८ माघ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसीरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ ।
अर्थात् निर्वाचन आयोगले सिफारिश गरे झैं वैशाख १४ र २२ मा चुनाव हुने सम्भावना कम छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्छन्, ‘वैशाखमा चुनाव गर्न त तयारी नै भएको छैन ।’
उनका अनुसार २०७४ वैशाख २९ र असार १४ को निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल लम्ब्याएर तीनै तहको निर्वाचन मंसीरमा हुनसक्छ ।
प्रस्तुत छ, बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकपछि अध्यक्ष नेपालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :
पाँचदलीय गठबन्धनको बैठकमा केके कुरा भयो ?
प्रतिनिधिसभामा देखिएको समस्याबारे छलफल केन्द्रित रह्यो । संसदलाई नै भंग गर्ने, संसदविहीन बनाउने काममा स्वयम् प्रमुख प्रतिपक्षी लागिपरेको छ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्रप्रति श्रद्धा छैन, संविधानप्रति निष्ठा छैन, संसदप्रति कुनै प्रतिबद्धता पनि छैन । नेपालको राजनीतिमा केपी ओली निकै खतरनाक शक्तिको रुपमा देखा परेका छन् । मुलुकको संसदीय राजनीतिमा यस्तो खतरनाक र नकारात्मक शक्ति हावी भएको छ, यसको विरुद्धमा मिलेर जानुपर्छ भन्नेमा सबैको सहमति रह्यो ।
उसोभए सत्ता गठबन्धनको बैठकमा प्रतिपक्षीको आलोचना गरेर बस्नुभयो ?
त्यति मात्रै होइन । समस्या त्यहाँनिर छ भनेपछि समाधानका कुरा पनि भए । विशेषगरी प्रतिनिधिसभा चुनावका विषयमा केन्द्रित रह्यौं । स्थानीय तहको चुनाव पछि सारेर तीनै तहको चुनाव एउटै मितिमा गर्नुपर्छ भन्ने प्रस्तावमा सबै दलहरुबीच मोटामोटी सहमति भयो । तर ठोस निर्णय गर्न कानूनी परामर्श गर्ने कुरा भयो ।
तीनै तहको चुनाव एकैचोटि किन गर्नुपर्छ भनिरहनुभएको हो ?
किन नगर्ने ? नत्र त सधैंभरिका लागि समस्या आउनेभयो । त्यसमाथि अहिले पहिले केन्द्रको चुनाव नै महत्वपूर्ण हो । देशको राजनीतिलाई ठीक बाटोमा लैजाने भनेको केन्द्र हो ।
तीनै तहको चुनाव वैशाख जेठमा गर्ने कि मंसीर पुसमा त ?
वैशाख जेठमा त सम्भव नै हुँदैन । किनभने पहिले स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । वैशाख ३१, असार १४ र असोज २ । मतगणना गर्दा असोजको आधाआधी पुगेको थियो । त्यही सेरोफेरोलाई आधार मान्नुपर्छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल सकिएको ६ महीनाभित्र चुनाव सम्पन्न गरिसक्नुपर्छ भन्ने छ । हामी त संविधान अनुरुप अघि बढ्नुपर्छ नि ! बैठकमा पनि संविधानअनुरुप नै गर्नुपर्छ भन्नेमा सबैको जोड रह्यो ।
त्यो हुँदा स्थानीय तहको चुनाव मंसीरतिर सार्ने हुनुभयो ?
हो हो । तीन वटै तहको चुनाव एकैचोटि गर्ने ।
स्थानीय तह जनप्रतिनिधिविहीन हुने, संवैधानिक रिक्तता आउने कुरा पनि छ नि ?
देशको राजनीति ठीक ठाउँमा ल्याउन प्रतिनिधिसभालाई नै केन्द्रमा राख्नुपर्छ । देशको समस्याको बारेमा छलफल गर्ने ठाउँ प्रतिनिधिसभा हो ।
प्रतिपक्षीले वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्छ भनेको छ, कसरी मनाउनुहुन्छ ?
के मनाउनु ? सबैतिरबाट एक्लिएको छ । जनताले पनि दक्षिणपन्थी, संविधान र संसद विरोधी शक्ति हुन् भनेर चिनेका छन् ।
तपाईंहरुलाई समयमै चुनाव गर्न नसकेको आरोप लाग्ला नि ?
वैशाखमा चुनाव हुनेको अवधि बढ्छ नि त । यहाँ के अप्ठ्यारो छ र ?
अहिलेसम्म तपाईंहरुको छलफलका आधारमा भन्दा वैशाखमा स्थानीय तहको चुनाव नहुने निश्चित भएको हो त ?
त्यो त हो नै । वैशाखमा चुनाव गर्न त अहिलेसम्म केही तयारी पनि भएको छैन ।
from समाचार – Online Khabar https://ift.tt/3Iqd5wd
0 Comments
if you have any doubts, please let us know.