असंलग्नताको सिद्धान्तले विश्वका वर्तमान समस्या हल गर्छ : सभामुख सापकोटा

२० असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भू–राजनीतिक तनाब, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दी, मानवीय संकट लगायतका देखापरेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको उनले बताए ।

यही असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलन फलदायी भएको र आफूहरुले देशको प्रतिनिधित्व राम्रोसँग गरेको उनले बताए । ‘सम्मेलन सान्दर्भिक र फलदायी भयो, देशको प्रतिनिधित्व राम्रोसँग गर्यौं भन्ने लाग्छ, हामी सबै निरन्तर सक्रिय रह्यौं’ उनले भने ।

सम्मेलनले असंलग्न राष्ट्रहरुका सभामुखहरुका बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको जानकारी सभामुख सापकोटाले दिए । यो सञ्जाललाई संगठनमा रुपान्तरित गर्नु पर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नुपर्ने विषयमा बहस भएको उनले बताए । ‘हामीले नेपालबाट सोचेर गएको विषय र नाम राष्ट्रका बीचमा समान धारणा रहेको पायौं, हामीले सम्मेलनमा राखेको राष्ट्रको दृष्टिकोणमा पनि असंलग्नताको सिद्धान्तको सान्दर्भिकता र अपरिहार्यता अझ बढेर गएको छ, यसलाई अझ सुदृढ गरेर अगाडि बढ्नुको विकल्प छैन,’ सभामुख सापकोटाले भने ।

उनले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधन बाहेक दुईपक्षीय भेटवार्ता र छलफलहरु भएको जानकारी दिए । उनले आयोजक राष्ट्र अजरबैजानका सभामुख र मलेसियाका उपसभामुखसँगको भेटवार्ता व्यवस्थित र उत्कृष्ट भएको बताए ।

आठ लाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीहरुको स्थिति, उनीहरुका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन मलेसियासँग छलफल भएको बताए । यसबाहेक बंगलादेश, जोर्डन, किर्गिजस्तान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग पनि छलफल गरेको सभामुख सापकोटाले जानकारी दिए । ‘सम्मेलन सान्दर्भिक र फलदायी भयो, देशको प्रतिनिधित्व राम्रोसँग गर्यौं भन्ने लाग्छ, हामी सबै निरन्तर सक्रिय रह्यौं’ उनले भने ।

सभामुख सापकोटाको नेतृत्वमा यही असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार बेलुकी स्वदेश फर्केको हो । प्रतिनिधि मण्डलमा सांसदहरु पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक थिए ।



from समाचार – Online Khabar https://ift.tt/TbRLiSJ

Post a Comment

0 Comments