‘तीनवटा रामेछाप’ जोड्ने युवराजको सपना

मुलुकमा ३० वर्ष लामो शासन गरेको पञ्चायत ढलेर प्रजातन्त्र पुनर्स्थापना हुँदै गर्दा २०४६ सालतिर युवराज चौलागाई औपचारिक शिक्षाको प्राथमिक चरणमै थिए । पञ्चायतविरुद्ध राजनीतिक दलहरूले आन्दोलनको आँधीबेहरी चलाउने तयारी गरिरहँदा ११ वर्षको कलिलै उमेरमा कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा सदस्य बनेका चौलागाई अहिले माओवादी केन्द्रको केन्द्रीय समितिमा छन् ।

विद्यार्थी संगठनको सदस्यदेखि नेतृत्वसम्म, माओवादी युद्धमा जनमुक्ति सेनाको प्लाटुनदेखि बटालियन कमिसारसम्म र शान्ति प्रक्रियापछि पार्टीको अन्तर्राष्ट्रिय विभाग हुँदै केन्द्रीय समितिसम्मका अनेकौं जिम्मेवारीमा बसेर उनले काम गरिसकेका छन् । तर राजनीतिमा होमिएको करिब ३३ वर्षपछि मात्रै चौलागाई यसपटक रामेछापबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पार्टीमा सिफारिस भएका छन् ।

पञ्चायत विरुद्धको आन्दोलनमा संगठित भएर थोरै भए पनि भूमिका निभाएका उनी आफैं लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई अझै समृद्ध बनाउनुपर्ने ठान्छन् । चुनावका लागि टिकट नपाएसम्म नेताको ढोका चहार्नुपर्ने, टिकट पाइसकेपछि प्रचारप्रसार र व्यवस्थापनमा धेरै खटिनुपर्ने झन्झट ब्यहोरिरहेका उनी चुनावका यस्तै केही दुर्गुणहरूसँग आजित सुनिन्छन् । ‘अहिले सामान्य पारिवारिक आर्थिक स्थिति भएको व्यक्तिका लागि चुनाव लड्ने कुरा असाध्यै डरलाग्दो बनेको छ’ उनी भन्छन्, ‘जनताको समर्थन हेर्दा र आफ्नो पनि पालो आयो भन्ने सम्झँदा जति उत्साह आउँछ, निर्वाचन व्यवस्थापनको आर्थिक पाटोलाई सम्झिंदा त्यति नै दबाव र निराशा पैदा हुने अवस्था छ ।’ उनी आर्थिक पक्षका कारण चुनाव जति महँगो भएको छ त्यसले एउटा वर्ग बहिष्करणमा पर्ने खतरा देख्छन् । सबैले समान अवसर पाउनका लागि यही व्यवस्थाको प्रगतिशील रूपान्तरण गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन् ।

चौलागाई राजनीतिमा नयाँ अनुहार त अवश्य होइनन् । उनले पाएका अवसर र पूरा गरेका जिम्मेवारीले पनि उनको परिचय नौलो होइन भन्ने देखाउँछ । तर संसद्मा भने उनी पहिलो पटक प्रतिस्पर्धामा उत्रिंदै छन् ।

राजनीतिमा उमेरले मात्रै होइन ! त्याग, समर्पण र दृष्टिकोणले पनि युवाको आवश्यकता हुन्छ भन्ने धारणा राख्ने चौलागाई आफ्नो उपस्थितिले संसद्को अंकगणितमा मात्रै नभएर गुणात्मकतामा पनि अर्थ राख्ने बताउँछन् । ‘म उमेरले युवा छु त्यसैले चुनाव लड्छु र मलाई भोट दिनुपर्छ भनेर भन्दिनँ’ उनी भन्छन्, ‘रामेछापमा हाम्रो पार्टीको अवस्था, पार्टीका तर्फबाट मेरो भूमिका, समर्पण र अब मैले अगाडि सार्ने विकासका योजना हेरेर जनताले मूल्यांकन गर्छन् ।’

राजधानीबाट १०० किलोमिटर भन्दा पनि कम दूरीमा रहेको रामेछाप विकासका हिसाबले दुर्गम जस्तै छ । जहाँको विकास कसरी गर्न सकिन्छ भन्नेमा केही योजना र सपना बोकेर हिंडेका चौलागाई पार्टीले टिकट पत्याएको खण्डमा रामेछापवासीले चुनाव जिताएर पठाउनेमा ढुक्क छन् । माओवादी युद्धका क्रममा आफ्नै सहोदर भाइलाई गुमाएका उनी रामेछापको जमिनसँग जोडिएर देशका लागि बगाएको आँशु, पसिना र रगतको मूल्यांकन रामेछापवासीले गर्नेछन् भन्ने विश्वास व्यक्त गर्छन् ।

मौलिकता जोगाउने, पर्यटनसँग जोडेर पूर्वाधार बनाउने

पार्टीको विदेश विभागमा बसेर करिब एक दशकभन्दा बढी समय काम गर्दा चौलागाईले विभिन्न देशको भ्रमण र त्यहाँको राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरेपछि आफ्नो मुलुकलाई चाहिने विकासको मोडल कस्तो हो भनेर योजना बनाएका छन् । ‘आज दुनियाँमा विकासको जुन दबदबा छ त्यो मूलतः नेपालजस्तो पहाडी मुलुकको होइन, समुद्र वरिपरिका देशहरू र समथर क्षेत्रको विकास बढी हो’ उनी भन्छन्, ‘हाम्रो जस्तो पहाडी मुलुक अधिकांश पछाडि नै छन् । ल्याटिन अमेरिकी, दक्षिण एशियाका भुटान, नेपाललगायत मुलुकको विकास कमजोर छ । चीनमा पनि समथर क्षेत्रमा बढी र पहाडी क्षेत्रमा कम विकास भएको छ । त्यसैले होला अहिले पहाडी क्षेत्रमा जोड दिएको देखिन्छ ।’ उनी नेपाल जस्तो मुलुकको विकासका लागि राजनीतिक नेतृत्वमा नै लगाव आवश्यक पर्ने र राम्रो गर्न सक्दा त्यो दुनियाँकै नमूना पनि हुनसक्ने सम्भावना देख्छन् ।

उनलाई धेरैवटा देशको अवस्था देखेपछि अहिलेका गाउँहरूको मौलिकतालाई जोगाएर गरिएको विकास मात्रै दिगो हुनसक्छ भन्ने लागेको छ । आम नागरिकको जीवनलाई सहज बनाउन र युवा जनशक्तिलाई गाउँमै उत्पादनसँग जोड्नका लागि पूर्वाधारको विकासलाई पर्यटनसँग जोड्नै पर्ने उनको तर्क छ ।

त्यसका लागि केवलकार, ग्रीन इनर्जी, हावाबाट बिजुली निकाल्ने जस्ता धेरै काम गर्न सकिने उनको सोच छ । चीनले गरेको यस्ता विकास निर्माणका कामहरूको उदाहरण दिंदै उनी राम्रो झरना पुग्न पनि राम्रो बाटोको आवश्यकता पर्ने बताउँछन् ।

‘हामीसँग पनि यस्ता राम्रा सम्भावना बोकेका ठाउँहरू छन् । रामेछापमा नै नुम्बुरचुली हिमाली क्षेत्र, बाम्ती, गुम्देललगायत राम्रा पर्यटकीय दृश्यावलोकन गर्न सकिने ठाउँहरू छन् । तर त्यहाँसम्म पुग्ने पूर्वाधार नै छैन’ उनी भन्छन्, ‘१० किलोमिटर पार गर्न ५ घण्टाको यात्रा तय गर्नुपर्छ । गाडीमा जान पनि त्यति सजिलो छैन । त्यस्ता ठाउँमा भौतिक पूर्वाधार पुर्‍याउनुपर्ने आवश्यकता छ ।’

उनले रामेछापमा अहिले सडक सञ्जालकै समस्या रहेकाले त्यसको उचित व्यवस्थापनलाई प्राथमिकतामा राख्ने योजना बनाइरहेका छन् । जिल्लाको चौंरी खोला, गाल्भा, मन्थली, धोबी र गुम्देलसम्मको सडक सञ्जाललाई विस्तार गरेर उक्त सडकलाई विभिन्न पालिका र वडाका मुख्य ठाउँसम्म पुग्ने गरी लिंक रोडहरू बनाउने उनको योजना छ ।

रामेछापलाई मध्यपहाडी लोकमार्गले छुने हुँदा उनी अरू सहायक सडकहरूको विकास गरेर प्रत्येक गाउँलाई राष्ट्रिय राजमार्गसँग जोड्ने अवधारणामा काम गर्ने बताउँछन् । ‘रामेछापमा आठवटा स्थानीय तह छन् । ती आठवटै पालिकामा रहेका वडाहरूलाई जोड्ने रिङरोड बनाउने र त्यसलाई राजमार्गसँग जोडेपछि सबैलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्छ’ उनी भन्छन्, ‘त्यसले गाउँको सामान्य कर्मलाई उद्योगसँग जोड्छ, उद्योगलाई बजारसँग जोड्छ र मान्छेको आयस्तरमा वृद्धि हुन्छ ।’ मानवीय विकास गरेर मात्रै भौतिक विकास सम्भव हुने उनको तर्क छ ।

रामेछापमा सातभन्दा बढी लोपोन्मुख जाति छन् । जसका आफ्नै रीतिरिवाज, स्थानीय भाषा, संस्कृति छन् । उनले त्यस्ता संस्कृतिलाई पर्यटनसँग जोडेर ती बस्तीहरूमा पूर्वाधार पुर्‍याउने सपना देखेका छन् । ‘मैले रामेछापमा पूर्वाधार र पर्यटनलाई जोडेर अर्थतन्त्रलाई सुदृढ गर्ने आधार बनाउन सकिन्छ भन्ने सोचेको छु’, उनी भन्छन् ।

यस्तै युवा जनशक्तिलाई स्वदेश फर्काउने उनको अर्को मुख्य सपना छ । रामेछापमा अहिले दुई लाख वरिपरि जनसंख्या र ४५ हजार वरिपरि घरधुरी छ । उनी विभिन्न ठाउँमा छरिएर रहेका रामेछापवासीले नै रामेछापलाई समृद्ध बनाउन लाग्नुपर्ने बताउँछन् । ‘आज रामेछाप तीन ठाउँमा छ । त्यहाँको भूगोलमा, त्यहाँभन्दा बाहिर देशभित्र मूलतः काठमाडौंमा र विदेशमा रामेछाप छ । रामेछापको विकासका लागि यो तीनवटै रामेछाप एकै ठाउँमा उभिनुपर्छ’, उनी भन्छन् । उनी एउटा जिल्लामा मासिक करोडौं रेमिटेन्स आउने र विदेशको लसुन-प्याज खरिद गरेर जीवन धान्ने संस्कृति बढेर ग्रामीण अर्थतन्त्र तहसनहस भएको भन्दै गाउँको मौलिकतालाई जोगाएर गर्ने विकासको अवधारणा बनाएर अघि बढ्नुपर्ने बताउँछन् ।

रामेछाप जिल्लाको भूगोल भएर करिब पाँचवटा भन्दा बढी नदीहरू बग्छन् । तर, जिल्लाका अधिकांश भागमा सिंचाइ र खानेपानीकै समस्या हुने गरेको छ । चौलागाई आफ्नो प्राथमिकतामा त्यसको व्यवस्थापन पनि पर्ने बताउँछन् । ‘रामेछापका ५-६ वटा नदी छन्, तर केही ठाउँमा सुक्खा पनि छ । ठूल्ठूला नदीको पानी यत्तिकै बगेर जाने, वरिपरिको जमिन सुक्खा भएर बाँझो र मानिस तिर्खामा बस्नुपर्ने अवस्था छ’ उनी भन्छन्, ‘यसलाई सदुपयोग गर्नुपर्छ । त्यसको व्यवस्थापनका लागि पनि योजना बनाउनुपर्छ ।’ रामेछापको लिखु करिडोरमा चार-पाँचवटा, खिम्ती करिडोरमा तीनवटा हाइड्रो पावर चलिरहेका छन् । सुनकोशी ‘थ्री’को कुरा चलिरहेको छ । उनी यसलाई स्थानीयको जीवनस्तरसँग जोड्नुपर्ने बताउँछन् ।

यससँगै उनले देखेको अर्को मुख्य समस्या गाउँमा गुणस्तरीय शिक्षाको अभाव हो । ‘परिवारको एकजना विदेश जाने र अर्कोले काठमाडौं बसेर बच्चा पढाउनुपर्ने अवस्था छ । जसका कारण विदेशमा पसिना बगाएर कमाएको पैसा सबै बालुवामा पानी जस्तो हुन्छ’ उनी भन्छन्, ‘गाउँमा राम्रो शिक्षा हुने हो भने ठूलो आर्थिक व्ययको नियन्त्रण हुने सम्भावना छ । खासगरी वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणको सदुपयोगका लागि गुणस्तरीय शिक्षा एकदमै जरूरी छ ।’ उनी त्यसो गर्दा एकातिर सबैको पहुँचमा शिक्षा हुने र अर्कोतिर गुणस्तर राम्रो हुँदा जनशक्ति गाउँमा नै रहने र उत्पादकत्व वृद्धि गर्ने काम हुने तर्क गर्छन् ।



from समाचार – Online Khabar https://ift.tt/0uXbBnM

Post a Comment

0 Comments