भरतपुरमा रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि

८ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् ।

आज बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।

मतगणनाको सुरुवाती चरणमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिए पनि अहिले रेनुको अग्रता फराकिलो भइसकेको छ ।

भरतपुरमा सत्ता गठबन्धनका दलहरु तालमेल गरेर चुनाव लडेका थिए । नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर उम्मेदवारी दिएका थिए ।

सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् । बिहान ७ बजेसम्मको परिणाम अनुसार चित्रसेनले ३७ हजार ३२६ र हिमलाले २१ हजार ९०० मत पाएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/nhSPaw0

Post a Comment

0 Comments