स्वतन्त्र जनप्रतिनिधिलाई खुलापत्र

हाम्रो देशमा भएका राजनीतिक परिवर्तनले व्यवस्था बदल्न सक्यो तर देशलाई व्यवस्थित र समृद्ध बनाउन सकेन । उही अनुहार, उस्तै असफल शासनले राजनीतिप्रति नागरिकको वितृष्णा बढ्यो मात्रै । यसैको प्रतिक्रिया स्वरूप यसपटक स्थानीय निर्वाचनमा नागरिकले राजनीतिक दलदलबाट बाहिर निस्किएर अभिमत जाहेर गर्ने संकेत गरे । यसपटक काठमाडौं, धरान र धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारको विजयले यही सन्देश दिएको छ ।

काठमाडौंमा बालेन्द्र साह (बालेन), धरानमा हर्क साम्पाङ राई र धनगढीमा गोपी हमालले स्वतन्त्रतर्फबाट मेयर पदमा विजय हासिल गर्नुभएको छ । यो नतिजाले केही आशाका किरण छरेको छ । नयाँ नतिजाका लागि मार्गनिर्देश गरेको छ ।

तपाईंहरू त केही प्रतिनिधि पात्रहरू हुनुहुन्छ । तपाईंहरूको सफलता असफलताले नेपाली राजनीतिको बाटो तय हुनसक्ने अवस्था बनेको छ । स्वतन्त्र उम्मेदवारलाई नागरिकले स्वीकारे । तर, अब तपाईंहरूले आफ्नो प्रतिबद्धताअनुसार काम गर्न सक्नुहुन्छ ? के स्वतन्त्र जनप्रतिनिधिहरूले साँच्चिकै स्वतन्त्र भएर काम गर्न सक्नुहुन्छ ?

आज तपाईंहरू विजयी हुँदा मलगायत धेरै नागरिकलाई आफैं विजयी भएजस्तो महसुस भइरहेको छ । देशले जितेजस्तो लागिरहेछ । भ्रष्ट राज्य व्यवस्थालाई दरिलो झापड हानेको भान भएको छ । तपाईंहरूको काँधमा नागरिकको यही अनुभूति र विश्वास जोगाइराख्ने चुनौती छ ।

यसअघि राजनीतिक व्यवस्था परिवर्तनपछि पनि नागरिकले त्यसको अनुभूति आफ्नो जीवनमा गर्न सकेनन् । यो खराब अनुभव अब नदोहोरियोस् । नागरिकको बलिदानी र दुःख खेर गयो । ती शहीदहरूको त्याग र बलिदान सम्झिंदा गर्व लाग्छ । शहीदहरूको देशप्रतिको माया, त्याग र बलिदान देख्दा पक्कै गर्व लाग्छ कि नेपाल आमासँग त्यस्ता सपुत थिए । तर, सँगै लज्जा पनि बोध हुन्छ कि ती शहीदहरूले देखेका सपना आज पनि सपना नै छन् । न त शहीदको त्याग र बलिदानले सार्थकता पायो न त सम्मान ! उल्टै जनआन्दोलनको नेतृत्व गर्नेहरूले शहीदहरूको बलिदानको श्रद्धाञ्जली दिंदै उनीहरूको लासमाथि सत्ताको महल सजाए ।

आज शहीदहरू पनि माथिबाट चिच्याउँछन्, कराउँछन् होला हाम्रो बलिदान र त्यागको अर्थ खोइ ? भनेर । तर त्यो चिच्याहट कसले सुन्ने, सरोकावालाहरूले नै सत्ता, शक्ति, कुर्सी र स्वार्थको गीत बजाउँदै कानमा एयर फोन लगाएर बसेपछि !

राजतन्त्र फाल्न गरेको आम नेपाली जनताको आन्दोलन र संघर्षबाट एक जना राजा गए तर, आज हजारौं छोटे राजा जन्मिएका छन् । जनताको शासन भन्दै आफू शासक भएर जन्मिए । नैतिकता, सुशासन, इमानदारी, देशभक्ति त आज हाम्रो देशमा टर्च बालेर खोज्नुपर्ने आवश्यकता छ । जुन किताब, नाराबाजीमा मात्र पाइन्छ । व्यवहारमा यसको अंश समेत पाईंदैन । मुलुकमा भ्रष्टाचारको जालो यसरी फैलिसकेको छ कि केन्द्र, प्रदेश, स्थानीय निकाय हुँदै हरेक चोक र गल्लीमा यसकै प्रतिबिम्व झल्किन्छ । लाग्छ सरकारका प्रमुख अंगहरू ! व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्तै भ्रष्टाचार पनि एउटा प्रमुख अंग हो । आफूलाई परिवर्तनका संवाहक भन्नेहरूले राज्य सञ्चालन व्यवस्था, प्रणाली र राज्य संयन्त्रहरूको यसरी धज्जी उडाए कि देश आज चरम आर्थिक संकटको सँघारमा छ ।

तपाईं विजयी स्वतन्त्र निर्वाचित जनप्रतिनिधिलाई हाम्रो देशको भद्रगोल व्यवस्था, व्यक्तिगत र दलगत स्वार्थबाट सञ्चालित प्रणालीभित्र आफ्नो इमानदारी र जवाफदेही सहितको कुशल कार्यव्यवस्था प्रणाली स्थापित गर्न सहज पक्कै पनि हुने छैन । यो आफैंमा एउटा चुनौती हो तर देशका लाखौं राष्ट्रप्रेमी र देशभक्त युवाहरूलाई आश छ, तपाईंहरू आफ्नो जिम्मेवारीमा खरो उत्रनुहुनेछ ।

यो हाम्रो दुर्भाग्य हो कि यति सक्षम, क्षमतावान् र योग्य उम्मेदवारलाई निर्वाचित गराउँदा पनि जनताले दृढ विश्वास गर्न सक्दैनौं । यो विगत लामो समयदेखि हाम्रा देशका राजनीतिक दलहरूले आम जनतालाई धोकामाथि धोका दिएको प्रतिबिम्व हो । तर हामीलाई विश्वास छ एक दिन सत्ता व्यवस्था अनि प्रणाली सबै परिवर्तन हुनेछ र कुशल कार्य प्रणाली र सुशासनको शुभारम्भ हुनेछ ।

आज तपाईंहरूको विजयले मर्न लागेका नागरिकका आशाहरूलाई पुनः जीवन्त बनाएको छ । नयाँ जोश-जाँगर दिएको छ । यो जोश जाँगरलाई क्रान्तिमा रूपान्तरण गर्न तपाईंहरूको आगामी पाँच वर्षको कार्यकालको अहम् भूमिका रहनेछ । यो कुरा तपाईंहरूले पक्कै पनि महसुस गर्नुभएकै होला । आज निर्वाचित हुँदासम्म तपाईंहरूको यात्रा निकै संघर्षपूर्ण रहृयो होला, अनेकौं चुनौतीको सामना गर्नुपर्‍यो होला । तिनीहरूको आफ्नै कथा-व्यथा होलान् तर असली अग्निपरीक्षा अब सुरु हुनेछ ।

राजनीतिक दलले तपाईंहरूलाई विफल बनाउने रणनीति अख्तियार गर्न सक्छन् । स्वतन्त्र व्यक्तिलाई जिताएर नागरिकले गल्ती गरे भन्ने सन्देश दिन खोज्लान् । दलीय प्रणालीमा स्वतन्त्र व्यक्तिले काम गर्न सक्दैनन् र त्यो राष्ट्रका लागि प्रत्युत्पादक हुन्छ भन्ने पुष्टि गर्न हरप्रयास गर्लान् । अहिले स्वतन्त्रको पक्षमा देखिन लागेको जनलहरलाई आफ्नो भोट बैंकमा जम्मा गर्ने उद्देश्यलाई सफल बनाउन काम गर्लान् ।

स्वतन्त्र व्यक्तिले दलीय प्रणालीमा काम गर्न सक्दैनन् भन्ने संकथन निर्माण गर्नुको पछाडि यही कारण छ । बाहिर सहयोगका मिठा कुरा गरे पनि भित्रभित्रै असहयोग हुनसक्छ । यस्ता प्रवृत्तिसँग तपाईंहरू सचेत रहनुहोला । यदि राष्ट्र, जनता र स्थानीय समृद्धिलाई केन्द्रमा राख्ने हो भने संसारको कुनै पनि तागतले तपाईंहरूलाई रोक्न सक्ने छैन । तपाईंहरूलाई केवल तपाईंहरूले नै रोक्न सक्नुहुन्छ ।

विकासका लागि कुनै विचार वा दलीय प्रणाली बाधक हुनुहुँदैन । सत्ता, कुर्सी, शक्तिको खेल र भ्रष्टाचार भन्दा जनताको सेवा फरक कुरा हो भन्ने अब कामबाट पुष्टि हुनुपर्छ ।

देशका ठूला शहरमा भएको पराजय दलहरूले सहज रूपमा लिन सकिरहेका छैनन् । यो पराजय स्वीकार्न गाह्रो भइरहेको छ । यसलाई दलहरूले आफ्नो इच्छानुसार नाम दिइरहेका छन्, कसैले यसलाई नो भोटको नाम दिएका छन् त कसैले अपवाद । कसैले ‘कमिन्युकेशन ग्याप’ भनिरहँदा कसैले उम्मेदवार छान्न गल्ती भयो भनिरहेका छन् । तर उनीहरूले आफ्नो कामबाट जनता निराश छन् भन्ने स्वीकार्न सकिरहेका छैनन् । अन्तर्घात भनिरहँदा यो किन र कसरी भइरहेको छ, बुझ्न चाहेका छैनन् । धाँधली भनेर दोष अरूमाथि थोपर्न उद्यत छन् ।

हामीले जनअपेक्षा अनुसार काम गर्न सकेनौं, जनताको भावना बुझेनौं, भ्रष्ट भएर देश बर्बाद पार्ने काम गर्‍यौं, त्यसकारण जनताले विकल्प खोजे भनेर समीक्षा गर्नुको साटो अझ उही दम्भ र अहंकार छ । उनीहरूलाई लाग्छ- हामी जे बोल्छौं, जनताले त्यही विश्वास गर्छन्, जे सुनाउँछौं त्यही सुन्छन् । त्यो कुनै कालखण्ड थियो, जहाँ जनताले नेताको कुरा विश्वास गर्थे तर अहिले न विश्वास गर्ने आधार छ न तथ्य ।

देशको इतिहास हेर्दा राजनीतिक दलहरू इतिहासमा व्यवस्था परिवर्तन गरेको जस लिएर अहिलेसम्म भोटको राजनीति गरिरहेका छन् । वृद्धभत्ता, गणतन्त्र भनेर भोट मागिरहँदा यहाँ विद्यमान गरिबीको अपजस लिन तयार छैनन् । बेरोजगारीले नागरिकको घाँटी रेटिएको स्वीकार्न तयार छैनन् ।

देशको गरिबी मेट्न, बेरोजगारी घटाउन, युवाको विदेश पलायन रोक्न, नसक्ने परिवर्तनले जनतालाई सधैं समेट्न नसकिने रहेछ । स्रोत, साधन कौडीको मूल्यमा विदेश बेचिएको छ, उद्योग कलकारखाना बन्द छन् । राष्ट्रको ढुकुटीको दोहनमार्फत टिक्ने र देशलाई चरम आर्थिक संकटमा धकेल्ने जस्ता कामबाट जनता वाक्कदिक्क छन् ।

यसरी, हजारौं समस्याले जकडिएको हाम्रो देशलाई तपाईंहरूको विजयले नयाँ ऊर्जा दिएको छ । आफ्नो क्षमता, अनुभव, कौशल र योग्यताले एउटा उदाहरणीय जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्नेमा हामी युवा विश्वस्त छौं । यदि राजनीतिक दल तथा तिनका आसेपासेहरूले आफ्नो ठाउँ र नगरको लागि काम गर्न दिएनन्, षड्यन्त्र गर्न थाले, खुट्टा तान्न थाले भने युवा शक्तिलाई आवाज दिनुहोला । हामी नयाँ हिसाबकिताब गर्नेछौं ।

पारदर्शिता, कुशल कार्यव्यवस्था र सुदृढ प्रणाली लागु गर्दै आफ्ना नगरलाई उदाहरणीय र देशकै नमूना नगरको रूपमा स्थापित गर्न सके त्यसबाट देशको राजनीतिमा नयाँ तरंग सिर्जना हुनेछन् र ती तरंगहरू हिमाल, पहाड अनि जंगल चिर्दै देशभरिका हरेक दैलोमा ठोकिनेछन् । अनि हजारौं, लाखौं बालेन्द्र साह, हर्क साम्पाङ र गोपाल हमालको उदय हुनेछ ।

नेपाली समाजको गर्भमा दबाएर राखिएको युवा शक्तिको आक्रोश विस्फोट हुनसक्छ । त्यसले नयाँ क्रान्तिको नाम पाउनेछ । एउटा यस्तो युवा क्रान्ति जसमा भ्रष्ट राज्य व्यवस्था, मृत्युशय्यामा हुँदा नि सत्तामै चिप्किरहने नेतृत्व पंक्ति, देशको ढुकुटी दोहन गर्ने प्रवृत्ति, कुशासन, भ्रष्टाचार अन्त्य गर्दै देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहितको गैरदलीय स्थानीय निर्वाचन प्रणाली स्थापित हुनेछ । यस्तो क्रान्तिले हजारौं लाखौं नयाँ युवा शक्ति उदाउनेछन् र देशको आगामी नेतृत्व दक्ष युवा शक्तिले गर्नेछ ।

मैले यसो भन्दै गर्दा केही असल र जिम्मेवार राजनीतिज्ञ तथा राष्ट्रसेवकहरू बिर्सिएको छैन । उनीहरू औंलामा गन्न सकिने जति होलान् । उनीहरूप्रतिको सम्मान सदैव छँदैछ । उनीहरू पनि अहिलेको शासन प्रणाली, दलहरूको दलवादी र व्यक्तिवादी स्वार्थसामु निरीह छन् । यो राज्य व्यवस्थासामु घुँडा टेक्न बाध्य छन् ।

यस पत्रमा काठमाडौं, धरान र धनगढीलाई मात्र सम्बोधन गरे पनि यो देशका सम्पूर्ण स्वतन्त्र निर्वाचित जनप्रतिनिधि जसले राष्ट्रको झण्डा बोक्नुहुन्छ उहाँप्रति समर्पित हो । अहिलेका सचेत युवाहरूले तपाइर्ंहरूलाई सल्लाह, सहयोग मात्र गर्ने छैनन् आवश्यकता अनुसार खबरदारी पनि गर्नेछन् । हामीलाई विश्वास छ, तपाईंले उदाहरणीय काम गर्दै हाम्रा क्षेत्रहरूलाई नमूना बनाउनुहुनेछ । तपाईंहरूको यो कार्यकाल परिवर्तनको कोसेढुंगा साबित होस् । शुभकामना !



from समाचार – Online Khabar https://ift.tt/PIcBZ8Q

Post a Comment

0 Comments