कांग्रेसको मोरङ सभापतिमा कोइराला पक्षका लिम्बू विजयी 

१५ मंसिर, विराटनगर । नेपाली काङ्ग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार सभापति शेरबहादुर  देउवा पक्षका उम्मेद्वार दिलीप  गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी भए । गच्छदारले एक हजार ४२२ मत प्राप्त गरे।

१३औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू १४औं महाधिवेशनमा डाक्टर शेखर कोइराला पक्षबाट निर्वाचन लडेका हुन् ।

कांग्रेस सभापतिमा उठ्ने तयारी गरेका कोइरालाका विरुद्ध मोरङमा सभापति देउवा समूहका उम्मेद्वारको पक्षमा रामचन्द्र  पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला उभिएका  थिए । पार्टीभित्रको चारवटा समूह एक ठाउँमा उभिंदा कोइराला समूह एक्लै मैदानमा उत्रिएको थियो ।

‘केन्द्रमा सभापति उठ्ने तयारीमा रहेका कोइरालाविरुद्धको चौतर्फी घेराबन्दी थियो’ उनी निकट एक नेताले भने,‘ मतपरिणामले सबै घेराबन्दी तोडिदिएको छ ।’

कोइराला पक्षमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले डाक्टर कोइरालाविरुद्ध भएको मोर्चाबन्दी तोडिएको बताए । मतदाताले विवेक पुर्‍याएर मतदान गरेको उनको भनाइ छ ।

आइतबार सम्पन्न भएको निर्वाचनमा तीन हजार ४१३ मत खसेको थियो । पहिलो निर्वाचनमा लिम्बूले एक हजार ५४४ मत पाएका थिए । गच्छदारले एक हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत पाएका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3o9G0xp

Post a Comment

0 Comments