान्छा छोरालाई  पठाएका थिए । छोराको उमेर नपुगेकाले उनले आवेदन दिन पाएनन् । एक दिन उनी आफ्ना भतिजसँग दरखास्त दिन जावलाखेल आएका थिए ।

भतिजले भाइको त भएन तपाईं नै दिनुस् न छनोट भइपो हालिन्छ कि भनेर भने । भतिजले काका भतिजसँगै म्यादी बनौं भनेपछि उनले नाइँ भन्न सकेनन् । ‘भतिजसँग आएका बेला फारम भरौं भनेपछि भरेको हुँ । भइए ठिकै नत्र आफ्नो काम गर्दैछु,’ उनी सुनाउँछन् ।

आइमानले २०६४ सालको चुनावमा पनि म्यादी प्रहरीको काम गरिसकेका छन् । घरमा हुँदा पनि चुनावका बेला राजनीतिक दलका नेता कार्यकर्ताले यताउता लगिरहन्छन् । जसकारण पनि उनी म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन् । कारण छनोट भए केही आम्दानीका साथै नयाँ कुरा सिकिन्छ र नयाँ ठाउँ देख्न पाइन्छ ।

उनी भन्छन्, ‘म्यादी प्रहरीमा भर्ना हुन आउनुसँग उनको आशा र चुनाव जोडिएको छ । ‘म्यादीमा काम गरेर पाइएको प्रमाणपत्रले भोलिका दिनमा कहीं काम पाइए बुढेसकालमा बुढाबुढीलाई ढुक्क हुन्थ्यो भन्ने आशाले आएको हुँ ।’

तस्वीर : आर्यन धिमाल/अनलाइखबर



from समाचार – Online Khabar https://ift.tt/oNgpA7e

Post a Comment

0 Comments