काठमाडौंमा उपमेयरका उम्मेदवार : सुनिताको छायाँमा रामेश्वर !

२० वैशाख, काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयरका प्रत्यासी केशव स्थापित चुनावी प्रचारप्रसारमा आक्रामक रूपमा लागिरहेका छन् । स्थापितसँगै हरेक चुनावी कार्यक्रममा देखिन्छन् उपमेयरकी प्रत्यासी सुनिता डंगोल ।

एउटै दलबाट उम्मेदवार बनेकाले पनि उनीहरू सहजरुपमा सँगसँगै चुनावी अभियानमा छन् । स्थापित र डंगोल भौतिक र भर्चुअल माध्यममा पनि उत्तिकै ‘भिजिबल’ छन् । अझ स्थापित त विवादित अभिव्यक्तिका कारण चर्चामा छन् ।

उता, नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारको अवस्था भने ठीक विपरीत छ । झण्डै तीन दशकपछि राजनीतिमा सक्रिय भएर मेयरको प्रत्यासी बनेकी सिर्जना सिंह पनि चुनावी अभियानमा व्यस्त छिन् । यही गठबन्धनबाट काठमाडौंको उपमेयर उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको चर्चा भने न्यून देखिन्छ ।

मेयरका उम्मेदवार सिंहले यसै साता आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा उपमेयरका उम्मेदवार श्रेष्ठ देखिएनन् । त्यसो त, सिंहको घरदैलो कार्यक्रममा पनि उनी देखिएका छैनन् । सामाजिक सञ्जालमा पनि उनको प्रचारप्रसार कमजोर देखिन्छ । यसरी, भौतिकदेखि भर्चुअल माध्यमसम्म श्रेष्ठ कम ‘भिजिबल’ देखिएका हुन् ।

सुनिता भर्सेस रामेश्वर 

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा ३० जना उम्मेदवार छन् । पार्टी आवद्ध र स्वतन्त्र उम्मेदवारको भीडमा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठ हराइरहेका छन् ।

एमालेबाट उपमेयरकी उम्मेदवार डंगोल सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन् । तर उनलाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनायो । त्यसो त, डंगोलले २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा विद्यासुन्दर शाक्यको टिममा विज्ञका रुपमा काम गरेकी थिइन् ।

स्वतन्त्र रूपमा मेयर उम्मेदवार भनेर प्रचार–प्रसारमा हिंडेकी सुनिताले सामाजिक सञ्जाल र मिडियामा राम्रै स्थान पाइन् । युवा पुस्तामा उनको लोकप्रियतालाई देखेर एमालेले पार्टीभित्रका धेरै आकांक्षीलाई पन्छाएर एकाएक उनलाई उपमेयरका रूपमा अगाडि सारेको हो ।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा उपमेयरका प्रत्यासी बनेका श्रेष्ठ एकीकृत समाजवादी पार्टीभित्र परिचित नाम हुन् । एकीकृत समाजवादीबाट उपमेयरका लागि काठमाडौं महानगरका प्रवक्ता समेत रहेका ईश्वरमान डंगोल र ७ को वडाध्यक्ष रहेका शुद्ध डंगोलको धेरै चर्चा थियो । ईश्वरमान दुई पटक वडाध्यक्ष भइसकेका नेता हुन् । पार्टीभित्रका सबै प्रत्यासीलाई पछि पारेर अन्ततः श्रेष्ठले मौका पाए ।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ ‘गतिशील, जनताको पहुँचमा रहने, जनताकै काम गर्न रुचि राख्ने’ गुणका कारण पार्टीले रामेश्वरलाई उपमेयरको उम्मेदवार बनाएको बताउँछन् । श्रेष्ठले काठमाडौं सहरलाई राम्रोसँग बुझेको पार्टी नेतृत्वको ठम्याइ छ ।

जितको आ–आफ्नै दाबी

गत निर्वाचनको अंकगणितलाई आधार मान्ने हो भने उपमेयरका मुख्य प्रतिस्पर्धी डंगोल र श्रेष्ठ नै हुन् । श्रेष्ठका पक्षमा एकीकृत समाजवादीबाट चुनावी कमाण्ड सम्हालेका एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ गठबन्धनका कारण घरदैलो अभियानमा जान ढिला भएको स्वीकार्छन् ।

‘गठबन्धनको कुराले केही दिन दलदलमा परियो,’ श्रेष्ठले भने, ‘अब मुक्त भएर हिंड्ने भनेर लागेका छौं । जे–जे हुन्छ, यो पाँच–सात दिन भित्र हुने त हो नि ।’

उता, एमालेबाट उपमेयर प्रत्यासी बनेकी डंगोल पार्टीको मत र स्वतन्त्र मत आफूलाई आउने दावी गर्दै चुनाव आफूले नै जित्ने दाबी गर्छिन् । ‘काठमाडौं बासिन्दाको माया हामीले पाइरहेका छौं । पार्टीको शक्ति त छँदैछ’ डंगोलले अनलाइनखबरसँग भनिन्, ‘न्युट्रल भोट हेर्ने हो भने पनि अहिले देशभर युवा पुस्तालाई मौका दिनुपर्छ भन्ने आवाज आइरहेको छ ।’

मतदाताको यही चाहनालाई पार्टीले सम्बोधन गरेर आफूलाई उम्मेदवार बनाएको डंगोलको तर्क छ । उनी भन्छिन्, ‘यही कारण जो कुनै पनि पार्टीमा हुनुहुन्न, उहाँहरू पनि एमालेप्रति आकर्षित हुनुभएको छ ।’

महानगरवासीका आधारभूत आवश्यकता सम्बोधन गर्ने नै आफ्नो चुनावी एजेन्डा भएको डंगोलको भनाइ छ । ‘आधारभूत आवश्यकतालाई नै फोकस गर्छौं’ उनले भनिन्, ‘त्यसलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा अगाडि बढाउने बढाउने योजनमा छौं ।’

एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार श्रेष्ठ पनि आफ्नै जित हुने दाबी गर्छन् । पाँच दलीय गठबन्धनको शक्ति र आफ्ना एजेन्डा जितका आधार भएको उनको तर्क छ । ‘मेरो जितको पहिलो आधार पाँचदलीय गठबन्धन हो’ श्रेष्ठले भने, ‘अर्को कुरा, मैले पेश गरेको योजना हो ।’

उनी आफ्नो एजेन्डाको व्याख्या गर्दै भन्छन्, ‘शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकको कुरा गरेको छु । फोहोर डम्प प्रविधि अन्त्य गर्ने काम गर्ने श्रेष्ठको योजना छ ।

‘हामीले फोहोर प्रशोधन केन्द्र अन्त्य गरेर फोहोरबाट ग्याँस र मल निकाल्ने प्रविधि भित्र्याउनै पर्छ’ उनले थपे, ‘भित्री सहरमा संस्कृति सम्पदाका लागि कोषको कुरा गरेको छु । जेष्ठ नागरिकको हेरचाह केन्द्र र शिशु स्याहारको पनि कुरा गरेको छु ।’

विवेकशील साझाकी कीर्ति

२०७४ मा सम्पन्न स्थानीय चुनावमा विवेकशील दल तेस्रो भएको थियो । विवेकशीलकी रञ्जु दर्शनाले २३ हजार ४३९ भन्दा बढी मत ल्याएकी थिइन् । यसबीचमा विवेकशील र साझा पार्टीबीच एकीकरण र विभाजनको श्रृङ्खला नै चलेको छ । अहिले पनि पार्टीभित्र तीव्र विवाद छ ।

यो पृष्ठभूमिमा वैकल्पिक राजनीतिप्रति निराश बनेका मतदाताको मत जोगाउनुपर्ने चुनौती विवेकशील साझा पार्टीलाई छ । विवेकशील साझाले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई अघि सारेको छ । नेपाल जेसिज लगायतका संस्थामा काम गरेकी तुलाधर राजनीतिमा आएको आधा दशक भएको छ ।

तुलाधर अहिले आफूहरूले घरदैलो गरिरहेको र मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँछिन् । घरदैलोको अनुभव सुनाउँदै उनले भनिन्, ‘पहिले हामीले जुन–जुन पार्टीलाई विश्वास गरेर मत दियौं, उहाँहरूले भने जस्तो गर्नु भएन, अब पालो तपाईंहरूकै हो भन्नुभएको छ ।’

आफ्नो प्राथमिकता महानगरमा विद्यमान नागरिकका आधारभूत समस्याहरुलाई समाधान गर्नु रहेको तुलाधर बताउँछिन् । ‘महानगरमा समस्या छन्’ उनी भन्छिन्, ‘त्यसको कारण छ । समाधान गर्न सकिन्छ । समाधानको उपाय पनि मसँग छ ।’

स्वतन्त्र उम्मेदवार धेरै

काठमाडौंको उपमेयरमा ३० जना उम्मेदवारमध्ये ११ जना राजनीतिक दलबाट र १९ जना स्वतन्त्र हुन् । स्वतन्त्र उम्मेदवार र पार्टीका उम्मेदवारको समेत खासै चर्चा छैन ।

एमालेकी डंगोल, गठबन्धनबाट श्रेष्ठ र विवेकशील साझाकी तुलाधरसँगै दलबाट नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठ, आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जरा क्षेत्री, नेपाली कांग्रेस (बीपी)का इन्दिरा अधिकारी र मौलिक जरोकिलो पार्टीबाट कल्पना ओझा चुनावी मैदानमा छन् ।

त्यस्तै, नेपाल सुशासन पार्टीकी पुष्पा खरेल, नेपाली जनता दलकी बन्दना बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैंया र सचेत नेपाली पाटीबाट संगीता आचार्य पनि दलबाट उपमेयरको प्रतिस्पर्धामा छन् । कर संकलन, बजेट निर्माण र स्थानीय सरकारको न्यायिक कामको नेतृत्व उपमेयरले लिनुपर्छ । यस्ता विशेष जिम्मेवारीका कारण पनि उपमेयर पदमा आकर्षण देखिन्छ ।

स्वतन्त्र उम्मेदवारी दिनेमा अम्बरबहादुर खत्री, आशिष चन्द्र तुलाधर, आशिष महर्जन, उमा गुरुङ, कृष्ण तण्डुकार, जुगल तण्डुकार, नरेन्द्रमान डंगोल, मोहनकृष्ण श्रेष्ठ, रञ्जन डंगोल, रमेशप्रसाद जोशी रहेका छन् ।

त्यस्तै रवि नापित, राजेन्द्र खड्गी, राजेश शाही, रङ्कु श्रेष्ठ, विद्या श्रेष्ठ (महर्जन), विश्व विजय श्रेष्ठ, बेञ्जी सिंह महर्जन, सहेम खड्गी र सानु महर्जनले पनि स्वतन्त्र रुपमा उपमेयरमा उम्मेदवारी दिएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/knAqWrd

Post a Comment

0 Comments