कांग्रेस पौडेल समूहको बैठक जारी

२२ मंसिर, काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार बिहानदेखि फेरि नेताहरू छलफलमा जुटेका हुन् ।

बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरूसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय गरिएको छ । उनीहरूको सुझाव अनुसार सभापतिको उम्मेदवार तय गर्ने नेता पौडेलले बताए ।

पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।

नेता पौडेलले पनि सहमतिको बाधक नबन्ने बताएका छन् तर सभापतिका आकांक्षी सिंह र कोइरालाबीच समझदारी नभए आफैं अगाडि सर्ने पौडेलको रणनीति छ ।

सभापतिको उम्मेदवार टुंग्याउन नै सकस भइरहेका बेला पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागिसकेको छैन ।

कांग्रेस महाधिवेशन मंसिर २४-२७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

 



from समाचार – Online Khabar https://ift.tt/3pGas1H

Post a Comment

0 Comments