कमलालाई सधैं फलिफाप, भुँइबाट संसदतिर भुवन

१२ माघ, पोखरा । प्रदेशसभा सदस्य र र स्थानीय जनप्रतिनिधिले फ्लोर क्रस गरेपछि गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा पाँचदलीय गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् ।

५ दलीय गठबन्धनको जीत सुनिश्चित भएका बेला गण्डकी प्रदेशबाट महिलाबाट कमला पन्त, खुलाबाट सुरेल आले र दलितबाट भुवन सुनारले राष्ट्रिय सभाको यात्रा तय गरे ।

मतान्तर धेरै नै फरक हुँदा फ्लोर क्रसले उनीहरुको जित रोक्न सकेन । तर गण्डकीमा घात नहुने सत्तापक्षीय दलहरुको अनुमान गलत सावित भएको छ ।

गण्डकीमा गठबन्धनको ३१ सांसद छन् । कांगेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जसपाका २२/ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङे पनि गठबन्धन सरकारकै मन्त्री भएकाले उनको पनि मत गठबन्धनलाई नै जाने अनुमान थियो । एमालेका जम्मा २७ सांसद छन् ।

तर, गठबन्धनकी पन्त र एमालेका महिला उम्मेदवार लिला पोखरेल थनेत, दलिततर्फका गठबन्धनका उम्मेदवार भुवन सुनार र एमाले उम्मेदवार अर्जुन सुनामले समान २९/२९ जना सांसदको मत पाए । गठबन्धनबाट अन्यतर्फका उम्मेदवार सुरेश आलेमगरलाई ३० जना सांसदले मत दिँदा एमालेका उम्मेदवार पुण्यप्रसाद पौडेलले २८ सांसदको मत पाए ।

यसबाट ४ मत बढी रहेको गठबन्धनका सांसदले फ्लोर क्रस गरेको पुष्टि भएको छ । एक जना प्रदेश सभाका सांसद छाप नै नलगाइ खाली मत खसालेको पाइएपछि बदर भएको थियो ।

८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा गठबन्धनलाई स्थानीय तहबाट पनि फ्लोर क्रस भएको छ । ९९ जनप्रतिनिधि रहेको गण्डबन्धनबाट ११ जनाले मत क्रस गरेको पाइएको छ । एमालेका ६९ जनप्रतिनिधि रहेकोमा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढेको परिणामले देखाएको छ ।

महिला कोटाबाट निर्वाचित पन्तलाई स्थानीय तहका ९४ जनाले मतदान गरे भने एमालेकी लीला थनेतले ७४ मत पाएकी छन् ।

माओवादीका आलेले ९२ र उनका प्रतिस्पर्धी पौडेलले ७५ मत पाएका छन् । दलिततर्फ माओवादीका सुनारले ९२ र एमालेका सुनामले ७४ जनाको मत पाए ।

गण्डकीमा स्थानीय तहका १ सय ७० जनप्रतिनिधिमध्ये १ सय ६८ जनाले मतदान गरे । ६० सदस्यीय प्रदेश सभामा ५९ जना सांसदले मतदानमा सहभागी बनेका थिए । गण्डकीमा जनमोर्चाका सांसद कृष्ण थापा कारबाहीमा परेपछि एक पद रिक्त छ ।

सानो मतान्तर भएको खण्डमा गठबन्धनबाट फ्लोर क्रस भएका कारण हार समेत हुनसक्ने संकेत देखिएकाले चिन्ताको विषय भएको कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले बताए । माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान गठबन्धनमा घात भएकाले गम्भीर समीक्षा हुनुपर्ने बताउँछन् ।

भाग्यमानी कमला

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसकी पन्त गण्डकी प्रदेशबाट पाचौं पटक संसद छिर्ने भाग्यमानी नेता बनेकी छन् । हालै भएको कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्तलाई संसदीय खेल सधैं फलिफापजस्तै बनेको छ ।

पटकपटक सांसद, मन्त्री बन्ने सीमित कांग्रेस नेतृमध्ये पर्छिन्, कमला पन्त । २०५१ सालपछि निरन्तर संसद छिरेकी कांग्रेस नेतृ पन्त फेरि पनि राष्ट्रिय सभा निर्वाचन जितेर सांसद हुने भाग्यमानी महिला बनेकी छन् । २०५१ सालपछि २०७४ सालबाहेक हरेक निर्वाचनमा टिकट पाएकी उनले गोरखाबाट सांसदमात्रै होइन, मन्त्रीसमेत बनिसकेकी छन् । २०५१ सालको मध्यावधि निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट जितेर पन्त पहिलो पटक संसदमात्रै छिरिनन्, सहायक मन्त्री नै बनिन् । २०५६ सालको निर्वाचनमा पनि उनैले टिकट पाइन् । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा राज्यमन्त्री बन्न सफल भइन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा फेरि पनि उनी राज्य मन्त्री बन्ने अवसर पाइन् ।

२०६४ र ०७० सालमा संविधान सदस्य बनेकी पन्तले २०७४ सालको निर्वाचनमा पनि टिकटको दाबी गरेकी थिइन्, तर कांग्रेसले नयाँ शक्तिका बाबुराम भट्टराईले सघाउने निर्णय गरेपछि उनले चुनाव उठ्न पाइन् । ४० को दशकमा पद्मकन्या क्याम्पसमा विद्यार्थी राजनीति थालेकी पन्त स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, सहसचिव हुँदै २०४५ सालमा सभापति बनेकी हुन् । उनी हालै सकिएको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार थिइन् । महाधिवेशनमा हार ब्यहोरेपनि रामचन्द्र पौडेलको सिफारिसमा राष्ट्रिय सभामा जित सुनिश्चित भएको टिकट हात पारेर संसद छिर्न सफल भइन् ।

संसदीय यात्रामा सुरेशको दोस्रो सुर

यस्तै संसदीय प्रतिस्पर्धालाई नै बहिस्कार गर्दै माओवादी केन्द्रबाट अलग भएका नेता सुरेश आलेमगर माओवादीमा मात्रै फर्किएनन् फेरि त्यही संसद नै फर्किएका छन् । २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनका चर्चित नेता आलेमगरका लागि दोस्रो पटक संसदको यात्रा गर्दैछन् ।

२०३६ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेका पूर्व शिक्षक आलेमगर निष्ठावान नेतामै गनिन्छन् । मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालमा मोहन वैद्यहरुसँगै आलेमगर पनि जोडिएका थिए । मोटो मसाल, एकता केन्द्र हुँदै नेकपा माओवादीमा लागेका आलेमगर सशत्र संघर्ष हुँदै  शान्ति प्रक्रियासम्म आइपुग्दा थुप्रै पटक पक्राउ परे ।

शान्ति प्रक्रियामा आएपछि पनि अन्तरिम व्यवस्थापिका सदस्य बनेका आलेमगरले पहिलो संविधान सभाको चुनावमा कांग्रेस नेता गोविन्दराज जोशीलाई हराएका थिए । पटकपटक सांसद र मन्त्री बनेका जोशीलाई हराएर चर्चामा रहेका आलेमगर दोस्रो संविधान सभाअघि नै संसदीय अभ्यासलाई बहिस्कार गरेर मोहन वैद्यसँगै माओवादीबाट अलग भएका थिए ।

वैद्यसँगै माओवादीबाट विभाजित भएका आलेमगरले नेता रामबहादुर थापालाई साथ दिए । ३ वर्षपछि रामबहादुर थापासँगै माओवादीमै फर्किएका हुन् । नेकपा विवादमा रामबहादुर थापाले केपी ओली रोज्दै मन्त्रीकै अफर गर्दा पनि नचाहिने भन्दै आफू माओवादीमै फर्किएको दाबी आलेमगरले छ । माओवादी सल्लाहकार, वैकल्पिक हुँदै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसमेत बनिसकेका आलेमगर अहिले पनि केन्द्रीय सदस्य छन् । तिनै आलेमगरलाई जित सुनिश्चित रहेको गठबन्धनबाट राष्ट्रिय सभामा प्रचण्डले टिकट दिए । र आलेमगरले फेरि संसदको यात्रा तय गरेका छन् ।

‘अहिलेको संसदीय अभ्यासप्रति असन्तुष्टि अझै पनि छ तर यहीँभित्रै बसेर संघर्ष गर्न फर्किएको हुँ,’ आलेमगर भन्छन्, ‘माओवादी आन्दोलनको जगमा फेरि संसदका यात्रा तय गरेको छु । संसदीय प्रणालीलाई अझै सुधार्न मेरो बहस, मन्थन र संघर्ष रहने छ ।’

भुँइबाट संसदतिर भुवन

उत्पीडन र विभेदलाई निर्मूल पार्न अठोटका साथ कम्युनिस्ट आन्दोलन थालेका नेता हुन्, युवन सुनार । जातीय विभेदका विरुद्ध आवाज उठाउँदा उठाउँदै राजनीतिमा होमिएका सुनार पार्टीको केन्द्रीय नेता होइनन् । जातीय विभेदको अन्त्य र उत्पीडित वर्गको पक्षमा आवाज उठाइरहे पनि उनीले पार्टीबाट ठूलो अवसर पाएका थिएनन् ।

मोटो मसाल हुँदै माओवादी सशत्र संघर्षमा होमिएका दलित आन्दोलनका अगुवा सुनारलाई अहिलेको राष्ट्रिय सभाको चुनावमा दलित कोटाबाट पुष्पकमल दाहाल प्रचण्डले टिकट दिलाए र पहिलो पटक संसदीय स्वाद लिँदै छन् । ‘सधैं पार्टीको भुइँमा बसेर पिँधमा रहेका मानिसहरुका लागि आन्दोलन गरें जनतालाई संगठित गराएँ । तर, यो व्यवस्था ल्याउनका लागि रगत पसिना बगाएँ,’ सुनारले भने, ‘हामीले नै लडेर ल्याएको उपललब्धी रक्षा गर्न बल्ल पार्टीले सम्झियो ।’

सुनार नमूना मछिन्द्र क्याम्पस लगनखेलका पूर्व स्ववियु सभापति पनि थिए । अहिले माओवादी प्रदेश समिति सदस्य छन् । दलित मुक्ति गोरखाको अध्यक्ष हुँदा पक्राउ गरेर २ वर्ष जेल जीवनसमेत खेपेका सुनार २०६८ सालमा दलित आयोगको सदस्य सचिव थिए । माओवादीभित्र दुई लाइन संघर्ष चल्दा सुनार डा. बाबुराम भट्टराई लाइनका थिए ।

जन्मथलो सँगै रहेका पालुङटार निवासी सुनार भट्टराईको कट्टर समर्थक थिए । भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति निर्माण गर्दा पनि उनी त्यही अभियानमा जोडिएका थिए । तर, भट्टराईले कम्युनिस्ट विचारधारा छोड्ने भनेपछि माओवादीमै फर्किएको सुनार बताउँछन् ।‘पार्टीमा निरन्तर लागे पनि सधैं पर्दा पछाडि नै रहेर काम गरें तर पहिलो पटक पार्टी सम्झियो,’ सुनारले भावुक भएर भने, ‘एउटा गाउँको हिजोको गोठालो पनि अब सांसद भन्ने भयो ।’

 



from समाचार – Online Khabar https://ift.tt/3o0AOeN

Post a Comment

0 Comments