त्यसदिन मोतिरामजीले ‘चल्वे नौकरी हम मिलाई देओगे, एक भन्न आयो तव’ भन्ने हरफलाई सबैको अन्तिम हरफ बनाइएको आफू विदेशिंदाको दुःख समेटेर लेखिएको शार्दूलविक्रीडित छन्दको कविता पाठ गर्नुभयो- जुन लय, छन्द र भावका आधारमा अत्युत्तम लाग्दथ्यो। तर समय सन्दर्भसँग अमिल्दो भएर होला अरू २२÷२५ जना कविहरू बीचको कविता प्रतियोगितामा मूल्याङ्कन समितिले मेरो कवितालाई प्रथम घोषणा गर्यो। म पनि कवि बनेकोमा गजक्क मात्र परिनँ, वासु भट्ट सरलाई हार्दिक आभार व्यक्त गर्दै आफैंले बाँसका कलमले तयार पारेका प्रमाणपत्रहरूमा आफूले पनि प्रथमस्थान प्राप्त गरेको एकप्रति प्राप्त गरें। ‘फिस्टाले कौडो पाए जस्तै’ बिदामा घरतिर आउँदा सोझै पोखरा गएर फ्रेम हाली आफ्नो कोठामा सजाएँ।
अब त शुभचिन्तकहरू कोठामा आएपछि ‘ए …! तिमी त चुइयाकोत्राको काम, आर्टिस्टको काम, गणित-विज्ञान जस्ता कठिन विषयका शिक्षक मात्र नभै कवि पनि रहेछौ त ! लौ-लौ एउटा कविता त सुन्नैपर्यो …’ भन्न थाल्नुभयो, जुन स्वाभाविकै पनि थियो। तर मलाई भने त्यो प्रमाणपत्र तातो दूध जस्तै भएको छ अहिलेसम्म। ओकेलौं भने दूध हो अर्थात् प्रथम स्थान प्राप्तिको प्रमाण, निलौं भने पोल्छ अर्थात् कोठामा टाँगिराखौं भने उल्लिखित अवस्थाले पिरलिरहेको छ।
दैनिक भ्रमण भत्ता बुझ्दै नयाँ-नयाँ ठाउँ घुम्दै
लेखापालको जागिरे हुँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नुपर्ने प्रायः सबै शाखाहरू – विनियोजन, राजस्व, लेखा परीक्षण आदिको काममा मलाई नै सरिक गराइन्थ्यो। हुन पनि गणकयन्त्र (क्याल्कुलेटर) हरू चिसो बढी भएका कारण राम्रो काम गर्दैनथे। परिणामस्वरूप गणितको शिक्षक बनेको मलाई सनातनी प्रक्रियाको हिसाब-किताब गर्न सहज पनि हुन्थ्यो।
पहिलो आन्तरिक लेखा परीक्षण हाकिमसाहेब हर्षबहादुर भण्डारीले आफैंसाथ लगेर सीमा प्रशासन शाखाबाट सुरु गराउनुभएथ्यो। लेखा परीक्षणको विधिसँग परिचित भएपछि रारा राष्ट्रिय निकुञ्ज कार्यालयको आन्तरिक लेखा परीक्षण म र होमबहादुर दाइ भई दुई दिनसम्म कार्यालयमै बसेर सम्पन्न गर्यौं। निकुञ्ज कार्यालयका प्रमुख- वार्डेन, गोपाल उपाध्याय हुनुहुन्थ्यो। उहाँको फरासिलो व्यवहार अझैसम्म मस्तिष्कमा ताजै छ। यही क्रममा होम दाइ र मलाई सीमा प्रहरी चौकी मुगुको आन्तरिक लेखा परीक्षण गर्न खटाइयो।
खास मुगु भ्रमणको नूतन अनुभव !
(२०४२ वैशाख १३ देखि २४ गतेसम्म)
कार्यालयको निर्णयानुसार यस जिल्लाको खास मुगुतर्फ आन्तरिक लेखा परीक्षण गर्न जाने निधोले बिहान उठी नुहाई टेबुलटेनिसमा भाग लिएँ। ९:३० बजे खाना खाएँ। बाटोका लागि अत्यावश्यक हाते टर्च र रेडियोका लागि दुईजोडी ब्याट्री किनें।
स्याउ बेच्न ल्याएको रहेछ र किनेर खाएँ। कार्यक्रमानुसार कार्यालयीय कार्य सम्पादनका लागि होमबहादुर दाइ (चिलाउनेबास-३, मडुवा) र म जाने व्यक्तिका रूपमा तयार भयौं। मेरो झोला चन्द्रजीले लग्नुभएकाले जनसम्पर्क अधिकारी वासुदेव भट्टसँग झोला मागी कपडाहरू पोको पारें।
दुवै जनाले हिंड्ने बेलामा निमित्त हाकिम पदमबहादुर मल्लसँग आवश्यक जानकारी हासिल गरियो। यात्रारम्भका लागि झोलाहरू निकाल्न कोठामा आउँदा प्रमुख जिल्ला अधिकारीका छोराको एउटा हिसाबका बारेमा स्थानीय विकास अधिकारी, इञ्जिनियर र म भई छलफल गरी करिब ११:३० बजे कोठाबाट अवकाश लिइयो। रामगढी गई कृषि विकास बैंकका राईजीसँग एउटा सुत्ने झोला (सिलिपिङ ब्याग) मागी साथीहरूसँग बिदा भई बाटो लाग्दा करिब १२ बजेको थियो।
बाटाको लागि खाजास्वरूप बिस्कुट र स्याउ किन्ने विचारलाई बाटामा पर्ने लुम्समा दोकान भएको व्यहोरा दुबै भाइहरूको स्मृतिले बदल्नाले नकिनी हिंडियो। सरासरी लुम्स पुगेर चिया पिई बिस्कुट किनेर अघि बढ्ने विचारले २:३० बजेसम्म हिंडेर सोस्थानमा पुग्यौं। अफसोस ! त्यस ठाउँमा दोकान रहेनछ। पुनः आधा घण्टा जति हिंडेपछि केही पर खोल्सामा पानी पिएर एकक्षण बिसाइयो।
शायद अब दोकान नजिकै नभएको भन्ने पक्का निधो भएकाले पो हो वा समयको चक्र घुमेरै भोक जगाउने ठाउँमा पुगेर हो, भोकको लहरहरू उर्लेर थकाइलाई समेत सघाउ पुर्यायो। तर २०४० साल कात्तिकमा धैनकोटमा अध्यापन गर्दा प्रधानाध्यापक बलराम नेउपानेसाथ यता आउँदा ठाँटी भन्ने ठाउँमा एउटा दोकान भएको व्यहोरा स्मरण हुँदा पुनः त्यहाँसम्म सशक्त ढङ्गले हिंडायो र हिंड्नु बाध्यता पनि थियो।
५/७ मिनेटको उकालो हिंडेपछि मात्र दृष्टिगोचर हुने सो काल्पनिक दोकानमा पुग्न बिसाएको ठाउँबाट डेड घण्टा लाग्दोरहेछ। उकालोको सुरुबाटै हिंड्न लाग्ने समयले दुई गुणा स्थान ओगट्न थाल्यो। तापनि त्यस ठाउँमा पुगेपछि दोकान होलान्, केही खान पाइएला भन्ने आशा लिएर सरासर हिंडियो। अफसोस ! ४:१५ बजे त्यहाँ पुग्दा दोकान नभएको व्यहोरा प्रत्यक्ष भयो, आशाको त्यान्द्रो चुँडियो।
तँ आँट् म पुर्याउँला भन्ने दया निकेतन ! हाम्रो चिया बिस्कुटको नास्ता खाने धोकोलाई अर्कै रूपमा पूर्ति गराई आफ्नो सार्थकता देखाउन हामीले सोचेको भन्दा केही माथि एक घरमा महिलाको रूपमा प्रकटिनु भयो। केही खान पाईंदैन ? भनी सोध्दा दही मात्र भएको उत्तर दिलाई आशाको बिरुवामा मल हालिदिने काम भयो। एक-एक माना दही खाई ४:३० बजे रेडियो बजाउँदै बाटो लाग्यौं। एकजना भोटेबुढा भेट भए।
तिनैसाथ लगभग एक घण्टा हिंडेपछि करिब ५:३० बजेतिर माङ्ग्री भन्ने ठाउँमा पुगियो। त्यहाँ स्वास्थ्य चौकीका इन्चार्ज बृहस्पति कँडेलजी (बाग्लुङ्ग) सँग बस्ने कार्यक्रम थियो। त्यहाँ जाने बाटो थाहा नपाउँदा सदरमुकाम गमगढीमा पढ्ने तेञ्जिङ्ग र छिरिङ्ग भाइहरूको सहयोगमा कँडेलजीको कोठामा पुग्यौं। तर वहाँ गाउँतिर गएको व्यहोरा पियनबाट थाहा लाग्यो।
केही क्षणपछि जुम्ला ट्रेड स्कूलमा अध्ययन गरी तालिमेका रूपमा कार्यरत पूर्णबहादुर शाहीजी आउनुभयो र गफगाफ गरी ६:४५ बजाइयो। त्यसपछि कँडेलजी पनि आउनुभयो र त्यहींकै बुद्ध माध्यमिक विद्यालयका कायममुकायम प्रधानाध्यापक टेकनाथ पौडेल (कास्की) समेत भई छाङ् खाइयो। १०:३० बजेतिर खाना खाई सुत्यौं।
१४ गते शुक्रबार बिहान उठी समाचार सुनिसकेर हातमुख धुने काम भयो। त्यसपछि टेकनाथ काका (चिलाउनेबास-९, उखुबारी, स्याङ्जा) बस्ने कोठातिर लागियो। त्यहाँ सिरहा र सप्तरी अनि भोजपुर र रोल्पाका क्रमशः सुधन साह र झवरलाल साह अनि तीर्थ कार्की र मोहन बी.एम्. साथ काकासँग भेट भयो। त्यहीं बसेर कुरा गर्दागर्दै सुधन र काका गई च्यामुघ्वाँ (कुखुराको फुल) ल्याउनुभयो र उसिनेर खाइयो। त्यहाँबाट फर्केर कँडेलजीकोमा आई खाना खाएर १० बजेको हुँदा बुद्ध माध्यमिक विद्यालयतिर गयौं। त्यस गाउँ पञ्चायतका श्रमदाताहरूले विद्यालय भवन बनाउन थालेका रहेछन्।
भर्खर मात्र जग बनाउँदै थिए। तर मलाई त्यहाँको “माटो नमुछी ठूला-ठूला ढुङ्गाहरूले गारो लगाउने, बीचमा माटो राख्यो भने कच्चा हुन्छ” भन्ने धरणा नयाँ लाग्यो। झारा (बाटोलाई अर्नी-खाजा) को रूपमा रोटी र कुखुराको फुल तयार पार्न लगाइएको थियो। तयार भएपछि झोला-झोलामा हाली करिब १२ बजेतिर सबैसँग बिदावारी भई सेरोगतर्फ लागियो, जहाँ चिलाउनेवास-५, झरखोला, फप्रेटाका विष्णुले शिक्षक काम गर्दथे। केही पर पुगेर डेढ बजेतिर घ्वाँको नास्ता गरी अघि बढ्यौं। ४ बजे बल्ल मूलबाटो छाडेर सेरोगतिर उकालो लाग्ने ठाउँमा पुग्यौं। रोटीको नास्ता गरी उकालो चढ्न सुरु भयो। अन्ततः ५:१५ बजे सेरोग निम्न माध्यमिक विद्यालयमा पुगियो। त्यतातिर दोबाटोमा छोर्दिम/चितिम बनाइएको हुँदोरहेछ। जन्मेका बच्चाहरू मर्दै गयो भने दोबाटोमा बनाइने मन्दिरजस्तो देवललाई छोर्दिम अथवा चितिम भनिंदोरहेछ।
३/४ वर्ष मुगु जिल्लामा बिताए पनि यतातिरको यो नै मेरो पहिलो यात्रा थियो। त्यसैले पँधेराको दायाँतर्फ कमानीमा ठड्याइएका सिलिण्डर आकारका घुम्ने वस्तुहरू मेरा लागि नौला भए। सोधनी गर्दा “यी धर्म हुन्, यिनलाई घुमाएपछि धर्म मिल्दछ, त्यसकारण बिहान-बेलुका पानी लिन आउँदा सर्वसाधारणले घुमाउन् भनेर यहाँ राखिएको हो …” भन्ने उत्तर पाइयो। विद्यालयको पनि पानी खाने धारो त्यही रहेछ। हामीहरू विद्यालयतिर अघि बढ्यौं। सरहरू विद्यालयमै बस्ने गर्दारहेछन्।
हामी पुग्दा भान्सामा सबैजना (प्रधानाध्यापक मेघराज शर्मा, शिक्षक द्वय रुद्र मरासिनी र विष्णुप्रसाद शर्मा) भर्खर आलु उसिनेर झारा (अर्नी) खाइसकेका रहेछन्। हामी पनि भान्सा कोठामा नै पसियो। बस्ने कोठा माथिल्लो तलामा रहेछ।
विष्णुले झोला, छाताहरू माथि लगे। हेडसरको अनुरोध अनुसार विष्णु र मरासिनीजी छाङ् लिन गाउँतिर गए। त्यहीं विद्यालय सञ्चालक समितिको अध्यक्ष आइपुगे र सामान्य भलाकुसारी चलिरहेको थियो, साथीहरूले उनैकहाँबाट ४ फाक्टे (८ माना) छाङ् लिएर आइपुगे।
स्थानीय एक जना ठिटो पनि त्यहीं थियो र उसले २ फाक्टे छान्न सुरु गर्यो। अँगेनामा आलुको तरकारी बसाली राखेको थियो। खाना तयार भएपछि होमबहादुर दाइ बाहेक सबैले खान सुरु गरियो। झारा बढी भएर हो वा छाङ्, खाना खान मन नभएकाले मेघराजजी र म खाना नखाई सुत्यौं।
१५ गते शनिबार सनातनी रूपमा उठी नित्य कर्महरू गरियो। विद्यालय सञ्चालक समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको सदरमुकाममा हुने बैठकमा भाग लिन हेडसर खाना खाई गमगढीतिर लाग्नुभयो। हामीहरूले खाना खाइसकेपछि मैले पानी रङ्गले चित्रहरू बनाउन थालें र अरू साथीहरू दर्शक बने। त्यसपछि विष्णुको डायरीमा कलात्मक अक्षरहरूले नाम लेख्ने काम पनि भयो। विष्णु र मरासिनीजीले त्यहींको यथार्थ कहानीलाई रोचक ढङ्गले सामयिक दैनिकी लेख्ने गरेका रहेछन्, त्यो सुन्ने/सुनाउने कार्य भयो। कहानीको क्रममा गुम्बाको प्रसङ्ग आएकाले हेर्न जाने चर्चा चल्यो, तर चिसोको कारण जान सकिएन।
विष्णु र मरासिनीजी गाउँतिर गई हामीहरूका लागि भोलिपल्टको खाजास्वरूप आलु र कुखुराका फुलहरू खोजेर ल्याउनुभयो। त्यसपछि सबै मिलेर अँगेनाको वरिपरि बसी खाना पकायौं र खाने काम भयो। प्रसङ्गमा त्यस विद्यालयको साइनबोर्ड अर्को बनाउनुपर्ने व्यहोरा पनि मिसियो। किनभने अचेल गमगढीमा मैले आर्ट प्रोफेशनको काम पनि सम्पादन गर्ने गरेको थिएँ। खाना खाइसकेपछि होमदाइको भनाइ अनुसार पानी नराखी भाँडोमा तेल हालेर आलु उसिन्ने सल्लाह भयो। संयोग छोप्ने ढकनी नहुँदा ठूलो ढुङ्गाले छोपियो। केही समयसम्म पनि नपाकेपछि पुनः पानी हाली उसिन्ने कार्य अघि बढ्यो। होम दाइ र म सुत्न गयौं। साथीहरूले आलु उसिनेर भोलिपल्टका लागि दाल बसाली सुत्नुभएछ।
१६ गते आइतबार बिहानै उठी विष्णुले खाना पकाउन थाले। हामीहरू धारामा गई हातमुख धोयौं। साढे ६ बजेतिर खाना खान थाल्यौं। खाना खाई आलु र फुलको नास्ता झोलामा हाली ७ बजेको समाचार सुन्दै मुगुतर्फ पाइला अघि बढाइयो।
वास्तवमा माथि डाँडाहरूमा सेतो हिउँ थियो। घाम परेपनि मन्द चिसोको आभास मिलेको थियो। प्रातःकालीन हिंडाइको अति उपयुक्त समय प्रतीत हुन्थ्यो। फेरि अग्लो ठाउँबाट हेर्न सकिने चाक्लो क्षितिज र वरिपरि कोणधारी जङ्गल मनै लोभ्याउने खालको थियो। हामी तेर्सो-तेर्सो ओरालो लागी मूलबाटोमा निस्कियौं।
करिब ११ बजेतिर कर्णालीको तीरमा- जहाँ, हामीकहाँ पाइने पीपलका जस्तै पात र बीउको गन्ध, तर रुखाकृति भने अलि भिन्न देखिने रुखहरू भएको पिप्लेरी भन्ने ठाउँमा पुगियो। अफसोस ! बिहान सेरोगबाट नुन ल्याउन बिर्सिएछ। संयोग एकजना मुगाली बुढा भेट भए र नुन मागी कर्णाली पारिको तीरमा गई आलु र फुलको नास्ता गर्यौं।
बिहानको सिमीको दाल राम्रो नपाकेको हुनाले पेट दुखेको कारण दर्शाई होमदाइले आलु अलि थोरै खानुभयो, तर मैले भने मीठो लागेकोले निकै खाएँ। वास्तवमा चिसो ठाउँको भएर पो हो कि ! यहाँको नुन-खुर्सानी र आलु मलाई साह्रै मीठो लाग्यो। नास्ता खाई सकेर सलल…., बेइमानीको सङ्गतै नगर…. गीतहरू गाएर थकाइ मेटियो।
करिब १२:१५ बजे त्यहाँबाट हिंड्यौं। होमदाइले कम खानुभएकाले आलु अलि धेरै भएको महसुस भयो। त्यसैले बोक्न मात्र भारी किन गर्ने भनेर करिब १ घण्टा जति हिंडेपछि दाजुभाइको सल्लाह अनुसार कुनै ठाउँमा लुकाउने, फर्किंदा भए खाने, नभए ठीकै छ भन्ने सोची आजलाई मात्र पुग्ने अड्कलेर धेरै हुने ठहर्याएका आलुलाई ढुङ्गाको चरमा लुकायौं।
मैले अलिकति खाँदै थिएँ, एकजना मुगाली आलुको भारी बोकेर आई त्यहीं बिसाए। आलु खाने ? भन्दा खान्छ भनेपछि राखेको ठाउँ देखाइयो। नुन-खुर्सानी बारे सोधनी गर्दा छ भनेपछि पिंध्न लगाई उनले पनि खुसीसँग खाँदै थिए, अरू दुईजना पनि थपिए। सबै मिलेर खाँदै थिए, हामीहरू अलिकति नुन खुर्सानी लिएर अघि बढ्यौं। एकजनाले जिल्ला शिक्षा शाखाको गोष्ठीमा भाग लिने बारेको प्राथमिक विद्यालय चितैका प्रधानाध्यापकलाई लेखेको पत्र देखाउँदै के, कसलाई दिने हो ? भनी सोधनी गरे। आजैका मितिमा उपस्थित हुन डाकिएको पत्र रहेछ, सोही व्यहोरा जानकारी गराई त्यहाँबाट हिंड्यौं।
२: १५ बजेतिर डोल्फूतिर जान हिंडेका, प्रहरी चेक पोष्ट मुगुका दुईजना प्रहरीहरू भेट भए। हामीलाई ५ बजेसम्ममा पुग्ने व्यहोरा जानकारी गराए। एकछिन हिंडेपछि, एकजना मुगाली केटी, एकजना केटा र एकजना अधबैंसे बिसाइमारेको ठाउँमा पुग्यौं। केटा र केटी भारी लिएर गुमतिर हिंडेका र अधबैंसे मान्छे आलुको बीउ लिन मुगुतिर हिंडेको बताउँथे। अब हामी ३ जनाको टोली बनेर अघि बढ्यौं। आज होमदाइको पेट खराब÷खराब भएकाले बीच-बीचमा दिसा गर्दै हिंड्नुभएको थियो। अब १ घण्टा जति लाग्ला भन्ने ठाउँमा पुगेपछि बिसाई बाँकी आलु खाने विचार आयो। होमदाइले खानु भएन। मैले र त्यही भोटे साथीले खायौं र हिंड्यौं।
अन्ततः ५:३० बजे प्रहरी चौकी मुगुमा पुग्यौं। पुग्दा त्यहाँको लेखामा काम गर्ने परिचित प्रहरी हवल्दार प्रेम कार्की त्यहाँ रहेनछन्। सवइन्स्पेक्टर साहेव लगायतसँग परिचय गरी भान्साकोठामा गफगाफ गरी बसियो। प्रहरीहरूले झोलाहरूलाई रथपाथ लगाइदिए। खाना पाक्नै थालेको समयमा प्रेम कार्की दाइ र असइ घिमिरेजी छाङ् खाएर आइपुगे। हामीलाई देखेपछि गाउँबाट खसीको सपेटा झिकाई मासु भात खाने सल्लाह भयो। खाना खाने बेलामा चटनी सकिएको हुँदा असइ घिमिरेजीले चुल्हाको ढुङ्गै उचालेर फालिदिएको अघि भर्खरै मात्र हो। होमदाइले प्रहरीमा आफूभन्दा जुनियरप्रति सिनियरको रवैया भनेर चित्त बुझाइदिनुभयो। जे होस् खाना खाई मुगु जिल्लामा आएको ३ वर्ष भएको भए पनि खास मुगु भन्ने ठाउँमा होमदाइ र म एउटा खाटमा पहिलो रात बिताउन निद्रादेवीको काखमा आराम गरियो।
(चार दशक पहिलेको डायरीबाट)
क्रमश:
मुगु डायरी-१ : ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?
मुगु डायरी-२ : एक्काइसौं सदीको विडम्बना !
मुगु डायरी-३ : छोट्टी खेलको नूतन अनुभव !
मुगु डायरी-४ : आतिथ्य भरे भर्सेलै परोस् !
मुगु डायरी–५ : बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !
मुगु डायरी -६ : परदेशको ठाउँ, नाक जोगाउने काम !
मुगु डायरी–७ : भाषिकाको अन्तर, आपसी कलहको बीउ !
मुगु डायरी – ८ : कविमनको बीजाङ्कुरण !
from समाचार – Online Khabar https://ift.tt/R0qpsaw
0 Comments
if you have any doubts, please let us know.