साफ महिला च्याम्पियन आजदेखि, उपाधिको तिर्खा मेटाउने नेपालको लक्ष्य

२१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपका पाँच वटै संस्करणको उपाधि भारतले जितेको छ । भारतलाई अहिलेसम्म कसैले पनि हराउन सकेको छैन । भारतको छेउछाउ पुग्ने टिम हो नेपाल । नेपाल चार पटक उपविजेता बनेको छ । एक पटक भने सेमिफाइनलबाट बाहिरिएको छ ।

साफ च्याम्पियनसिपमा नेपालको बलियो पक्ष भनेको भारतबाहेक अरु टिसँग अपराजित हुनु हो । पाँच संस्करणमा नेपाल अन्य कुनै देशसँग हारेको छैन ।

सन् २०१० मा बंगलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण मंगलबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुँदैछ । नेपालले लगातार दोस्रो पटक च्याम्पियन हुन लागेको हो र यो उपलब्धि हासिल गर्ने नेपाल पहिलो टिम बन्नेछ ।

दशरथ रंगशालमा आधिकारिक रुपमा पहिलो प्रतियोगिता खेल्न लागेको महिला टिमले घरेलु मैदानमा यस पटक उपाधि जित्ते लक्ष्य राखेको छ । त्यसको सुरुआत भुटानविरुद्धको खेलबाट हुनेछ । नेपालका प्रशिक्षककुमार थापाले यसपटक ‘उपाधिको तिर्खा मेट्ने’ मेट्ने दाबी गरेका छन् ।

नेपालको महिला सिनियर फुटबल टिमले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन । साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सधैं भारत तरागो बन्दै आएको छ ।

अर्कोतर्फ प्रशिक्षक कुमार थापा लागि यो दोस्रो अवसर पनि छ । यसअघि सन् २०१६ मा भारतमा भएको साफमा पनि उनी प्रशिक्षक थिए । तर त्यतिबेला नेपाल भारतसँग सेमिफाइनलमै पराजित भएर बाहिरिएको थियो । त्यसैले यस पटक उनलाई त्यसको इख पनि छ । उनले आफूले पाएको दोस्रो अवसरलाई खेर जान नदिने बताएका छन् ।

नेपालको तयारी

एसियन गेम्सको तयारीका लागि महिला टिमले बालगोपाल महर्जनको प्रशिक्षणमा प्रशिक्षण गरेको थियो । तर एन्फाले साफ च्याम्पियनसिपको लागि महिला टिमको जिम्मेवारी कुमार थापालाई दियो ।

कुमारथापाले त्यसपछि करिब सात दासा टिमलाई प्रशिक्षण गराएर प्रतियोगिताका लागि तयार पारेका छन् । उनले आफूले पाएको समयमा सक्दो मिहिनेत गरेर राम्रो तयारी भएको बताएका छन् ।

हाम्रो तयारी राम्रो भएको छ । मैले सात हप्ता पाएको थियो । त्यसमा सन्तुष्ट छु । सोमबारको प्रिम्याच कन्फ्रेन्समा थापाले भने । गुड टिम र ब्यालेन्स टिम छ । अनुभवी र नयाँ खेलाडी छन् । टिममा तीन जना पुनरागमन गरेका छन् । रेखा पौडेल, सावित्रा भण्डारी र पुनम जर्घामगरले पुनरागमन गर्दा दीपा शाही समीक्षा घिमिरे र अमिशा कार्की नयाँ छन् ।’ थापाले टिम सन्तुलित रहेको बताए ।

प्रशिक्षक थापाले यसअघि विराटनगरमा खेलेको र अहिले काठमाडौंमा खेल्न लागेकोले यो विशेष रहेको र सबै जना खुशी रहेको बताएका छन् ।

उपाधिको तिर्खा मेटाउने चाहना

यसअघि चार पटक फाइनल खेलेर पनि नेपाललाई उपविजेताको मात्र ट्याग लाग्यो । यसपटक नेपाल त्यो ट्याग हटाएर उपाधिको तिर्खा मेट्दै महिला फुटबलको दृष्टीकोण नै परिवर्तन गर्न चाहन्छ । प्रशिक्षककुमार थापाको एउटै अर्जुनदृष्टि त्यहीँ छ ।

‘मैले पाएको दोस्रो अवसरलाई खेर जान दिन्नौं । राम्रो फुटबल खेल्दै महिला फुटबलको दृष्टिकोण चेन्ज गर्न चाहन्छौं । उपाधिको तिर्खा मेट्न चाहन्छौँ । सबै यसैमा केन्द्रित छौं ।’

थापाले फुटबलमा कम गल्ती गर्ने जित्ने भन्दै त्यसमा केन्द्रित रहने बताए । ‘फुटबलमा प्रेडिक्ट गर्ने ठाउँ हुन्न । हामी बेस्ट फुटबल खेल्छौँ र गल्ती कम गर्ने हो । त्यो नै हाम्रो च्याम्पियन बन्ने आधार हो ।’

उनले केही खेलाडी करियरको अन्तिममा रहेकोले पनि यो राम्रो अवसर हुने बताए ।

यस्तै घरेलु मैदानमा समर्थकको अगाडि यति ठूलो प्रतियोगिता खेल्दा फरक अनुभव हुने थापाको भनाइ छ । ‘हामी होस्ट हौं । तर रंगशालमा थोरै सेसन बिताउन पाएका छौं । दशरथ रंगशालामा पहिलो पटक ठूलो प्रतियोगिता हुँद‌छ, फरक वातावरण छ,’ प्रशिक्षक थापाले भने ।

नयाँ कप्तान एन्जिला

साफ च्याम्पियनसिपको अघिल्लो दिन मात्र नेपालले कप्तानको रुपमा एन्जिला तुम्बापो सुब्बालाई पाएको छ । सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापासागै कप्तानको रुपमा एन्जिला आएपछि नै नेपालले नयाँ कप्तान पाएको हो ।

२०१९ मा भएको साफ र सागमा कप्तानी गरेका निरु थापाको सन्यास अनी रेनुका नगरकोटी चोटका कारण टिम बाहिर रहेकाले एन्जिलाले नेपालको कप्तान बनेकी हुन् ।

अब साफ च्याम्पियनसिपमा नेपालले गोलकिपर एन्जिलाको कप्तानीमा खेल्नेछ ।

प्रशिक्षक थापाले आफ्नो टिममा २३ उत्कृष्ट खेलाडी छानेको र त्यसमा अनुभी खेलाडीलाई नेतृत्व दिएको बताए । ‘टिममा २३ जना हुन्छ र २३ खेलाडी छानेको छु । त्यसमा सबै कप्तान हु । अनुभवी भएकोले एन्जिलालाई छानेको हो । अरुले कप्तानलाई सपोर्ट गर्छन् । हामी टिमको रुपमा खेल्छौं । हाम्रो ध्यान च्याम्पियन बन्नेमा हो ।’ थापाले भने ।

कप्तान एन्जिलाले घरेलु मैदानमा साफ च्याम्पियनसिपमा कप्तानी गर्ने अवसर दिएकोमा सबैलाई धन्यवाद दिंदै आफूप्रति देखाएको विश्वासलाई पूरा गरेर देखाउने बताए । ‘मलाई कप्तान बनाएर जुन ट्रस्ट गर्नुभाछ म त्यो ट्रस्ट गुमाउन दिन्न,’ एन्जिलाले भनिन् ।

उनले आफ्नो कप्तानीमा च्याम्पियन बनाउने इच्छा हुने र आफ्नो पनि रहेको बताए । ‘हामी च्याम्पियन बन्नकै लागि खेल्नेछौं र च्याम्पियन बन्नेछौं । लास्टसम्म लड्नेछौँ किनकि हामी गोर्खाली हौं ।’

एन्जिलाले हरेक खेलाडीको इच्छा आफ्नो कप्ताद्दीमा उपाधि जिताउने हुने र आफ्नो पनि त्यो चाहना रहेको बताए । ‘मैले पहिलो पटक मैले कप्तानी पाएको छु । सबैलाई ईच्छा हुन्छ सबैलाई आफ्नो कप्तानीमा उपाधि जिताऊँ भन्ने हुन्छ । मलाई पनि त्यो चाहना छ ।’

एन्जिलाले सबै जना जित्नकै लागि उत्साहित रहेको बताए । ‘सबैले एक अर्कालाई विश्वास राखेका छन् । जित्नका लागि खेल्नेहो । यहाँ बोलेर भन्दा पनि बल खेलेर देखाउने हो ।’

पहिलो लक्ष्य समूह चरण

प्रशिक्षक कुमार थापाले उपाधि जित्ने लक्ष्यको सुरुवात समूह चरणबाटै गर्ने सुरुवात गर्ने बताए ।

नेपाल रहेको समूह बी मा भुटान र श्रीलंका गरी तीन टिम मात्र छन् । तुलनामत्क रुपमा यी दुई टिम नेपाल भन्दा कमजोर छन् । त्यसैले नेपाललाई समूह चरणमा सहज हुने अनुमान छ ।

तर नकआउट चरणमा भने नेपालका लागि कठिन हुने प्रशिक्षक थापाले बुझेका छन् । त्यसैले पहिलो लक्ष्य समूह चरणलाई बनाएका छन् । ‘हाम्रो तयारी पहिला लिग चरण जित्नुपर्छ । अनि बाँकी खेल जित्न हो । मैले पूरा प्याकेज बनाएको छु । तर सुरुमा लिग चरणलाई कोकस गर्छौं,’ थापाले भने ।

उनले समूहमा तीन टिम हुँदा फरक पर्ने बताए । ‘हाम्रो समूह तीन तिम छ । यसले फरक पार्छ । हामीले भुटानलाई पनि कम मान्ने छैनौँ । मुख्य कुरा गल्ती कम गरेर खेल्ने हो । हामी हाम्रो बेस्ट फुटबल खेल्छौं ।’

भुटानकी प्रशिक्षक क्योङ सुक होङले च्याम्पियनसिपका लागि राम्रो तयारी गरेको बताइन् । भुटानको टोली १२ दिनअघि नेपाल आएर तयारी गरेको थियो । साथै त्रिभुवन बर्मीसँग मैत्री फुटबल खेल्दै ४-० को जित निकालेको थियो ।

यस्तै कप्तान पेमा छोडेन छिरिङले यहाँको मौसमम घुलमिल हुन चाँडै नेपाल आएको बताए । ‘हामीले नेपालमा धेरै समय तयारी गर्दै यहाँको मौसमसँग घुलमिल हुने अवसर पायौं । हामीले एक्सपाेजरका लागि नेपालमा फ्रेण्डली म्याच खेल्यौं ।’

छिरिङले घरेलु मैदानमा खेल्दा नेपाल फाइदा हुने बताए । ‘घरेलु मैदानमन खेल्दा नेपाललाई घरेलु सपाेर्ट हुन्छ । हामीलाई चुनौती हुन्छ । टिममा युवा खेलाडी छन् ।’

नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दैछ । सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औं साग फाइनल नेपाल भारतसँग पराजित हुँदै उपविजेजता बनेको थियो । यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने अवसर छ ।



from समाचार – Online Khabar https://ift.tt/tscQIyb

Post a Comment

0 Comments