निर्यातमा ८ प्रतिशत नगद अनुदान : यी उत्पादनले लिन सक्नेछन् लाभ

१५ जेठ, काठमाडौं । अत्यधिक आयात र न्यून निर्यातका कारण व्यापार घाटा उच्च भएपछि सरकारले बजेटमार्फत निर्यातलाई प्रोत्साहन गर्न ठूलो मात्रामा नगद अनुदानको घोषणा गरेको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले स्वदेशी उत्पादन निर्यातमा ८ प्रतिशत नगद अनुदानको व्यवस्था गर्दै निर्यात सुधार गर्ने घोषणा गरे ।

बजेटले गरेको व्यवस्थाले सिमेन्ट, क्लिङ्कर, स्टिल, जुत्ता, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित ब्यबसाय लगायतमा ८ प्रतिशत नगद अनुदानको ब्यवस्था गरेको छ ।

यसअघि केही २७ प्रकार वस्तुमा भ्यालु एडिसनको प्रतिशत हेरी ३ देखि पाँच प्रतिशतसम्म नगद अनुदानको व्यवस्था रहेकामा अहिले सबैलाई एकमुस्ट ८ प्रतिशत अनुदानको व्यवस्था गरिएको हो ।

निर्यातमा नगद अनुदानको घोषणाले भारत लगायतका देशमा नेपाली उत्पादन प्रतिस्पर्धी बन्न सक्ने सरकारको आशा छ । ‘सिमेन्ट, क्लिंकर, जस्तापाता, जुत्ता, प्रशोधित पानी लगायतका वस्तुको छिमेकी भारतमा ठूलो बजार बन्न सक्ने ठानेर सरकारले यी वस्तुको निर्यातमा अनुदानको नीति ल्याएको हो’, अर्थ मन्त्रालय स्रोतले भन्यो ।

नगद अनुदानका कारण निर्यात गरिने वस्तुको मूल्य कम भई भारतीय बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुने उद्योग विभागले जनाएको छ । ‘चीनले निश्चित वस्तुमा १८ प्रतिशतसम्म नगद अनुदान दिन्छ, हामीले पनि नगद अनुदान नदिएसम्म हाम्रा उत्पादनले प्रतिस्पर्धी मूल्य कायम गर्न सक्दैनन्’ विभागका एक अधिकारीले भने, ‘यो नीतिले करोडौं मूल्यको निर्यात व्यापार बढ्न अनुमान छ ।’

यसअघि सरकारले कृषि उपज, सुन चाँदीको गहना, छाला, तयारी पोशाक, गलैंचा लगायतका १५ प्रकारका वस्तुमा ३ प्रतिशत नगद अनुदान दिएको थियो भने चिया, कफी, मसला बाली लगायतका १२ प्रकारका वस्तुको निर्यातमा ५ प्रतिशत अनुदान दिएको थियो ।

निर्यातमा नगद अनुदान व्यवस्थाको प्रभावकारितासम्बन्धी अध्ययन २०७८ ले निर्यातमा नगद अनुदान बढाउन सरकारलाई सिफारिस गरेको थियो । अहिले ४ सय भन्दा बढी निर्यातकले अनुदानका लागि माग गरे पनि ३३१ निर्यातकले मात्रै अनुदान पाएको अध्ययनले देखाएको थियो ।

सरकारले निर्यातमा नगद अनुदानमा गरेको वृद्धिले आंशिक रुपमा भएपनि निजी क्षेत्रलाई उत्साहित बनाएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए ।

‘निर्यातमा हामीले धेरै भन्दा धेरै नगद अनुदान माग गरेका थियौं’ संसद भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसंगको संक्षिप्त प्रतिक्रियामा उनले भने, ‘निर्यातमा अनुदानले सिमेन्ट, गार्मेन्ट र फुटवेयरका लागि निकै राम्रो गर्छ ।’ निर्यातजन्य उद्योगलाई विद्युत महसुलमा दिइएको छुटले पनि उद्योगलाई राहत मिल्ने उनले बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले फलाम, सिमेन्ट, फुटवेयर लगायतको वस्तुको निर्यातमा प्रोत्साहन गर्नेगरी बजेट आएकोले यसको स्वागत गर्नुपर्ने बताइन् । ‘यो निकै राम्रो सम्बोधन भयो’ उनले भनिन् । निर्यातमा अनुदानका थप वस्तुबारे बजेट नबोलेकाले केही अन्योल भने रहेको राणाको भनाइ छ ।

नेपालमा उत्पादित जस्तापाता भारतीय बजारमा लामो समयदेखि निर्यात हुँदै आएको छ । नेपाली जुत्ता गोल्डस्टार पनि भारतमा निर्यात हुदै आएको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट १ खर्ब ७८ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

गोल्ड स्टार जुत्ता उत्पादक कम्पनी किरण सुजकी बजार तथा व्यापार विकास निर्देशक विदुषी राणाले सरकारको नगद अनुदान वृद्धिको नीति सह्राहनीय भएको बताइन् ।

अब सरकारले उत्पादन लागत घटाउने काम गरे आफूहरु थप उत्साहित हुने भन्दै राणाले भनिन्, ‘नगद अनुदान वृद्धि राम्रो छ । कच्चा पदार्थ र तयारी वस्तुको भन्सारमा फरक व्यवहार गरेर लागत घटाउन सरकारले काम गर्नुपर्छ ।’



from समाचार – Online Khabar https://ift.tt/UDYNBej

Post a Comment

0 Comments