१३ चैत, काठमाडौं । २०७४ जेठ तेस्रो साता शपथ लिंदै गर्दा भक्तपुर नगरपालिकाका नयाँ जनप्रतिनिधिसामु आफैंले तयार पारेको घोषणापत्र अनुसार काम गर्ने मात्र होइन, पार्टीको साख जोगाउने चुनौती पनि थियो । कुनै समय कर्णाली क्षेत्रका जिल्लामा समेत संगठन बनाएको नेपाल मजदुर किसान पार्टी, २०७४ को स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा मात्र सीमित भएको थियो ।
पाँचवर्षे कार्यकाल सकिंदै गर्दा मेयर सुनिल प्रजापतिसहितका जनप्रतिनिधिले भक्तपुर नगरपालिकालाई अरूभन्दा अब्बल देखाउन सफल भएका छन् । अरू दल पनि विकास निर्माण तथा सम्पदा पुनर्निर्माणमा नगरपालिकाले गरेको कामलाई सकारात्मक मान्छन् । तर सबै जनप्रतिनिधि नेमकिपाका हुँदा एकाधिकार चलाएको र ‘उत्तरकोरिया’ जस्तै बनाउन खोजेको टिप्पणी गर्छन् ।
शिक्षा सुधारमा भक्तपुर मोडल
शिक्षामा भक्तपुरको आफ्नै मोडल छ, जसको सुरुवात २०५४ को स्थानीय चुनावपछि भएको मानिन्छ । शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने बाचाका साथ २०५४ को स्थानीय चुनावमा नेमकिपाका प्रेम सुवालले जितेका थिए । ‘एक घर, एक स्नातक’, ‘कम शुल्कमा गुणस्तरीय शिक्षा दिन विद्यालय खोल्ने’ जस्ता उनका चुनावी बाचा थिए ।
सुवाल नेतृत्वको नगरपालिका बोर्डले २०५६ सालमा कक्षा ११ र १२ को अनुमति लिएपछि ख्वपः उच्च माध्यमिक विद्यालय सञ्चालनमा आयो । १२ उत्तीर्ण गरेका विद्यार्थीलाई पढाउन क्याम्पस चाहिएपछि नगरपालिकाले ख्वपः कलेज र ख्वपः इन्जिनियरिङ कलेज खोल्यो । अहिले नगरपालिकाको स्वामित्वमा त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई इन्जिनियरिङ कलेज ख्वपः कलेज अफ इन्जिनियरिङ र कलेज अफ ख्वपः इन्जिनियरिङ सञ्चालनमा छन् भने ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेजमा विद्यार्थीले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा पाएका छन् ।
अहिलेका जनप्रतिनिधिले शिक्षामा पहिले बसेका पूर्वाधारमा टेकेर थप काम गरेका छन् । नयाँ जनप्रतिनिधि आएको केही समयमै शिक्षा क्षेत्र सुधारका लागि के गर्न सकिन्छ ? भनेर अध्ययन गराएका थिए, जसले प्रधानाध्यापक र शिक्षकहरूको कमजोर कार्यक्षमताका कारण पनि धेरै विद्यालयले प्रगति गर्न नसकेको देखायो ।
माध्यमिक तहसम्म स्थानीय तहको क्षेत्राधिकार भएकाले भक्तपुर नगरले त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनायो । त्यसक्रममा कार्य सम्पादन कमजोर भएको दर्शाउँदै पाँच वटा विद्यालयका प्रधानाध्यापकलाई शिक्षकमा र शिक्षकलाई कर्मचारीमा घटुवा गरेर सरुवा समेत गरिएको थियो । यसको तीव्र आलोचना भयो, असन्तुष्ट एक जना प्रधानाध्यापकले त राजिनामा नै दिए । तर योग्य शिक्षकलाई प्रधानाध्यापक बनाउन थालेपछि विद्यालयको गुणस्तर सुधारिएको नगरप्रमुख प्रजापतिको दाबी छ ।
स्थानीय भाषा, मौलिक रीतिरिवाज र पहिचानबारे जानकारी समेटिएको मौलिक पाठ्यक्रम बनाएर नगर क्षेत्रका सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म मौलिक पाठ्यक्रम लागू गरिएको छ । न्यून आय भएका नगरवासीहरू उच्च शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएपछि ‘एक घर, एक स्नातक’ अभियान चलाइएको छ, जस अनुसार विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्मको शैक्षिक ऋण दिन्छ । करिब पाँच वर्षमा १०४ जनाले ५ लाख ऋण लिएको नगरपालिकाको तथ्यांक छ ।
घोषणापत्र अनुसार कामकाजी आमाहरूलाई सहज होस् भनेर नगरपालिकाले ६ वटा वडामा शिशु स्याहार केन्द्र चलाएको छ, जहाँ मासिक एक हजार रुपैयाँ तिरेर कार्यालय समयभर बच्चालाई त्यहाँ छाड्न सकिन्छ । यो शुल्क आमाको दूध नछुटेका बच्चाहरूलाई पोषिलो खानाका लागि लिइएको नगरपालिकाले जनाएको छ । अहिले हरेक केन्द्रमा ३० देखि ४० जना बच्चा रहेको नगरपालिकाको तथ्यांक छ ।
स्वास्थ्यमा भक्तपुर मोडल
नयाँ जनप्रतिनिधि आएपछि नगरसभाले पहिलो चरणमा नगर क्षेत्रभित्रको वस्तुस्थिति पत्ता लगाउन घरदैलो नर्सिङ सेवा सुरु गर्ने निर्णय गर्यो । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको नगरपालिकामा नर्सिङ सेवाको क्रममै नगरवासीको आवश्यकता सम्बन्धी तथ्यांक संकलन गरियो । त्यसैको आधारमा नगरपालिकाले कामको गति बढाएको नगरप्रमुख सुनिल प्रजापति बताउँछन् ।
तथ्यांक संकलन गर्दा खराब जीवनशैलीका कारण श्वास-प्रश्वास, आँखा र मधुमेह जस्ता दीर्घ रोग धेरैमा छ भन्ने देखेपछि सबैभन्दा पहिले दीर्घ रोग नियन्त्रणको लागि हरेक वडामा निःशुल्क व्यायामशाला निर्माण गर्न थालिएको थियो । नगरपालिकाका अनुसार निःशुल्क व्यायामशालाको संख्या अहिले २२ पुगेको छ ।
नगरपालिकाले च्याम्हासिङ, पाँचतले मन्दिर भगवती स्थान र व्यासीमा जनस्वास्थ्य केन्द्र चलाएको छ । नेवार समुदायको बाहुल्य रहेको भक्तपुरका अधिकांश बिरामीले नेवारी भाषा मात्र राम्रोसँग बुझ्ने भएकाले स्वास्थ्य केन्द्रमा नगरपालिकाले प्रायः नेवारी भाषा जान्ने चिकित्सकहरूको व्यवस्था गरेको छ ।
नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रहरूमा ११ जना विशेषज्ञ डाक्टर छन् भने १६ जना मेडिकल अधिकृत । यसबाहेक डेन्टल विभागमा एक जना विशेषज्ञसहित ४ जना, आँखामा एक जना विशेषज्ञ, ४ जना अफ्थाल्मिक अफिसरसहित १० स्टाफ र ३५ जना स्टाफ नर्स छन् । व्यासीमै रहेको स्वास्थ्य केन्द्रको पछाडिपट्ट िनगरपालिकाले नमूनाको रूपमा श्वास-प्रश्वास पुनस्र्थापना केन्द्र स्थापना गरेको छ । जसमा परीक्षणपछि फिजियोथेरापी विधिद्वारा उपचार गरिन्छ । त्यस्तै, आँखाको उपचारको लागि पनि तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा नगरपालिकामै आँखाको ओपीडीसँगै आँखाको अप्रेसन सेवा समेत सञ्चालनमा आएको छ । नगरपालिकाले मुटु, मिर्गौला, क्यान्सर, मस्तिष्कघात भएका बिरामीको लागि वार्षिक १५ हजार रुपैयाँ सहयोग गर्छ ।
नगरपालिकाद्वारा अहिले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ, जसमा दैनिक ६०० जनासम्मले सेवा लिने गरेका छन् । कोरोना महामारीको समयमा अक्सिजन अभाव भएपछि नगरवासीसँग रकम उठाएर दैनिक १२० सिलिण्डर अक्सिजन भर्ने अक्सिजन प्लान्ट स्थापना गरिएको छ । आवश्यक परेका नगरवासीलाई अहिले निःशुल्क अक्सिजन वितरण गर्ने गरिएको नगरप्रमुख प्रजापतिले बताए् । साथै अस्पताललाई विस्तार गरी १०० शय्या बनाउने तयारी भइरहेको उनले बताए ।
ज्येष्ठ नागरिक आदर निकेतन कार्यक्रम सञ्चालन गरेर नगरपालिकाले उनीहरूको निःशुल्क स्वास्थ्योपचार सेवा दिइरहेको छ । वडा-वडामा पाठेघर तथा स्तन क्यान्सर परीक्षणको लागि शिविर सञ्चालन, पशु स्वास्थ्यसँग सम्बन्धित उपचार अभियानहरू चलाउँदै आएको पनि नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
सम्पदा पुनर्निर्माणमा भक्तपुर
२०७२ सालको महाभूकम्पले नगरपालिकाभित्रका १२० भन्दा धेरै सम्पदामा क्षति पुर्याएको थियो । २०७४ को चुनावबाट नयाँ जनप्रतिनिधिहरू आउँदा सम्पदाहरू पुनर्निर्माणले गति लिन सकेको थिएन । भक्तपुर नगरका जनप्रतिनिधिहरूले सम्पदा पुनर्निर्माणमा ठेकेदारी प्रथा हटाउने र सम्पदाको मौलिकतामा सम्झौता गर्न परे विदेशी सहयोग नलिने अठोट लिए । यही कारण जर्मन परियोजनाबाट आएको झण्डै सवा अर्ब रुपैयाँको सहयोग फिर्ता गयो ।
तर करिब पाँच वर्षमा अधिकांश सम्पदा पुनर्निर्माण भए । सम्पदा पुनर्निर्माणमा भक्तपुरले जनसहभागिताको मोडल अपनायो । हरेक मन्दिर तथा सत्तल पुनर्निर्माणमा सोही टोलको उपभोक्ता समिति बनाएर स्थानीय जनसहभागितालाई बढी जोड दियो । जसले गर्दा हरेक परियोजना आधा बजेटमा सम्पन्न भए । यसले आर्थिक रूपमा फाइदा त भयो नै, मन्दिर पुनर्निर्माणमा स्थानीयको सीप विकास भयो । यही कारणले काठमाडौं र ललितपुरको रानीपोखरी र अरू सम्पदा पुनर्निर्माणमा पनि जनशक्ति पठाउन भक्तपुर सक्षम भयो ।
नगरपालिकाभित्र क्षतिग्रस्त २६ मन्दिर, ४० पाटी, ६ वटा द्योछें, ३ वटा प्रवेशद्वार, ७ वटा इनार, ८ वटा सत्तल, ७ वटा ढुंगेधारा, १२ वटा अन्य गरी हालसम्म ११९ वटा सम्पदा जीर्णोद्धार भइसकेको छ । लक्ष्मीनरसिंह मन्दिर, इखालाछी मठ, जगन्नाथ क्षेत्रको पुनर्निर्माण भने सम्पन्न हुन बाँकी छ ।
भक्तपुर नगरपालिकाले प्राचीन बस्ती छेउमा घर नबनाउँदा परम्परागत शैलीलाई अनिवार्य गरेको छ भने अन्यत्र पनि यसलाई जोड दिएको छ । यसरी परम्परागत शैलीको बाहिरी मोहडा बनाउँदा कुल लागतको ३५ प्रतिशतसम्म अनुदान दिन्छ ।
भक्तपुरका जनप्रतिनिधिले विकासको नाममा ठूला-ठूला भवन बनाउन चाहेनन् । पाँच वर्षमा नगरपालिकाले जम्मा २ वडाको मात्र कार्यालय भवन बनायो । जनतासँग प्रत्यक्ष सरोकार रहेको विषयमा भने उनीहरूले धेरै प्राथमिकता दिए ।
खानेपानीको समस्या कायमै
नगरकोटबाट आउने पानीको स्रोत सुकेपछि भक्तपुरमा खानेपानीको अभाव बढेको थियो । त्यसलाई सम्बोधन गर्न नगरपालिकाले विभिन्न ठाउँमा डीप बोरिङ गरी वडा-वडामा खानेपानी वितरण गर्छ ।
साथै एक जारको १० रुपैयाँमा पानी बिक्री गर्छ । यस्तो पानी नगरपालिकाले तोकेको फिल्टर सेन्टरमा नै गएर लिनुपर्छ । यद्यपि भक्तपुरमा पानीको पर्याप्त सुविधा भने हुनसकेको छैन । नगरप्रमुख प्रजापति पनि अहिले पानीको अभाव पूरा गर्न नसकेको स्वीकार गर्दै कटुञ्जेमा ट्यांकी बनाएपछि यो समस्या समाधान हुने दाबी गर्छन् ।
कृषि तथा पशुपालन
नगरपालिका क्षेत्रभित्र कृषि एवं पशुपालनको लागि खुला ठाउँ अत्यन्त कम रहेकाले अरू नगरपालिकामा खेती गर्न जानेहरूको संख्या धेरै छ । त्यस्ता किसानको लागि विभिन्न तालिम एवं बीउबिजन वितरण गर्ने गरिएको नगर प्रमुख प्रजापति बताउँछन् । उन्नत जातको बीउ उत्पादन तालिम, च्याउ खेती तालिम जस्ता कार्यक्रम ल्याएको उनले बताए । यसबाहेक बजार अनुगमन, निजी आवास पुनर्निर्माण, क्यान्सर अस्पताललाई सरकारी स्वामित्वमा ल्याउने काम, विभिन्न सीपमूलक तालिमको व्यवस्थामा पनि नगरपालिका जुटेको छ ।
अझै पनि केही अपूर्ण छन्
भाजु पुखु, जगन्नाथ क्षेत्र आदिको पुनर्निर्माण अझै सम्पन्न हुनसकेको छैन । हनुमन्ते र कासन खोलाको पानीलाई शुद्ध बनाउन उपचार पोखरी बनाउने बाचा पूरा भएको छैन ।
जनतालाई प्रत्यक्ष प्रभावित पार्ने अरू काम गर्दागर्दै यो काम पूरा गर्न नसकेको नगरप्रमुख प्रजापति सुनाउँछन् । हतारमा काम गरेर बिगार्नुभन्दा बरु ढिला गरेर भए पनि अब्बल काम होस् भन्ने आफ्नो रणनीति रहेको उनले बताए ।
के भन्छन् अरू दल ?
भक्तपुर नगरपालिकामा भएको कामप्रति सबै राजनीतिक दलको सहयोग रहेेको मेयर प्रजापति बताउँछन् । ‘निर्वाचित हुने बेलामा मात्रै प्रतिस्पर्धा भएको हो’ उनले भने, ‘वडादेखि मेयरसम्म सबै जित्यौं, नगरपालिकाको कामप्रति अन्य राजनीतिक दलहरूको खासै हस्तक्षेप छैन ।’ केही मान्छेले विरोधको लागि विरोध गरे पनि विकास निर्माणको काममा अवरोध नभएको उनले बताए ।
नगर चुनावमा दोस्रो भएको नेपाली कांग्रेसले नगरमा लोकतन्त्रलाई कुण्ठित गरेको आरोप लगाएको छ । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नगरको हरेक काममा नेमकिपाका कार्यकर्ताले हस्तक्षेप गर्दा नेमकिपाको मात्रै नगरपालिका भएको टिप्पणी गरे । नेमकिपाले अन्य राजनीतिक पार्टीलाई मतलबै नगरेको भन्दै थापाले भने, ‘उत्तरकोरिया जस्तै बनाउन खोजिरहेका छन् । मिडिया र अख्तियारले भक्तपुरको भ्रष्टाचार र ज्यादती कहिल्यै देखेन ।’
सबै आयोजना ठेक्का प्रणालीमार्फत नगरेर उपभोक्ता समितिबाट अगाडि बढाएको भन्दै थापाले प्रश्न गरे, ‘लेखा परीक्षण कता छ ? सार्वजनिक सुनुवाइ कता छ ? अरू स्थानीय तहमा चाहिं पारदर्शी चाहिने भक्तपुरमा चाहिं नचाहिने ?’ यद्यपि ऐतिहासिक सम्पदाको संरक्षण र विकास निर्माणमा भने भक्तपुर नगरपालिकाले केही रचनात्मक काम गरेको कांग्रेस सभापति थापा बताउँछन् ।
नेकपा एमालेले पनि भक्तपुर नगरपालिकामा भएको विकासमा आफूहरूले कुनै अवरोध नगरेको एमालेको दाबी छ । एमाले भक्तपुरका अध्यक्ष बच्चन देउजा त नगरपालिकाको गतिविधिमा प्रतिवाद गर्ने स्थिति नै नभएको बताउँछन् । भन्छन्, ‘हामीलाई मेयरले गन्दै गन्दैनन्, उनीहरूको एकाधिकार छ । एकजना पनि अरू पार्टीबाट जितेका छैनन् । मनलाग्दी गरेका छन् । आफ्नै शैलीमा चलेका छन् ।’
भक्तपुर नगरपालिकाले गरेको जम्मा तीन वटा काम देखिएको उनले औंल्याए- ख्वप कलेज, रानीपोखरी, ऐतिहासिक वस्तुको संरक्षण । तर नगरभित्र भएका सामाजिक विकासको तथ्यांक अहिलेसम्म पत्ता लगाउन नसकेको भन्दै एमालेका जिल्ला अध्यक्ष देउजाले भने, ‘ईंटा झिकेर ढुंगा छाप्दैमा विकास हुँदैन । सडक र पुलको अवस्था खत्तम छ । जनतामा भ्रम छरेर एकाधिकार लादिरहेको छ ।
from समाचार – Online Khabar https://ift.tt/gCMczN4
0 Comments
if you have any doubts, please let us know.