१७ पुस, दाङ । उनले शायदै सोचेकी थिइन् कुनै दिन उद्यमी बनुँला भनेर । तर भइदियो यस्तै । सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट विस्थापित भएर दाङ झरेकी प्रेमकुमारी पुनले अल्लो (सिस्नोको रेसाको धागोबाट बुनिने कपडा) बनाउने पुर्ख्यौली सीपलाई व्यावसायिक रुप दिइन् । गाउँघरमा अल्लोबाट कपडा बनाउने त्यही सीपले उनलाई चिनारी दियो, ‘चिनारी महिला अल्लो उद्योग’को सञ्चालकको रुपमा ।
रोल्पाको परिवर्तनशील गाउँपालिका-१ पुरेलीमा जन्मिएकी हुन् उनी । गाउँघरमा दाम्लोदेखि झोला र कपडासम्म अल्लोकै बनाइन्थ्यो । गाउँमा महिलाका लागि अल्लो कपडा बनाउने पुर्ख्यौली सीप अनिवार्य जस्तै थियो ।
आमाले अल्लो कपडा बनाएको देख्दा उनलाई सानैदेखि रहर पनि लाग्थ्यो । नजानेर तान चलाउन खोज्दा कपडा बिग्रन्थ्यो । ‘आमाले पिट्दै सिकाउनु हुन्थ्यो,’ प्रेमकुमारी सम्झँन्छिन्, ‘त्यसरी १२ वर्षकै उमेरमा अल्लो धागोबाट कपडा बुन्न जानें ।’
पछि उनी स्थायी शिक्षक भइन् । विवाह पनि शिक्षकसँगै भयो । छोराछोरी हुर्कंदै थिए । जीवन ठिकठाक चलिरहेको थियो । त्यहीबेला नेकपा माओवादीले सशस्त्र विद्रोह शुरु गर्यो । प्रेमकुमारी पुन जस्तै नागरिकका लागि नसोचेको परिस्थिति सिर्जना भयो । उनीहरु विद्रोही र सरकार दुवैको चेपुवामा पर्न थाले ।
विद्रोही त गाउँमा थिए नै, बेलाबेला आउने सरकारी सुरक्षा फौजको ज्यादती चर्किन थाल्यो । रोल्पा-रुकुममा जति जनयुद्ध चर्कंदै गयो, सरकार पक्षबाट ज्यादती बढ्दै गयो । भिडन्त बढ्दै जाँदा कुनै पनि बेला कुनै पक्षको फन्दामा परिने वा अनाहक मारिने डर बढ्दै गयो । ‘त्यो बेला ज्यान जोगाउनै ठूलो कुरा थियो,’ प्रेमकुमारी भन्छिन् ।
२०५८ सालमा विद्यालयको कामले सदरमुकाम जाँदा प्रेमकुमारीका श्रीमानलाई प्रहरीले पक्राउ गर्यो । तीन पटकसम्म त्यो क्रम चल्यो । ‘त्यसपछि विद्रोही पक्षले सुराकी भनेर सताउन थाले,’ प्रेमकुमारी भन्छिन्, ‘अनि ज्यान जोगाउनै गाह्रो भयो र बाँचे कसैगरी पनि खाइएला भनेर दाङ झर्यौं ।’
बाँच्ने बाटो खोज्ने क्रममा प्रेमकुमारीले आमाले सिकाएको अल्लो कपडाको सीप सम्झँदै सिलाइकटाइको तालिम लिइन् । त्यसक्रममा रोल्पा-रुकुमबाट विस्थापित भएका अन्य महिलाहरुसँग भेट हुन थाल्यो । सबैको व्यथा उस्तै थियो । सबै नयाँ ठाउँमा जीवन निर्वाहको बाटो खोजिरहेका थिए ।
आफूजस्तै विस्थापित दिदीबहिनीको समेत साथ लिएर प्रेमकुमारीले अल्लो उद्योग खोलिन् । २०६० सालमा उद्योगले कपडा उत्पादन थाल्यो । शुरुआती दिन निक्कै चूनौतीपूर्ण रहे । खासगरी मूल्यको हिसाबले अल्लोलाई विदेशी कपडासँग प्रतिस्पर्धामा उतार्नु ठूलो चुनौती थियो ।
‘शुरुमा अल्लोको कपडा बेच्न गाह्रो भयो,’ उनले सम्झिइन्, ‘शान्ति प्रक्रिया शुरु भएपछि बिस्तारै मेला-महोत्सवले बजारीकरण गर्न सहयोग गर्यो । यो कपडाबारे बुझ्दै गएपछि माग पनि बढ्दै गयो ।’
उद्योग स्थापना भएको २० वर्षमा अल्लो कपडाले चिनारी पाइसकेको छ । कपडाको माग पनि बढिरहेछ । उद्योगले अल्लोका झोला, ब्यागदेखि अनेक खालका पोशाक बनाइरहेको छ । अहिले त आफ्नो उद्योगका उत्पादन भारत र चीनमा पनि प्रर्दशनी र बिक्री वितरणमा रहेको प्रेमकुमारी बताउँछिन् ।
‘एउटा राम्रो ब्राण्ड नै बनिसकेको छ अहिले,’ प्रेमकुमारी भन्छिन्, ‘आमाले सिकाएको सीपले मलाई चिनारी दियो । अहिले आमा भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’
उनले अल्लो उद्योग थालेको २० वर्षमा थुप्रै राष्ट्रिय-क्षेत्रीय पुरस्कार र सम्मान पाएकी छन् । राष्ट्रिय महिला उद्यमीको चिनारी बनाएकी प्रेमकुमारीको उपनाम नै ‘अल्लो दिदी’ बनेको छ । यो सब आमा र दूरदराजमा बसेर अल्लोबाट कपडा बनाउन सिकाउने महिलाहरुका कारणले भएको उनी बताउँछिन् ।
‘२०७० सालमा मैले नेपाल सरकारबाट उत्कृष्ट उद्यमी पुरस्कार पाएँ,’ प्रेमकुमारी भन्छिन्, ‘त्यो पहिलो पुरस्कार थियो । सबैले बधाई दिँदा भावुक भएँ । त्यो दिन आमा सम्झेर खुब रोएँ ।’
from समाचार – Online Khabar https://ift.tt/3FOQZm8
0 Comments
if you have any doubts, please let us know.