बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

२२ मंसिर, धनगढी । बझाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ । २०६२ सालमा घरेलु हतियारकाे प्रयाेग गरेर एक पुरूषकाे हत्यामा संलग्न रहेका तत्कालीन सुवेडा गाविस-८ का ३९ वर्षीय प्रकाश रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले धनगढी उपमहानगरपालिका-८ काे माेतिचाेकमा लुकेर बसेको सूचनाका आधार कैलाली प्रहरीकाे समन्वयमा पक्राउ गरिएको जानकारी दिए । रानालाई बझाङ पुर्याएर जिल्ला कारागार चलान गरिएकाे विष्टले बताए ।

उनकाअनुसार सुवेडाकै स्थानीय मिनबहादुर भण्डारीकाे सामूहिक हत्यामा संलग्न रानासहितका पाँच जनालाई जिल्ला अदालतले २०६६ सालमा २० वर्ष कैद सजाय सुनाएको थियाे । तर अन्य चार जना प्रतिवादी अझै फरार छन् । उनीहरूकाे खाेजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3lJSKJe

Post a Comment

0 Comments