युवा नेताको अग्नि परीक्षा

पूर्व प्रधानमन्त्रीहरूको तस्बिर राख्दै सामाजिक सञ्जालमा अभियान चलाउँदै भनिएको छ- ‘जे जति गर्‍यौ, धन्यवाद ! अब पालो अरू कसैको, स-सम्मान बिदाबारी – निर्वाचन २०७९ ।’

यो अभियानका सूत्रधार को हुन् भन्ने स्वतन्त्र रूपमा पुष्टि नभए पनि अभियानले दिन खोजेको सन्देश भने आंशिक रूपमा ठिकै हो । वैज्ञानिक तथ्य अनुसार उमेरले ज्येष्ठ प्राणी मानसिक र शारीरिक दुवै हिसाबले शिथिल हुन्छ । साथै, वैज्ञानिकहरूले पत्ता लगाएको अर्काे पनि तथ्य हो- गतिशून्य हुँदा ऊर्जा पदार्थमा सीमित हुन जान्छ । मानसिक एवं शारीरिक गतिशून्यताका कारण नेपालका प्रमुख राजनीतिक दलका उपल्लो तहका नेता पदार्थको अवस्था (जड)मा रूपान्तरण भइसकेका छन् । तर, सोच भने उनीहरूमा आफू नबासी उज्यालो हुँदैन भन्ने नै छ ! तसर्थ, जबरजस्त रूपमा उठेको आजका मितिको सवाल हो राजनीतिमा देखिएका प्रौढ पुस्ताको निरन्तरतालाई युवा पुस्ताले गराउने ‘क्रमभंगता’ । तर, त्यो आँट भने युवा नेताले गर्लान् या जडमै आफूलाई पनि समर्पित गर्लान् ? यही प्रश्नको सेरोफेरोमा नेपालको राजनीति केही वर्ष घुम्ने निश्चितप्रायः छ ।

स्थिर सरकार नभएकाले नेपालमा समृद्धि सम्भव भएन भनियो ! अझ त्यसअघि गणतन्त्र र संघीयता हुँदा मात्र नेपाल निर्माण सम्भव छ भनियो ! पछिल्लो समय त गठबन्धन सरकारको ‘प्राक्टिस’ले नेपाल निर्माण सम्भव हुने बताइयो ! संविधानलाई नै केपी ओली सरकारले धुजाधुजा बनाएकाले उक्त सरकारको विस्थापनबाट मात्र नेपाल निर्माण सम्भव भनियो ! केपी सरकारको विस्थापन गराउन मात्रै सक्दा पनि नेपाललाई असाधारण रूपमा विकासको राजमार्गमा दौडाउन सकिने तर्क गरियो ! तर यी सब मिथ्या सावित भए । उमेरले सत्तरी कटेका नेतामा मुलुक निर्माणको मार्गचित्र नै भएन !

मुलुकको अवस्था ठ्याक्कै श्रीलंका जस्तो नभए तापनि विदेशी मुद्राको सञ्चिति घट्दो छ । शोधनान्तर घाटा उच्च छ । वित्तीय अभाव कायमै छ । मूल्यवृद्धि ७.२८ प्रतिशत पुगिसक्यो । भ्रष्टाचार तीव्र गतिमा बढिरहेकै छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व कर्मचारीहरू (रिटायर्ड पछि) थान्को लगाउने अड्डामा रूपान्तरण भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति दुःखलाग्दो छ । वैदेशिक ऋणको भार २० खर्ब पुगिसक्यो ! बेरुजुको अंक मात्रैले पनि आङ जिरिङ्ग बनाउँछ । वैदेशिक रोजगारीमा जाने युवाहरूको भीडले एकातिर एयरपोर्ट खचाखच छ भने अर्कातिर हाम्रा खेतबारी बाँझै छन् । कृषिप्रधान देशका कृषकका लागि राज्य मल दिन अक्षम भएको छ । यसैबाट थाहा लाग्छ – शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाल खनालकालीन समयका सरकारका कामको गति !

देउवादेखि दाहाल हुँदै ओलीसम्मले हिजोका मितिमा व्यवस्था परिवर्तनमा पुर्‍याउनुभएको योगदानको अवमूल्यन नगरौं । तर, उहाँहरूकै मूल्यांकन गर्नुपर्दा पचासौं वर्षदेखि सँगै राजनीति गरेका रामचन्द्र पौडेल, शेरबहादुरका लागि उपयोगी नहुने तर, सुनिल थापा नभई नहुने ! आफूसँग दशकौंको राजनीतिमा सँगै रहेका माधवकुमार नेपाललाई देखिनसहने तर, रामबहादुर थापा बादल भने ओलीलाई नभई नहुने ! दर्जनौं पटक मृत्यु सम्मुख रहँदा सँगै रहन सक्ने बादल भन्दा प्रचण्डका लागि ल्हारक्याल पि्रय हुने यो कस्तो प्रवृत्ति ?

तसर्थ, अब उहाँहरू निर्वाचन लड्ने र हार्ने भन्दा पनि युवा पुस्ताका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, शंकर पोखरेल, युवराज ज्ञवाली, जनार्दन शर्मा र वर्षमान पुनहरूलाई देश संचालनको बागडोर सुम्पेर प्रौढ नेताहरू स-सम्मान राष्ट्रियसभाको सदस्य भएर चित्त बुझाउनु नै स्वयम् उहाँहरूकै लागि पनि श्रेयस्कर ठहर्दछ । अन्यथा, गठबन्धन गरेर ‘कोदो-तोरी’ मिसाउँदा पनि भोटको भकारी भरिने सम्भावना नरहन सक्छ । आसन्न निर्वाचन अघि पूर्व प्रधानमन्त्रीहरूले बुझ्न जरूरी छ – आफूहरू विरुद्धको भुसको आगो कुन रूपमा सल्किरहेको छ भनेर ।

सवाल, प्रौढ नेताहरूलाई समयले विस्थापन गर्छ वा गर्दैन भन्ने हुँदै होइन, सवाल त गगन थापादेखि शंकर पोखरेल हुँदै वर्षमान पुनसम्मले भोलिको नेपाल हाँक्नका निम्ति राजनीतिक जमिनमा दरिलो रूपमा खुट्टा टेक्छन् या टेक्दैनन् भन्ने नै हो । यदि, थापा, पोखरेल र पुनहरूले खुट्टा कमाए भने त्यति नै बेला ‘बालेन र साङपाङ’को उदय हुनेमा सन्देह नराख्दा हुन्छ ।

राजनीतिक खपतका लागि सिंगापुरका नेता लि क्वान यू, दक्षिण कोरियाली नेता पार्क जुङ हि र मलेशियाका नेता महाथिरको नाम लिने गरिन्छ । तर, १९५० देखि १९५३ सम्म उत्तरकोरियासँग युद्ध लडेर घाइते बनेको दक्षिण कोरिया, जातीयताको चपेटाबाट थिलथिलो बनेको मलेशिया र १९५६ मा मात्र अलग देशको मान्यता पाएको सिंगापुरले कुशल नेतृत्व पाएकै कारण विकासका दृष्टिले आज कहाँ पुगिसके ।

नेपालमा भने राजधानी काठमाडौंसँग जोडिएको जिल्ला सिन्धुपाल्चोकको सुगम गाउँपालिका मानिने इन्द्रावती गाउँपालिकामा भीरबाट लडेर खोलाले बगाउँदै गोमा धिताल र विशेष चालिसेले ज्यान गुमाउनु परेको घटना आलै छ ! विकास समेत आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा हुँदै आयो !

प्रजातन्त्र प्राप्ति यता मात्र नेपालमा २७ वटा सरकार निर्माण भए । जसको नेतृत्वमा सरकार निर्माण भए उसैको निर्वाचन क्षेत्रमा ‘भ्यू टावर’ जस्ता अनुत्पादक क्षेत्रमा अर्बाैं रकम विनियोजन गरियो । अग्ला पहाडै पहाड भएको देश नेपाल आफैंमा विश्वका सामु ‘भ्यू टावर’ हो भन्ने हेक्का राजनीतिक नेतृत्वले चटक्कै बिर्सियो । जनता पिउने पानी र स्कुल जाने पुल नभएर आजित छन् । तर, गैंडा र सुँगुरका प्रतिमा बनाएर बजेट सकिंदैछ ।

अंकुश लगाउने निकाय अख्तियारका अधिकारप्राप्त व्यक्तिहरू नै ‘असुली अड्डा’ बनाएर असुलीमा व्यस्त भएका समाचार सर्वत्र छापिंदै आएका छन् । यी र यस्ता बेथितिका लामै फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । यिनै फेहरिस्तका बीच शीर्ष भनिएका नेताहरूको लामो शासनकाल व्यहोरिसकेका जनताको नजर यतिबेला गगन, विश्व, शंकर र वर्षमानतिर छ । तर, उहाँहरूको नजर चाहिं दाइ र दिदीले के भन्नुहोला भन्दै दाइ दिदीतिर छ या जनतातिर ? त्यसको लागि भने आगामी निर्वाचनसम्म पर्खनैपर्ने हुन्छ ।

‘नगरुञ्जेल हर कुरा असम्भव झैं देखिन्छ’ भन्ने नेल्सन मण्डेलाको भनाइलाई सापटी लिने हो भने पनि उल्लेखित युवा नेताहरूले आ-आफ्नो पार्टीमा नेतृत्व खोस्ने आँट नगरुञ्जेल उहाँहरूका लागि नेतृत्व प्राप्ति असम्भव नै छ ।

समग्रमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायत उमेरले ६८ नाघेका नेताहरू उहाँहरूले मानेमा राष्ट्रिय सभा सदस्य भएर मुलुकलाई योगदान (?) दिन र नमानेमा हार व्यहोर्न तयार हुनुपर्दछ । साथै, युवा नेताहरू गगन, विश्व, शंकर र वर्षमान आदिले ‘भिजन’ र ‘मिसन’ सहित देश चलाउन ढिलो गर्न हुन्न । प्रौढ नेताहरूको सम्मानजनक बहिर्गमन तथा युवा नेताहरूको जिम्मेवारीमा आएको आगमनले मुलुकले केही पाउँदैछ भन्ने सन्देश सम्प्रेषित हुन पुग्दछ ।

अन्यथा, कमजोर राष्ट्रियता, नागरिकप्रतिको उत्तरदायित्वमा कमी, न्याय समेत डगमगाएको अवस्था, राजनेताको अभावसँगै वित्तीय संकट आदिले वर्तमान अवस्थाको डरलाग्दो परिदृश्य देखिंदैछ । यसलाई चिर्न एकातिर युवा नेताहरूले आ-आफ्नो दलभित्र हस्तक्षेपकारी भूमिका खेल्न जरूरी छ भने त्यसअघि आसन्न निर्वाचनमा मतदाताले विवेक पुर्‍याउन उत्तिकै जरूरी छ ।



from समाचार – Online Khabar https://ift.tt/gZmKRMt

Post a Comment

0 Comments