२७ साउन, काठमाडौं । आज गाईजात्रा पर्व । अवसरमा हास्यव्यंग्यात्मक कार्यक्रम गरी यो पर्व मनाइँदै छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रम आयोजनासमेत हुन्छ । हामीले चाहिं गाईजात्रा पर्वको अवसर पारेर कलाकार मनोज गजुरेलसँग उटपट्याङ गफ गरेका छौं–
तपाईं एक दिनको लागि प्रधानमन्त्री हुनुभयो भने, के–के गर्नुहुन्छ ?
सबैभन्दा पहिला त यस्ता काल्पनिक र असम्भव कुरामा विश्वास गर्नेलाई होसको दबाई खुवाउँथें । त्यतिभन्दा पनि विश्वास गर्नेलाई नमान्नेलाई आश्वासनको लड्डु खुवाउथें । भ्रमको खेती लगाउथें । सपनाको समृद्धि ल्याउँथें ।
हाम्रा नेताहरु किन रिसाएर, आक्रामक र रातोपिरो भएर भाषण गर्छन् ? शालिन र शान्त ढंगले भाषण गर्न सकिदैन होला ?
रातो पिरो भएर भाषण गर्ने त युवा नेतामात्र हुन् । वृद्ध नेता त र्याल सिंगान भएर बोल्ने गर्छन् । शालिन तरिकाले भाषण गर्ने सन्तले हो, नेताले होइन ।
नेताहरुको भाषण, अन्तर्वार्ताप्रति तपाईं कति रुचि राख्नुहुन्छ ? उनीहरुको कुरा तपाईंलाई पत्यार लाग्छ ?
नरुचे पनि हेर्नु र सुन्नु हाम्रो पेशागत आवश्यकता हो । तर, उहाँहरुका कुरा पत्यारभन्दा पट्यारलाग्दा हुन्छन् ।
कुन नेताको अनुहार सम्झदा खित्का छाडेर हाँस्न मन लाग्छ ?
जुन नेता अभिनेताजस्तो देखिन्छन् ती सबै देख्दा हाँस्न मन लाग्छ ।
यदि मनलाग्दो सेवासुविधा नपाउने, भ्रष्टाचार गर्न नपाइने तर निस्वार्थ रुपले जनताको काममा खटिनुपर्ने हुँदो हो त मन्त्री बन्न तँछाड–मछाड चल्थ्यो होला ?
तँ छाड मछाड हैन, मचाहिँ छाड्छु तँचाहिं नछाड हुन्थ्यो होला !
नेपालका कुन नेता–मन्त्री छन्, जसलाई सम्झदा तपाईंको हृदयमा वास्तवमै श्रद्धाभाव पैदा हुन्छ ?
दुईजना छन्, एकजनाको मृत्यु भैसक्यो, अर्को जन्मनै बाँकी छ ।
मानौं तपाईं सुपरहिरो हुनुभयो, सबैभन्दा पहिले कसलाई तह लगाउनुहुन्छ ?
सबैभन्दा पहिला म आफैंलाई तह लगाउथें । लोभ, मोह र अहंकाररुपी शत्रुका पाता कस्थें । आलस्यलाई कैद गर्दथें । र, आफूलाई पवित्र मानव बनाउथें ।
नेपालमा सरकारी काम कारबाही किन चुस्त, छरितो र विश्वसनीय नभएको होला ?
किनकी हाम्रो देश नियम कानुनले होइन, ‘मिलाएर’ हुने गर्दछ । जे काम पनि ‘मिलाएर’ गराउने जनता, मिलाएरै गरिदिने कर्मचारी हुन्जेल यस्तै रहन्छ ।
कतिपय सरकारी कर्मचारीहरुलाई धेरै अल्छी लाग्ने किन होला ?
सायद जाँगर कम भएर होला !
अल्छी कर्मचारीका लागि त्यस्तो कुनै औषधि होला, जो खानासाथ स्फूर्ति जगाउँछ ?
इमान्दारलाई घर चल्ने गरी तलब र भ्रष्टका लागि घर बाहर दुवैतिर पुग्ने घुस ।
मानौं तपाईं कुनै ठूलो व्यवसाय गर्ने सुरसारमा हुनुहुन्छ, यसका लागि सरकारी कागजात मिलाउन, बैंकबाट ऋण लिन घुस दिनुपर्ने भयो । के गर्नुहुन्छ ?
घुस हैन, तीनलाई भुस खुवाउँथें र सानो व्यवसाय गर्थें ।
भ्रष्टाचारीहरुलाई कस्तो सजाय दिनु उपयुक्त हुन्छ होला ?
सार्वजनिक शौचालयमा थुनेर एक घण्टासम्म देउवाको भाषण सुनाउनु पर्छ ।
गोल्ड मेडलिस्ट सरकारी कर्मचारी पनि भ्रष्टचार गर्न तम्सिन्छन्, किन होला ?
गोल्ड मेडल बिक्री नभएर होला !
तपाईं कुनै पार्टीको कार्यकर्ता बन्नुपरेमा, कुन पार्टी रोज्नुहुन्छ ?
मेरो रोजाइ खानपिन मुक्ति मोर्चा ।
अहिले श्रीमती हराएमा प्रहरीलाई उजुरी गर्नु उचित हुन्छ कि युट्युबरलाई ?
अनलाइन मिडिया पनि कम छैनन् ।
काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्ने कुनै खाँट्टी फर्मुला छ ?
कुहिने र नकुहिनेमात्र होइन, चुहिने र नचुहिनेलाई पनि छुट्टाछुट्टै राख्नुपर्छ ।
समाजमा चोरी, डकैती, हत्या, हिंसा, बलात्कार आदि बढ्नुमा मुख्य जिम्मेवार को हो ?
चोर, डाँका, हत्यारा र बलात्कारी !
मानौं तपाईंसँग जादूको छडी छ, सबैभन्दा पहिले के गर्नुहुन्थ्यो ?
जादूको छडी सक्कली हो कि नक्कली भनेर छुट्याउथें ।
हर्क साम्पाङलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहनुहुन्छ ?
चाहन्न भन्न कसले सक्छ ?
from समाचार – Online Khabar https://ift.tt/jmUAnxP
0 Comments
if you have any doubts, please let us know.