काठमाडौंको एउटै वडामा १९ हजार मतदाता

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । काठमाडौं महानगरपालिकाका वडाका मतदाता धेरै गाउँपालिका र कतिपय नगरपालिकामा भन्दा पनि बढी छन् ।

त्यस्तै एउटा वडा हो, काठमाडौं महानगरपालिका-३२ । काठमाडौंको कोटेश्वर क्षेत्र पर्ने यो वडामा १८ हजार ९१३ मतदाता छन् । ०७४ सालमा ११ हजार ५५९ मतदाता रहोकोमा यस वर्ष सात हजार ३५४ मतदाता थपिए ।

यो वडामा ९ वटा मतदान केन्द्र तोकिएको छ । सबैभन्दा धेरै सरस्वती मावि मतदान केन्द्रमा ४ हजार २५६ मतदाता छन् । यस्तै आवास क्षेत्रको खेल मैदानमा ३ हजार ४३१ जना, कोटदेवी इङलिस बोर्डिङ स्कुलमा २ हजार २६१ मतदाता छन् ।

०७४ को स्थानीय निर्वाचनमा यो वडाको अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका थिए । उनले ५८७९ मत ल्याएका थिए ।

पराजुलीले वडा नम्बर ३२ मा सर्वसाधरण, टोल विकास संस्थाहरुबाट समन्वय गरेर काम गरेको बताए । उनले भूगोल ठूलो हुँदा विकास निर्माणको काममा जनताको माग अनुसार काम गर्न नसकेको बताए ।

‘हामीले टोल-टोलमा गएर माग अनुसार काम गर्‍यौं । ३२ नम्बर वडामा धेरै चुनौती छन् काठमाडौं कै ठूलो भूगोल र जनसंख्या भएको ठाउँ हो यो, यहाँ समुदायदेखि राजनीतिक दलहरुसम्म एकदम मिश्रित छन्,’ पराजुलीले भने । उनी यस पटक पनि उम्मेदवार छन् ।

२६ उम्मेदवार

यो वडामा वडाध्यक्षका ७ जना र वडा सदस्यमा समेत गरी २६ जना उम्मेदवार छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार छैनन् । नेकपा माओवादी केन्द्रबाट राम भारती, नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली, राप्रपाबाट विष्णुप्रसाद गजुरेल, जसपाबाट नमिता देव, विवेकशील साझा पार्टीबाट रवि रिमाल र स्वतन्त्रबाट ठगमाया कटवाल वडाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार राम भारती पेशाले इन्जिनियर हुन् । आफू युवा इन्जिनियर भन्दै उनले घरदैलो अभियान तीव्र बनाएका छन् । विवेकशील साझाका वडाध्यक्षका उम्मेदवार रवि रिमालले ‘भ्रष्टाचार मुक्त समाज निर्माण हाम्रो अभियान’ भन्दै भोट मागिरहेका छन् ।

मतदान गराउन चुनौती

निर्वाचन आयोगले काठमाडौंमा धेरै मतदाता र मतदान केन्द्र थोरै हुँदा समस्या भएको बताएको छ । काठमाडौं जिल्लाका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले काठमाडौं महानगरका वडैपिच्छे छुट्टै निर्वाचन अधिकृतको कार्यालय हुनुपर्ने बताए । ‘मतदाता नै धेरै छन्, कार्यालय सबैको एउटै छ । एउटै वडामा ९ वटासम्म मतदान केन्द्र छ । कसरी भ्याउनु ?’ उनले भने ।



from समाचार – Online Khabar https://ift.tt/Q35jE0e

Post a Comment

0 Comments