लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने अपेक्षा छ : सभामुख सापकोटा

१८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो भनाइ राखेका हुन् ।

उनले भनेका छन्, ‘दुई बर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु पर्यो । हाल कोरोनाको प्रभावमा कमी आएसँगै यस क्षेत्रमा सुधार हुने एवं लाखौं श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा छ ।’

संविधान प्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने उनको आशा छ । श्रमिक एवं मजदुर वर्गको योगदानका कारण संविधानमा श्रमिक एवं मजदुर वर्गको हक अधिकार समावेश भएको भन्दै सापकोटाले ती अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने आशा व्यक्त गरेका हुन् ।

एकातिर हरेक वर्ष श्रम बजारमा नवप्रवेशीहरुको संख्यामा बृद्धि भइरहेको र अर्कोतिर विज्ञान प्रविधिको विकासले थोरै मानव संशाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सृजना भएको भन्दै सापकोटाले यसबाट श्रम बजारमा बेरोजगारहरुको संख्यामा अझ वृद्धि हुन सक्ने अनुमान गरेका छन् । त्यसैले कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो रहेको उनले बताएका छन् । संघीय संसदको नेतृत्वका रुपमा यसका लागि सदैव तत्पर रहेको उनले बताएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/TcED0M4

Post a Comment

0 Comments