समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन सक्दैनः झलनाथ खनाल

१४ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको टिप्पणी गरेका छन् । खनालले आफ्नो नयाँ पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग सङ्घर्षलाई समेटिएको छ । जनताको बहुदलीय जनवाद (जबज) एउटा पूँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको पुस्तकमा नेपाली जनवादी क्रान्तिका कार्यक्रम नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको बहुदलीय जनवादका रूपमा आएका विषयवस्तु समावेश छन् ।

पूँजीवादी क्रान्ति सम्पन्न भएको र त्यसको सार तत्वसमेत संविधानमा समेटिएको विश्लेषण गरिएको पुस्तकमा अबको कार्यक्रम वैज्ञानिक समाजवाद रहेको उल्लेख गरिएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा विमोचन गरिएको पुस्तकमा जबज सामाजिक आर्थिक संरचनाका दृष्टिले एउटा पूँजीवादी जनवादी कार्यक्रम नै भएकाले अबको समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन नसक्ने सन्देश छ ।

पूर्वप्रधानमन्त्री खनालले जबज सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको बताए । जबज र यसलाई मार्गदर्शक सिद्धान्त मानिरहेको नेकपा (एमाले) प्रति टिप्पणी गर्दै उनले भने, ‘नेपालमा पनि समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको कुरालाई केही कम्युनिष्टहरु मान्छन्, केहीले मान्दैनन ।’

समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने बताउँदै उनले प्रश्न गरे, ‘अब पूँजीवादी क्रान्ति सम्पन्न गरिसकेका देशमा बहुदलीय जनवादको लक्ष्य लिएर हिँड्ने कम्युनिष्ट पार्टी कस्तो हुन्छ ? त्यसको चरित्र के हो ?’



from समाचार – Online Khabar https://ift.tt/FeV5lSp

Post a Comment

0 Comments