माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा शुुरु हुँदै छ ।

तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने कार्यालय सचिव ढकालले बताए ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ । २९९ सदस्यीय केन्द्रीय सदस्यहरुमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन हुन पनि बाँकी छ ।



from समाचार – Online Khabar https://ift.tt/e2WKmay

Post a Comment

0 Comments