समाजवादी केन्द्र : पवित्रताको मन्दिर कि पुजारीको रामनामी बर्को ?

किस्सा अलिक अश्लील छ­, तैपनि श्लील पाराले भन्ने प्रयत्न गर्दैछु । कुनै अमूक सहरको सडकको एकातिर मन्दिर थियो र अर्कोतिर वेश्यालय । मन्दिर सहरकै सर्वाधिक प्रसिद्ध शक्तिपीठ थियो, दैनिक हज्जारौं भक्तजन भगवानको दर्शन गर्न आउँथे । वेश्यालयकी नगरबधु उत्तिकै सुन्दर र प्रसिद्ध थिइन्- सहरका राजा-महाराजा, भाइभारदार, ठूला प्रशासक, धनाढ्य व्यापारी, ख्यातिनाम विद्वान् तथा कलाकार ग्राहक भएर आउँथे ।

मन्दिरमा आउने भक्तजनले दुई-चार पैसा भेटी चढाउँथे तर वेश्यालयकी नगरबधुलाई ठूलो रकम, महँगा उपहार, हीराको हार दिइएको चर्चा हुन्थ्यो । मन्दिरका पुजारी जब फुर्सद हुन्थे, सडकपारिको वेश्यालयतिर हेर्थे र मनमनै कल्पना गर्थे- नगरबधु हुन पाएको भए, क्या मोज हुने रै’छ जिन्दगी ! यतिका शक्तिशाली र सबल मान्छेहरूसँग जवानीको मोज गर्न पाइने, उपहार पनि उत्तिकै महँगा र धन पनि उत्तिकै धेरै । कुन जुनीको पापले नगरबधु नभएर पुजारी हुन पुगेछु ।

नगरबधु जब फुर्सद हुन्थिन्, मन्दिरतिर हेर्थिन् र मनमनै कल्पना गर्थिन्- त्यो पुजारी बाजे कति सुखी होला ! जीवनभरि भगवानको सेवा गर्न पाएको छ, मैले त्यस्तो अवसर पाएकी भए ! कुन जुनीको पापले म वेश्या हुन पुगें ।

जब ती दुवै मरे- स्वर्ग र नर्कको बाटो छुट्टनिे ठाउँमा पुगे- यमदूतले नगरबधुलाई स्वर्गतिर लग्यो र पुजारी बाजेलाई नर्कतिर ।

पुजारी बाजे आश्चर्यचकित भए । उनले यमदूतसँग विरोध गर्दै भने- मैले जीवनभरि भगवानको पूजा गरें, मलाई नै नर्कतिर लैजाने, उसले जीवनभरि जवानीको व्यापार गरी, उसलाई चाहिं स्वर्गतिर लैजाने ? यो त घोर अन्याय भयो ।

तब यमदूतले भने- तैंले भगवानको पूजा गरेर के भो, तेरो मन सधैं वेश्यालयतिर थियो । उसले जवानीको व्यापार गरेर के भो, उसको मन सधैं भगवानतिर थियो ।

हिजोआज ‘समाजवादी केन्द्र’ को खूबै चर्चा छ । यो मन्दिर हो कि वेश्यालय ? मानौं कि यो एक नयाँ वेश्यालय हैन, पवित्र चाहनाको मन्दिर नै हो- यसको पुजारी बाजे को होला ? र उसको मन कता होला ?

निःसन्देह ‘समाजवाद’ विश्व राजनीतिमा पनि र नेपालमा पनि सर्वाधिक दुरुपयोग गरिएको शब्द हो । हिटलरजस्तो फासिस्ट तानाशाहले पनि आफूलाई समाजवादी नै भन्थे- उनको पार्टीको नाममा नै समाजवाद शब्द थियो, जर्मन राष्ट्रिय समाजवादी पार्टी । इथियोपियाका मङ्गेत्स्कु र बर्माका ने विन जस्ता सैनिक तानाशाहहरूले पनि आफूलाई समाजवादी नै भन्थे । जिम्बाबेका कुनै समयका क्रान्तिकारी रोबर्ट मुगाबे जीवनको उत्तरार्धसम्म पुग्दा एक खुँखार तानाशाहका रूपमा पतन भए तर आफूलाई समाजवादी भन्न कहिल्यै छोडेनन् ।

सोभियत कम्युनिस्ट शासकहरू जसमा स्टालिन जस्ता क्रूर तानाशाहसमेत थिए, आफूलाई समाजवादी नै भन्थे । पूर्वी तथा मध्ये युरोपका दर्जनौं एकदलीय अधिनायकवादीहरू आफूलाई समाजवादी नै ठान्थे । अरब जगतका बाथिस्टहरू जसमा इराकका तानाशाह सद्दाम हुसेनसम्म पर्थे, आफ्नो शासनलाई समाजवादी नै ठान्थे ।

आज उत्तरकोरियाको ‘किम वंशीय कम्युनिस्ट राजतन्त्र’ ले पनि आफूलाई समाजवादी नै ठान्छ । चीन र क्युबा जस्ता एकदलीय अधिनायकवादमा विश्वास गर्ने देशले पनि समाजवाद नै भन्न मन पराउँछन् । यस्ता अझै दर्जनौं उदाहरण दिन सकिन्छ । विश्वमा जुनस्तरमा समाजवादको दुरुपयोग भएको छ, त्यसको पछिल्लो शृङ्खलामा पछिल्लो कडी नेपाल बन्ने देखिएको छ ।

समाजवाद शब्द प्रयोग गर्दा हिजो गर्व गर्न सकिने अवस्था थियो, आज लाज मानेर अनुहार लुकाउनुपर्ने अवस्था आएको छ । एउटा राप्रपा छ- त्यसका वरिपरि केही राजावादीहरू छन्, जसले आफूलाई समाजवादी भन्दैनन्, नत्र सबै एक से एक समाजवादी । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी । एमाले झनै ठूलो जबजवादी समाजवादी । माओवादी केन्द्र समाजवादी । माधव नेपाल नेतृत्वको पार्टीको नाम नै एकीकृत समाजवादी । जसपा, लोसपा, नेसपा सबै समाजवादी ।

राजनीतिमा आफूलाई समाजवादी दाबी गर्नेहरू जति धेरै बढिरहेका छन्, समाजवादको मन्त्रोच्चारण गर्ने र माला जप्नेहरूको संख्या जति धेरै हुँदैछ- देश चाहिं झन् झन् भड्खालोतिर जाकिंदै गएको देखिन्छ । ती कर्म भइरहेका छैनन्, जुन एक समाजवादी राज्यमा हुनुपर्ने हो । ती कुकर्म सबै भइरहेका छन्, जो कुनै पनि समाजवादी राज्यमा हुनु नपर्ने हो ।

शिक्षा र स्वास्थ्यको गुणस्तर विभेद गर्ने, गरिबका भिन्नै स्कुल, धनीका भिन्नै स्कुल बनाउनेहरू यहाँ समाजवादी हुन्छन् । शिक्षा र स्वास्थ्य जस्तो पवित्र सेवाको व्यापार गर्नेहरू यहाँ समाजवादी हुन्छन् । गरिबहरूले सामान्य उपचार नपाएर मरिरहँदा एयर एम्बुलेन्स लिएर सिंगापुर, थाइल्याण्ड, दिल्ली र चीनका अस्पताल पुग्नेहरू यहाँ समाजवादी दलका नेता हुन्छन् ।

कर्मचारीतन्त्रमा दलीय ट्रेड युनियन खडा गरी घुस र कसिमन संकलन गर्ने र पार्टी कोष बलियो बनाउनेहरू यहाँ समाजवादी कहलिन्छन् । निर्वाचन आयोगले तोकेको सीमाभन्दा सयौं गुणा बढी, करोडौं खर्च गरी चुनाव लड्ने यहाँ समाजवादी हुन्छन् । यौनहिंसामा सामेल र ‘मि टु’ का आरोपीहरू यहाँ समाजवादी हुन्छन् ।

अख्तियारमा आफ्ना मान्छे नियुक्ति गरी भ्रष्टाचारको ढाकछोप गर्नेहरू यहाँ समाजवादी हुन्छन् । संवैधानिक निकायमा असंवैधानिक राजनीतिक नियुक्ति गर्ने र समावेशी आयोगमा पाँच बाहुन आयुक्त भर्ना गर्नेहरू यहाँ समाजवादी हुन्छन् । ती सबै लम्पट, तस्कर, भ्रष्ट, ढोंगी र पाखण्डीहरू समाजवादी ।

कुनै समय ‘सामन्त’ हुुनु पदवी थियो रे, राजा-महाराजाहरू ‘महासामन्त’ को पदवी लिन्थे रे ! आज त्यो गाली र लज्जाको विषय भएको छ । ‘समाजवादी’ हुनु कतै त्यस्तै लज्जा र गाली, निन्दा र भत्र्सनाको शब्द त बन्ने हैन ? यसले आफ्नो मौलिक अर्थ र चरित्र नै गुमाउने त हैन भन्ने आभास हुन थालेको छ । स्थिति अत्यास लाग्ने गरी बिग्रँदै गएको छ ।

आजको हाम्रो पहिलो राष्ट्रिय आवश्यकता र कार्यभार हो- पाखण्ड मुक्ति । जसको मन जहाँ छ ती त्यतै जाऊन् । कम्तीमा मान्छेले झूट, पाखण्ड र बेइमानीको घुम्टो उघार्ने हिम्मत मात्र गरे पनि देशलाई निकै ठूलो राहत हुनेथियो

ठीक यही बेला समाजवादी केन्द्रको हल्ला चलेको छ । हुन त यो हल्लैहल्लाको देश हो । यहाँ सबै हल्लालाई पत्याउन र महत्व दिन जरूरी नै त छैन तर पर्न सक्ने भ्रमलाई दृष्टिगत गरी यसको अन्तर्यलाई खोतल्न जरूरी छ ।

सामान्यतया ‘समाजवादी केन्द्र’ लाई तीन वटा अर्थमा प्रयोग गरिएको हुन सक्दछ ।

एक- कांग्रेस र एमाले बाहेकका आफूलाई कुनै न कुनै हिसाबले समाजवादी भन्ने वा ठान्ने दलहरूको एक चुनावी मोर्चा, तेस्रो चुनावी मोर्चा बनाउने ।

दुई- एमाले बाहेकका कम्युनिस्ट र सेमी-कम्युनिस्ट पार्टीहरू मिलेर नेकपा (समाजवादी केन्द्र) बनाउने ।

तीन- साँचो अर्थमा समाजवादको अर्थ, मर्म र भावना अनुरूपको समाजवादी केन्द्र नामको एक भिन्नै र मौलिक राजनीतिक शक्ति बनाउने ।

‘समाजवादी केन्द्र’ को हल्ला गर्ने वा आन्तरिक गृहकार्य गर्दै गरेको दाबी गर्नेहरूले यी तीनमध्ये कुन अवधारणालाई भन्न खोजेका हुन् प्रष्ट छैन । यी तीन झट्ट हेर्दा उस्तै-उस्तै देखिए पनि अन्तर्यले बिल्कुलै फरक कुरा हुन् ।

पहिलो अवधारणा अस्वाभाविक र आपत्तिजनक हैन । संसदीय प्रणाली भएको देशमा कुनै न कुनै तबरले चुनावी गठबन्धन र समीकरण हुने प्रचलन संसारभरि नै छन् । तर, त्यो तत्काललाई व्यावहारिक रूपमा असंभव देखिन्छ । किनकि, यस्तो चुनावी मोर्चाको सबैभन्दा ठूलो घटक हुनुपर्ने नेकपा (माओवादी केन्द्र) नै यसका लागि सहमत हुुनसक्ने सम्भावना छैन ।

माओवादी केन्द्रका मूल नेता प्रचण्डलाई चितवनबाट चुनाव जिताउने यस्तो समाजवादी केन्द्र सहायक हुन सक्ला, निणर्ायक हुन सक्दैन । आगामी चुनावपछिको संसदमा कांग्रेससँग आलोपालो प्रधानमन्त्रीको दाबी गरिरहेका, त्यसैका लागि दिल्ली धाइरहेका प्रचण्डले आफ्नो सम्भावनालाई सीमित गर्दै अरू कसैलाई उद्धार गर्न कांग्रेससँगको सत्ता गठबन्धनलाई तोडेर अर्को चुनावी मोर्चा खडा गर्न कुनै इच्छा, रुचि र तत्परता देखाउने छैनन् ।

समाजवादी केन्द्रको सम्भावनालाई प्रचण्डले मात्र हैन, तत्काललाई जनता समाजवादी केन्द्रका अध्यक्ष उपेन्द्र यादवले समेत अस्वीकार गरिदिएका छन् । नेकपा (एकीकृत समाजवादी) भित्रको झलनाथ खनाल पक्ष आगामी चुनाव अगाडि नै एमालेमा फर्किने मनस्थितिमा रहेको पर्याप्त सूचना छन् । यस्तो बेला माधव नेपाल र डा. बाबुराम भट्टराईको आवश्यकताका लागि मात्रै कसैले समाजवादी केन्द्र बनाइदिने वाला छैन ।

दोस्रो संभावनाको समाजवादी केन्द्र भने समाजवादी केन्द्र नै हैन, त्यो एउटा अर्को कम्युनिस्ट पार्टी मात्रै हुने हो । नेपालमा त्यसै पनि कम्युनिस्ट समूहको कुनै कमी छैन । दर्जनौं कम्युनिस्ट समूह फट्ने र जुट्ने अनन्त शृङ्खला चलेकै छ । त्यस्तो समाजवादी केन्द्र त्यस्तै एउटा सामान्य उपक्रम मात्रै हुनेछ । कोष्ठकमा समाजवादी केन्द्र लेख्दैमा कम्युनिस्ट पार्टी समाजवादी पार्टीमा रूपान्तरण हुने हैन ।

त्यसले मार्क्सवाद, लेनिनवाद, माओवाद भन्न छोड्ने हैन । त्यसले चीन, उत्तरकोरिया, क्युबा जस्ता एकदलीय प्रणाली र शासनहरूको गौरवीकरण गर्न छोड्ने हैन । त्यसले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त छोड्ने हैन । त्यसले ‘कमरेड लाल सलाम’ भन्न र ‘उठ जाग भोका नाङ्गा’ को गीत गाउन छोड्ने हैन । फेरि त्यो किन र कसरी समाजवादी केन्द्र हुन्छ ? बिल्कुलै हुँदैन । त्यो त माओवादी केन्द्रका नाममा लुट्ने, वाम गठबन्धन र नेकपा (नेकपा) को असफल अभ्यास गर्नेहरूका लागि एउटा अर्को रामनामी बर्को मात्रै हुनेछ ।

मान्छे ‘समाजवादी केन्द्र’ नामको पवित्र मन्दिरमा हुनु, त्यसको पुजारी हुनु र रामनामी बर्को ओढ्नु मात्र स्वर्ग जानका लागि पर्याप्त आधार हैन । मुख्य कुरा त माथिको किस्साको पुजारी जस्तै तिनको मन कहाँ छ भन्ने हो ।

दोस्रो अर्थमा समाजवादी केन्द्रको हल्ला गर्नेहरूको मन भने सत्ताको वेश्यालयतिरै छ र ती अन्ततः नर्क नै जाने हुन् भन्ने प्रष्ट छ ।

तेस्रो अर्थको ‘समाजवादी केन्द्र’ भने अहिले पनि देशको आवश्यकता हो । त्यो एक पवित्र चाहना नै हो । यस्ता चाहना राख्नेहरू अहिले वेश्यालयमै किन नहुन् तर उनीहरूको मन मन्दिरमा छ र उनीहरू स्वर्गका हकदार छन् भन्न सकिन्छ ।

त्यो भनेको सबै, चाहे कम्युनिस्ट धारबाट आएका प्रगतिशीलहरू हुन वा अन्य धारबाट आएका लोकतान्त्रिकहरू इतिहासको विशिष्ट अवस्था र राष्ट्रको कार्यभारलाई पूरा गर्न आ-आफ्ना पृष्ठभूमि र पूर्वाग्रहबाट मुक्त हुन राजी हुनु हो । आफ्ना विगतका गल्ती, कमजोरी र कतिपय अपराधप्रति ‘कन्फेस’ गर्न राजी हुनु हो ।

साँचो अर्थमा समाजवादको विचार, सिद्धान्त, मर्म, भावना, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रही नयाँ रूपान्तरणका लागि राजी हुनु हो । फिनिक्स पक्षी जस्तै सबै आ-आफ्नो टाउको आगो लगाउन, आफूलाई खरानी बनाउन र नयाँ फिनिक्स भएर जन्मिन राजी हुनु हो ।

राज्य र अर्थतन्त्रको समाजवादी रूपान्तरणका लागि एक नयाँ नीति, योजना, कार्यक्रम र कार्यनीति बनाउन सहमत हुनु हो । देश बिग्रनको कुन कुन प्रवृत्ति र कोको पात्रहरूले गर्दा हो, त्यसको राम्रो छानबिन गरी उनीहरूलाई पन्छाउन सबै एक ठाउँमा हुनु हो । यस्तो केन्द्र बनाउँदा पुस्तान्तरणको अपेक्षालाई समेत सम्बोधन गर्दै एक पंक्ति नेतृत्व सगौरव राजनीतिक सन्यासमा जान राजी हुनु हो ।

के अहिलेका यति धेरै ‘रत्नाकार’ हरू रातारात ‘वाल्मीकि’ हुन राजी होलान् ? गाह्रो छ । लगभग असंभव देखिन्छ अहिलेसम्म । बरु वाल्मीकिहरू सजिलै रत्नाकर बन्न राजी हुने संस्कार हो हाम्रो । हिजोका एक से एक क्रान्तिकारीहरू सत्तामा पुगेको केही वर्ष नबित्दै प्रतिक्रान्तिसँग सहवरण गर्दै ‘भ्रान्तिकारी’ र ‘भ्रष्टाचारी’ हुन राजी हुने राजनीतिक संस्कृति भएको देशमा समाजवादी केन्द्रको पवित्रता सजिलै पत्याउन सकिने कुरै हैन ।

त्यसो भए यो हो चाहिं के त ? यो एक प्रोप्रोगण्डा, एक भ्रम, एक आत्मरति र एक पाखण्ड हो । दुर्भाग्य के छ भने आजको दिन नेपालमा सबैलाई यसैमा मज्जा छ । मान्छे एकाथरी विचार र एजेण्डा भएका संस्थामा छन्, तिनीहरूको मन भने अन्यत्रै छ । कोही मन्दिरमा छन्, तिनको मन वेश्यालयतिर छ । कोही वेश्यालयमा छन्, तिनको मन मन्दिरतिर छ ।

कोही नरकको जिन्दगीबाट मुक्ति वा मोक्षको कामना गर्दैछन् । कोही पवित्रताको रामनामी बर्को ओढेर ‘नरक भोग’ को आकांक्षा पालेर बसेका छन् । यी मरेपछि स्वर्ग जान्छन् वा नर्क- त्यो त यमदूत र चित्रगुप्तलाई नै थाहा होला ।

आजको हाम्रो पहिलो राष्ट्रिय आवश्यकता र कार्यभार हो- पाखण्ड मुक्ति । जसको मन जहाँ छ ती त्यतै जाऊन् । कम्तीमा मान्छेले झूट, पाखण्ड र बेइमानीको घुम्टो उघार्ने हिम्मत मात्र गरे पनि देशलाई निकै ठूलो राहत हुनेथियो ।



from समाचार – Online Khabar https://ift.tt/Mv4B3pS

Post a Comment

0 Comments