२८ पुस, काठमाडौं । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४६ जनाको कोरोना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भयो । अर्थात संक्रमण दर ५८ दशमलव ९० प्रतिशत छ ।
अस्पतालका निर्देशक डा. रवि शाक्य अनुसार एक हप्ता अगाडिसम्म यस्तो संक्रमण दर ५–१० प्रतिशत थियो । केही दिनयता निरन्तर बढेको छ र, अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा पुगिसेको छ । ‘हामी कहाँ अधिकांश लक्षण भएकाहरु आउने गरेका छन्,’ डा. शाक्य भन्छन्,’ थोरै संख्यामा विदेश जाने होलान्, नत्र लक्षण भएकाहरुले परीक्षण गराइरहेका छन् ।’
वीर तथा त्रिवि शिक्षण अस्पतालको अवस्था पनि यस्तै छ ।
त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिएकोमध्ये ३८ दशमलव ७१ नमुनामा संक्रमण पुष्टि भएको देखिन्छ । अस्पतालका कोभिड-१९ फोकल पर्सन तथा छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार भर्ना हुने बिरामीदेखि अन्य लक्षण भएका मानिसको परीक्षण भइरहेको छ । ‘कोरोनाको लक्षण भएकाले मात्रै परीक्षण गरेको देखिन्छ । अधिकांशमा पुष्टि हुने गरेको छ,’ डा. बमले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल एपीएफ अस्पताल, बलम्बुमा त ३५ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैले समग्रमा देशभरको संक्रमण दर २३.१ भएपनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ७० प्रतिशतसम्म संक्रमण पुष्टि भएको देखाउँछ ।
काठमाडौंका विभिन्न सरकारी अस्पतालमा पछिल्लो २४ घन्टामा गरिएको १ हजार ५ नमुना परीक्षणमा ४१३ जनामा संक्रमण पुष्टि भएको छ । जुन ४१ प्रतिशत भन्दा बढी हो ।
अर्थात संक्रमण व्यापक फैलिरहेको छ । किनकी अहिले परीक्षण गराउनेहरु अधिकांश लक्षण भएकाहरु नै छन् र, ७०–८० प्रतिशतमा संक्रमित लक्षणविहीन हुने विभिन्न अध्ययनले देखाएको छ ।
लक्षण भएका मानिस मात्रै परीक्षणको दायरामा आएकाले अब समुदाय स्तरसम्म परीक्षण गर्न थाल्नुपर्ने बताउँछन् इपिडिमियोलोजिष्ट डा. विराज कर्माचार्य ।
किनकी ओमिक्रोन भेरियन्ट एक संक्रमितले ११ जनाभन्दा बढीलाई सार्न सक्ने अनुसन्धानहरुले देखाएका छन् । र, एक संक्रमितलाई पहिचान गर्न सकेको खण्डमा १० गुणा फैलावट रोक्न सकिन्छ । ‘कोरोनाको परीक्षणको दायरा बढाउनुपर्छ, जसले संक्रमणदर रोक्न ठूलो मद्दत गर्छ,’ डा. कर्माचार्य भन्छन्, ‘अब सजिलो र सुलभ हिसाबले परीक्षण गर्नुपर्छ र संक्रमणको चक्र रोक्नुपर्छ ।’
संक्रमणदर ५ प्रतिशतभन्दा माथि जानुलाई परीक्षणको दायरा कम भएको मानिने इपिडिमियोलोजिष्ट डा. कर्माचार्य बताउँछन् । स्वास्थ्य मन्त्रालयक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ जनामा संक्रमण पुष्टि भएको छ । जुन औसतमा २३ दशमलव ५८ प्रतिशत हो ।
यसले पनि सरकारले गरेको परीक्षण अत्यन्तै न्यून भएको प्रष्ट पार्ने भन्दै डा. कर्माचार्य भन्छन्, ‘आज तीन हजार बढीमा संक्रमण पुष्टि भएको देखिन्छ । पर्याप्त परीक्षण भएको अवस्थामा यो संख्या तीन–चार गुणाले बढ्नसक्छ ।’
अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि हालको परीक्षण कम भएको र त्यसलाई तत्काल नै बढाउनुपर्ने बताउँछन् । डा. सुवेदीका अनुसार लक्षण भएका सबै र उनीहरुको सम्पर्कमा आएका मानिसलाई परीक्षणको दायरामा ल्याउन सकेमात्र कोरोनाको फैलावटलाई केही हदसम्म रोक्न सकिन्छ ।
‘अहिलेको सन्दर्भमा हेर्दा यसरी ह्वातै संक्रमणदर बढ्नुले परीक्षण कम भएको नै देखिन्छ,’ उनी भन्छन्, ‘समुदायमा फैलिसकेको छ । हाम्रो क्षमता सीमित छ । त्यसकारण पनि सकेसम्म लक्षण भएका मानिसलाई परीक्षणको दायारामा ल्याउनुपर्छ ।’
हाल सरकारी अस्पतालले परीक्षण शुल्क एक हजार तथा निजीले दुई हजार लिँदै आएका छन् । अझै पनि सरकारले निःशुल्क तथा सर्वसुलभ नगरेको कारणले मानिसहरु परीक्षण नगरी घरमा बसिरहेका छन् । ‘सरकारले निःशुल्क गर्ने हो भने धेरै मानिसले परीक्षण गराउँछन् । पैसाकै कारणले पनि मानिसहरु लक्षण लिएर घरमै बसेका छन् । जसले ठूलो जटिलता निम्ताउने देखिन्छ,’ डा. सुवेदी भन्छन् ।
अहिलेको संक्रमणदर बाट संक्रमितको संख्या भनिएको भन्दा धेरै छ भन्ने स्पष्ट हुने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । ‘अझै पनि परीक्षण नभएका र संक्रमण भएको छ भन्ने समेत थाहा नभएको संख्या ठूलो छ । लक्षण नदेखिने हुँदा कतिपयलाई आफू संक्रमित भएको नै थाहा नहुने भएकाले संक्रमण फैलाउने जाने सम्भावना अत्यधिक हुन्छ,’ डा. मरासिनी भन्छन् ,‘सरकारले एन्टिजेनको परीक्षण बढाएर भएपनि समुदायस्तरमा परीक्षण गनुपर्छ ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको तथ्यांकअनुसार देशभरमा १०२ वटा ल्याब छन् । तर दैनिक १० हजार भन्दा कम पीसीआर टेष्ट हुने गरेको छ । यही प्रयोगशालाबाट दोस्रो लहरमा करिब २२–२३ हजार नुमनाको परीक्षण हुने गरेको थियो ।
जनस्वास्थ्यविद्हरु पीसीआरको क्षमता विस्तारसँगै एन्टिजेनको परीक्षणलाई तीव्रता दिनुपर्ने सुझाव दिन्छन् । यथेष्ट परीक्षण हुन नसकेको ठाउँमा संक्रमण लामो समयसम्म फैलिने तथा नियन्त्रणमा आउन लामो समय लाग्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।
‘जति चाडो संक्रमण पहिचान गर्न सकियो, महामारीलाई उत्ति चाँडै नियन्त्रण गर्न सक्छौं,’ डा. अधिकारी भन्छन्, ‘धेरैभन्दा धेरै संक्रमित पत्ता लगाउन सकिएको खण्डमा सुरुमा संक्रमणको दर उल्लेख्य बढेको जस्तो देखिए पनि नियन्त्रणमा लिन सजिलो हुन्छ ।’
भ्याक्सिन नलगाउनेहरु बढी जोखिममा
डा. जनक कोइराला, संक्रामक रोग विशेषज्ञ
हामीले कोभिड-१९ को दुईवटा लहरलाई धानिसकेका छौं । पहिलो लहर माइल्ड टाइपको थियो । दोस्रो लहरमा डेल्टा भाइरसले ठूलो क्षति पुर्यायो । धेरैलाई संक्रमित पनि बनाएर गयो । पछिल्लो समय डेल्टाको संक्रमण धेरै कम भइसकेको थियो । तर अहिले ओमिक्रोन भन्ने नयाँ भेरिन्यट देखा पर्यो । स्वरुप बदलेर आएको यो भेरियन्टले पहिला संक्रमित भइसकेका र खोप लगाइसकेका व्यक्तिहरुलाई पनि संक्रमित बनाउँदो रहेछ ।
दक्षिण अफ्रिका, युरोप, अमेरिका हुँदै अरु मुलुकमा पनि ओमिक्रोनको संक्रमण व्यापक बन्दै गएको छ । पहिलो लहरमा एकजना व्यक्ति संक्रमित भयो भने औसतमा उसले दुई जनालाई संक्रमित बनाउथ्यो । दोस्रो लहरमा देखिएको डेल्टा भेरियन्टले ४/५ जनालाई संक्रमित बनाउथ्यो । तेस्रो लहरमा देखा परेको ओमिक्रोन भेरियन्टले १०/११ जनालाई संक्रमित बनाउँदो रहेछ । त्यही कारण नेपालमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
कोरोना संक्रमण व्यक्तिबाट व्यक्तिमा सर्ने रोग भएको हुनाले कति फैलने भन्ने हाम्रै हातमा छ । हामीले होस गर्यौं, जनस्वास्थ्यका मापदण्ड पालना गर्यौं भने यसले त्यति धेरै व्यापक रुप नलेला । तर साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने जस्ता सतर्कता पनि अपनाएनौं भने धेरै फैलिनसक्छ । अर्को, भ्याक्सिन हो । जति धेरैलाई भ्याक्सिन लगायो त्यति नै सार्ने सम्भावना कम हुन्छ । सर्ने मौका पाउँदैन किनकी भ्याक्सिनले भाइरस लोड कम गराउँछ । भाइरस लागेपनि माइल्ड इन्फेक्सन हुन्छ । लक्षणविहीनको इन्फेक्सन हुन्छ, जसले गर्दा सर्ने एकअर्कामा सर्ने सम्भावना पनि कम हुन्छ ।
ओमिक्रोन भेरियन्ट फैलिसकेको मुलुकहरुमा वैज्ञानिकहरुले गरिरहेको रिसर्चअनुसार अनुसार पहिलाको भेरियन्टहरुभन्दा अलिकति फरक के छ भने यसले फोक्सामा नभई स्वासनलीको माथिल्लो भागमा इन्फेक्सन गराउँछ । रुघा लागेको जस्तो हुने र नाक, घाँटी, छाती र स्वासनलीहरुमा इन्फेक्सन गराउँदो रहेछ । किनभने यो भाइरस उक्त ठाउँहरुमा पसेर बढी मात्रामा टाँसेर इन्फेक्सन गराउँदो रहेछ ।
जबकी डेल्टा भेरियन्ट सिधै छातीभित्र प्रवेश गरी फोक्समा इन्फेक्सन गराउँथ्यो । त्यसले निमोनिया हुन्थ्यो । ओमिक्रोनले सिधै फोक्सोमा इन्फेक्सन नगर्ने भएकाले निमोनिया हुने र बिरामीलाई गम्भीर बनाउने सम्भावना कम हुन्छ । त्यसैले भ्याक्सिन लगाएका मानिसलाई गम्भीर बनाउने सम्भावना कम हुन्छ । भ्याक्सिनले माइल्ड इन्फेक्सन अर्थात लक्षणविहीन बनाइदिन्छ । आज मात्रै आएको एउटा डेटा अनुसार भ्याक्सिन लगाएकोलाई भन्दा नलगाएको व्यक्तिलाई संक्रमण सर्ने सम्भावना १० गुणा बढी हुन्छ भने सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुण बढी र मृत्यु हुने सम्भावना २० गुणा बढी हुनेरहेछ ।
त्यसैले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्यौं, भ्याक्सिन लगायौं भने संक्रमणको संख्या कम हुन जान्छ । सबैको बेवास्ता ग¥यौं भने डेल्टा भाइरसको भन्दा अझ व्यापक रुप लिन सक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. कोइरालाले गरेको सम्बोधनको सम्पादित अंश
from समाचार – Online Khabar https://ift.tt/3nlHNhN
0 Comments
if you have any doubts, please let us know.