सभापतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको संस्थापनइतर पक्ष आज पनि छलफलमा

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीको १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन आज पनि छलफलमा जुट्दै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सोमबार भएको छलफल टुंगोमा नपुगेपछि मंगलबार पुनः छलफल हुन लागेको हो ।

यी चारैजना नेताहरुले सभापतिको उम्मेदवारमा दाबी गरेकाले सहमति जुटाउन सकस परिरहेको छ । नेता प्रकाशमान सिंहले सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल जारी राख्ने बताए । ‘सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवार छनौट गर्ने कुरा सजिलो छैन,’ उनले भने, ‘साझा उम्मेदवार बनाउनका लागि लोकतान्त्रिक अभ्यास जारी छ । टुंगोमा पुगिएको चाहिं छैन ।’

सोमबार भएको सहमति भएअनुसार मंगलबार दिउँसो एक बजे पुनः चार जना नेताहरु ठमेलको चाक्सीबारीस्थित सिंहको निवासमा छलफलमा बस्दैछन् ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौं हुने कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट हालका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने बताएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3dwfgRe

Post a Comment

0 Comments