भारतीय सेना प्रमुख पाण्डेले गरे वीर स्मारकमा श्रद्धाञ्जली अर्पण

२० भदौ, काठमाडौं । पाँचदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कर्त्वय पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाहरुको सम्मानमा निर्माण गरिएको वीर स्मारक पुगेर पाण्डेले पुष्पगुच्छा अर्पण गरेका हुन् । उनले त्यहाँको उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरे ।

भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम पनि छ । यो कार्यक्रम आज अपराह्न ३ बजे शीतल निवासमा हुने छ ।

पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।

मंगलबार सेना प्रमुख पाण्डेले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने र सगरमाथा आधार शिविरको भ्रमण गर्ने कार्यतालिका छ । मौसम अनुकूल भए बुधबार मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने र बिहीबार उनी स्वदेश फर्किने कार्यक्रम छ ।



from समाचार – Online Khabar https://ift.tt/upAN9RK

Post a Comment

0 Comments