एमालेको गठबन्धन : पोल्टाको पोखेर भुईंको समेट्दै

३० चैत, काठमाडौं । गत फागुन ७ गते राप्रपा नेपाल घोषणा सभामा पार्टी अध्यक्ष कमल थापाले भनेका थिए, ‘आउँदै गरेको स्थानीय तह निर्वाचनमा हामी खुट्टा टेक्न चाहन्छौं, संघीय निर्वाचनमा छलाङ मार्छौं ।’

०६२/०६३ को जनआन्दोलन र नेपालको संविधान २०७२ ले विस्थापित गरेको राजतन्त्र र हिन्दु राज्यको एजेण्डा बोेकेको राप्रपा फुटेर बनेको राप्रपा नेपालले संघीय निर्वाचनमा छलाङ मार्छ कि मार्दैन, त्यो त पत्तो छैन तर स्थानीय तह निर्वाचनमा खुट्टा टेक्ने बैशाखी चाहिँ भेटेको छ ।

त्यसैले बुधबार एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णय सार्वजनिक गर्न भएको कार्यक्रममा अध्यक्ष थापाले आफूहरु पनि एमालेजस्तै गणतन्त्रवादी शक्ति भएकाले तालमेल गर्न सजिलो भएको बताए ।

‘हामीले राजतन्त्र छोड्यौं, गणतन्त्रलाई पूर्ण रुपमा अंगीकार गर्‍यौं । त्यसैले आधारभूत रुपमा एमाले र हामी फरक रहेनौं,’ थापाले भने, ‘खासगरि राष्ट्रियताको मामिलामा एमालेले लिएको अडानबाट हामी प्रभावित छौं, त्यसैले सहकार्य गर्ने मौका पनि मिलेको छ ।’

०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९४ स्थानीय तहमा प्रमुख र ३३१ स्थानीय तहमा उपप्रमुख जित्दा त्यतिबेला थापा नेतृत्वको राप्रपाले पाँच स्थानीय तहमा प्रमुख र पाँचवटामा उपप्रमुख जितेको थियो । आउँदो वैशाख ३० गते दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन हुँदै गर्दा एमाले विभाजित भएको छ भने कमल थापाले पनि पुरानो पार्टी छाडेर अर्को गठन गरेका छन् ।

गत असोजमा ललितपुरमा भएको विधान महाधिवेशनको निष्कर्ष अनुसार १० प्रतिशत जनप्रतिनिधि र २० प्रतिशत नेता गुमाएको एमालेले राप्रपासँग तालमेल गर्दा गुमेको शक्ति पूर्ति गर्ने सम्भावना छैन । यद्यपि चुनावी तालमेलको निर्णय गर्न भएको बैठकमा एमालेका वरिष्ठ उपाध्य ईश्वर पोखरेलले अहिले एमालेमाथि व्यापक घेराबन्दी भएको र त्यो तोड्न राप्रपासँग तालमेल गर्नुपरेको बताए ।

‘अहिलेको परिस्थितिमा हामी माथि जुन घेराबन्दी गर्न खोजिएको छ, त्यो घेराबन्दी तोड्नका लागि शक्तिहरुसँग हातेमालो गर्छ,’ पोखरेलले भने, ‘राप्रपा नेपालले एजेण्डाकै तहमा जुन निर्णय गरेको छ त्यसले सहकार्यका लागि सजिलो बनाएको छ ।’

एमाले र राप्रपा नेपालबीच तालमेल हुनेबारे चर्चा निकै अघिदेखि चल्दै आएको थियो । तर एमालेले आफू एक्लै प्रतिस्पर्धा गरेर मुलुकको पहिलो शक्ति बन्ने बताउँदै आएको थियो । एमालेका शीर्ष नेताहरुले गठबन्धनको कुनै गुञ्जायस नरहेको बताउँदै आइरहेका बेला बुधबार उक्त पार्टीले राप्रपा नेपाल र परिवार दलसँग देशव्यापी गठबन्धन गर्ने सहमति सार्वजनिक गर्‍यो ।

राप्रपा नेपालसँगको पाँचबुँदे सहमतिमा देशभरिका तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्ना उम्मेदवार नभएका ठाउँमा एक अर्काका उम्मेदरवालाई सघाउने, जिल्ला तहमा सहकार्यको प्रस्ताव तयार पार्ने, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने उल्लेख छ ।

नेपाल परिवार दलसँग भएको सहमति पनि यही आशयको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले ती पार्टीका उम्मेदवार सूर्य चिह्नबाटै चुनावी स्पर्धामा जाने भएकाले तालमेलको निर्णय गरिएको बताए । ‘राप्रपा नेपाल र परिवार दलसँग स्थानीय स्तरमा आपसी तालमेल गर्ने सहमति भएको छ ।

स्थानीय निर्वाचनमा राप्रपा नेपालबाट थपिने मत भन्दा पनि गठबन्धन गरेवापत लाग्ने राजनीतिक आरोप महंगो पर्ने एमालेकै नेताहरु बताउँछन् ।

उहाँका उम्मेदवारहरुले सूर्य चिह्नबाट चुनाव लड्नुहुन्छ,’ उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भने, ‘यो कुनै राष्ट्रिय स्तरको होइन स्थानीय विशेषताका आधारमा जिल्ला जिल्लामा तालमेल गर्ने हो । जिल्लामा दुबै पार्टीका नेताहरु बसेर छलफल गर्नुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष थापाका बीचमा ब्यक्तिगत सम्बन्ध राम्रो छ । ओली ०७२ मा पहिलोपटक प्रधानमन्त्री बन्दा उनको मन्त्रिपरिषद्‍मा थापा परराष्ट्रमन्त्री थिए । कतिपय राष्ट्रवादी मुद्दा र धार्मिक एजेण्डामा ओली र थापाको मत मिल्ने गर्छ । त्यसैले ०७४ को चुनावमा झापामा राप्रपा र एमालेबीच तालमेल भएको थियो । यो मुलतः ओली र थापाबीचको सम्बन्धको परिणाम थियो ।

अहिले झापाकै राजेन्द्र लिङ्देनसँग पार्टी अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल खोलेका हुन् । थापाको अहिलेको प्राथमिकता आफ्नो पार्टीलाई विजयी गराउने त हुँदै हो, लिङ्देन नेतृत्वको राप्रपालाई खुम्च्याउनु पनि हो । किनकी एमाले नेताहरुसँग भएको छलफलमा राप्रपा नेपालले २०७४ सालको स्थानीय चुनावमा राप्रपाले जितेको स्थानीय तहको नेतृत्व आफूलाई दिनुपर्ने शर्त राखेको छ ।

राप्रपा नेपालका प्रचार विभाग प्रमुख सुरेश आचार्य आफूहरुले चुनाव चिह्न पाएको १५/२० दिनमात्रै भएको र त्यसको प्रचार गर्न पनि अहिले सम्भव नभएकाले स्थानीय निर्वाचनमा सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्न लागेको बताए । ‘हाम्रो पार्टीको ७७ वटै जिल्लामा संरचना बनेको छ ।

उपयुक्त हुने ठाउँमा र हाम्रो प्रभाव रहेको क्षेत्रमा चुनावमा जाने निष्कर्ष निकालिएको हो,’ आचार्यले भने, ‘अहिले हाम्रो निर्वाचन चिह्न पाएको १५/२० दिन जति भयो, ग्रासरुटसम्म त्यो चिह्न प्रचार गर्न अहिले समय नभएकाले सूर्य चिह्नबाटै हाम्रा उम्मेदवार लड्नुहुन्छ ।’

राप्रपाको तर्क एकातिर छ, चुनाव आउन ठ्याक्कै एक महिना बाँकी रहँदा एमालेले गरेको तालमेलको निर्णयले सत्तारुढ दलहरुको गठबन्धनसँग उसको भय पनि प्रकट भएको छ । जति नै एक्लै जित्छौं भनेता पनि संभवतः एमालेले पनि स्थानीय तहमा आफ्नो शक्ति आकलन गरेर राप्रपा नेपाल र परिवार दलसँग गठबन्धनको निर्णय गरेको हो ।

एमाले अध्यक्ष ओलीले मंगलबार एक सार्वजनिक कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सूर्य चिह्नबाट चुनाव लड्न आग्रह गरेका थिए । ‘अलिअलि भए पनि हामीलाई जोडजाड हुन्छ भन्ने नै हो,’ एमालेका एक नेताले भने, ‘नत्र त देशैभरि दुई पार्टीको गरेर सूर्य चिह्नमा २ लाखजति मात्रै मत आउँछ, त्यसले कति नै फरक पार्ला र ?’

स्थानीय निर्वाचनमा राप्रपा नेपालबाट थपिने मत भन्दा पनि गठबन्धन गरेवापत लाग्ने राजनीतिक आरोप महंगो पर्ने एमालेकै नेताहरु बताउँछन् ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेका कारण अध्यक्ष केपी शर्मा ओलीलाई सत्तारुढ गठबन्धनका दलहरुले प्रतिगामीको आरोप लगाउने गरेका छन् । ‘अहिले गठबन्धन गर्दा त्यो आरोप लगाउनेहरुलाई झन् बल पुगेको छ’ एमालेका एक नेताले भने ।



from समाचार – Online Khabar https://ift.tt/lFf2QyY

Post a Comment

0 Comments