५ असोज, काठमाडौं । कोही मूलधारे मिडिया छाडेर बिहेका तस्वीर खिच्न थाले, कोही किराना पसल छाडेर । सुरुमा के यस्तो काममा लागेको भनेर परिवार र साथीभाइले हियाए पनि उनीहरूले यसैमा करिअर देखे । अनि देश–विदेशसम्म फैलिए ।
बुढेसकालसम्म सम्झिइराख्ने अनि नातिनातिना पुस्ताले रमाइलो मान्दै हेर्ने कुरामध्येमा पर्छ- बिहेका तस्वीर । बिहेको तस्वीर खिचाउनेसँग यादगार पल हुन्छन् । खिच्नेलाई भने मान्छेले सायद बिर्संदा हुन् ।
हिजोआज भने बिहेको तस्वीर खिचिदिनेलाई दुलाहादुलही अनि परिवारले नबिर्सने कारण छन् । एक त उनीहरू संस्कार सम्झाउनलाई पण्डितभन्दा कम छैनन् । बिहेको क्षण हेर्दाहेर्दा कण्ठै भइसकेको छ, फोटो पसलका सम्पूर्ण मानन्धरलाई । उनी अहिले फोटो पसल नामक संस्था बनाएर नेपाल, भारत र अमेरिकासम्म आफ्ना सहकर्मीहरू पठाइरहेका छन् । काठमाडौं बाहिरबाट पनि अर्डर टन्नै आइरहेको उनी बताउँछन् ।
हिजोआज बेग्लै विधाका रूपमा वेडिङ फोटोग्राफी चिनिइसकेको छ ।
वेडिङ फोटोग्राफीलाई महत्व दिन थालिएको लामो समय भएको छैन । वेडिङ फोटोग्राफीको लागि अहिले धेरै फोटोग्राफर र फोटो स्टुडियो छन् । तर, पछिल्लो समय वेडिङ फोटोग्राफीको लागि ‘फोटो पसल’ धेरै नेपालीको रोजाइमा पर्ने गर्छ ।
१५ वर्षसम्म कान्तिपुर दैनिकमा गरेको फोटोपत्रकारिता छोडेर सम्पूर्णले वेडिङ फोटोग्राफीमा होमिने निर्णय लिंदा सुरुमा परिवार, साथीभाइ छक्क परेका थिए । यसमा के करिअर होला र भनी सोध्नु स्वाभाविक थियो । तर त्यो इतिहास भइसकेको छ । उनीसहित बुद्धसिंह महर्जन, मनोज श्रेष्ठ, जिना राजकर्णिकार मिलेर थालेको फोटो पसलको अफिस अहिले नेपाल र अमेरिका दुवैतिर छ ।
सम्पूर्णले फोटो पसल सुरु गर्दा वेडिङ फोटोग्राफी नै भनेर फोटोग्राफी गर्नेहरूको संख्या एकदमै कम थियो । उनलाई धेरैले फोटोपत्रकारिता छोडेर वेडिङ फोटोग्राफीतिर लाग्नु गलत हुनसक्छ भनेर सल्लाह पनि दिए । तर, आफूलाई रुचि भएको विषयमा नै काम गर्ने निर्णय साथ उनले फोटो पसल सञ्चालन गरे । उनी भन्छन्, ‘अन्य फोटोग्राफी जस्तै वेडिङ फोटोग्राफी पनि महत्वपूर्ण छ, यसलाई पनि करिअर बनाउन सकिन्छ भनेर म यता नै लागें ।’
वेडिङ फोटोग्राफीलाई विस्तार गर्ने सोचका साथ सम्पूर्णले साथी बुद्धसिंह महर्जनलाई आफ्नो आइडिया सेयर गरे । बुद्धले त्यसभन्दा अघि फोटोग्राफी गरेका थिएनन् । तर, उनलाई फोटोग्राफीमा रुचि भने थियो । त्यसैले उनले सम्पूर्णसँग फोटोग्राफी सिक्न थाले । बुद्ध आफ्नो पारिवारिक व्यवसाय छोडेर वेडिङ फोटोग्राफी सिक्दै विस्तारै सम्पूर्णसँग सहकार्य गर्न थाले ।
सुरुमा सम्पूर्ण र बुद्धले मात्र फोटो पसलको काम सम्हाल्दा फोटो खिच्ने, फोटो एडिट गर्नेदेखि लिएर सम्पूर्ण काम सम्पूर्ण र बुद्धले नै गर्थे । सम्पूर्ण अन्य काममा पनि व्यस्त हुने भएकोले सबै काम भ्याउन उनलाई गाह्रो हुन थाल्यो । त्यसैले उनकी श्रीमती जिना राजकर्णिकारले श्रीमान्लाई सहयोग गर्नको लागि फोटो एडिटिङ सिकिन् । त्यसपछि एडिटिङको सम्पूर्ण काम जिनाले नै सम्हाल्न थालिन् । फोटोको लागि त केही समस्या भएन तर भिडियोका लागि भने उनीहरूले अझै मिहिनेत गर्नुपर्ने थियो ।
मनोज श्रेष्ठलाई फोटोग्राफीमा औधी रुचि थियो । तर उनले अवसर पाइरहेका थिएनन् । कहींबाट उनले फोटो पसलको बारेमा सुने र फोटोग्राफी सिक्न त्यहाँ पुगे । फोटो पसलले उनलाई अवसर दियो र उनी पनि फोटो पसलसँग जोडिए । यसरी फोटो पसलमा सम्पूर्ण र बुद्धसँग सहकार्यमा थपिए जिना र मनोज । अहिले यी ४ जनाको सहकार्यमा फोटो पसल सञ्चालन भइरहेको छ ।
फोटो पसल सुरु गर्दाका दिनहरू सम्झँदै सम्पूर्ण भन्छन्, ‘सुरु–सुरुमा वेडिङ फोटोग्राफी गर्नेहरूलाई सम्मानको दृष्टिकोणले हेरिंदैनथ्यो । हाम्रो समयको महत्व पनि मान्छेहरू बुझ्दैनथे । दुई बजेदेखि विवाह सुरु हुनेवाला छ भने बिहान ६ बजे नै हामीलाई आउन आग्रह गरिन्थ्यो र लामो समय कुर्नुपर्थ्यो ।’
पछि समय बित्दै जाँदा फोटो पसलले धेरै ग्राहकको मन जित्न थाल्यो । दिदीको विवाहमा फोटो पसलले फोटो खिचेको छ भने बहिनीको बिहेमा, छोराको पास्नीमा, व्रतबन्धमा पनि फोटो पसललाई नै बोलाउन थालियो ।
वेडिङ फोटोग्राफीमा सबैभन्दा रोचक क्षण भनेको विवाहको फोटो भिडियो दुलाहा–दुलहीलाई उपलब्ध गराउँदा हुने मनोज सुनाउँछन् । जब उनीहरूको विवाहको एक–एक क्षणलाई हामीले क्यामरामा कैद गरेका हुन्छौं ।
‘विवाहको दिन त उनीहरू व्यस्त हुन्छन् त्यसैले त्यो सब कुरा उनीहरूलाई ध्यान हुँदैन । तर, पछि जब हामीले उहाँहरूलाई फोटो भिडियो उपलब्ध गराउँछौं त्यो बेला उहाँहरूको मुहारमा खुसी देखेर हामी नै पुलकित हुन्छौं’, जिना सुनाउँछिन् ।
सबै बेहुलाबेहुली क्यामरामा खुल्ने खालका हुँदैनन् । केही त क्यामरा भनेपछि लजाउने, डराउने र आत्तिने प्रवृत्तिका हुन्छन् । त्यस्ता जोडीहरूलाई क्यामराको अगाडि खुलाउन गाह्रो पनि हुने सम्पूर्ण सुनाउँछन् । ‘उनीहरूलाई फोटो सुटको लागि तयार गर्न पनि गाह्रो हुन्छ । तर उनीहरूलाई क्यामरा फ्रेन्ड्ली कसरी बनाउने भन्ने कुरा पनि हामीले सोच्नुपर्ने हुन्छ ।’
वेडिङ फोटोग्राफीको अर्को रमाइलो पक्ष भनेको यो काम कहिल्यै पनि बोरिङ हुँदैन । हरेक विवाहमा नयाँ उमङ्ग हुन्छ । विवाह खिच्दा–खिच्दा हामीलाई के पछि के आउँछ समेत थाहा हुन्छ । कति बेला त पण्डितलाई नै हामी सिकाउँथ्यौं मिठो मुस्कानसहित– बुद्ध सुनाउँछन् ।
जिना भन्छिन्, ‘खिचिएका सबै फोटो अल्बममा अट्दैनन् त्यसैले फोटो छान्दा विभिन्न धर्म–संस्कृति झल्कने, दुलाहादुलहीको अनुहारको भाव झल्कने फोटोहरूलाई प्राथमिकतामा राख्ने गरिन्छ ।’
फोटो पसलले नेपाल मात्र हैन अन्य देशमा पनि ख्याति कमाएको छ । केही महिनाअघि मात्र पनि फोटो पसलको टिम इण्डिया, जयपुर गएर वेडिङ फोटो सुट गरेर फर्किएको थियो ।
सम्पूर्णले नेपालमा वेडिङ फोटोग्राफीमा राम्रो प्रतिक्रिया पाइरहेका थिए । उनको परिवार अमेरिकामा भएकोले उनको पनि अमेरिकाको भिसा लाग्यो । तर, त्यति धेरै मिहिनेत गरेर फोटो पसललाई एउटा उचाइमा पु¥याएका उनलाई आफ्नो त्यो व्यवसाय छोडेर जान मन लागेको त थिएन । जान्छु यदि उता केही गर्न सकिएन भने यता फोटो पसल छँदैछ– यही सोचका साथ उनी अमेरिका उडे ।
उनलाई वेडिङ फोटोग्राफरको रूपमा नेपालमा मात्र हैन अमेरिकामा पनि धेरैले चिन्ने गर्थे किनकि अमेरिका, अस्ट्रेलियाबाट नेपाल आएर विवाह गर्नेहरूले फोटो पसलबाट नै वेडिङ फोटो खिचाउने गर्थे ।
त्यसैले अमेरिका पुगेको भोलिपल्ट नै उनलाई वेडिङ फोटो सुट गर्ने प्रस्ताव आयो । उनले त्यो प्रस्तावलाई स्वीकारे र फोटो सुट गरे । प्रतिक्रिया एकदमै राम्रो आयो । त्यसपछि उनले सोचे अमेरिकामा पनि किन फोटो पसल नखोल्ने ! आफ्नो व्यवसायलाई उनले उता पनि निरन्तरता दिए । अमेरिकामा फोटो पसल खुलेको ८ वर्ष भयो ।
यसरी श्रीमती जिना र सम्पूर्ण मिलेर अमेरिकामा फोटो पसल सञ्चालन गरिरहेका छन् भने बुद्ध र मनोजले नेपालमा । अहिले फोटो पसलमा लगभग २५ जना कार्यरत छन् ।
भिडियोमा हेर्नुहोस्, उनीहरूको कथा
from समाचार – Online Khabar https://ift.tt/5klgmU2
0 Comments
if you have any doubts, please let us know.