‘नेतृत्व तहमा युवाको बलियो उपस्थिति होस्’

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व छनोटका लागि काठमाडौं आएका महाधिवेशन प्रतिनिधिमध्ये एक हुन् अछामका २२ वर्षीय टेक विक ।

विकका अनुसार युवा पुस्ताका बहुसंख्यकले राजनीतिलाई ‘फोहोरी खेल’का रुपमा मात्रै बुझेका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको १४औं महाधिवेशनको उद्घाटन समारोहमा भटिएका उनी भन्छन्, ‘राजनीतिक फोहोरी खेल होइन, यो सामाजसेवा हो भन्ने बुझाउनुपर्छ । यसका लागि राजनीतिमा युवाको प्रवेश आवश्यक छ, प्रणाली नै परिवर्तन गराउनु जरुरी छ ।’

पछिल्लो समय पार्टीमा युवाको आकर्षण पनि भइरहेको उनको बुझाइ छ । भन्छन्, ‘यसपालि २०४८ सालदेखि निरन्तर लाग्नु भएका सांसद राजबहादुर विष्ट, पञ्चदेवल नगरपालिकाका मेयर देवराज देवकोटा जस्ता हस्तीहरु महाधिवेशन प्रतिनिधिमा पराजित हुँदा म जस्ता युवा काठमाडौं आएका छौं ।’

कांग्रेसका अनुसार कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमा ४० वर्ष नामटेका युवाहरु कति छन् भन्ने यकिन तथ्यांक त छैन । तर उपस्थिति उल्लेख नै रहेको नेताहरुको दाबी छ । कुल ८ लाख ५१ हजार क्रियाशिल सदस्यमा भने १६ देखि ४० वर्ष उमेर समूहको संख्या साढे २ लाख हाराहारी थियो ।

पुरानो पुस्ताले युवालाई अघि बढ्ने अवरोध गर्ने गरेकाले पनि धेरै महाधिवेशन प्रतिनिधिमा आउन नसकेको टेक विकको बुझाइ छ । ‘मैले नै पनि महाधिवेशन प्रतिनिधिमा उम्मेवारी दिँदै गर्दा उमेर छ फेरि उठ्दा हुन्छ भन्ने मानिसहरु नभएका होइनन्’ उनी भन्छन्, ‘तर चुनावबाट महाधिवेशन प्रतिनिधि आएँ ।’

अहिले महाधिवेशन प्रतिनिधि बनेर आएका युवा तिनै बुढा नेतालाई भोट हालेर जिताउने माध्यम मात्र बन्लान् कि भन्ने चिन्ता छ – निरञ्जन थापा, महाधिवेशन प्रतिनिधि

यद्यपि पार्टीको नेतृत्व तहमा युवाको बलियो उपस्थिति होला भन्नेमा उनीहरुलाई शंका छ । ‘युवाको प्रतिनिधित्व बढेको त छ, तर अझै पार्टीमा हस्तक्षेप गर्न सक्ने भएका छैनन्’ नुवाकोटबाट महाधिवेशन प्रतिनिधि बनेका निरञ्जन थापा भन्छन्, ‘अहिले महाधिवेशन प्रतिनिधि बनेर आएका युवा तिनै बुढा नेतालाई भोट हालेर जिताउने माध्यम मात्र बन्लान् कि भन्ने चिन्ता छ ।’

शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा भेटिएका प्रतिनिधि मनोज राना कांग्रेसमा युवाको आकर्षण बढ्नुमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुको योगदान मान्छन् ।

‘तर उहाँहरुले पनि पार्टीमा हस्तक्षेप गर्न सक्नुभएको छैन, सिनियर नेताको पछाडि लाग्ने र कसरी पद हत्याउन सकिन्छ भन्नैमै ध्यान देखिन्छ’ उनले थपे, ‘यदी अहिले पदाधिकारीमा युवा भनिएका नेताहरुमात्र एकजुट भए पनि पुरानो पुस्ता डराउने अवस्था आउँथ्यो, तर आँट गर्ने कोही निस्किएको देखिन्न ।’

साथै कुन उमेर समूहलाई युवा भन्ने विषय पेचिलो रहेको काठमाडौंका राना बताउँछन् । ‘गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुलाई पनि कलिहेसम्म युवा भनिराख्ने ?’ उनी प्रश्न गर्छन्, ‘अहिले १९ वर्षको व्यक्ति महाधिवेशन प्रतिनिधि आउँदै गर्दा उहाँहरु पनि पुरानो पुस्ता हुनु भएन र ?’

नेतृत्व तहमा १९ देखि ३५ वर्षसम्मको युवाको उपस्थिति नदेखिएका बताउँदै आफूले यसपटक केन्द्रीय सदस्यमा उठ्ने निर्णय गरेको राना बताउँछन् । ‘मेरो उम्मेवारी उठ्नका लागि मात्रै होइन, समग्र युवाका लागि सन्देश पनि हो’ उनले सुनाए ।

‘युवाको उपस्थिति हस्तक्षेपकारी हुनुपर्‍यो’

डडेलधुराबाट महाधिवेशनमा सहभागी हुन आएकी पशुपति बोहोरा पार्टीमा युवापंक्तिको उपस्थिति बढ्नुलाई अत्यन्त सकरात्मक भएको बताउँछिन् । ‘नयाँ पुस्ताको बढ्दो उपस्थितिले युवाको माग सम्बोधन गर्न पनि सहयोग गर्छ’ उनी भन्छिन्, ‘अहिले धेरै युवा विदेशिएका छन्, स्वदेशमा रोजगारीको अवसर चाहिएको छ, युवाका यावत समस्यालाई ध्यान दिएर पार्टी नेतृत्वले काम नगरी सुखै छैन ।’

कालिकोटबाट महाधिवेशन प्रतिनिधि चुनिएका जीवन सुवेदी चाहिँ नेतृत्व तहमा सधैँ बुढा पुस्ताकै हस्तक्षेप देखेर वाक्क छन् । भन्छन्, ‘बुढापाकाले कति पार्टी चलाउने ? शेरबहादुर दाइ, रामचन्द्र दाइले अब युवालाई छाड्नुपर्छ भन्ने हाम्रो माग हो ।’

पुराना पुस्ताको नेताहरुको लुछाचुँडी र झगडाले वाक्क बनाएको सुनाउँदै उनी भन्छन्, ‘तपाईंहरुले अझै झगडा गरिरहने हो भने मजस्ता सयौं युवाहरुले आफैं युवा नेतृत्व घोषणा गर्न बाध्य हुन्छौं ।’

‘गुटका चार/पाँच जना सिनियर नेताको व्यवस्थापनका नाममा आश गरिएका युवा पनि पाखा लागि रहेका छन्, यसले नयाँ पुस्ताले नेतृत्व तहमा अवसर पाउने सम्भावनालाई झन् न्यून बनाएको छ’

पुराना पुस्ताका नेताहरुले पार्टी र देश चलाउन सक्छन्/सक्दैनन् भन्ने परीक्षण भइसकेकाले अब युवालाई परीक्षण गर्न दिनुपर्ने उनले बताए । ‘गगन थापा जस्ता नेता महामन्त्रीमा आउनुपर्छ, अरु युवा नेतालाई पनि अघि बढाउन सबैले साथ दिनुपर्छ’ सुवेदी भन्छन्, ‘त्यसदेखि बाहिरको पुस्ता पनि नेतृत्व तहमा आउनुपर्छ ।’

डडेलधुराकी पशुपति बोहोरा पनि युवाले ‘रोजगारीको तहमा, आर्थिक तहमा, सांस्कृतिक तहमा भौगोलिक र जातीय तहमा सशक्त नेतृत्व गर्नुपर्ने’ बताउँछिन् । भन्छिन्, ‘युवाको आवाज बुलन्दरुपमा उठ्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।’

तर महाधिवेशन प्रतिनिधि थापा पार्टीको शीर्ष तहमा गुटका नाममा पुराना पुस्ताका नेताहरुबीच भागबण्डा चलिरहने हुँदा महाधिवेशन प्रतिनिधिका रुपमा आएका युवा पुस्ता त्यहीँ सीमित हुनसक्ने डरमा छन् । यसले युवाको एजेण्डा भनाइमै सीमित गराउनसक्ने उनी बताउँछन् । ‘संस्थापन र इतर समूहमा एक दर्जन सिनियर नेता छन्, अझै पनि उनीहरुलाई नै व्यवस्थापन गर्ने कुरामा पार्टीले समय खर्च गरिरहेको छ’ थापा भन्छन्, ‘उनीहरुको व्यवस्थापनका नाममा आश गरिएका युवा पनि पाखा लागि रहेका छन्, यसले नयाँ पुस्ताले त अवसर पाउने सम्भावना झन् न्यून बनाउँछ ।’

पार्टीको महाअधिवेशनले अहिले आएका युवालाई अवसर, उर्जा र विचार पनि दिनसक्नुपर्ने उनी बताउँछन् । ‘अहिले महाधिवेशन प्रतिनिधि भएर आउने युवाको सही व्यवस्थापन हुनसकेन भने यसले अर्को समस्या सिर्जना गर्नसक्छ’ थापा भन्छन्, ‘ठूलो जमातका युवा जसको कांग्रेसमा भरोसा देखेका छन्, उनीहरुलाई पार्टीमा टिकाइराख्न पनि युवालाई अघि बढाउनु जरुरी छ ।’

सिहारा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका सञ्जय यादव चाहिँ पुराना पुस्तालाई पनि धेरै नकरात्मक रुपमा लिनु नहुने बताउँछन् । उनी भन्छन्, ‘पुरानो पुस्तालाई अभिभावक बनाउने हो, उहाँहरुको अनुभव लिएर अघि बढ्नुपर्छ ।’

युवा महाधिवेशन प्रतिनिधिले भोट हाल्दा गुट नहेरी राम्रो स्वःविवेक प्रयोग गर्न उनको सुझाव छ । यादव भन्छन्, ‘यसमा एक/दुई जना मात्र मिलेर पुग्दैन, समग्री युवा एकजुट हुनुपर्छ र जसले राम्रो काम गरेको छ, त्यसलाई जिताउने गरी अगाडि आउनुपर्छ ।’

 



from समाचार – Online Khabar https://ift.tt/31M2ADJ

Post a Comment

0 Comments