९ कात्तिक, धरान । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई यसपटक पनि सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार थिए ।
यसपटक भने उनको गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि अशोक राईले एमालेको समर्थन पाएका छन् । जीवनको उर्बर ४० वर्ष खर्चिएको पार्टी एमालेसँग तालमेल हुनुलाई राईले गौरवको विषय भनेका छन् । ‘एमाले निर्माणको काममा मैले ४० वर्ष लगाएको हुनाले धेरै साथीहरु चिनेकै हुनुहुन्छ, मेरो सहकर्मीहरु नै हुनुहुन्छ’, राई भन्छन् ।
तालमेलका कारणले जसपाको छाता चुनाव चिन्ह साझा बन्न पुगेको तर्क गर्ने उनी धरानमा एमालेको समर्थन पाउनुलाई इतिहासको स्पाइरल वेबको संज्ञा दिन्छन्् । ‘द्वन्द्वात्मक भौतिकवादले इतिहास कोल घुमेजस्तै नभएर स्पाइरल वेबमा घुम्छ, भन्छ । त्यो स्पाइरल वेबले घुमेर धरान आइपुगेको छु’ उनी भन्छन् ।
प्रस्तुत छ, राईसँग अनलाइनखबरकर्मी सइन्द्र राई र हरि अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
२०४८ सालको चुनावमा पनि तपाईँ यो क्षेत्रबाट एमालेका तर्फबाट उम्मेदवार बन्ने दौडमा हुनुहुन्थ्यो, सक्नु भएन । यसपटक चाहिँ त्यो चाहना पूरा भयो…
त्यसबेला मैले चाहेको होइन, आज पनि मैले यही ठाउँ चाहिन्छ भनेर जिद्दी गरेको छैन । पार्टीले गर्ने निर्णयअनुसार अगाडि बढेको छु । २०४८ सालको चुनावका लागि ०४७ साल मंसिरमा उम्मेदवार तय गरेका थियौं । त्यसबेला हामी माले नै थियौं । धरानबाट मैले उठ्ने निर्णय भयो, तयारी पनि गरेका थियौं ।
तर २०४७ सालको माघमा मनमोहन अधिकारी र साहना प्रधानहरुको नेकपा माक्र्सवादीसँग एकता भयो । पार्टी एकतापछि हामीले मनमोहन अधिकारीलाई देशभरमा कुन निर्वाचन क्षेत्र कम्र्फटेवल लाग्छ, आफैंले रोजेर लिनुहोस् भन्यौं । उहाँले धरान रोज्नुभयो । हामीले सहर्ष अध्यक्षलाई जिताउन लाग्नुपर्छ भनेर लाग्यौं । माले तर्फका यहाँका केही युवा साथीहरु अशोक राई नै हुनुपर्छ भन्नेमा हुनुहुन्थ्यो, तर मैले नै ती साथीहरुलाई सम्झाए । किनकि धरानले मनमोहन अधिकारीलाई उम्मेदवार पाउनु गौरव र इज्जतको विषय थियो । मनमोहन अधिकारी नेपालको राजनीतिमा एउटा स्वर्ण अध्याय र कम्युनिष्ट आन्दोलनमा पनि स्वर्ण इतिहास भएको व्यक्तित्व हो । त्यसैले अध्यक्षको उम्मेदवारीमा किन्तु परन्तुको कुरै छैन भनेर साथीहरुलाई भनेँ ।
धरानमा कमरेड मनमोहन अधिकारीको उम्मेदवारी दर्ता गराएर इनरुवा चोक छेउमा एउटा सभा गरेर मैले नेता कार्यकर्तालाई आहृवान गरे । मनमोहन अधिकारीलाई जिताउन सकिएन भने पार्टी नै पराजित भएको ठहर्छ भन्ने निष्कर्ष सुनाए । किनकि पार्टीले जितेपनि अध्यक्षले हारेमा सिंगो पार्टी पराजयकै सन्देश जान्थ्यो । त्यसबेला मलाई पार्टीले खोटाङ पठाएको थियो, मेरो उम्मेदवारी वारेसबाट दर्ता भएको थियो । उम्मेदवारी दर्ता भएको तीन दिनपछि खोटाङतिर लागेँ । संयोग, उहाँले पनि जित्नुभयो, जनताले मलाई पनि जिताए ।
३१ वर्षपछि फेरि त्यही एमालेको मत पाउने गरी धरानमा उम्मेदवार बन्नुभयो !
यसपटक समीकरणले यहाँ पठायो । म उम्मेदवारी दिएर जनताको बीचमा गइरहेको छु । त्यो अवसर पाउँदा मलाई खुसी पनि लागेको छ, गौरव महशुस गरेको छु । द्वन्द्वात्मक भौतिकवादले इतिहास कोल घुमेजस्तै नभएर स्पाइरल वेबमा घुम्छ, भन्छ । त्यो स्पाइरल वेबले धरान आइपुगेको छु ।
त्यसो भए तपाईँलाई एमालेसँग तालमेल गरेर धरानमा चुनाव लड्न उति धेरै समस्या छैन ?
निर्वाचन भनेपछि समस्या त अनेक हुन्छन् । मुख्य कुरा हामी जनताको बीचमा कति व्यापक रुपमा पुग्न सकिन्छ भन्ने हो । अर्का समस्या साधन स्रोतहरुको छ । समय त बाँकी छ, तर पनि चुनाव अत्यन्तै खर्चालु खालको बन्दै गएको छ । महँगी बढेको छ । त्यसैले मैले साधनस्रोतको अभाव प्रमुख समस्या महशुस गरेको छु ।
जनमत चाहिँ राम्रो बन्दै गएको छ ।
धरानले धेरै पहिले चिनेको नेतालाई पनि खर्चको चिन्ता हुन्छ ?
एमाले निर्माणको काममा मैले ४० वर्ष लगाएको हुनाले धेरै साथीहरु चिनेकै हुनुहुन्छ, मेरा सहकर्मीहरु हुनुहुन्छ । तर मान्छेले मुभमेन्ट गर्न खानु पर्यो, हिड्न भाडा चाहियो, सञ्चार सामग्री जोड्नु पर्यो, मतपत्र छाप्नुपर्यो । त्यो सबै चिजले खर्चको माग गर्छ ।
खर्च जुटाउन जति गाह्रो छ, एमाले कार्यकर्ताको मन जित्ने त्यो भन्दा गाह्रो छ भन्ने टिप्पणी पनि भइरहेको छ नि ?
यो निर्वाचन एमाले र जनता समाजवादी पार्टीको तालमेल र समीकरणले जित्ने हो, मैले भनेर व्यक्तिमै केन्दि्रत गर्नु हुँदैन । यो समीकरणका तर्फबाट मलाई छाता चिहृनबाट उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ । छाता दुवै पार्टीको साझा चिन्ह हो ।
तर एमालेकै नेता कार्यकर्ताले छातालाई साझा चिह्न रुपमा स्वीकार गर्न मानेको देखिएन त ?
डेमाक्रेसीमा हरेक मानिसको वैयत्तिक अधिकार हुन्छ । पार्टीमा रहने नेता कार्यकर्ताको हकमा आफ्नो कतिपय व्यक्तिगत इच्छा आकांक्षालाई पार्टी निर्णयको मातहतमा राख्नुपर्ने बाध्यता हुन्छ । तर पार्टीको अनुशासनभित्र रहन्नँ भनेर कोही स्वतन्त्र ढंगले गतिविधि गर्छन् भने त्यो पनि लोकतान्त्रिक अधिकार नै हो । व्यक्तिगत स्वतन्त्रता हो । फेरि जुनसुकै पार्टीमा यस्ता असन्तुष्टि रहन्छ ।
तालमेल हुँदा मात्रै होइन, एउटै पार्टीभित्र पनि उम्मेदवार बन्न प्रतिश्पर्धा चलिरहेकै हुन्छ । हरेकले आफ्नो दावी प्रस्तुत गर्न पाउनु पनि पर्छ । यदि सबैलाई एकैपटक दिन सकिने भए पार्टीले दिइहाल्छ । तर दिन नसकिने भएपछि एउटालाई दिनुपर्ने बाध्यता हुन्छ, एउटा व्यक्तिको नाममा निर्णय गर्छ । त्यस्तो स्थितिमा बाँकीले असन्तुष्टि जनाउनु मानवीय स्वभाव हो । त्यो ठूलो कुरा होइन ।
तर त्यस्ता असन्तुष्टिलाई विस्तारै पार्टी निर्णयको अनुकुल बनाउँदै लैजानुपर्छ । यसो गर्नु पार्टी नेता कार्यकर्ता साथीहरुको बाध्यता पनि हो र आवश्यक पनि ।
०७४ चुनावमा नेपाली कांग्रेसको गठबन्धनमा हुनुहुन्थ्यो, कांग्रेस कार्यकर्ता तपाईँलाई जिताउन खटिएका थिए । अहिले हराउन लागेका छन् । जित्ने आत्मविश्वासमा हुनुहुन्छ ?
कन्फिडेन्स राम्रै छ । मेरो स्वभाव र बानीले पनि जोसँग काम गरेको छु, उहाँहरुको प्रेम पाएरै आएको छु । हिजो एलायन्सको साथीहरुको पनि माया, सदभाव थियो र छ भन्ने विश्वास छ । आजको सहकर्मीहरुको त सदभाव नहुने कुरै भएन । किनकि धेरै साथीहरु मसँग लामो समय सहकार्य गरेका हुनुहुन्छ । यो समीकरणमा रहनु भएका सबै साथीहरुको सहयोग पाउनेमा पूर्ण विश्वस्त छु ।
तपाईं एमालेको शीर्ष नेता हुनुहुन्थ्यो । यो सहकार्यले भविश्यमा पनि त्यो सम्भावनातिर लैजानसक्छ ?
बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनमा उपाध्यक्षहरुमा सवभन्दा धेरै भोट दिए कार्यकर्ताले मलाई जिताउनुभएको थियो । त्यसपछि वामदेव गौतम र विद्या भण्डरीले भोट पाउनुभयो । जहाँसम्म भोलिको कुरा छ, राजनीतिलाई ‘गेम अफ इन्डलेस पोसिलिटी’ पनि भनिन्छ । राजनीतिमा अन्ततः सभावना रहन्छ । तर त्यसलाई पूर्वानुमान गर्न सक्दैनौं । भोलि के हुन्छ भनेर अहिले नै अनुमान गर्नु निकै अगाडिको कुरा हुन्छ, अहिले नै त्यो कुरा नगरौं ।
आठौं महाधिवेशनकै कुरा गर्दा तपाइँसँगै उपाध्यक्ष जितेका वामदेव गौतम र विद्या भण्डारी स्याचुरेसनको अवस्थामा हुनुहुन्छ । तपाईँको योजना के छ ?
विद्याजी राष्ट्रपति हुनुभयो । पोलिटिकल स्याचुरेसनमा पुगिसक्नुभयो । अब वामदेवजी पनि बारबार उपप्रधानमन्त्री र महत्वपूर्ण जिम्मेवारी सम्हालेर उमेरका हिसाबले पनि विस्तारै सक्रिय राजनीतिमा आउनु हुन्न होला । म चाहिँ सक्रिय राजनीतिमा कुदिरहेको छु । तर मेरो पनि स्वास्थ्य र उमेरको कारणले अब धेरै छैन । पोलिटकल स्याचुरेसनको ठाउँतिर अगाडि बढिसकेको छु ।
युवालाई ठाउँ खाली गर्दै जानुपर्छ भन्नेमा म पहिलेबाटै कन्भिन्स मान्छे हुँ । मैले आठौं महाधिवेशनमा ७० वर्षे उमेर हदको प्रस्ताव नै राखेको थिएँ । दुई कार्यकालको प्रस्ताव पनि राखेको थिएँ । दुई कार्यकालको प्रस्ताव स्वीकृत भयो, ७० वर्षे उमेर हद स्वीकृत भएन । तर नवौं महाधिवेशनमा ७० वर्षे उमेर हद स्वीकृत भयो ।
मनमोहन अधिकारीपछि तपाईँ धरानमा चुनाव लड्ने उच्च तहका नेता हुनुहुन्छ । धरानप्रति तपाईँको संकल्प के छ ?
धरानसहित यो निर्वाचन क्षेत्रका मतदाताहरुको भाग्य भविश्यको प्रतिनिधि पात्र भएर जान मैले अनुमति पाए भने निश्चय नै अशल र राम्रा कामहरु नयाँ नौलो ढंगले गर्नेछु ।
अरु उम्मेदवार जस्तै खुद्रा विकास हो कि कुनै ठूलो परियोजना छ ?
जनताको नाममा व्यापक व्याख्यासहित प्रतिबद्धतापत्र आउँछ । अहिले संक्षेपमा भन्दा मेरो प्रतिबद्धता सुरक्षा र सम्मुनति हो । यो दुई आवश्यकतालाई सही ढंगले सम्बोधन गर्नुपर्छ भन्ने ठानेको छु । प्रत्येक व्यक्तिले २४ घण्टा आफूलाई भयरहित, त्रासरहित र निर्वाध रुपमा गतिविधि गर्न सक्ने प्रत्याभूति दिनुपर्छ । त्यो राज्यको दायित्व हो ।
अर्को समस्या यो निर्वाचन क्षेत्रमा धेरै युवाहरु लागूपदार्थबाट पीडित छन् । यस्तो अवस्थालाई तोड्नुपर्छ । जसले आपराधिक काम गर्छ, त्यसलाई रोक्नुपर्छ । सम्मुनतिको सवालमा देशैभर संरचना विकासका पूर्वाधार निर्माण गर्ने स्थितिमा छौं । औद्योगिकरण, आधुनिकरण र रोजगारी निर्माण गर्नेतर्फ अगाडि बढिरहेका छौं । यहाँ पनि संरचनाको अभाव छ, पूर्वाधारहरुको अभाव छ । खानेपानीको ठूलो अभाव छ । अहिले नगरपालिका र नगर पिता खानेपानीको अभाव टार्न संघर्ष गर्दै हुनुहुन्छ । ब्यापार चौपट भएको अवस्था छ ।
सुरुङ मार्गको सर्वेक्षण हुने कुरा छ । जलाधार क्षेत्रलाई प्रतिकुल असर नपर्नेगरी त्यसलाई सम्पन्न गर्नुपर्नेछ । कोशी हाइवे तीनकुनेदेखि जिरो किलोसम्मको समस्या हल गर्नुपर्छ । ६ लेनको जाँदा जनतालाई धेरै नोक्सानी हुने स्थिति छ । ४ लेनमा समझदारीपूर्वक टुंग्याउनुपर्नेछ ।
मदन भण्डारी राजमार्गलाई अगाडि बढाउनुछ । चतरा निस्कने बगुवा भन्ने खोला छ, त्यहाँ पुल निर्माण गर्नु महत्वपूर्ण छ । यो निर्वाचन क्षेत्र तल्लो भेग, जंगल भन्दा मुनिको भेगलाई धरानसँग आवद्ध गराउने सडकहरु पूर्णता दिनुपर्नेछ, स्तरोन्नति गर्नुपर्नेछ । पर्यटनको हिसाबले सभा भवन आवश्यक देखेको छु ।
धार्मिक पयर्टनका निम्ति सर्किट बनाउन सकिने कुरालाई मैले अगाडि सारेको छ । सप्तकोशीको पानीलाई पयर्टक आमन्त्रण गर्ने रेक्रेसन सेन्टरका रुपमा विकास गर्नुपर्नेछ ।
from समाचार – Online Khabar https://ift.tt/vO1pMEf
0 Comments
if you have any doubts, please let us know.