बाह्य क्षेत्रको संकटका बीच आर्थिक वृद्धिदर उकालोतिर

१५ वैशाख, काठमाडौं । बढ्दो शोधनान्तर घाटासहितका बाह्य क्षेत्रमा संकटका बीचमा पनि चालु आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धि बढ्ने अनुमान सार्वजनिक भएको छ । आयात उच्च दरमा बढिरहँदा वैदेशिक मुद्राको सञ्चितिमा परेको दबाबले आर्थिक वृद्धि बिथोल्ने अनुमानहरुका बीच केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यो वृद्धिदर सरकारले प्रक्षेपण गरेको ७ प्रतिशतभन्दा  १.१६ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष २०७७/७८मा ३.८३ प्रतिशत आर्थिक वृद्धि हासिल हुने संशोधित अनुमान गर्दै विभागले चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर त्यो भन्दा बढ्ने अनुमान गरेको हो । आर्थिक वर्ष २०७६/७७मा आर्थिक वृद्धिदर ऋणात्मक हुँदै -२.४२ प्रतिशतमा झरेको थियो ।

विभागले हालसम्म कोभिड १९को असार विद्यमान रहेको भन्दै यसलाई न्युन गर्न अबलम्बन गरिएका आन्तरिक तथा बाह्य प्रयासहरुको प्रभाव अर्थतन्त्रमा पनि परेको बताएको छ । तथापि पछिल्ला दिनमा नेपालमा कोभिडको प्रभाव न्युन भएको चालु आर्थिक वर्षको अन्त्यसम्म नै यसको नकारात्मक असार नहरने प्रक्षेपण विभागको छ। आर्थिक क्रियाकलापहरु समान्य किसिमले सञ्चालन हुने अनुमानसहित विभागले यस्तो प्रक्षेपण गरेको हो ।

विभागको प्रक्षेपणअनुसार चालु आर्थिक वर्षको बजेटकै हाराहारी व्यापार घाटा हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार चालु आर्थिक वर्षमा १५ खर्बको व्यापार घाटा हुनसक्ने प्रक्षेपण सार्वजनिक गरेको छ । जबकी यो वर्ष बजेट नै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको मात्रै हो ।

यसअनुसार यो वर्ष बजेटभन्दा १ खर्ब ३२ अर्ब रुपैयाँले कम मात्रै व्यापार घाटा हुनसक्ने विभागको प्रक्षेपण छ ।

यो वर्ष आयातको दर उच्च भएकाले व्यापार घाटा पनि उच्च दरमा बढेको हो । केन्द्रीय बैंकले आयातमा नगद मार्जिन र सरकारले विभिन्न वस्तुमा प्रतिवन्धात्मक व्यवस्था गर्दागर्दै पनि आयातको दर ओरालो लागिरहेको छैन ।

विभागले चालु आर्थिक वर्षमा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन-चैत)सम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि छ । भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात भने १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । ९औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।

आयात बढ्दा अर्थतन्त्रमा योगदान !
विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउँछन् ।

आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रतिशत र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

चालु आर्थिक वर्ष ०७८/७९ को ६-९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

यो वर्ष कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरको उपभोक्ता मूल्यमा ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण विभागको छ।

फैंलिदो अर्थतन्त्र
विभागका अनुसार बितेको एक वर्षमा नेपाली अर्थतन्त्रको आकार ५ खर्ब रुपैयाँले बढेको छ । तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पुगेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा चालु मूल्य अनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा भने ३४ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष २ खर्बले मात्र अर्थतन्त्रको आकार बढेको थियो । त्यसो हुनुमा कोभिड महामारी मूख्य कारण थियो ।

चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा भने ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । यस्तो आकार अघिल्लो वर्ष ४२ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो ।

१६ हजारले बढ्यो प्रतिव्यक्ति आय

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो ।

विभागको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो ।

जसअनुसार यस वर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरी ५.८४ प्रतिशत कायम हुने देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ६१ अर्ब ७ करोड रेमिट्यान्स भित्रिने अनुमान गरेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा करिब १९.८१ प्रतिशत हुनेछ ।

कुल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत बराबरको रकम रेमिट्यान्सका रुपमा भित्रिने केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रक्षेपणमा उल्लेख छ । यद्यपी रेमिट्यान्स रकमलाई जीडीपीमा गणना भने गरिंदैन ।



from समाचार – Online Khabar https://ift.tt/0bGoHjt

Post a Comment

0 Comments