वीरगञ्जसहितका पर्साका सबै पालिकामा कांग्रेस र जसपाबीच ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने सहमति

३ वैशाख, वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेका छन् । शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गरी आपसमा प्रतिस्पर्धाको निर्णय भएको जानकारी दिएका छन् ।

‘स्थानीय नेता र कार्यकर्ताहरुको मनोभावनाको कदर गर्दै हामी दुवै दल छुट्टाछुट्टै १४ वटै स्थानीय तहमा मित्रवत प्रतिश्पर्धा गर्न सहमत भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

सत्ता गठबन्धनमा ६ वटा महानगरपालिका भागवण्डा गर्ने क्रममा वीरगञ्ज महानगरपालिकामा कांग्रेस र जसपा दुवैले दावी गरेका छन् । वीरगञ्ज महानगरबाहेकका अन्य १३ पालिकामा पाँच दलबीच गठबन्धन गर्ने निर्णय गरेपनि कांग्रेस पछि हटेको थियो । उसले दुई जना केन्द्रीय सदस्य सहितको बैठक राखेर कुनैपनि पालिकामा गठबन्धनमा नजाने निर्णय गरिसकेको छ ।

पर्साका कांग्रेस सभापति जनार्दन सिंह क्षेत्री जसपा पनि गठबन्धन चाहदैन भन्ने सन्देश दिनका लागि सहमति गरिएको बताए । ‘माथि गठबन्धनको बैठकमा जसपाले वीरगञ्ज महानगर दावी गरिरहेको कुरा छ, तर तल्लो तहमा ऊ एक्लै लड्न सहमत देखिएको छ ।’ उनले भने ‘कांग्रेस मात्रै होइन जसपा पनि पर्सामा एक्लै लड्न चाहन्छ भन्ने सन्देश दिन सहमतिमा पुगेका छौं ।’

उनले पालिका वा वडा स्तरमा आवश्यकता अनुसार जसपा वा गठबन्धनका अरु दलसँग मिलेर जान कसैलाई रोकतोक नभएको बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले गठबन्धनका दलहरुबीच तलमेल मिल्न नसकेपछि छुट्टाछुट्टै मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरिएको जानकारी दिए ।

‘गठबन्धनका घटक दलमध्ये माओवादी आन्तरिक द्वन्द्वमा फसेको छ । पर्सामा कांग्रेस र हामीबीच नै मुख्य प्रतिश्पर्धा हो’ उनले भने, ‘आपसमा झै–झगडा नगर्ने, शान्त वातावरणमा निर्वाचन सफल बनाउने निर्णयमा पुगेका छौं ।’

नेकपा एकीकृत समाजवादी पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाले भने पर्सामा नेपाली कांग्रेसले गैर राजनीतिक चरित्र प्रदर्शन गरेको बताए ।

‘गठबन्धन संयोजकको भूमिका कांग्रेसलाई नै दिइएको छ, कहिले १३ वटा पालिकामा मिलेर जाने भनेर भन्छ, कहिले कुनैपनि पालिकामा तालमेल नगर्ने भन्छ । कहिले गठबन्धनका अरु दललाई नबोलाई जसपासँग मात्रै बैठक गर्छ’, उनले भने ‘यसबाट उसको गैरराजनीतिक चरित्र देखिन्छ ।’



from समाचार – Online Khabar https://ift.tt/ntlU7cN

Post a Comment

0 Comments