यो वर्ष वैशाखदेखि नै पानी पर्न सुरु गरेको हो । भदौको अन्तिम सातासम्म पनि पानीको रफ्तार उस्तै लाग्छ । छिनमै चरिकोटलाई बादलुले छपक्कै छोपेर पानी दर्कन थाल्छ, छिनमै खुला आकाशले गौरीशंकरको हिउँलाई गिज्याइरहेझैं लाग्छ ।
मेरो दैनिकी कहाँ फेरिएको छ र ! दिउँसो तीन बजेपछि पछाडि झोला भिरेर रेडियोमा अक्षरको खेती गर्ने कामलाई भ्याएसम्म निरन्तरता दिइरहेको छु । कतिले आलोचना गर्छन्, यो उमेरमा पनि के को दौडधुप ! म जवाफ फर्काउदिनँ । मनमनै भन्छु- अक्षर खेती त यमराजलाई ढोकाको सँघारमा भेट्दासम्म पनि रोक्दिनँ ।
छाताले पनि छेक्दैन पानीको वेगलाई । आधा शरीर निथ्रुक्कै बनाउँछ । चरिकोटको सातदोबाटोबाट रेडियो स्टेशन भएको चरिघ्याङतिर उकालो लाग्दा हिजोआज तीन वटा कुकुरले पछ्याउँछन् । आज भने पानीलाई छेलिएर कुकुरहरू सडकका दायाँ-बायाँ सुतिरहेका छन् । रेडियोबाट र्फकंदा यिनीहरूलाई मैले सधैं बिस्कुट दिने गरेको छु ।
कति बुझकी क्या ! म रेडियोतिर जाँदै गर्दा यिनीहरू देखेनदेख्या गर्छन् । किनभने म रेडियो जानेबेला यिनीहरूलाई बिस्कुट दिन्न । रेडियोबाट र्फकंदा भने मेरो शरीरमा झुण्डिनै आइपुग्छन् तीनवटै कुकुर ।
कुकुर त मेरो घरमा पनि छ । पहिले टाइगर थियो सौराहबाट ल्याएको । उमेरको एउटा विन्दुमा पुग्दै गरेको मेरो टाइगरलाई बोलेरोले किचेर मारिदियो । सम्झँदा अहिले पनि मुटु चसक्क हुन्छ । अहिले यूजी छ, काठमाडौंबाट ल्याएको । म कतै बाहिर जाँदा गेटसम्मै पुर्याउन आउँछ । अनि घर र्फकंदा गेटमै लिन आउँछ । घर आउँदा उसको हातमा माया गर्नुपर्छ अनि मात्र खुशी हुन्छ ।
रेडियोमा अक्षर खेतीको लागि गोडमेल, कुटो-कोदालो गर्दा धेरै समाचार, लेख र टिपोटहरूतिर आँखा दौडाउनुपर्छ । प्रकाशित, संकलित र सम्पादित समाचारको विश्लेषण पछि संप्रेषण र प्रसारण जिम्मेवारीभित्रको काम हो । यही मेसोमा भदौको अन्तिम साता अनलाइन मिडियाका दुई वटा विषयले मलाई अत्यन्तै मर्माहत बनाएको छ ।
अनलाइनखबरमा प्रकाशित ‘जब आफ्नो मालिकलाई पछ्याउँदै चितामा चढ्यो कुकुर’ शीर्षकको समाचार र कान्तिपुर अनलाइनमा उषा थपलियाले लेखेको ‘सन्तान विदेशमा, आमाबाबु बिचल्लीमा’ शीर्षकको लेखले मुटुको धड्कन मात्र बढाएन हातखुट्टा गलेजस्तो भयो । श्वास प्रश्वास अस्वाभाविक र अनियन्त्रित बन्यो । मानव र पशु बीचको भेद छुट्याउनै कठिन भयो मलाई ।
बुबा-आमालाई नेपालमा चटक्कै छोडेर विदेशमा पैसा र परिवार (श्रीमती, छोराछोरी) सँग रमाउने मानव (छोरा) असल कि आफूलाई सडकबाट बेवारिसे अवस्थामा उठाएर घरमा पालनपोषण र माया दिने स्वामी (मालिक) को मृत्युमा चितासम्मै साथ नछोड्ने पशु (‘सफी’ नामको कुकुर) असल ? यो प्रश्न मानवीयतालाई चट्टानी चुनौती दिने अत्यन्त संवेदनशील लाग्दछ ।
छोराहरूले चटक्कै छोडेर विदेशिएपछि बुढा-बुढी एकअर्काको सहारामा बाँचिरहेकै अवस्थामा श्रीमतीलाई पक्षघात भएपछि श्रीमान्ले कसरी रेखदेख गरेका थिए होलान् । यसको कल्पना मात्रै गर्दा पनि आङ सिरिङ्ग हुन्छ । झन् श्रीमान्लाई हृदयघात भएर छट्पटिरहेको अवस्था पक्षघातले थलिएको श्रीमतीले टुलुटुलु हेर्नुपरेको क्षण कस्तो हृदयविदारक थियो होला ? हृदयघातको चोटले छटपटिरहँदा एउटा वृद्ध बुबाले विदेशिएका छोराहरूलाई कसरी सम्झिए होलान् ? अनि श्रीमान्को छटपटीमा पक्षघातको कारण सहयोग गर्न नसक्दा आँशु पिएर सुकसुकाएकी बुढीआमाले विदेशिएका ती छोराहरूलाई के भनेर आशीर्वाद दिइन् होला ?
त्यतिबेला दुवै वृद्ध बुबा-आमाले छोराहरूलाई पालनपोषण गर्दा बेहोरेको दुःख, कष्ट र झमेला पक्कै सम्झे होलान् । बुढा-बुढी एक अर्कोलाई हेरेर कति धेरै रोए होलान् । हृदयविदारक त्यो परिवेश काल्पनिक कथा मात्र हुन्थ्यो भने पनि मुटु कति धेरै चिमोटिन्थ्यो होला । सत्य त्यो परिवेशले साँच्चै मानवीयताको शक्तिलाई चुनौती दिएको छ । समय पुस्तान्तरण हुँदै जाँदा मानवीयता पनि पुस्तान्तरण हुँदैछ, कठोर बन्दै बन्दै … !
धेरै मानिसले कुकुरलाई अपहेलना गर्छन् । हामी मानव जाति कुकुर शब्द अपहेलित ठान्दछांै र मानिसलाई तल्लो दर्जामा गाली गर्दा कुकुर भन्छौं । तर के मानिस कुकुर जतिको संवेदनशील, इमानदार र जिम्मेवार छन् त ? बरु मानिस, मानिससँग मिलेर बस्न सक्दैनन् तर कुकुर मानिससँग सधैं मित्रवत् रहन्छ । स्वामी भक्त छ कुकुर ।
‘सफी’ले देखाएको स्वामी भक्ति कति आत्मीय छ । प्रसव पीडामा छटपटिएका वृद्ध श्रीमान्-श्रीमतीको अचेत आर्तनाद छोराहरूसम्म पुग्न सकेन । आपसमा हेराहेर मात्र गरेरै देहत्याग गरे वृद्ध-वृद्धाले । उमेर पुगेपछि विदेशिएका ती छोराहरूलाई वृद्ध बुबा-आमाको बाल स्नेह कहिल्यै याद आएन । तर ‘सफी’ले सडकबाट बेवारिसे अवस्थामा घर ल्याएर माया र आश्रय दिने स्वामीलाई आफू जलेर भए पनि साथ दिने अठोट लियो र चितासम्मै पुग्यो । ‘सफी’ आफ्नो स्वामीसँगै सती जान चाहन्थ्यो सायद । यति धेरै आत्मीयता र स्नेह बोक्न सक्ने कुकुर किन अपहेलित हुने ? कुकुर शब्दलाई अपहेलित र घृणित अर्थमा प्रयोग गर्ने हाम्रो कुसंस्कार बन्देज हुनुपर्दैन ?
३० हजार वर्ष अघिदेखि कुकुरले मानवसँग मित्रवत् सम्बन्ध राखेको ऐतिहासिक तथ्य छ । अनि नेपालीको महान् पर्व तिहारमा कुकुरको पूजा गर्ने प्रचलन यद्यापि कायमै छ । फेरि किन कुकुर शब्दलाई अपहेलित रूपमा प्रयोग गरिरहेका छौं ? के यो सांस्कृतिक अपभ्रम अन्त्य हुनुपर्दैन ?
धार्मिक ग्रन्थहरूमा पनि कुकुरको सकारात्मक महिमा उल्लेख भएको पाइन्छ । धार्मिक ग्रन्थ ऋग्वेदमा समराको बारेमा उल्लेख गरिएको छ । ‘समरा’ अर्थात् कुकुरहरूकी आमा जसले स्वर्गको राजा इन्द्रलाई उनको हराएको वस्तु भेट्टाउन सहयोग गरेको कुरा ऋग्वेदमा उल्लेख छ । महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी, यमराजको दूतको रूपमा मानिन्छ । मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहेको पाइन्छ । कुकुरलाई भैरवको वाहन समेत भनिन्छ ।
वैज्ञानिक तथ्यलाई हेर्दा पनि अन्तरिक्षमा जाने पहिलो जनावर कुकुर नै हैन र ! १९५७ को नोभेम्बर ३ मा सोभियत संघले ‘लाइका’ नामको कुकुरलाई पहिलो प्राणीको रूपमा अन्तरिक्षयानमा राखेर अन्तरिक्षमा पठाएको र अन्तरिक्षयानमा अत्यधिक गर्मी भएकै कारण ‘लाइका’ले ज्यान गुमाउनु परेको तथ्यलाई हामीले भुल्न मिल्छ ? कुकुरको त्यो महानतालाई सम्मान गर्ने कि कसैलाई गाली गर्दा या अपहेलित गर्दा कुकुर भनेर त्यो आत्मीय जनावरको अपमान गर्ने ? यो विषयमा पशु अधिकारकर्मीहरूको ध्यान जानुपर्दैन ? कसैलाई अपमानित या अपहेलित गर्दा कुकुर भन्ने हैन कसैको महानतालाई सम्मान गर्दा कुकुर शब्द प्रयोग हुनुपर्छ ।
कसैको बहादुरीलाई कदर गर्दा बाघ जस्तो, सिंह जस्तो भन्न सक्ने हामीले सहृदयी र सहयोगी भाव भएकालाई कुकुर भन्ने शब्दावली प्रयोग गर्ने परम्पराको लागि सांस्कृतिक अभियान चलाउनु जरूरी छ ।
म फेरि एकपटक ‘सफी’ले देखाएको स्वामी भक्ति र आत्मीयताको स्मरण गरिरहेको छु । कैलाली लम्कीचुहा-५ कि हैरानी चौधरीको मृत्युमा ‘सफी’ले देखाएको त्यो आत्मीयता मानव समाजको लागि ठूलै चुनौती ठान्दछु म । संस्कार, सभ्यता, मित्रता, आत्मीयता, आफन्त सबै गुमाउँदै गएको हाम्रो समाजमा ‘सफी’को समर्पण वास्तवमै हृदयविदारक लाग्दछ ।
‘सफी’ मानव हैन तर जीवित प्राणी हो । ज्यानको माया उसलाई पनि छ । भोक, प्यास, पीडा उसँग पनि छ । तर त्योभन्दा महानतम कुरा ‘सफी’सँग आत्मीयता, सहृदयता र समर्पणभाव छ । स्वामीप्रतिको आत्मीयता कति धेरै ‘सफी’को, साङ्लो चुँडालेर पाँच किलोमिटर दौड्दै घाटमा पुगेर हैरानी चौधरीलाई राख्नुअघि आफू चितामा चढ्यो ।
नौ महिना कोखमा राखेर ताथै-ताथै सिकाउँदै औंला समाएर संसार चिनाउने बाबु-आमालाई बुढ्यौली उमेरमा एक्लै छोड्ने छोराहरूको जस्तै कठोर हृदय किन हुन सकेन होला ‘सफी’को । त्यस्तै हृदय ‘सफी’सँग हुन्थ्यो भने ऊ पनि त कसैको मृत्युमा बेपर्वाह रहन्थ्यो होला । पाँच किलोमिटर दौडिएर स्वामीलाई पछ्याउने ‘सफी’ घरतिरै कतै गुटमुटिएर बसेकै भए पनि उसलाई बास र गाँसको समस्या हुँदैनथ्यो होला ।
तर ‘सफी’सँग आत्मीय हृदय छ । भावना छ । स्वामी भक्तिको बेपर्वाह लगाव छ । निस्वार्थ भक्तिभाव छ । र, चितासम्मै उसले आफ्नो स्वामीलाई पछ्याएर सती जाने साहस गर्न सक्यो । भक्तिभावको हद पार गर्न सक्ने ‘सफी’ ! सलाम छ तिमीलाई । तिम्रो समर्पणलाई ।
from समाचार – Online Khabar https://ift.tt/1WpZwbT
0 Comments
if you have any doubts, please let us know.