बुढ्यौलीमा आश्रमको बास : व्यथा एउटै, कथा अनेक

१८ मंसिर, दाङ । ८४ वर्षीय दुर्गाप्रसाद पाण्डेय एकाबिहानै भगवानको नामजप्छन् । जीवनको उत्तरार्द्धमा रहेका पाण्डेय वृद्धाश्रमलाई भगवान ठान्छन् र संसारमा योभन्दा ठूलो उनलाई केही लाग्दैन । जहाँ पुगेपनि अन्त्यमा आफ्नो  भन्नु त भगवान नै हुँदारहेछन् भन्ने मान्यता राख्छन् ।

‘दुःख–सुख र थोरै  बचेको  जीवन सबै  यहीं छ । आफ्नाहरूले  पो… ’ बोल्दाबोल्दै उनी रोकिए । आँखाका छेउकुना रसाए । आँखाभरिको  आँशु हत्केलाले  पाण्डेयले पुछ्दै  यसरी शुरू गरे  वृद्धाश्रमसम्मको  आफ्नो  जीवनकथा ।

***
२०२२ सालतिर उनी दाङको हापुर आइपुगे  । श्रीमती र दुई छोराछोरी साथमै थिए । सन्तानलाई पढाए, लेखाए र हुर्काए । सम्पत्तिको  नाममा हापुरमा नौ  कट्ठा जमीन र नयाँ बस्तीमा १८ कट्ठा जमीन जोडे  । ‘जग्गा–जमीन थियो  । बुइगले घर थियो,’ उनी सम्झन्छन्, ‘अपुग केही थिएन ।’ पछि हुर्किएका छोराछोरीलाई बिहे गरिदिए ।

छोराछोरीको  मृत्युपछि बुहारी र नातिसँगै बसेकी श्रीमती पनि भेट्न आइनन् । बुढेसकालले  छुँदै  गएपछि हिंडडुल गर्न पनि अरूको  सहारा चाहिने  भयो  ।

जीवनभर उनले  सम्पत्तिको  कहिल्यै  मोह गरेनन् । बरु परिवारभन्दा ठूलो  केही छैन भन्ठाने । भएको सम्पत्तिजति छोरा, छोरी र श्रीमतीका नाम गरी तीन भाग लगाइदिए । आफ्नो  नाममा चार कट्ठा मात्र राखे  ।

घरजग्गा सबै  आफ्नो  र सन्तानको  नाममा भएपछि श्रीमतीले छोरा–बुहारी र छोरीलाई लिएर बर्दिया गइन् । जीवनभर सुखदुःख सँगै बिताउने, बाँच्ने वाचा गरेकी श्रीमतीले नै उनलाई छाडेर हिंडिन् । त्यसपछि उनी एक्लिए ।

उनलाई श्रीमतीले आफूसँगै लैजाने  मन नै  गरिनन् । त्यसैले  पनि उनको  मन मरेछ । ‘छोराले  जाम त भनेको  थियो, मैले  मानिनँ,’ उनले  भने, ‘आफ्नो  घर छाडेर बिरानो ठाउँमा जान मनले दिएन ।’

आमासँगै  बर्दिया पुगेका उनको छोरा उतै अकालमै बिते । ‘दैव पनि कठोर हुँदोरहेछ बाबु, छोरी पनि उतै  भगवानको  प्यारो  भइछ,’ उनले भने, ‘सन्तान बाँचेका भए यसरी वृद्धाश्रममा बस्नुपर्ने  थिएन कि ?’

छोरा र छोरीबाट नाति–नातिनाहरू छन् । बेलाबखत वृद्धाश्रममा भेट्न त आउँछन् तर आफूसँगै  राख्न चाहँदैनन् । ‘छोराछोरी बाँचेका भए आफैंसँगै राख्ने थिए कि ?’ गहिरो सोचमा डुब्छन्, उनी ।

घर, सम्पत्ति सबै  श्रीमतीले  लिएर हिंडेपछि उनी एक्ला भए । सम्पत्तिका नाममा त्यही चार कट्ठा जग्गा राखेका थिए । एकदिन उनी आफैं  बिरामी परे । भएको त्यही घरजग्गा बेचेर उपचार गराए । ‘तीन महीना ओछ्यानमा थलिए । उपचार गरेर बचेको  पैसाले  जीवन गुजारा गर्न बदाम, सुन्तला  बेच्न थाले,’ उनले  भने , ‘त्यसैमा आधाउधी जीवन बित्यो  ।’

एक्लो जीवन जे  गरी खाए पनि हुने  । उमेर हुँदासम्म पाखुरीमा बल थियो  । तर समय बित्दै  गयो  । छाला चाउरिन थाले । हातगोडा पहिले  जस्तो  उति चल्न छोडे । छोराछोरीको  मृत्युपछि बुहारी र नातिसँगै बसेकी श्रीमती पनि भेट्न आइनन् । बुढेसकालले  छुँदै  गएपछि हिंडडुल गर्न पनि अरूको  सहारा चाहिने  भयो  ।

‘अनि सहारा खोज्दै  हिंड्न थालें,’ उनले  भने , ‘कहिले  कुन भाइको  घर कहिले  कसकोमा बस्न गए ।’ उनका आफ्नै  भाइहरू अहिले  घोराही बजारका प्रतिष्ठित व्यक्ति छन् । ठूला–ठूला घर ठड्याएका छन् । ‘तर बुढेसकाल लागेपछि त अपहेलना र हाँसोको  पात्र भइँदोरहेछ,’ उनले  भने , ‘म बूढो  त्यहाँ अटाउन सकिनँ ।’
भएका आफन्तहरूले उनलाई हेरेनछन् । बरु सहारा माग्दा सबैले  वृद्धाश्रमको  बाटो  देखाइदिए । ‘आफ्नै  जीवनसाथीले छाडेर गई,’ उनी भन्छन्, ‘अरूको के  आश गर्नु ?’

उनले दुःख पोखे, ‘शरीरमा बल छँदा  सबैले  आइज खा भने । उमेरले नेटो  काटेपछि त सबैले  छिछि.. दूरदूर.. पो  गर्न थाले ।’ आफ्नाहरूदेखि उदेक लागेर आउँछ उनलाई । चारैतिरबाट अपहेलित भएर बेसहारा भएका उनले  अन्ततः वृद्धाश्रम जानुबाहेक अरू विकल्प भेटेनन् । ‘पाखुरा चलुञ्जेल कसैको  साथ चाहिएन । उमेर ढल्किएपछि पो  झल्याँस्स भए । आफ्नो  बुढेसकालको  बारेमा त सोचेकै  रहेनछु’ उनले  भने , ‘सबैभन्दा बढी त्यस दिन रोएँ ।’

एकदिन वृद्धाश्रमको  खोजीमा हिंड्दै  घोराही आइपुगे  उनी । त्यसैबेला एकजना भाञ्जीबुहारी भेटिइन् । ‘आफ्नै  घरमा १५ दिन राखिन् र वृद्धाश्रमसम्म आइपुग्ने  सबै  चाँजोपाजो  मिलाइदिइन् । नयाँ कपडा पनि किनिदिइन्,’ उनले  भने , ‘ती भाञ्जी मलाई आफ्नै छोरी जस्तै  पो  लाग्यो  । तिनै  भाञ्जीलाई आफूसँगै  भएको  पैसा थमाइदिए । अनि वृद्धाश्रमको  बाटो  समाएँ ।’

***

घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित वृद्धाश्रममा अहिले  १८ जना वृद्धवृद्धा आश्रित छन् । दुर्गाप्रसाद जस्तै  वृद्धाश्रममा आइपुग्नुको सबैको कथा आ–आफ्नै छन् । तर अधिकांश वृद्धाहरूको पीडा भने एउटै छ, ‘निःसहाय र परिवारको  हेलाहोचो ।’

त्यहीं छन्, दाङ घोराही–२ रामपुरका लक्ष्मीप्रसाद तिवारी (७४) । उनले पनि शायदै सोचेका थिए, जीवनको आखिरी क्षण वृद्धाश्रमको चार पर्खालभित्र बिताउनुपर्ला भनेर । चार सन्तान र आफन्त हुँदाहुँदै पनि उनले वृद्धाश्रमकै बाटो समाउनुपर्योा । जीवनको उत्तराद्र्धमा सहाराविहीन बनेपछि उनी दुई वर्षअघि ओत खोज्दै तेरौटेस्थित वृद्धाश्रममा आइपुगेका हुन् ।

‘जाँगर छउञ्जेल हातखुट्टा चलाएँ । बुढेसकाल लागेपछि रोगले च्यायो । केही गर्न नसक्ने भएँ’ उनले भने, ‘आफ्नो भन्नु सबै भएर पनि म कतै अटाउन सकिनँ । हेला र हाँसोको पात्र हुनुभन्दा वृद्धाश्रमको बाटो तताउनै ठीक सम्झें ।’

वृद्धाश्रम आएयता उनी रातभर निदाउन सकेका छैनन् । भन्छन्, ‘दिनभर जसोतसो मन भुलाउँछु । रात परेपछि आफ्नै जिन्दगी सम्झेर ऐंठन हुन्छ, निदाउन सक्दिनँ ।’ उनी वृद्धाश्रम कोही र केही नभएर आएका होइनन् । तीन सन्तान र आफन्त छन् । गाउँमा आफ्नै घर, जग्गा–जमीन छ ।

तर उमेर ढल्केपछि यी सबै कुरा फगत केही रहेनछ । हात खुट्टा चल्न छोडेपछि सन्तान र सम्पत्ति अर्थहीन हुँदोरहेछ । जीवनको यो उत्तराद्र्धमा उनले यही कुरा बुझेका छन् । लक्ष्मीप्रसाद भन्छन्, ‘जीवनभर दुःख नभनी धनसम्पत्ति जोडियो । सन्तानलाई हुर्काई–बढाई गरी बाटो देखाइयो । बुढेसकाल लागेपछि न सन्तान काम लागे न सम्पत्ति । सहारा दिने कोही नभएपछि यसरी वृद्धाश्रम आउनुपर्योो ।’

उमेर छउन्जेल उनी कहाँ मात्र पुगेनन् । परिवार सम्झेर के मात्र गरेनन् । भारतमा ४८ वर्ष ज्याला मजदूरी गरे । दिन–रात भनेनन् । होटलका अँध्यारा कोठामा भाँडा माझे । सुन्दर भविष्य देख्दादेख्दै बल बैंस भारतको विरानो शहरमै बित्यो । थोरबहुत सम्पत्ति पनि जोडे । सन्तानलाई बिहेवारी गरिदिए । शिक्षादीक्षा दिए । केही सम्पत्ति पनि नाममा गरिदिए ।

श्रीमती छउञ्जेल जसोतसो चलेकै थियो । पाँच वर्षअघि जब उनकी श्रीमती बितिन् त्यसपछि उनी एक्लिए । पाखुरीमा बल हुँदासम्म जेनतेन गरिखाए । बुढ्यौली बढ्दै गयो । रोगले पनि च्याप्दै लग्यो । त्यसपछि काम गर्न नसक्ने भए । आफ्नो शरीर आफैंलाई बोझ भयो ।

उनका तीन छोरा र दुई छोरीमध्ये दुई वर्षअघि माइला छोरा बिते । जेठो छोरा–बुहारी र कान्छी छोरी गाउँमै छन् । कान्छो छोरा भारतमा छ ।
भएका यिनै सन्तानले पनि दुई वर्षयता उनीसँग बोली बारेका छन् । ‘कान्छी छोरी गाउँमै छे । सबैका घरघर पुग्ने । मेरो घर आउँदा बाटो मोड्छे,’ उनले भने, ‘बुबा भन्दै आउँदिन । छोरा–बुहारी पनि बोल्दैनन् । आफ्नै सन्तान टाढिएको कसरी हेर्नु ?’

आफैंले जन्माए हुर्काएका सन्तानले बेवास्ता गर्नु जतिको पीडा शायदै केही हुँदो हो । त्यसमाथि बुढेसकालमा सहारा बन्लान् भनेका सन्तान झन् पो टाढिए । यही कुराले उनको मन नराम्रोसँग कुँडियो । बुढेसकालमा झेल्नु परेका दुःखभन्दा सन्तान टाढिएको कुरा बिझाउने कडा भयो ।

‘काल नआई मर्न सकिन्न,’ उनी भन्छन्, ‘शरीर चल्न छोडेपछि एक्लै गरिखान गाह्रो भयो ।’ थलिंदै गएको शरीर त्यसमाथि सन्तानको तिरस्कार । हेला र हाँसोको पात्र हुनुभन्दा उनले वृद्धाश्रमको बाटो तताउनै ठीक सम्झे ।

गाउँमा उनलाई वृद्धाश्रम नजान भन्दै नरोकेका होइनन् । गाउँमै बस्न पनि भने । ‘सहानुभूति दिएर जिन्दगी नचल्ने भयो,’ उनले भने, ‘हातखुट्टा नचलेपछि के गर्नु ?’ उनले वृद्धाश्रम नआई सुखै पाएनन् ।

अब उनी कसैगरी पनि गाउँ फर्कन चाहन्नन् । ‘आखिर धनसम्पत्ति र आफ्ना भन्नु केही होइन रहेछ,’ उनी भन्छन्, ‘जे लेखेको छ, त्यो हुने हो ।’ आफ्नै जिन्दगी यस्तै रहेछ भन्दै धिक्कार्छन् उनी ।

***

आश्रममा आश्रित वृद्धवृद्धा जस्तै मीना शाहको (५९) व्यथा पनि कम छैन । सन्तान र श्रीमान्बाट अपहेलित भएपछि उनले वृद्धाश्रम बाहेक सहारा खोज्दै जाने ठाउँ कतै पाइनन् । पाँच वर्षअघि वृद्धाश्रम आएकी उनले आफ्नो जीवन कथाको यसरी बेलिविस्तार लगाइन् ।

आमाको मन न हो । मान्दै मान्दैन । उनलाई लागेको छ, आफैंले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान् ।

उनको जन्म डोल्पामा भएको रहेछ । मल्ल ठकुरी परिवारकी जेठी छोरी । बुबा गाउँका प्रधान थिए । सम्पन्न परिवार, अभाव के हो भोग्नु परेन ।

उमेर १८ पुग्दै गर्दा उनको भेट दाङ देउखुरीका एक जना प्रहरीसँग भयो । दुवैबीच प्रेम बस्न समय लागेन । घरमा कसैलाई पत्तो नदिएर उनी बिहे गरेर दाङ आइपुगिन् ।

बिहे गरेर आइपुग्दा पो छानाबाट खसे जस्तै भइन् । उनका श्रीमान्ले पहिल्यै बिहेवारी गरिसकेका रहेछन् । सन्तान समेत रहेछन् । पछि जेठी श्रीमतीलाई परिवारले छुट्याइदिए ।

मीनाबाट सात छोरी र एक छोरा गरी आठ सन्तान भए । तीन छोरी सानैमा बिते । बाँचेका पाँच सन्तानलाई हुर्काइन्, बढाइन् । जीवनको बाटो देखाइदिइन् ।
४० पुग्दै गर्दा उनका श्रीमान्ले अर्की श्रीमती ल्याए । ठीकठाक चलिरहेकै जीवनमा त्यसपछि जे बित्यो, उनी सम्झन चाहन्नन् ।

त्यसपछि उनी घर बस्न सकिनन् । छोराछोरी हुर्की बढिसकेका थिए । उनी घर छोडेर हिंडिन् । काठमाडौंमा भाइको गलैंचा उद्योग थियो । त्यहीं पुगेर वर्ष दिन काम गरिन् । तर बिहेगरी गइसकेकी छोरीचेली आफ्नो नहुने रहेछन् । भाइ–बुहारीको तिरस्कार र नमीठो व्यवहार बढ्यो । आफ्नो छोराले त कसो पो नहेर्ला भनेर काठमाडौंमै भएको छोराकहाँ बस्न पुगिन् । ‘उमेर छउञ्जेल सन्तानबाट राम्रै व्यवहार पाएँ,’ उनले भनिन्, ‘तर जब उमेर बढ्दै गयो, रोगले सताउन थाल्यो । त्यसपछि उनीहरूका लागि म बोझजस्तै पो भएँ ।’

बुहारीको नमीठो व्यवहार त थियो नै छोराको पनि कुरा सुन्नुपर्यो, । आफैंले जन्माएको छोराले यतिसम्म गर्ला भन्ने सोचेकी थिइनन् । उनी त्यहाँ बस्न सकिनन् । फर्केर दाङ झरिन् । खोला छेउमा दाउरा बोक्ने, खर काट्ने काम गरिन् । जसोतसो खान–लाउन पुग्ने भयो । तर बाँच्न धौ–धौ । जीवन धान्न अर्काे विकल्प खोज्नुपर्ने भयो ।

उनी नेपालगञ्ज पुगिन् । आठ–दश वर्ष यसै पनि बितिसकेको थियो । त्यहाँ एउटा सानो चियापसल थापिन् । ‘शरीरमा बल छउञ्जेल काम गरें,’ उनले भनिन्, ‘उमेर बढ्दै गएपछि काम गर्न नसक्ने भएँ ।’ त्योभन्दा धेरै एक्लोपन, वैराग्यले छोप्यो । जीवनले छहारी खोज्यो । त्यहीक्रममा उनको गाउँ डोल्पाकै एक जना चिनेका व्यक्तिले घोराहीको तेरौटे वृद्धाश्रममा छोडिदिए ।

त्यसयता उनी यतै छिन् । उनका श्रीमान्, प्रहरी सईबाट अवकास भइसके । भएको एउटा छोरो इलाममा, आफ्नो परिवारसँग छ । तीन छोरी डोल्पामा बिहेवारी गरी बसेका छन् । एउटी छोरी भने दाङमै बसेकी छन् । आफ्नै भाइको काठमाडौंमा उद्योग छ । यी सबै हुँदाहुँदै उनी कतै अटाउन सकिनन् । वृद्धाश्रममा नआई सुखै पाइनन् ।

आश्रममा उनका दिन र रात निकै अत्यासलाग्दो गरी बित्छन् । रातभर सन्तानको सम्झनाले सताउँछ । त्योभन्दा धेरै बुढ्यौलीको एक्लोपनले । रातभर सुत्न नसकेकी उनी दिउँसो भने सुसाइरहन्छिन् । ‘सबै भएर पनि कोही नभएजस्तो हुनुपरेको छ,’ उनले दुःखेसो पोखिन् ।

र, पनि आमाको मन न हो । मान्दै मान्दैन । उनलाई लागेको छ, आफैंले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान् । बरु उनलाई अरू मोह केही छैन । सन्तानको साथ चाहिएको छ । सुखदुःख जे छन्, सन्तानको साथमा बिताउनुछ ।

जीवनको अन्तिम क्षण उनलाई सन्तानको साथमा बिताउन मन छ । तर जीवन सोचे जस्तो कहाँ हुँदोरहेछ र ! अब उनको वृद्धाश्रम भन्दा जाने ठाउँ अन्यत्र कतै छैन ।

जीवनको उत्तरार्द्धमा जहाँ पुगे पनि अन्तिममा आइपुग्ने ठाउँ यही रहेछ । जीवनको तीतो यथार्थलाई स्वीकार गर्दै उनी वृद्धाश्रममा बसिरहेकी छन् । आश्रममा भेटिएका आफू जस्तै दुःखी, विरहीहरूलाई वृद्धाश्रमसम्म आइपुग्नुको  आफ्नो  लामो  कथा सुनाउँदै  दिन बिताइरहेकी छन् ।



from समाचार – Online Khabar https://ift.tt/3lAwhOJ

Post a Comment

0 Comments